- नरेश विष्ट
नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ । यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन् ।
सुरुवात गरौं, प्रशासनिक निकाय र सुरक्षा संस्थाहरूको अवस्थासँग । प्रस्तावित प्रहरी विधेयकलाई लिएर प्रहरी प्रशासन भित्र असन्तुष्टि फैलिएको छ । यस असन्तुष्टिको यदि विरोध बढ्छ भने, यसको असर कानुन कार्यान्वयन र शासनमा कस्तो पर्न सक्छ ? यही समय, सेनाको निष्ठा सम्बन्धी पनि प्रश्न उठेका छन्, विशेष गरेर ताराद्वजसँगको विवादको सन्दर्भमा । यो विवादले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू निम्त्याउन सक्छ । अर्कोतर्फ, सरकार र न्यायपालिकाबीचको बढ्दो तनावले गहिरो शासन चुनौतीको संकेत दिन सक्छ । नेपाली कांग्रेस भित्रको विभाजनले तत्काल अस्थिरता नल्याए पनि, साना अन्तरविरोधहरूले भविष्यमा शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ ।
नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा सरकारको विपक्षी धारणा अझ बलियो देखिन्छ । यसले परम्परागत राजनीतिक विभाजनलाई पुष्टि गर्दछ । थप रूपमा, सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित नीतिहरूको विरोधले सञ्चारमाध्यमहरूलाई सरकारविरुद्ध एकताबद्ध गर्न सक्छ, यसले सरकारका लागि रणनीतिक व्यवस्थापनको आवश्यकता पनि जन्माउँछ । नियन्त्रण नियमन कानून निर्माणमा थापा सचिवालयको सक्रियताले थापा माथिको समाचार संकलनकर्ताको अपार समर्थनको नैतिक धरातल भत्किने संभावना पनि छ ।
अब आइपुगौं नेपाली कांग्रेसको नेतृत्वको संघर्षमा । महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसको अध्यक्षका रूपमा उदाउने अड्कलबाजीहरूले पार्टीमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बनाएका छन् । पार्टीका अन्य नेता विश्वप्रकाश शर्मा उपाध्यक्ष र प्रदीप पौडेल क्रमश: उपसभापति र महामन्त्रीको रूपमा उभिने अड्कल छन् । यदि गगन थापा नेतृत्वमा उत्रिए भने, शेरबहादुर देउवाले उदाउँदै गरेकी क्षमतावान नेतृ डा. आरजू राणाको सुरक्षाका निम्ति यी नयाँ शक्तिहरूसँग कसरी सामना गर्नेछन् भन्ने बहसले गति लिएको छ तर यो पनि चर्चा चलेको छ कि महामन्त्री थापाले छिट्टै देउवाका उत्तराधिकार प्राप्त गरुन् ! एक फरक तर गम्भिर प्रसंगमा अवतरित हुनुपर्दा गगन थापा माथि क्रिश्चियानिटीको आरोप लाग्ने गर्दथ्यो र त्यो गगन थापाले हालै हिन्दू मन्दिरमा पूजा गरेको एक भिडियो सार्वजनिक गरे, जसले केही जिज्ञासा उठायो । उनि माथि लागेको आरोप र सार्वजनिक त्यो भिडियोको विचबाट नियाल्यौ भने के तमाम नेपाली हिन्दुवादी नेताहरूले मन्दिर दर्शन गर्दा आफूद्वारा अभिनीत वृतचित्र प्रसारण गर्छन् त ? के यो व्यक्तिगत आस्था हो, वा यसमा कुनै रणनीतिक पाटो पनि जोडिएको छ ?
नेपालको भू-राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालकाे लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ । के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन् ? यसकाे परिणाम स्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू (BRI, इन्डो-प्यासिफिक रणनीति) निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ ।
गगन थापाको धार्मिक क्रियाकलापलाई खुलेआम प्रचार गर्नुको कारण के हुन सक्छ ? सरकारले विआरआई ड्राफ्ट दस्ता निर्माण गर्यो नेपाली कांग्रेसले सरकारको ‘घुम्ती उच्चस्तरीय संयन्त्र’ निर्माण गर्यो जहाँ गगन थापाकै सचिवालय सक्रिय थियो र विआरआई सम्झौता भयो । उपरोक्त सम्झौता माथि मित्र राष्ट्रहरूको नाराज चेहरा बुझेका थापाले ‘जब परराष्ट्र मन्त्री सभापति नै चाहनु हुन्थ्यो त मेरो के लाग्थ्यो र’ भन्ने जवाफ दिए तर यो ब्यालेन्स गेम लामो यसरी टिकेन कि, थापा सरकार ८४ सम्मै रहने अभिव्यक्ति दिन तल्लिन रहे । त्यो भन्दा पर सरकारद्वारा निर्मित अध्यादेशहरू निर्माण गर्न निरन्तर सक्रिय रहिरहे र यो विषयले भारतलाई कुन डायमिटरकाे चोट लागेको छ वा अमेरिकाले यसलाई कसरी लिएको छ वा उनि चिनिया एक दलिय प्रणाली भित्र प्रवेश गरिसके ? यस विच अन्य के संशय आरम्भ पनि भएको आभाष छ कि यो पछिल्लो पूजायाचनाले आर एस एस प्रभावित भयो वा भ्याटिकन नाराज !
