मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा भएकाे छुट्टा छुट्टै घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना वेपत्ता भएका छन् ।
हेटौंडा–१९, नेवारपानीस्थित कोशिस पेट्रोलपम्प नजिकै पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सोमबार बिहान नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुवेदी गम्भीर घाइते भएका थिए ।
घाइते सुवेदीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । हो । ट्रक चालक दाङको गडुवा गाउँपालिका–२ का २३ वर्षीय चन्द्र प्रसाद चौधरीलाई नियन्त्रणमा लिइएकाे छ ।
यसैगरी मकवानपुरकाे बकैया गाउँपालिकामा बाढिले बगाउँदा एक जना बेपता भएको छ । १६ भदौमा बकैया ६ जस्पल बस्ने ४२ वर्षीय नानिमाया तितुङलाई स्थानीय कैलेनी खाेलाले बगाइ वेपत्ता बनाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
नानिमाया बाराकाे निजगढ १० लालबाट घर फर्कने क्रममा कैलेनी खोला तर्ने क्रममा बगाएकाे थियाे । इलाका प्रहरी कार्यालय निजगढसँग समन्वयमा खोजतलास जारी रहेको प्रहरीले जनाएकाे छ ।

