नेपाली साहित्यमा परिचित नाम हो आर.आर. चौलागाईं । साहित्य विधाकाे लघुकथामा समेत राम्राे दख्खल राख्ने चौलागाईं हालै सम्पन्न लघुकथा दिवसमा पुर्ण प्रसाद ब्राह्मण लघुकथा सम्मानबाट सम्मानित हुनु भएकाे छ । प्रस्तुत छ लघुकथा कै सेरोफेरोमा रहेर हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरोले चौलागाईंसँग गरेको कुराकानीकाे सम्पादित अंशः
प्रश्नः आफ्नो व्यक्तिगत र साहित्यिक परिचय ।
– मेरो वास्तविक नाम रेवतीरमण चौलागाईं हो भने साहित्यिक नामचाहिँ आर.आर. चौलागाईं हो । मैले सिन्धुपाल्चोक जिल्लाको सुन्दरीपुर गाउँमा २०१८ साल चैत्र ११ गते शनिवार पहिलोचोटि आँखा खोलेको हुँ । मेरो परिवार २०२२ सालमा हेटौंडाको ४ नम्बर वडामा बसाइँ सरेको हो र मेरो स्थायी बसोवास अहिलेसम्म यहीँ छ । कविताचाहिँ मैले १४ वर्षको उमेरदेखि लेख्न थालेको हुँ । त्यसपछि २०३४ सालका भएको अन्तरमाध्यमिक जिल्लास्तरीय कविता प्रतियोगितामा म प्रथम भएँ । मेरो कविताको शीर्षक ‘इच्छा’ थियो । मेरा ८ आठ वटा कवितासङ्ग्रह, एउटा लघुकथासङ्ग्रह, एउटा गीतसङ्ग्रह र एउटा हाइकु, छोक र मुक्तकसङ्ग्रह गरी जम्मा ११ वटा पुस्तकहरू प्रकाशित भैसकेका छन् । अझै विभिन्न विधाका ११ वटा पुस्तकहरू प्रकाशित हुन बाँकी छन् । म कविता प्रतियोगितामा जिल्ला प्रथम र राष्ट्रियस्तरमै सान्त्वना, द्वितीय र प्रथम भैसकेको छु । प्रथम राष्ट्रव्यापी खुला मुक्तक प्रतियोगितामा प्रथम र राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगितामा उत्कृष्ट भएको छु । मेरा लेखनका प्रमुख विधाहरू कविता र लघुकथा हुन् । यसबाहेक गीत, गजल, कथा, निबन्ध, सूत्रकथा, एलाक र बाछिटा पनि लेख्छु । पुस्तकको समीक्षा पनि गर्छु । मैले जिल्लादेखि राष्ट्रियस्तरसम्मका अनगिन्ती सम्मान र पुरस्कारहरू पाएको छु । मैले आधा दर्जनभन्दा बढी पुस्तक र पत्रिकाहरूको सम्पादन पनि गरेको छु । म खास गरी समाज परिवर्तन र जनचेतनाका लागि लेख्छु । परिवर्तनका लागि लेख्दा र लड्दा धेरै पटक जेल परेको छु र जागीर पनि गुमाएको छु । म थुप्रै साहित्यिक संस्थाहरूको संस्थापक पनि भएर काम गरिरहेको छु।
प्रश्नः हालैमात्र पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट सम्मानित हुनु भयाे । यसमा तपाईकाे प्रतिक्रिया ?
– नेपाली साहित्यको पहिलो लघुकथासङ्ग्रह ‘झिल्का’ का स्रष्टा पूर्णप्रसाद ब्राह्मणजस्तो उच्च साहित्यकारका नामबाट मैले सम्मान पाउनु भनेको मेरा लागि अत्यन्त खुसीको कुरा हो । पूर्णप्रसाद ब्राह्मण नेपाली लघुकथाका कोसेढुङ्गा हुन् । मैले पाएको खुसीको त सीमा नै छैन । यो सम्मानले गर्दा मलाई अझै राम्राराम्रा लघुकथाहरू लेख्न हौसला र प्रेरणा मिलेको छ । मैले यही अनुभव गरेको छु ।
प्रश्नः अचेल कति स्थापित लघुकथाकारहरूले लेख्न छाडेका र लेखिएका लघुकथाहरू पनि कालजयी हुन नसकेका गुनासा पनि सुनिन थालेको छ । यहाँलाई कस्तो लाग्छ ?