साथै, केही रिपोर्टहरूका अनुसार, पश्चिमी प्रभावहरूले गगन थापालाई भारतसँगको सम्बन्धमा महत्वपूर्ण व्यक्तिका रूपमा प्रवेश गराई दिएका छन् । यदि यसले यथार्थमा आकार लियो भने, नेपालका नेतृत्वमा नयाँ भू-राजनीतिक समीकरणहरू विकसित हुन सक्छ । यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता परियोजनाहरूसँगको सम्पर्कमा के प्रभाव पार्न सक्छन् भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन् । भारतलाई संभवत मन्दिरको सन्त पुजारी भन्दा उसको सुरक्षा स्वार्थ ठुलो छ उ भन्छ ‘भारत माता की जय !’
एक अर्को प्रसंगमा कांग्रेस भित्र वीपी पुत्र शशांक कोइरालाको रणनीतिक सक्रियता र भारतीय दूतावाससँग भनिएको भेटवार्ताले बाह्य प्रभावहरूको संकेत दिन्छ तर, उनि नितान्त सचिवालय सदस्यको एक सेरेमोनियल कार्यकारी सदस्यमै सीमित देख़िन्छन् । आम रूपमा वेल मिनिङका डा. शशांक बिरामी परेपछि उनको घरभित्र विभाजनकारी बाह्य शक्तिको दबदबा बढ्याे ।
यसैबीच, देउवाको रणनीतिक सोचमा पनि महत्त्वपूर्ण घटकहरू छन् । पार्टीभित्रको गुटबन्दीले देउवा डा. शेखर कोइरालाको गतिविधि, विशेष गरेर कोशी प्रदेश र सुदूरपश्चिममा भएको उनको क्रियाकलापलाई निकटबाट नियालिरहेका छन् । देउवा यसलाई सामान्य राजनीतिक चहलपहलका रूपमा देख्छन् कि यो एक ठूलो चुनौतीको संकेत हो ? भविष्यमा यसले कस्तो रूप लिन्छ, त्यो महत्त्वपूर्ण हुनेछ । तर, देउवा डाक्टर शेखर कोईरालासँग धेरै विमत्तिहरू राख्दैनन् । किनभने डा. कोइरालाको भूराजनीतिक सन्तुलन अलि ज्यादा स्थिर छ । यी मूल कारणहरूले आन्तरिक शक्ति सन्तुलनमा देउवा परिवारले डाक्टर शेखर कोइरालासँग सहकार्य गर्ने संकेत गर्दछ तर यसविच गगन थापासँगको पुनर्मिलनमा डाक्टर मिनेन्द्र रिजाल, एन पी साउद, राजेन्द्र बजगाई गुरू घिमिरे डाक्टर गोविन्द पोखरेलहरूको भूमिका पनि रोचक देखिनेछ ।
नेपालको भू-राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालकाे लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ । के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन् ? यसकाे परिणाम स्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू (BRI, इन्डो-प्यासिफिक रणनीति) निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ ।
अब, यदि देउवा पार्टीबाट बाहिरिएको सन्दर्भमा पनि कांग्रेसमा न्यूनतम २० प्रतिशत समर्थक देउवा सँगै अन्तिम दिनसम्म रहन्छ त्यो भनेको लोकतान्त्रिक पार्टीमा ठुलो शक्ति हो । अथवा, देउवा नयाँ रणनीति अपनाउँदै सत्ता जोगाउने प्रयास गर्ने छैनन् ! देउवाको व्यावहारिक नेतृत्वशैली र उनकी पत्नीको प्रभावशाली भूमिका हेर्दा, के उनीहरूले आफ्नो अनुभवलाई प्रयोग गरी पार्टीमा शक्ति सन्तुलन कायम राख्न सक्नेछन् यो प्रश्न पाठक बिच नै छाडिएको छ ।
अन्तिममा, शेखर कोइराला र गगन थापाबीचको एकताको दुरी अझ बढी बढ्दैछ कि छैन भन्ने सवाल उठ्छ । डेढ वर्ष पूर्व एक कांग्रेस सांसदले डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापा विच होटल याक एण्ड यतीमा शक्ति सन्तुलन प्रस्ताव गराएका थिए । अब, दुरी घट्यो र यसले आकार लियो भने, के यसले नेपाली कांग्रेसको भविष्यलाई पुनः परिभाषित गर्दै नयाँ शक्ति सन्तुलन सिर्जना गर्नेछ ? तर, यस विच विश्वप्रकाश शर्मा भाई शशांक, एन.पी. साउद सँगको एकताको बाटो आरम्भ भैसकेको परिस्थितिमा परिस्थिति अन्तै तैरिने त छैन ? अनि रेल छुट्छ ?
नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ, र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन् ।
नुवाकाेट
‘हाम्रो देशमा धर्मलाई अतिक्रमण गरिरहेका बेला चलचित्रका दुई प्रमुख पात्र, नायक र नायिकाको मुख्य नाम राम र सीता राखिनु, चलचित्रका प्रायः सबै भाग जनकपुरमै छायाङ्कन गर्नुले हामीलाई बेलाबेलामा त्रेतायुगका राम र सीताबारे स्वतः सोचमग्न गराउँछ । कतै तिनै राम र सीताले पुनर्जन्म लिएर फिल्मी परिवेशमा जनकपुरमा आएर दर्शकलाई सम्मोहित गराएकोजस्तो भान पनि गराउनसक्छ’
हामीले विभिन्न खालका सूचनाहरू हेर्दै र पढ्दै आएका छौँ र मिलेसम्म सूचनालाई बुझ्न र जान्न सूचनास्थलमा पनि पुग्ने गर्छौं । त्यस्तै फरक धारमा बनेको सूचना हो ‘केटी हराएको सूचना’ । झट्ट हेर्दा र पढ्दा कसैलाई यो सूचनाले र पोस्टरले अल्मल्याउन सक्छ, कस्तो सूचना हो ? केटी हराएको भन्या छ केटा पनि छ पोस्टरमा ! प्रसन्न मुद्रामा तन्नेरी युवा युवतीको फोटो छ तर पनि केटी हराएको किन भनिएको छ भन्ने लाग्नसक्छ ! यो रहस्यपूर्ण चित्र/पोस्टर कुनै हराएको व्यक्तिको पोस्टर नभै एक चलचित्रको पोस्टर हो जसमा एक पहाडी मूलकी युवतीलाई मधेसी मूलका युवाले अपहरण गर्दा बनेको कुरालाई आधारित रहेर बनाइएको छ ।
फरक स्वाद र फरक भावको स्वदेशी माटोमा स्वदेशी भाषामा बनेको पवित्र मन र सोचले नेपालकाे ओझेलमा परेको मधेसलाई सबै नेपाली दर्शकसामु ल्याएर मधेसको पहिचानलाई बचाउन आफ्नो वर्षौंदेखिको कलाकौशल, खारिएको सीप र अनुभवका आधारमा आफ्नो मातृभूमिमा रुझ्दै, आफू पहाडी समुदायको भएर पनि मधेसी समुदायलाई अगाडि ल्याउन र चिनाउन आफ्नो चलचित्र “Missing केटी हराएको सूचना ” मार्फत सबैमाझ प्रस्तुत भएको छ, जसलाई ल्याउन सफल बन्नुभएको छ चलचित्र निर्देशक श्री दीपेन्द्र गौचन ।
आजको मितिसम्म आइपुग्दा, धेरै जनाले यो चलचित्र हेरेर चलचित्रको मौलिकतालाई आ—आफ्नो ढङ्गले बुझिसक्नुभएको होला । मलाई पनि चलचित्र हेरिसकेपछिका केही बुझाइहरूलाई नलेखी मेरो मनले मान्दै मानेन र मनको सुन्दै आफ्ना विचारहरूलाई यहाँ प्रस्तुत गर्ने जमर्को गदैछु ।अहिले जताततैबाट हाम्रो देशमा धर्मलाई अतिक्रमण गरिरहेका बेला चलचित्रका दुई प्रमुख पात्र, नायक र नायिकाको मुख्य नाम राम र सीता राखिनु, चलचित्रका प्रायः सबै भाग जनकपुरमै छायाङ्कन गर्नुले हामीलाई बेलाबेलामा त्रेतायुगका राम र सीताबारे स्वतः सोचमग्न गराउँछ । कतै तिनै राम र सीताले पुनर्जन्म लिएर फिल्मी परिवेशमा जनकपुरमा आएर दर्शकलाई सम्मोहित गराएकोजस्तो भान पनि गराउनसक्छ ।

अहिलेको आधुनिक जमानामा सबै मान्छेले आध्यात्मिक भाव नरुचाउन सक्छन् भनेर निर्देशक गौचनले नायक नायिकाको नामलाई आधुनिक नाम दिएर पौराणिक कुरालाई अद्यावधिक गर्न खोजेको हो कि भने जसरी पनि सोच्न बाध्य बनाउँदो रहेछ । कलाकार मार्फत समसामयिक परिवेशमा बुन्दै मिथिलाको कला र संस्कृतिको पहिचानलाई सबैसामु प्रष्ट्याउन, विभिन्न माध्यमबाट मिहीन ढङ्गले चित्रण गरिएको छ । चलचित्रमा नारी पात्रलाई पहाडिया र पुरुष पात्रलाई मधेसी पात्रका रूपमा र दुईबिचको वार्तालापका माध्यमबाट निर्देशक गौचनले नेपालभित्रै मधेस (तराई) र पहाड भए तापनि पहाडिया र मधेसीबिचको बुझाइको कमजोर कडीलाई सटीक रूपमा विभिन्न भाव, शब्द र उदाहरणका माध्यमबाट प्रस्तुत गर्न सफल बन्नु भएकाेछ ।
