मकवानपुर । मकवानपुरको झरना साहित्यिक परिवारले मुक्तककार शिव अधिकारीलाई ‘शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान, २०८१’ बाट सम्मानित गरेको छ ।
झरनाले शनिबार ३१४ औं साहित्य शृङ्खलाको अवसरमा ३१ औं मुक्तक साँझ कार्यक्रम आयोजना गर्दै इलाम सूर्योदय नगरपालिका–१४, बतासेका अधिकारीलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको उक्त सम्मानबाट सम्मानित गरेको हो ।
अधिकारीका झटरो, भद्रगोल, भाँडभैलो, श्रद्धाञ्जली, अधुरो सपना मुक्तक संग्रह र यथार्थता, धर्तीको माटो गजल संग्रह प्रकाशित छन् । झरना परिवारका सस्थापक साहित्यकार रमेश मोहन अधिकारीले उक्त सम्मानका स्थापना गरेका हुन् ।
मुक्तक प्रतियोगितामा बकैयाका नेगी प्रथम
जिल्लास्तरीय मुक्तक प्रतियोगितामा बकैयाको हात्तीसुँडेस्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत् छात मोनिका नेगी उत्कृष्ट मुक्तककार घोषित भइन ।
उत्कृष्ट मुक्तककार नेगीलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा ८ प्रतियोगीमध्ये ७ प्रतियोगीले मात्र मुक्तक वाचन गरेका थिए ।
प्रतियोगितामा हेटौंडा–१, चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयका रोशिका भट्टराई, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल बोर्डिङ स्कुलका जिज्ञासा पौडेल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका पद्मा ढकाल, हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका प्रसिद्धि भट्टराई, चन्द्रोदयकै रितिका खतिवडा, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका सन्ध्या लम्सालले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको निर्णायकमा अजर फूयाँल र भवानी तिमल्सिना रहेका थिए ।
झरनाले ३१४ औं साहित्य शृङ्खलामा ३१ औं मुक्तक साँझ कार्यक्रम–२०८१ समेत आयोजना गरेको छ । मुक्तक साँझमा रोमा लम्साल, डिबी बर्ताैला, सागर तिम्सिना, गायत्री रुपाखेतीले ६/६ वटा मुक्तक वाचन गरेका थिए ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा वरिष्ठ मुक्तककार अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