– सबै होइनन् तर केही हदसम्म यी गुनासाहरू जायज पनि छन् । मचाहिँ थोरै लेखौँ तर राम्रो लेखौँ भन्छु । लघुकथा अहिले धनी हुने क्रममा छ । यसको भविष्य उज्ज्वल छ । केही अग्रज साहित्यकारहरूले यसलाई सम्पन्न बनाएर जानु भएको छ । वर्तमानमा असङ्ख्य लघुकथाकारहरूले यसमा हात हाल्नु भएको छ । थुप्रै सङ्ग्रहहरू निस्किरहेका छन् । अब हामीले यो बगैँचालाई गोडमेल गरेर हराभरा बनाउनुपर्छ ।
प्रश्नः केही व्यक्ति या संस्थाहरूले लघुकथा उँचाइमा लैजाने नाममा ह्रासको बाटो त अपनाइरहेका त छैनन् ? त्यस्तो महसूस गर्नुभएको छ ?
– हो, मैले पनि केही विवादहरू सुनेको छु । एकले अर्काको अस्तित्व नस्वीकार्ने यस्ता हल्लाखल्लाले हामीलाई नै हानि पु¥याउँछ । साहित्य, गुट र उपगुटले चल्ने चिज हैन । अध्ययन, लेखन, प्रस्तुति र समर्पणले चल्ने चिज हो । हामी आफैँले पनि नकारात्मक हल्ला नगरौँ, हल्लाको पछाडि नलागौँ, खूब लेखौँ, कालजयी लेखौँ यत्ति भए पुग्छ ।
प्रश्नः हाम्रो लघुकथा केन्द्रका गतिविधिलाई कसरी नियालिरहनु भएको छ ? हामीले सुधार्नैपर्ने हाम्रा कमजोरी भए आवश्यक सुझाव केही छन् कि ?
– मैले भ्याएसम्म हाम्रो लघुकथा केन्द्रका गतिविधिलाइ नियालिरहेको छु । यहाँहरूले लघुकथाको लागि एउटा चौतारी बनाउनुभएको छ । यो स्तुत्य कार्य हो । अझै परिष्कृत गरेर अगाडि बढ्नुहोला । यहाँहरूलाई मेरो सतत् शुभकामना छ ।
प्रश्नः हालैमात्र दुई दर्जन कृति एकै साथ विमोचन गरियो । यसका सकारात्मक र नकारात्मक पाटा केलाइदिनोस् न !
– यत्तिका धेरै कृतिहरू एकै साथ बाहिर आउनु भनेको सकारात्मक पाटो हो । यो नकारात्मक पाटो हुँदै होइन । यसलाई हामीले लघुकथाको मूल फुटेको र अब यो बाढीको रूपमा अगाडि बढ्छ भनेर बुझ्नुपर्छ । यो बाढीले हाम्रो आँगनमा झार र पत्कर होइन, फूलैफूल ल्याएर छोडोस् । मेरो यही अपेक्षा छ ।
प्रश्नः अन्तमा मैले भन्न छुटाएका तर यहाँले भन्न चाहेका लघुकथासंग सम्बन्धित केही कुरा भए बताइदिनोस् न !