त्यस्तै, मधेसी पात्रका रूप, रङ्ग र विभेदलाई राम्ररी बुझाउन मधेसी आन्दोलनको कुरालाई चलचित्रको कथामा सम्वादमा प्रस्तुत गरेर तात्कालिक आन्दोलनले निम्त्याएको समस्या, मधेसी र पहाडीबिचको अटूट मित्रता र सम्झौतालाई प्रस्तुत गरेर चलचित्रको माध्यमले मधेस र पहाडबिचको विभेदको पर्खाललाई ढाल्न यो चलचित्र शक्तिशाली रूपमा उभिएको छ ।
चलचित्रमा पहिले नायिकाको अपहरण पछि फेरि उल्टै नायिकाले नायकलाई बन्दी बनाउनु अनि फेरि दुवै नायक नायिकामा सम्झौता हुनु र एकार्कामा प्रेम मौलाउनु, चलचित्रभित्रका भिन्न भिन्न स्वादका सम्वाद, सबै कुरालाई संस्कार र संस्कृति अनुसार मर्यादित ढङ्गले प्रस्तुत गर्दै मातृप्रेम, मातृभूमिप्रेम, मायाप्रीति, समर्पण, ग्रामीण परिवेश, कला आदि विविध कुरालाई रोचक तवरमा प्रस्तुत गरेर चलचित्रमा आफ्नै देशको स्वत्वपनलाई राम्ररी उजागर गर्न निर्देशक सफल बनेको चलचित्र हेरेका दर्शकहरूल स्वतः प्रष्टतया अनुमान लगाइसकेको हुनुपर्छ ।
चलचित्रमार्फ नेपाली कलाकाक्षेत्रमा फरक स्वाद र परिवेशमा जनकपुरका माध्यमबाट आफ्नो देश नेपालको मधेसलाई चिनाउन सफल बनेका छन् । प्रायः नेपालभन्दा धेरैजसोले काठमाडौं पोखरा, लुम्बिनी, सगरमाथा भनेर चिन्नेले जनकपुरलाई पनि राम्ररी चिन्ने भएका छन् साथै मधेसलाई पनि राम्ररी ध्यान दिन र बुझ्न थालेका छन् । मधेस बुझ्न र चिन्नकालागि एक अभियानकै रूपमा यो चलचित्र “Missing केटी हराएको सूचना ” ले यौटा नजीर स्थापित गरेको छ । साथसाथै साथीभाइको खिसीट्यूरीले पात्र राम कसरी अपहरण गर्न बाध्य हुन्छ र पात्र सीता पनि आफ्नै अभिभावकको जबर्जस्ती बिहे गर्नैपर्छ भन्ने दबावले बाध्य भएर घरबाट भाग्न हिँडेको कुरा र पछि गएर दुवैले साथी र घरमा देखाउनकै निम्ति सँगसँगै फोटो लिएको कुरालाई भावुक र मार्मिक रूपले पेश गरिएको छ । जसबाट निर्देशकले कसैको दबाव वा होच्याइले व्यक्तिको मानसिकतामा केकस्तो असर पर्छ भन्ने कुरालाई चलचित्रमा देखाएर वर्तमान परिप्रेक्ष्यका युवायुवतीहरू र अभिभावकहरूलाई सतर्क रहनकालागि चलचित्रकै माध्यमबाट सन्देश दिने प्रयत्न गर्नुभएको छ ।

चलचित्रका दुई पात्रबाट शुरू भएर दुई पात्रमै टुङ्गिने यस चलचित्रको कथावस्तुले जीवनमा विभिन्न आरोह अवरोहलाई सम्वादको रूपमा देखाउँदै आफ्नो मातृभाषा, राष्ट्र्भाषा दुवैमा पोख्त युवकलाई स्वाभिमानी मधेसी पात्रको रूपमा उभ्याएको छ । सरल जीवन र सादा पोशाकमा आफ्नै नेपालभित्रको जिल्लामै सुन्दर छवि र दृश्यको रसास्वादन गराउँदै भाइचाराको माध्यमबाट मधेस र पहाडलाई जोड्दै देशप्रेमको भावलाई “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उक्तिले जस्तै देशप्रेम र जन्मभूमि प्रतिको मोहलाई कूटनैतिक ढङ्गमा दर्शाउन सफल निर्देशक गौचन बधाईका पात्र बन्नुभएको छ । दुई दशकजति विदेशी भूमिमा बसेर पनि स्वदेशी माटोमा भिजेर स्वदेशी भाव र भाषालाई जस्ताकोतस्तै उतारेर राष्ट्र्रप्रतिको प्रेम उजागर गरिएको यस स्तुत्य कार्यको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
अहिले स्वदेशका मानिसहरूले विदेशमा गएर चलचित्र बनाइरहँदा स्वदेशमै बसेर स्वदेशी माटोमा स्वदेशी धारमा महत्वपूर्ण सन्देश बोकेको चलचित्र पस्केर एक उदाहरणीय व्यक्तित्व बन्न सफल बन्नुभएकोमा यस चलचित्रका निर्देशक दीपेन्द्र गौचन हार्दिक बधाई छ । साथै चलचित्रका नायक नायिकाका प्रत्यक्ष र परोक्ष रूपमा साथ दिने सबै चलचित्र टिम पनि बधाईका पात्र हुनुहुन्छ । आगामी दिनमा पनि यस्तैखालका उदाहरणीय काम गर्दै जानुहोला भनी यही मुक्तककासाथमा शुभेच्छा प्रकट गर्दै मेरो लेखनलाई यत्तिमै विश्राम दिन्छु ।
