नेपाली साहित्यमा परिचित नाम हो आर.आर. चौलागाईं । साहित्य विधाकाे लघुकथामा समेत राम्राे दख्खल राख्ने चौलागाईं हालै सम्पन्न लघुकथा दिवसमा पुर्ण प्रसाद ब्राह्मण लघुकथा सम्मानबाट सम्मानित हुनु भएकाे छ । प्रस्तुत छ लघुकथा कै सेरोफेरोमा रहेर हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरोले चौलागाईंसँग गरेको कुराकानीकाे सम्पादित अंशः
प्रश्नः आफ्नो व्यक्तिगत र साहित्यिक परिचय ।
– मेरो वास्तविक नाम रेवतीरमण चौलागाईं हो भने साहित्यिक नामचाहिँ आर.आर. चौलागाईं हो । मैले सिन्धुपाल्चोक जिल्लाको सुन्दरीपुर गाउँमा २०१८ साल चैत्र ११ गते शनिवार पहिलोचोटि आँखा खोलेको हुँ । मेरो परिवार २०२२ सालमा हेटौंडाको ४ नम्बर वडामा बसाइँ सरेको हो र मेरो स्थायी बसोवास अहिलेसम्म यहीँ छ । कविताचाहिँ मैले १४ वर्षको उमेरदेखि लेख्न थालेको हुँ । त्यसपछि २०३४ सालका भएको अन्तरमाध्यमिक जिल्लास्तरीय कविता प्रतियोगितामा म प्रथम भएँ । मेरो कविताको शीर्षक ‘इच्छा’ थियो । मेरा ८ आठ वटा कवितासङ्ग्रह, एउटा लघुकथासङ्ग्रह, एउटा गीतसङ्ग्रह र एउटा हाइकु, छोक र मुक्तकसङ्ग्रह गरी जम्मा ११ वटा पुस्तकहरू प्रकाशित भैसकेका छन् । अझै विभिन्न विधाका ११ वटा पुस्तकहरू प्रकाशित हुन बाँकी छन् । म कविता प्रतियोगितामा जिल्ला प्रथम र राष्ट्रियस्तरमै सान्त्वना, द्वितीय र प्रथम भैसकेको छु । प्रथम राष्ट्रव्यापी खुला मुक्तक प्रतियोगितामा प्रथम र राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगितामा उत्कृष्ट भएको छु । मेरा लेखनका प्रमुख विधाहरू कविता र लघुकथा हुन् । यसबाहेक गीत, गजल, कथा, निबन्ध, सूत्रकथा, एलाक र बाछिटा पनि लेख्छु । पुस्तकको समीक्षा पनि गर्छु । मैले जिल्लादेखि राष्ट्रियस्तरसम्मका अनगिन्ती सम्मान र पुरस्कारहरू पाएको छु । मैले आधा दर्जनभन्दा बढी पुस्तक र पत्रिकाहरूको सम्पादन पनि गरेको छु । म खास गरी समाज परिवर्तन र जनचेतनाका लागि लेख्छु । परिवर्तनका लागि लेख्दा र लड्दा धेरै पटक जेल परेको छु र जागीर पनि गुमाएको छु । म थुप्रै साहित्यिक संस्थाहरूको संस्थापक पनि भएर काम गरिरहेको छु।
प्रश्नः हालैमात्र पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट सम्मानित हुनु भयाे । यसमा तपाईकाे प्रतिक्रिया ?
– नेपाली साहित्यको पहिलो लघुकथासङ्ग्रह ‘झिल्का’ का स्रष्टा पूर्णप्रसाद ब्राह्मणजस्तो उच्च साहित्यकारका नामबाट मैले सम्मान पाउनु भनेको मेरा लागि अत्यन्त खुसीको कुरा हो । पूर्णप्रसाद ब्राह्मण नेपाली लघुकथाका कोसेढुङ्गा हुन् । मैले पाएको खुसीको त सीमा नै छैन । यो सम्मानले गर्दा मलाई अझै राम्राराम्रा लघुकथाहरू लेख्न हौसला र प्रेरणा मिलेको छ । मैले यही अनुभव गरेको छु ।
प्रश्नः अचेल कति स्थापित लघुकथाकारहरूले लेख्न छाडेका र लेखिएका लघुकथाहरू पनि कालजयी हुन नसकेका गुनासा पनि सुनिन थालेको छ । यहाँलाई कस्तो लाग्छ ?