– नेपाली साहित्यमा अहिले लघुकथा एउटा अलग्गै विधाको रूपमा स्थापित भइसकेको छ । पहिला पहिला कतिपय पत्रिकाहरूले लघुकथा भनेपछि नाक खुम्च्याउँथे । लघुकथाकारहरू थोरै थिए । लघुकथा पनि थोरै लेखिन्थे । कुनै कुनै पत्रिकाले मात्र ठाउँ दिन्थे । यसको मानक पनि बनेको थिएन । लघुकथा भनेर छोटा कथा लेखिन्थे र त्यसलाई नै लघुकथा भनिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । लघुकथा बलियो भइसकेको छ । तन्नेरी भइसकेको छ । लघुकथाको मानक पनि बनिसकेको छ । लघुकथा लेख्ने ठूलै जमात तयार भइसकेको छ । तर हामीले यत्तिमै चित्त बुझाउनु चाहिँ हुँदैन । हामीले सङख्यामा होइन गुणमा ध्यान दिनुपर्छ । कार्यशाला गोष्ठीहरू चलाउनुपर्छ, प्रतियोगिताहरूको आयोजना गर्नुपर्छ, अन्तरक्रियाहरू गर्नुपर्छ, कम्तिमा पनि लघुकथासम्बन्धी एउटा नियमित पत्रिका निकाल्नुपर्छ अनिमात्र लघुकथाको गरिमा अझ बढ्दै जान्छ ।
एसके निधन
बाहरु नै आमा हुन
आमाहरु नै बा हुन
बालाई बा मात्रै भनेर
आमालाई आमा मात्रै देखेर
न आमा भित्रको बा चिन्न सकिन्छ
न त बा भित्रको आमा खोज्न सकिन्छ
कसले चलायो परम्परा ?
छोरोमा छोरी नदेख्ने
छोरीमा छोरो नभेट्ने
कुन मुर्खले लेख्यो शास्त्रको बिधी?
कस्ले छुट्यायो ,
कुशेऔसी र मातातिर्थ औसी?
आमा आमा बनेकै बखत
“बा” बा बन्नु भएको
संयोगको एकै दिन,एकै घडी,
एकै पल फरक फरक कसरी भो ?
ओ ज्योतिषी बा !
तपाईंको पात्रो सच्च्याउनुस्
प्रत्येक तिथि र मितिमा
कुशेमाता औंसी लेखिदिनुस
तपाईंले लेखेकै पात्रो पल्टाएर
तिथि र मिति जुटाएर
आमाबा सम्झने मुर्खहरुलाई
तपाईं दिनदिनै सम्झाईदिनुस।
हुन त ,
भन्नुहोला पात्रो खेलाची होईन
केरमेट गरीगरी सच्च्याउन मिल्दैन
ज्योतिषी बा !
तपाईंको एक झुटले
लाखौं सन्तानको माया पाउँछन् भने
हाप्दिनुस शास्त्रको कुरा
लेख्दिनुस कुशेमाता औंसी
हरेक दिन
हरेक पल र हरेक घडीहरुमा।
क्यार्नु त नि हौ ज्योतिषी बा ?
छोराछोरीले आफ्नो आत्माभन्दा माथि
तपाईंकै पात्रो साक्षी राखे पछि ।
हेटौडा
पारस भट्ट प्यासी
१.
बाबा सित हाँसिखेल्याका दिनकी खुबै याद आइरन्छे
न जाणनथियु काम काज,नत कुरा कानी।
तुलबुलाउलो भौती थियुँ, उताउली बानी।
जाँ गयालै मेरा बाबा, मु पाछा लागनथ्या ।
रोइ रोइ बाबा थाई, रुप्या लै मागनथ्या।
टन्न सागपात बनाराख्या,तसैलाइ गोडिरख्या ।
समय मिल्याका बेला, रोडि बल्वा फोणिरख्या ।
टुसा मुसा बणि खन्थ्या, क्रकलाका गाबा।
साग पात लाइ राखनथ्या, टन्न मेरा बाबा।
गणाम्म गुणुम्म कनाइ, डकार गणनथ्या।
बाबा कि हुन्याहो भणी, मु डर मणनथ्या।
निका निका कुराकानी, बाबामुइ सिकाउथ्या
कि गद्द हो कि न गद्द, खुबै समझाउथ्या।
नाउ मेरो पारस खास, प्रचन्ड भणनथ्या।
जि गर्यालै निकोइ मन्ण्या, कभैन हणनथ्या।
कामकाज खुप गरि राख्या, एक रुप्या नाइ रिनथ्या।
मेरा बाबा मुखिलेखाइ, निको निको लेइदिनथ्या।
चार थिया भाइबैना, तीन मेरा दि थ्या।
बाबालाइ हम सताउँथ्या, इसोल्या उसोल्या।
हँसाइ रख्ख्याई बानी, उनृ कभै नाइ रौयौँथ्या।
काँई काँइहैलै लेइबट, निक निको कोयौथ्या।
दुत्या गोरा जात मेला दोकान हालनथ्या।
जिल्फी मिठाई पकाउँथ्या ,हम भाइलु बेचनथ्या।
बाबा मेरा इसा थिया, काम रे काजका।
लण्याला पन भौती थिया मेरा समाजका।
जब सम्म बा मेरा साथ, खुबै सुक्क पया।
हँस्सा हँस्साइ बोल्ला बोल्लाइ, बाबा त गैगया।
छै सातमा पणनथ्या म बाबा सोर्गलोकमा।
दिन गया उतिपछा, मेरा उनैराइ सोकमा।
ओ बाबा लण्याला बाबा, सम्राइ लाइरन्छे।
बाबासित हाँसिखेल्या दिन्की, याद भौती आइरन्छे।
२.