कतिपय कुराहरू त यहाँ मनन गर्ने खालका हुन्छन्
आस्था, सद्भाव र व्यवहार नमन गर्ने खालका हुन्छन्
म र मेरो व्यक्तिवादी सोचले हामी र हाम्रो भन्न सके,
आदर्श चिन्तनले नमूना प्रदर्शन गर्ने खालका हुन्छन् ।

‘मारियम मान्छे भई’ पुस्तक अध्ययन पछि
Tags: No Comments
स्रष्टाका सम्बन्धमा
राधा पौडेल पेशाले नर्स हुन् । लेखन, सामाजिक अभियान सञ्चालनमा विशेष अभिरुचि भएकी उनी मर्यादित महिनावारी अवधारणाको संस्थापक र मर्यादित महिनावारी विषयमा पि.एच.डी. गर्ने पहिलो महिला हुन् । उनका खलङ्गामा हमला (२०७०), अपवित्र रगत (२०७५), सर्जिकल रजोनिवृत्ति (अनुदित—२०७८), रोल नम्बर एक (२०७८), मारियम मान्छे भई (२०७९) जस्ता कृति प्रकाशित छन् ।
उनको खलङ्गामा हमला कृतिले २०७० को मदन पुरस्कार प्राप्त गरेको थियो । हाल उनी राधा पौडेल फाउन्डेसन मार्फत मर्यादित महिनावारीलाई विश्वव्यापी अभियानका रूपमा नेतृत्व गर्दै आएकी छन् ।
कृतिको बाह्य संरचना र कथाको सारांश
उपन्यासकार राधा पौडेलको ‘मारियम मान्छे भई’ मुख्य रूपमा महिनावारी विषयमा समेटिएको किशोर उपन्यास हो । यसमा मध्यम वर्गीय मुस्लिम परिवारकी किशोरी (मारियम) को जीवनको घटनालाई नै मुख्य विषयवस्तु बनाइएको छ ।
यसका चार अध्यायसम्म छोरी भएकाले र महिनावारीका नाममा परिवारबाट मारियमले भोग्नुपरेका असमान व्यवहारका घटनाहरू समेटिएका छन् । पाँचौँ अध्यायदेखि एघार अध्यायसम्म मारियमले मान्छे बन्न गरिएका संघर्षका घटनाहरू छन् । अन्तिम बाह्रौं अध्यायमा मान्छे बनिसकेको अवस्थाको वर्णन गरिएको छ । यसमा मारियम बाल्यकालदेखि नै घरमा छोरा र छोरीमा गरिने असमान व्यवहारको शिकार बनेकी छन् ।
जब मारियम किशोर अवस्थामा प्रवेश गर्दै जान्छिन् महिनावारी हुने छोरी भएको नाताले उनलाई संस्कारका नाममा अनगिन्ती कुराहरूको पाठ सिकाइन्छ । जुन उनको इच्छा विपरित गर्न लगाइएको छ । महिनावारीका नाममा गरिएका छोरा र छोरीमा गरिने असमान व्यवहारले आफू छोरा सरह स्वतन्त्र रूपमा मान्छे भएर बाँच्न नपाएको अनुभव गर्छिन् । उनको भावना कसैले पनि नबुझेपछि उनलाई आफैँ मान्छे भएर बाँच्ने र आफू जस्तै पीडित छोरीहरूलाई पनि मान्छे बनाउने निर्णय गर्छिन् ।
त्यसका लागि उनले घर परिवार र समाजमा निकै संघर्ष गर्नु परेको छ । कहिले त्यस लक्ष्यमा पुग्छु जस्तो लाग्छ त कहिले एक्लै अनकन्टार जङ्गलमा हराउँ जस्तो लाग्छ । उनको हरेश खाएको मनस्थितिलाई मलम लगाउने काम रेडियोकर्मी र सामुदायिक नर्सले सहयोग गरेर उनको अभियानलाई साथ दिएका छन् । अन्त्यमा उनलाई सबैको साथ सहयोग र आफ्नो दृड संङ्कल्पले मान्छे भएर बाँच्न सफल भएकी छन् ।
निष्कर्ष
उपन्यासकार राधा पौडेलको ‘मारियम मान्छे भई’ उपन्यासमा विशेषगरी महिनावारी विभेद नै यसको बीज मानिन्छ । हाम्रो समाजमा धार्मिक र सांस्कृतिक मान्यताको आडमा परापूर्व कालदेखि नै महिनावारीलाई अपवित्र र अशुद्ध मानिदै आएको छ । पूर्खाले बिरालो बाँधेर सराद गरको देखेर भावी सन्ततिले पनि गरेझैँ महिनावारीलाई पनि त्यसको यथार्थता नबुझी संस्कृतिको नाममा हालसम्म पनि यस्ता क्रियाकलाप भइरहेका छन् ।
यही महिनावारी विभेदकै कारण मारियमले तड्पिएर बाँचेको अवस्थाको कारुणिक घटना यसमा देखिन्छ । महिनावारीका समयमा केही महिलाहरूमा शारीरिक र मानसिक समस्या हुने गर्दछ ।
