१.
अरूको इमान्दारितामा कति सजिलैसित, धावा बोल्छन् मान्छेहरू
कुरा के बुझ्दै नबुझी लहैलहैमा किन होला, हावा बोल्छन् मान्छेहरू
धान खाने मुसो चोट पाउने भ्यागुतो, उखान यसै बनेको होइन रहेछ,
विनसित्तिमा गलफत्तिको शिकार बन्नुपर्दा, दावा बोल्छन् मान्छेहरू ।
२.
कोही मौन छ भन्दैमा कसैको सम्मानमा, ठेस लगाउन पाइन्छ र
प्रतिक्रिया गर्दागर्दै पनि व्यक्तित्वमाथि, अडेस लगाउन पाइन्छ र
अति भएपछि खति हुन्छ भन्ने कुरा, कहिले नबिर्सौँ है कसैले पनि,
अनाहकमा कसैमाथि हाकीहाकी यत्तिकै, क्लेश लगाउन पाइन्छ र !
३.
नखट्कियोस् कसैलाई, मेरो कुराले भनी, मौन बस्न मन लाग्छ
अनभिज्ञतामा गरेको सद्भावले, चित्त नदुखोस्, भन्न मन लाग्छ
सोधनी नभएको कुरामा मुख नखोल्नू , भन्नुहुन्थ्यो हाम्रो बुवाले,
प्रश्नोत्तरका बखतमा फेरि, गलतलाई सहीले निफन्न मन लाग्छ ।
४.
मेरा कुराहरू सबैलाई, राम्रै लाग्नुपर्छ, भनेर म भन्दिन
अरूका सबै कुराहरूमा, सही थाप्नुपर्छ, भनेर म भन्दिन
स्वतन्त्र छन् यहाँ, सबै रमाउन, आ-आफ्नै मादकतामा,
मागेको बेला सुझाव दिन्छु, मेरै मान्नुपर्छ, भनेर म भन्दिन ।
चितवन । गजल मञ्च चितवन १९ औं वसन्तमा प्रवेश गरेकाे छ । १९ वर्षे जवानीमा प्रवेश गरेकाे मञ्चले गत मंगलबार गजल साँझ कार्यक्रम आयोजना गर्यो । मञ्चका संस्थापककाे घर भरतपुर–१२ मा ‘गजल साँझ’ गरेर वार्षिकोत्सव मनाइएकाे हाे ।
गजल साँझमा १८ जना स्रष्टाहरुले गजल वाचन गरेका थिए । केही स्रष्टाहरुले वहरमा गजल प्रस्तुत गरेका थिए । नेपाली गजल लेखनमा कलम चलाउनेहरुका लागि चितवनमा खोलिएको मञ्चले स्थापनाकालदेखि हालसम्म विभिन्न कालखण्ड पार गर्दै गजल विधालाई थप सशक्त बनाउने प्रयास गर्दै आएको छ ।
‘गजल लेख्नेहरुलाई सम्बोधन गर्न स्थापना भएको गजल मञ्च चितवन यहाँसम्म आइपुग्नुमा संस्थाका अग्रजहरुकै देन हो’, मञ्च अध्यक्ष रामकृष्ण अनायासले भने ‘त्यसकारण संस्थाले विगत र इतिहास बिर्संदैन ।’ झोलामा बसेको संस्थालाई छानोको आवश्यकता महसुस भएको उनले बताए ।
मञ्चका संस्थापक अध्यक्ष किसान प्रेमीले गजल मञ्च चितवन अब परिपक्व संस्थाको रुपमा विकास भइसकेको बताए । ‘गजल मञ्च चितवनको स्थापना हुनुपूर्व नै चितवनमा गजलको माहोल थियो’ उनले भने, त्यसलाई संस्थागतरुपमै व्यवस्थित बनाउन गजलकारहरुलाई एउटै छानोमुनि समेट्ने उद्देश्यले संस्था स्थापना गरेका हौँ ।’
उनका अनुसार २०६१ सालमै संस्था स्थापनाका लागि गजलकारहरुको भेलाले धनराज गिरीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । तर, उक्त समिति पूर्णरुपमा निष्क्रिय भएपछि पुनः २०६३ सालको माघ ९ गते पुनः चितवनका गजलकारको अर्को भेलाले उक्त समितिलाई विघटन गरी किसान प्रेमीको संयोजकत्वमा अर्को तदर्थ समिति गठन भएको थियो ।
सोही वर्ष चैत २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय चितवनमा संस्था आधिकारिक दर्ता भएपछि गजल मञ्च चितवनले वैधानिकता प्राप्त गरेको हाे । संस्थाको विधानअनुसार दुवै तदर्थ समितिमा रहेकाहरुलाई संस्थाको संस्थापक मानिने भएकोले संस्थापकको विषयमा प्रस्ट हुन नयाँ तथा पुराना स्रष्टाहरुलाई उनले आग्रह गरे ।
संस्थापकको विषयमा कुरा बाझिएको प्रसंगमा उनले भने, ‘कानुनतः संस्था सरकारी निकायमा दर्ता भएकै मितिलाई स्थापना भएको मानिन्छ । तर, त्यसभन्दाअघिका तदर्थ समितिमा रहेका सबैलाई संस्थापक मानिने भनेर विधानमै उल्लेख भएको हुँदा त्यतिबेला संस्था जन्माउनका लागि योगदान दिनुहुने सबैजना संस्थापक हुनुहुन्छ ।’
गजल मञ्च चितवनले स्थापनाकालदेखि नै भाषणलाई निषेध गरेकोसमेत उनले जानकारी गराए । ‘ढोकाबाहिर जुत्ता, चप्पल खोलेर भित्र आएपछि दुई लाइन भए पनि गजलका शेर सुनाउने र भाषण गर्दै नगर्ने भनेर पहिलो कार्यक्रमबाटै अभ्यास थालेका हौँ’, उनले भने, ‘त्यसैले गजल मञ्च चितवन भाषणका लागि होइन गजलकै लागि हो भनेर सबैले बुझिदिनुहुन अनुरोध छ ।’
मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले गजल लेखनमा सक्रिय रहेका स्रष्टाहरुको सामूहिक एकताले नै यो संस्था जवान उमेरमा आइपुगेको बताए । अग्रज साहित्यकार एलबी क्षेत्रीले संस्था स्थापना गर्नुभन्दा त्यसलाई जोगाउन बडो कठिन हुने बताउँदै भने ‘संस्थालाई जोगाउनका लागि ‘धूर्त’हरुबाट बचाउन आवश्यक छ ।’
मञ्चका संस्थापक बालकृष्ण थपलियाले गजल मञ्च चितवनका पछिल्ला गतिविधिले चितवनको गजल क्षेत्रलाई चलायमान बनाएको बताए । संस्थाले प्रकाशन गर्दै आएको ‘गजल सारथी’को प्रकाशनलाई निरन्तरता दिन उनले सुझाव दिए । ‘इतिहासलाई नबिर्सौं र गजल सारथीलाई प्रकाशन गर्न नछाडौँ’ उनले भने ।
मकवानपुर । मकवानपुरको झरना साहित्यिक परिवारले मुक्तककार शिव अधिकारीलाई ‘शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान, २०८१’ बाट सम्मानित गरेको छ ।
झरनाले शनिबार ३१४ औं साहित्य शृङ्खलाको अवसरमा ३१ औं मुक्तक साँझ कार्यक्रम आयोजना गर्दै इलाम सूर्योदय नगरपालिका–१४, बतासेका अधिकारीलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको उक्त सम्मानबाट सम्मानित गरेको हो ।
अधिकारीका झटरो, भद्रगोल, भाँडभैलो, श्रद्धाञ्जली, अधुरो सपना मुक्तक संग्रह र यथार्थता, धर्तीको माटो गजल संग्रह प्रकाशित छन् । झरना परिवारका सस्थापक साहित्यकार रमेश मोहन अधिकारीले उक्त सम्मानका स्थापना गरेका हुन् ।
मुक्तक प्रतियोगितामा बकैयाका नेगी प्रथम
जिल्लास्तरीय मुक्तक प्रतियोगितामा बकैयाको हात्तीसुँडेस्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत् छात मोनिका नेगी उत्कृष्ट मुक्तककार घोषित भइन ।
उत्कृष्ट मुक्तककार नेगीलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा ८ प्रतियोगीमध्ये ७ प्रतियोगीले मात्र मुक्तक वाचन गरेका थिए ।
प्रतियोगितामा हेटौंडा–१, चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयका रोशिका भट्टराई, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल बोर्डिङ स्कुलका जिज्ञासा पौडेल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका पद्मा ढकाल, हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका प्रसिद्धि भट्टराई, चन्द्रोदयकै रितिका खतिवडा, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका सन्ध्या लम्सालले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको निर्णायकमा अजर फूयाँल र भवानी तिमल्सिना रहेका थिए ।
झरनाले ३१४ औं साहित्य शृङ्खलामा ३१ औं मुक्तक साँझ कार्यक्रम–२०८१ समेत आयोजना गरेको छ । मुक्तक साँझमा रोमा लम्साल, डिबी बर्ताैला, सागर तिम्सिना, गायत्री रुपाखेतीले ६/६ वटा मुक्तक वाचन गरेका थिए ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा वरिष्ठ मुक्तककार अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गर्ने भएको छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतमलाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिने भएकाे हाे ।
सिस्नुपानी मकवानपुरले २० बैशाख २०८२ मा हेटौंडामा हास्य व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गर्न लागिएकाे संस्थाका सचिव सुमार्गी हुमागाईंले जनाकारी दिए ।
सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिने भएको हो । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार सुबोध गौतमलाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिने भएकाे छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष संप्रस पौडेलका अनुसार गाईजात्रा पर्व र तिहारमा देउसी भैलोकाे अवसरमा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गर्दै आइरहेको सिस्नुपानी मकवानपुरले अघिल्लो वर्ष स्थापना दिवसमा राष्ट्रिय स्तरको हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गरेको थियाे ।