केइ कुरा भणन्या मन्छ आस्या बाबा सैना
सक्या सम्मँ आइदिया, अल्लेइकी रात।
सुणाउलो नया ताजा ,कुरा कानी बात।
तम्री रुप नधेक्याका , भैग्या सयौँ मैना।
केइ कुरा भणन्या मन्छ,आस्या बाबा सैना।
जि भण्यालै बाबा तम्ले काम गथ्थिउ खुरखुर।
हकर्याले डरै डर, कामन्थिउ थुरथुर।
मन्मा चणी उणि रन्छे,ओ बाबा भुरभुर।
जै बेला याद आउछे तम्री मन रुन्छ, धुरधुर।
झिक्क बेर कुरा सुणदिय, छ तम्री सलामँ।
सपहै पल्ली सुणाउनौ, मेरा गट्टा कामँ।
काम गद्दौ रात्तै उठि गोर बकरा फुनौ।
किताब छाणी मोबाइल, लझाइ फेसबुक चलुनौ।
कमुनत रुप्या पन, भौतै कमौनौ।
खानी पिनि तसि खाइलै, मोबाइल्मै उणौनौ।
हुन्त मन्मा लाग्या कुरा पेट नराखी खोल्लौ।
तै मालै बानी छ गट्टि, जोरसित बौल्लौ।
कंजाई कंजाई जाँ झानिहो, मेरि होश फामँ।
गट्टि बानी गेद मेदानशीत त, खेल्या मेरो कामँ।
रिस डनि काइ लगै ठउर, नाइ पाउछे।
तोइ डनि जाँहैलै ताँहै, मैयै बटि आउछे।
जण्या जत्ती गट्टा कुरा, इत्ति हन मेरा।
निका कुरा निकि बानि लौ सुण एक फेरा।
घरै बसि भया पन, ध्यानँले पड्डोछु।
बदमासुन्को जणो काट्टाइ ,अगाणी बड्डोछु।
काम पन गर्याकै छु, पढाइ पन लगातार ।
पड्ड काम सरसेकै गद्दौ मेराइ मुन्डा भार।
आर सार गद्या मन भौतैइ लागन्छ।
कसै किलै गट्टोजन सोच मेरो मन भन्छ।
कसैको लै दु:ख पीडा, सक्यासम्म तक्दो।
सक्को सहयोग गरि हाल्लो, हेरन नाई सक्दो।
सेवा चाकरी गद्द पन, भौतैइ जान्णौ।
बुणा बुणा सयानान, खुपै निको मान्णौ।
गोर बकरा गाई बल्ल ,तन पन पाल्लौइछु।
जाँत मेला गोरा दुत्या, दोकान हाल्लौइछु।
बोट पटेला बनाइबर, फल फुल फुलुउनौइछु।
कभै कभै बेन्णा बैना ,तन पन बेच्चौइछु।
जै गणा साग लौथ्या तम, मै पन लुनौइछु।
गणा खुन्ला बनाइबरे, खेती पाती बुनौइछु।
मेला पात गित गजल, मैपन गौँनौइछु।
तम्री जनि घुच्चा घुच्चाइ,पुरुस्कार पौँनौइछु।
आँखिर बाबा तम्रै खुन हो,कम्तिको क्याइ हुँलो।
निकौइ गर्लो नाम राखी, इज्जत कमुँलो।
तम्रो चेलो इत्ति भणी लौत, बिदा भैछ।
जस्यारी लै आस्या सैना, सोराइ लागिरैछ।
बाबाको मुख हेर्न्या दिन , भदौ पण्यो मैना ।
केई कुरा भणन्या मन्छ, आस्या बाबा सैना ।
मेलौली २ “सुन्दर भूमि” सेली बैतडी