यस्तो समयमा उचित स्याहार तथा सन्तुलित खानाको जरुरथ पर्दछ तर यही समयमा छुन नहुने, यो खान हुने यो खान नहुने जस्ता बन्देज लगाइदिँदा न्यायसङ्गत नहुनुका साथै नकरात्मक असरहरू पनि पर्छन् ।
छोराहरू परिपक्क हुने क्रममा दारजुँवा आएजस्तै छोरीहरू पनि महिनावारी हुनु साधरण र नियमित प्रकृया हो, महिनावारी हुनु भनेको हरेक महिला बच्चा जन्माउन सक्षम हुनु हो, यसैका कारण हामी सबै जन्मिएका हौँ र संसार यही प्रकृयाबाट वषौँदेखि चलिरहेको छ । यसैले यसलाई अपवित्र र अशुद्ध मानेर विभेद गरिनु गलत अवधारणा हो ।
यस उपन्यासले लैङ्गिक असमानतालाई पनि उठान गरेको छ । छोरीलाई मात्र सबेरै उठेर आमासँगै घरको काममा लगाउनु, निर्णय प्रकृयामा सुविधा नपाउनु, खाने र लगाउने कुरामा पनि असमानता देखिनु, महिनावारी भएकी दिदीलाई छोएको निउमा भाइलाई नुहाएर चोख्याउनु, बुबाले महिनावारी हुँदा लगाएको कपडा छुँदा पवित्र हुन भगवानसँग क्षमा मान्न गएको अवस्थालगायतका घटनाहरूलाई हेर्दा छोरी मान्छेलाई तल्लो दर्जामा राखेर व्यवहार गरेको देखिन्छ ।
जसका कारण मारियम छोराहरूको जस्तो जीवन जिउन नपाएर विक्षिप्त भएकी छन् साथै पुरुषहरूको जस्तै स्वतन्त्र जीवनको अभिलाषा राखेकी छन् । यसमा पात्र चयनका आधारमा इस्लाम संस्कारको घटनाको आकलन गर्न सकिन्छ तर यसमा प्रस्तुत गरिएको घटनाक्रम हेर्दा हिन्दु संस्कृति जस्तै देखिन्छ । इस्लाम समुदायमा पनि हिन्दुका जस्तै लैङ्गिक असमानताका साथै महिनावारी विभेद हुने गरेका छन् या फरक छन् भन्ने बारे केही अस्पष्टता देखिन्छ । फरक संस्कृति भए सोही बमाजिम घटना प्रस्तुत गरेको भए कथानक थप रोचक हुने थियो ।
उपन्यासमा प्रस्तुत गरिएको घटनाक्रम हेर्दा गाउँको मध्यम वर्गीय पारिवारिक परिवेश जस्तो अनुमान गर्न सकिन्छ । गाउँमा परिवार तथा समाजले यो हाम्रो संस्कृति हो निरन्तरता दिनुपर्छ भन्दै मारियम जस्तै किशोरीहरूलाई बाध्यात्मक रूपमा यस्ता विभेद गरिरहेको देखिन्छ ।
यसमा धेरै छोरीहरूको कथालाई उजागर गरिएको छ । केही यसबाट उत्रिन सकेका छन् भने केही समस्यासँग जुधिरहेका छन् । यस कृतिको अध्यायन गरिरहँदा हरेक किशोरीले आफैँले भोगेको समस्याको स्मरण गराउँछ । यस समस्या नभोगेका किशोरीहरूका लागि पनि रोचक कथा हुनेछ ।
यसमा जन्मेदेखि नै छोरा र छोरीमा गरिने व्यवहारका साथै महिनावारीका नाममा किशोरी तथा महिलाले भोगेका कारुणिक घटनालाई स्पष्ट रूपमा देखिन्छ । यसको मुख्य उद्देश्य महिनावारीलाई सामाजिक संस्कारको आडमा विभेद गरियो भने त्यसबाट विभिन्न असरहरू देखिन्छन् भन्ने कुरा देखाउन खोजिएको छ साथै कतैबाट पनि उठान नगरिएको सामाजिक र धार्मिक रूपमा उपेक्षा गरिएको महिनावारीको विषयलाई समेटेर त्यसको भ्रम निभारण गर्दै समाज परिवर्तन गर्ने उद्देश्य पनि रहेको छ ।
समाजका सामाजिक कुसंस्कारहरू हुर्कदै गरेकी किशोरलाई पढाउँदा सकरात्मक भन्दा नकरात्मक असर बढी पर्छ भन्ने कुरा थाहा हुन्छ । यस्तै कुनै उद्देश्य लिएर हिँड्दा आइपर्ने समस्याहरूसँग जुध्दै अघि बढ्नु पर्छ भन्ने सन्देश पनि दिएको छ । यसमा नवीतम् कथावस्तु, कथानकमा पाँचवटाको विन्यास छ तर यसमा कार्य–कारण सम्बन्धमा आधारित घटनाहरूले पाठकका मनमा कुतूहलता सिर्जना गर्दै पहिलो घटनाबाट दोस्रो, तेस्रो गर्दै अन्तिममा पूर्ण सन्तष्टिको अवस्था प्राप्त गरेको घटनालाई देखाएर अघि बढ्न कथानक केही चुकेको देखिन्छ ।