– सबै होइनन् तर केही हदसम्म यी गुनासाहरू जायज पनि छन् । मचाहिँ थोरै लेखौँ तर राम्रो लेखौँ भन्छु । लघुकथा अहिले धनी हुने क्रममा छ । यसको भविष्य उज्ज्वल छ । केही अग्रज साहित्यकारहरूले यसलाई सम्पन्न बनाएर जानु भएको छ । वर्तमानमा असङ्ख्य लघुकथाकारहरूले यसमा हात हाल्नु भएको छ । थुप्रै सङ्ग्रहहरू निस्किरहेका छन् । अब हामीले यो बगैँचालाई गोडमेल गरेर हराभरा बनाउनुपर्छ ।
प्रश्नः केही व्यक्ति या संस्थाहरूले लघुकथा उँचाइमा लैजाने नाममा ह्रासको बाटो त अपनाइरहेका त छैनन् ? त्यस्तो महसूस गर्नुभएको छ ?
– हो, मैले पनि केही विवादहरू सुनेको छु । एकले अर्काको अस्तित्व नस्वीकार्ने यस्ता हल्लाखल्लाले हामीलाई नै हानि पु¥याउँछ । साहित्य, गुट र उपगुटले चल्ने चिज हैन । अध्ययन, लेखन, प्रस्तुति र समर्पणले चल्ने चिज हो । हामी आफैँले पनि नकारात्मक हल्ला नगरौँ, हल्लाको पछाडि नलागौँ, खूब लेखौँ, कालजयी लेखौँ यत्ति भए पुग्छ ।
प्रश्नः हाम्रो लघुकथा केन्द्रका गतिविधिलाई कसरी नियालिरहनु भएको छ ? हामीले सुधार्नैपर्ने हाम्रा कमजोरी भए आवश्यक सुझाव केही छन् कि ?
– मैले भ्याएसम्म हाम्रो लघुकथा केन्द्रका गतिविधिलाइ नियालिरहेको छु । यहाँहरूले लघुकथाको लागि एउटा चौतारी बनाउनुभएको छ । यो स्तुत्य कार्य हो । अझै परिष्कृत गरेर अगाडि बढ्नुहोला । यहाँहरूलाई मेरो सतत् शुभकामना छ ।
प्रश्नः हालैमात्र दुई दर्जन कृति एकै साथ विमोचन गरियो । यसका सकारात्मक र नकारात्मक पाटा केलाइदिनोस् न !
– यत्तिका धेरै कृतिहरू एकै साथ बाहिर आउनु भनेको सकारात्मक पाटो हो । यो नकारात्मक पाटो हुँदै होइन । यसलाई हामीले लघुकथाको मूल फुटेको र अब यो बाढीको रूपमा अगाडि बढ्छ भनेर बुझ्नुपर्छ । यो बाढीले हाम्रो आँगनमा झार र पत्कर होइन, फूलैफूल ल्याएर छोडोस् । मेरो यही अपेक्षा छ ।
प्रश्नः अन्तमा मैले भन्न छुटाएका तर यहाँले भन्न चाहेका लघुकथासंग सम्बन्धित केही कुरा भए बताइदिनोस् न !
– नेपाली साहित्यमा अहिले लघुकथा एउटा अलग्गै विधाको रूपमा स्थापित भइसकेको छ । पहिला पहिला कतिपय पत्रिकाहरूले लघुकथा भनेपछि नाक खुम्च्याउँथे । लघुकथाकारहरू थोरै थिए । लघुकथा पनि थोरै लेखिन्थे । कुनै कुनै पत्रिकाले मात्र ठाउँ दिन्थे । यसको मानक पनि बनेको थिएन । लघुकथा भनेर छोटा कथा लेखिन्थे र त्यसलाई नै लघुकथा भनिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । लघुकथा बलियो भइसकेको छ । तन्नेरी भइसकेको छ । लघुकथाको मानक पनि बनिसकेको छ । लघुकथा लेख्ने ठूलै जमात तयार भइसकेको छ । तर हामीले यत्तिमै चित्त बुझाउनु चाहिँ हुँदैन । हामीले सङख्यामा होइन गुणमा ध्यान दिनुपर्छ । कार्यशाला गोष्ठीहरू चलाउनुपर्छ, प्रतियोगिताहरूको आयोजना गर्नुपर्छ, अन्तरक्रियाहरू गर्नुपर्छ, कम्तिमा पनि लघुकथासम्बन्धी एउटा नियमित पत्रिका निकाल्नुपर्छ अनिमात्र लघुकथाको गरिमा अझ बढ्दै जान्छ ।