जुनु घिमिरे साहित्य साधनामा करिव एक दशकदेखि अनवरत लागि पर्नु भएको छ। धनकुटा जन्मभूमि भइ हाल भक्तपुर बसोबास गर्दै आउनु भएका घिमिरे साहित्यका अलावा पुस्तक ब्यबसाय पेशामा संलग्न हुनुहुन्छ । भक्तपुर बुढ्यौली साहित्य समाजको कार्यसमिति सदस्य ,चाँगुनारायण साहित्यिक समाजको सचिव पदमा आवद्ध भएर साहित्यिक गतिविधिमा अग्रसर उहाँका ‘पसिनाको घर’ र ‘प्रदीप्त मन’ कविता सङ्ग्रह प्रकाशित छन् । विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरू, साहित्यिक पत्र–पत्रिकाहरू, म्यागेजिन तथा अनलाइन फुटकर कविता, मुक्तक तथा समसामयिक विषयका लेखहरू प्रकाशित घिमिरे साहित्यमा आख्यान, कविता, कथा, मुक्तक गजल लगायत साहित्य अन्य विविध विधामा उत्तिकै सशक्त कलम चलाउनु हुन्छ । विभिन्न सम्मान पुरस्कारबाट सम्मानित हुनु भएकाे साहित्यकार घिमिरेसँग सहीखबरका लागि आरपी गुरागाईंले गरेको साहित्यिक कुराकानीको सम्पादित अंशः

- सहीखबरमा तपाईंलाई हार्दिक स्वागत छ ।
– धन्यवाद सहीखबर टिमलाई ।
- अचेल केमा व्यस्त हुनुहुन्छ ?
– घरव्यवहार लेख्ने पढ्ने यस्तैमा बित्दैछ दिन।
- साहित्य लेखनमा लाग्नु भएको कति भयो ?
– खुलेरै लागेको चाहिँ दस बर्ष जति भयो ।
- साहित्य लेखनमा कस्को प्रेरणाले लाग्नु भएको हो ?
–पुस्तक पसलमा बस्दा नेपाली साहित्यका धेरै पुस्तक पढ्ने अवसर जुर्यो त्यही अवसर प्रेरणा बन्न थाल्यो ।
- साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
–समाज,परिवार, परिवेशसँग सात्क्षातकार हुँदैगर्दा मान्छेको चेतन मनमा उब्जने भावाना काव्यिक रूपमा बाहिरिनु नै साहित्य हो ।
- साहित्यको कुन विधामा कलम चलाउनुहुन्छ ?
–कविता, मुक्तक अनि कथा ।
- साहित्यलाई अनुत्पादक क्षेत्र भन्छन् नि ? तपाईको विचारमा के लाग्छ ?
–आज हामीले बाँचेको जीवन, समाज र समय भावी पुस्तालाई चिनाउने माध्यम हो साहित्य । आज फ्याटै रिजल्ट नदेखिन सक्छ तर भोलिका पुस्तालाई सहयोगी माध्यम हुनसक्छ । यदी वाल्मिकिले रामायण,गीता नखेको भए त्यो समय हामीले कसरी बुझ्थ्यौं । भानुभक्तको युगदेखि लक्ष्मी प्रसाद बाँचेको समय साहित्यमै लेखेर छोडेका हुन् त्यसैले म अनुत्पादक भन्दिन ।
- तपाईंले पुस्तकहरू प्रकाशन गर्नु भएकाे छ । साहित्यिक पुस्तक प्रकाशनमा कतिको अफ्ट्यारो र चुनौती छ ?