मुख्य पात्र प्रगतिशील भूमिका, सहायक पात्र रेडियोकर्मी अभिलेख र नर्स (अनुकूल पात्र)को भूमिकाले हरेश खाएकी मारियमलाई लक्ष्यमा पुग्न उल्लेखनीय सहयोग गरेको र अन्य पात्रहरूले पनि कथालाई न्याय गरेका छन् । साधारण बोलिचालीको भाषा प्रयोग गरिएकाले सरल र सहज भाषा, तृतीय पुरुष आत्मपरक शैलीमा आख्यानीकरण गरिएको यो उपन्यास सबैखाले पाठकका लागि पठनयोग्य कृति बनेको छ ।
- जगन्नाथ सुवेदी
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका ६ को माख्लो छाप भन्ने गाउँमा २०१३ सालमा जन्मिएका डा. नानीराम सुवेदीलाई मैले चिनेको २० बर्ष अगाडी हो । त्यतिवेला उहाँ इसिमोडमा काम गर्नुहुन्थ्यो । उतिवेला उहाँले मलाई एड्भोकेसीको विषयमा प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुने अवसर पनि दिनु भएको थियो ।
उहाँको प्रेरणाले मैले उतिवेला जनवकालत रणनीति र विश्लेषण नामक पुस्तक लेखन तथा प्रकाशन पनि गर्न सकेको थिएँ । १०० प्रति पुस्तक इसिमोडकै तर्फबाट किनिदिएर मलाई अझ थप हौसला पनि दिनु भएको थियो । त्यो साथ र सहयोगको निम्ति म डा. नानीराम सुवेदीलाई कहिल्यै पनि भुल्न सक्दिन । अनुहारमा हर वखत प्रसन्नता छाइरहने उहाँलाई देख्दा मलाई जहिलेपनि सुखानुभूति भइरहन्छ । जीवनमा कति मानिसहरुसँग संगत गरियो तर एकदमै थोरै मानिसमात्र त्यस्ता भेटिन्छन् जो सँग बसुन्जेल रमाइलो र खुसि मिलिरहन्छ । त्यहि मध्येको एक उहाँ हुनुहुन्छ भन्ने मेरो ठम्याइ हो ।
आफू अनुकुल कुनै परिस्थिति वा कारण तयार भएमा मात्र खुसी हुने हो भने त्यो कारण वा परिस्थिति नभएका बखत खिन्न नै बनिरहने ? बिना कारण पनि मनदेखि उसै प्रसन्न बनिरहने हो भने त्यो खुसि र प्रसन्नतालाई कसैले र कहिल्यै पनि खोस्न सक्दैनन् । सरल जीवनशैली, नम्र बोलीवचन, प्रष्ट धारणा र हार्दिकता युक्त मुस्कान डा. नानीरामका पर्याय हुन् । उहाँलाई भेट्दा यस्तो लाग्छकी जीवन रमाइलो छ, स–साना कुराहरुमा खुसी छरिएका हुन्छन् र ढंग पुर्याएर बटुल्यो भने ति हाम्रै निम्ति हुन्।
यो २० बर्षको अन्तरालमा उहाँसँग कहिलेकाहीँ भेटघाट पनि हुन्थ्यो कहिले फोन संवाद पनि हुन्थ्यो । एकदुई पटक नानीराम दाइ हाम्रो पालुङ्गको घरमा र हेटौंडाको घरमा पनि आउनु भएको थियो । उहाँको त्यो आगमनले हाम्रो व्यक्तिगत सम्वन्धलाई पारिवारिकरण गराइदियो । थर मिलेर मात्र कहाँ होर उहाँका अनुकरणीय भावना र प्रशंसनीय जाँगरले गर्दा मनैदेखि दाइ भन्न मन लाग्छ ।
उहाँले लेखेका बिभिन्न कृतिहरु छन् । कुनै पहिला पनि मलाई दिनु भएको थियो । कति पढेँ कति पढिन आफ्नो ठाउँमा छ तर यसपाली मेरो कार्य थलो काठमाडौं नै भएपछि दाइलाई भेट्न पुगेँ । त्यसो त केहिदिन मात्र अगाडी मलाई अनलाइन देखेर ए भाइ के छ यता आउने हैन भन्दै बोलाउनु पनि भएको थियो । पेप्सिकोला टाउन प्लानिङ्गको नामले चिनिने पुरानो सिनामंगलमा हाल बसोबास गर्नु भएका दाइको घरमा जाँदा दाइले मलाई गेट देखिनै स्वयं लिएर जानु भयो उहि मिठो मुस्कानका साथ उहि शालिन शैलीका साथ ।
घर भित्र पसेर सन्चो विसन्चो र हाल खबर सुन्ने सुनाउने हाम्रो काम के सकिएको थियो किताबै किताबको सोकेस भए तर्फ गएर उहाँले केहि किताव छान्दै र खोज्दै गर्न थाल्नुभयो । एकातर्फ बौद्धिक ब्यक्तित्व र सधैं सक्रिय भइरहने नानीराम दाइको हातमा रहेका दुईथान पुस्तक अनि अर्कातर्फ पढाई लेखाईमा अलि अल्छि म । मेरो मनले मलाई भनिगो लौ केटा अव फेला परिस् । नभन्दै दाइले यो पढ्नोस है मेले लेखेको मेरै जिन्दगीका अनेक मोडहरु । उहाँले यतिमात्र कहाँ भन्नु भोर अझ यो पढ्दा कस्तो लाग्छ सुनाउनु पर्छ है । मैले तत्कालै मनैदेखि प्रतिवद्धता जनाएँ र भने हस् ।
