एसके निधन
बाहरु नै आमा हुन
आमाहरु नै बा हुन
बालाई बा मात्रै भनेर
आमालाई आमा मात्रै देखेर
न आमा भित्रको बा चिन्न सकिन्छ
न त बा भित्रको आमा खोज्न सकिन्छ
कसले चलायो परम्परा ?
छोरोमा छोरी नदेख्ने
छोरीमा छोरो नभेट्ने
कुन मुर्खले लेख्यो शास्त्रको बिधी?
कस्ले छुट्यायो ,
कुशेऔसी र मातातिर्थ औसी?
आमा आमा बनेकै बखत
“बा” बा बन्नु भएको
संयोगको एकै दिन,एकै घडी,
एकै पल फरक फरक कसरी भो ?
ओ ज्योतिषी बा !
तपाईंको पात्रो सच्च्याउनुस्
प्रत्येक तिथि र मितिमा
कुशेमाता औंसी लेखिदिनुस
तपाईंले लेखेकै पात्रो पल्टाएर
तिथि र मिति जुटाएर
आमाबा सम्झने मुर्खहरुलाई
तपाईं दिनदिनै सम्झाईदिनुस।
हुन त ,
भन्नुहोला पात्रो खेलाची होईन
केरमेट गरीगरी सच्च्याउन मिल्दैन
ज्योतिषी बा !
तपाईंको एक झुटले
लाखौं सन्तानको माया पाउँछन् भने
हाप्दिनुस शास्त्रको कुरा
लेख्दिनुस कुशेमाता औंसी
हरेक दिन
हरेक पल र हरेक घडीहरुमा।
क्यार्नु त नि हौ ज्योतिषी बा ?
छोराछोरीले आफ्नो आत्माभन्दा माथि
तपाईंकै पात्रो साक्षी राखे पछि ।
हेटौडा