– म आफैँ पुस्तक ब्यवसायी भएकोले मलाई चाहिँ खासै अप्ठ्यारो अनुभूति भएको छैन तर समग्रमा हेर्ने हो भने हामीजस्तो निम्न आयस्रोत भएको मान्छेहरूलाई घरव्यवहार चलाएर आफ्नो खर्चमा पुस्तक निकाल्नु निक्कै गार्हो विषय हो । प्रकाशनगृहले पुस्तक छाप्न पनि चलेका लेखलाई मात्र रोज्ने भएकोले अप्ठ्यारो नै छ ।
- तपाईं विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ । यसलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ ? आत्मसन्तुष्टि मिल्छ की मिल्दैन ?
– टिममा बसेर काम गर्ने हो सबैले आफ्नो आफ्नो जिम्मेवारी निभाए संस्था चलाउन कुनै अप्ठ्यारो छैन ।यो सबै आत्मासन्तुष्टिकै लागि हो ।
- साहित्यको आडमा राजनीति गर्नेहरूलाई के भन्नुहुन्छ ?
– सबै लेखक कुनैन कुनै पाटीमा आस्था राख्छन् नै तर त्यो आस्था लेखनमा अथवा साहित्यिक संस्थामा घुस्यो भने चाहिँ राम्रो लेखन भन्दा राजनीति बाहिरिएला ।
- मानव जीवनमा साहित्यको भूमिका कस्तो रहन्छ ?
– साहित्य भित्र रमाउने मान्छेहरू जीवनको कुनै मोडमा पनि एक्लो अनुभूति गर्दैनन् ।
- अहिलेको नेपाली साहित्यलाई कसरी नियालिरहनुभएको छ ?
– पछिल्लो समय नेपाली साहित्यमा धेरै सर्जकहरू जन्मिरहनु भएको छ साहित्यिक कार्यक्रम गोष्ठीहरू भैरहेकाछन् यसले नेपाली साहित्य, नेपाली भाषा र नेपाली समाजलाई पक्कै घाटा गर्दैन ।
- अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा–साहित्यको स्थान कहाँनेर देख्नुहुन्छ ?
– अन्तरास्ट्रिय स्तरमा नेपाली भाषाले ठुलो फड्को मारेको चाहिँ देखिन्न ।
- स्रष्टा, सिर्जना र सर्जकलाई प्रदान गरिने सम्मान/पुरस्कारप्रति तपाईंको धारणा के छ ?
– स्रष्टा सम्मानले लेखकलाई पक्कै पनि हौसला त दिन्छ नै तर सम्मान दिने संस्था र सम्मान लिने व्यक्तिले सोच्नु चाहिँ पर्छ के उसलाई दिन योग्य हो या म सम्मान लिन योग्य छु भनेर । इमान्दारीता नगुमाइ लिने र दिने हो भने मात्रै पुरस्कारको पनि सम्मान हुन्छ भन्नेलाग्छ मलाई ।
- साहित्यिक स्रष्टाहरूको समाज प्रतिको दायित्व के हो जस्तो लाग्छ ?
– सकारात्मक धारण पस्किएर समाजलाई नकारात्मक धारणामा फस्न नदिनु हरेक स्रष्टाको दायित्व भित्र पर्छ ।
- समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
– साहित्य भनेकै समाजबाटै आवर्तित भाव न हो । सबैले लेख्ने भनेको आफूले स्थान पाएको भूगोल आफू बाँचेको समाजको चित्रण न हो ।

- साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
– आत्मसन्तुष्टि
- पछिल्लो समय साहित्यका पाठक कतिका छन् जस्तो लाग्छ ?
– पाठकहरू त धेरै नै हुनुहुन्छ तर पुस्तक पत्रपत्रिका भन्दा धेरै सामाजिक संजालमा साहित्यिक रचना पढ्ने धेरै बढ्नु भएको छ ।
- बुढयौली साहित्यबाट साहित्यिक गतिविधी हुने गरेका छन् । यसलाई कसरी लिनु भएको छ ?
– म बुढ्यौली भन्नुभन्दा पनि पाका मानिसहरू भन्न रुचाउँछु । पाका मानिसहरूको साहित्यमा मात्रै होइन अहिलेको नेपाली समाज हेर्ने हो भने भोटर संख्या पनि जेष्ठ नागरिककै धेरै देखिन्छ त्यसैले म त भन्छु पाका मानिसहरू अब निर्णायक बिन्दुमा हुनुहुन्छ । उहाँहरू जुन किसिमले साहित्यमा सक्रिय हुनुहुन्छ यस्ता गतिविधिले युवाहरूलाई चुपलागेर बस्न पक्कै पनि दिदैन ।
- अरु कुनै विधामा पुस्तक प्रकाशनको तयारी गरिरहनु भएको छ कि ?
– अहिलेसम्म दुईवटा गद्य कविताको पुस्तक आएका छन् र अब चाँडै गीति लयमा पुस्तक प्रकाशित गर्ने तयारीमा छु ।
- ….अन्त्यमा केही ?
चितवन । विपिन पाठकको कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण गरिएकाे छ । शुक्रबार चितवनकाे माडीस्थित पर्यटकीयस्थल रातोमाटे डाँडामा पाठककाे पहिलाे कविता कृति लोकार्पण गरिएको हो ।
माडी साहित्य परिवारले आयोजना गरेको कार्यक्रममा चितवन, मकवानपुर, नवलपरासी र कैलालीका साहित्यसर्जकहरुको उपस्थितिमा कृति लोकर्पण गरिएकाे हाे । माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बुबाआमा बालकृष्ण र पार्वती पाठक, कवि भूपिन, युवा नेता रामप्रसाद न्यौपानेलगायतले सो पुस्तकको लोकार्पण गरेका हुन् ।
लेखक एवं कवि पाठकको व्यक्तित्व एवं कृतिका सन्दर्भमा डा. धनेश्वर भट्टराईले चर्चा गरेका थिए । भट्टराईले कवि पाठक कवितामा गहिरो रुचि भएको व्यक्ति भएको बताए । त्यसैगरी लेखक भूपिनले कवि विपिनको भने ‘कविता लेखनमा विपिन लोभलाग्दो किसिमबाट आएका छन्, उनले कविता बुझेका छन्, अझै स्तरीय कविता लेखेर आउनुपर्ने चुनौती यो सङ्ग्रहले दिएको छ ।’
कार्यक्रममा कवि पोषराज पौडेल, बाम बुद्धिजीवी प्रेम रिमाल, युवा राजनीतिज्ञ रामप्रसाद न्यौपाने, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, मकवानपुर हेटौंडाका कवि पुरुषोत्तम आचार्यलगायतले शुभकामना दिए । सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका कविता सङ्ग्रहमा समेटिएका छन् ।
कविता सङ्ग्रहमा ४० वटा कविता छन् । कवि विपिनले आफू माडीको सामान्य परिवारमा जन्मिएको र यहि सामान्य समाजको संगतमा बसेकोले आफ्ना कवितामा पनि समाजका सामान्य कुरा समेटिएकाे बताए । ६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउँछन् । प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव पनि हुन् ।
माडीसहित विभिन्न एफएम रेडियोमा साहित्यिक कार्यक्रम संचालनकाे अनुभव बटुलेका पाठक पेशाले शिक्षक हुन् । शिक्षा तथा लाेक सेवाका कक्षाहरु संचालन समेत गर्ने पाठक विश्वप्रकाश मावि भरतपुरमा अध्यापन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक गरेका छन् ।
सम्पूर्ण किताब नारायणगढले बिक्रीवितरणको जिम्मा लिएकाे कविता सङ्ग्रह इन्डिगो इन्क प्रालि काठमाडाैंले प्रकाशन गरेकाे हाे ।