त्यही दिनको बेलुका देखिनै म पुस्तक पढ्दै गएँ शब्द चयन र निर्भिक प्रस्तुतिमा उहाँको ब्यक्तित्वको सुवास कागजका पानाभरि फैलिएको पाएँ । अलिअलि गर्दै केहि दिनमा निक्कै पानाहरुमा आँखालाई दौडाएँ मस्तिष्कलाई डुलाएँ मनलाई रमाएँ अनि सकेजति ज्ञानलाई जगाएँ । पढ्दै जाँदा रमाइलो लाग्थ्यो अनि मनमनै भन्थेँ यो कृति लेख्ने दाइ पढ्दै रमाउने भाइ ।
यो कृतिमा आफ्ना बाल्यकाल, गोठालो जीवनका क्षणहरु, बा आमाका माया र चाहना, परम्परागत शिक्षा, खरी र पाटीको जगेर्ना, सरिरहने स्कुल र जता जता स्कुल गयो उतै उतै पढ्न जानुपर्ने बाध्यता, सानै उमेरमा आयोजनाहरुमा भएका काम जिम्मेवारी, आर्मीको जागिर र आफैंले रोजेरै खोजेरै डोटी जिल्लामा सरुवा त्यहाँ गएर पढाइलाई अगाडि बढाएको र बिबाह गर्ने रहर पलाएको अनि केटी खोजी लगनगाँठो कसेको कुरा पढिरहुँ लाग्ने गरि उल्लेख गर्नु भएको छ । पढिरहँदा आफूपनि लेखक सँगै बगिरहको छु कि भन्ने लाग्छ । आर्मीको जागिर छोडेर शिक्षक पेश रोजेकाे प्रसंग समेत मन छुने गरी प्रस्तुत भएका छन् ।
यति सम्ममा के कुरा भेटिन्छ भने डा. नानीराम सुवेदीले आफूलाई उतिवेला सानो ठुलो जस्तोसुकै सहयोग गर्ने मानिसलाई उच्च सम्मानका साथ सम्झिएर आभार प्रकट गर्नुभएको छ । आजकाल मतलवी मानिसको संख्या कत्तिको छ त्यो त विना सर्भेक्षण मैले कसरी भनौला र तर मानिसमा नैतिक शिक्षा र चेतनाको धरातल कमजोर भएको छ । गाली गलौजमा गर्नमा मानिस जति जाँगरिलो छ अरुका कदर गर्न र सम्मान गर्नमा मौन छ । उहाँको लेखनमा पितृभक्ति पनि प्रगाढ पाइन्छ । बाको मायाँ, घर छोड्दा बा लाई भएको खिन्नता र त्यसलाई आफूले गरेको महशुस, गाउँलेले आफूलाई हाम्रा पुरेतका छोरा भनिदिंदा र त्यो सुन्न पाउँदाका सुखानुभूति पृत्रीभक्तिका पक्ष हुन् ।
उहाँ जति नरम बोली ब्यवहारको हुनुहुन्छ पुस्तक पढ्दा बल्ल थाहा पाएँ उत्तिकै आँटिलो र साहासी पनि हुनुहुदो रहेछ । मानिस आफूले अपनाएको कार्यक्षेत्र हत्तपत्त छोड्न सक्दैन तर उहाँले आर्मीको जागिर छोडेर शिक्षकमा आउनु भयो । आफ्नै पहलकदमीमा मावि स्थापित गराएर प्रअ बन्नु भयो फेरि आयोजनातिर जानुभयो । उतिबेला क्यानडा पढ्न जानु भयो पछि फेरि बिकासे संस्थामा आउनुभयो ।
यसमा दुइवटा पक्ष मैले भेट्टाएँ पहिलो उहाँमा काम प्रतिको लगनशिलता सीप र इमान्दारीता अर्को उहाँलाई भेट्ने जतिले माया र साथ दिनु । स्विस आयोजनामा कामगर्दा नेपाली सरकारी कर्मचारीको हैरानी दिने तर काम भने नगर्ने कुराले पारेको दुष्प्रभावलाई आफू त्यस ठाउँमा पुगेर सुधार गर्दै काम गराइको शैली र इमान्दारीताले अरुको मन जित्न सफल बन्नु भएछ । आफू भलो त जगत भलो भन्ने नेपाली उखान डा. नानीराम सुवेदीको जिवनमा राम्रै गरि मेल खाएको छ ।
सन्तानको संरक्षण माया ममतामा नानीराम र उहाँका बा दुवै अब्बल देखिनुहुन्छ । बुढेसकालमा पनि आफ्ना छोरा नाति कसरी बसेका होलान् भनि सन्धिुपाल्चोकदेखि पाल्पासम्म हेर्न पुग्नु भएका आफ्ना बाको प्रसंगपनि कृतिमा मिठ्ठो गरि समेट्नु भएको छ । केयर नेपालको जागिर युएनडीपीमा प्रवेश फेरि केयरमा नै वापसी, बझाङ र धनकुटाका प्रसंगलाई मिठो शैलीमा प्रस्तुत गर्नुभएको छ । असल बौद्धिक ब्यक्तित्वको भेटले थालनी भएको पीएचडीको यात्रा र सुखद सफलता अनि इसिमोडको जागिर र अनुभवहरुपनि रोचक छन् ।
सन्तानका विवाह, नातिनी नातिसँगको रमाइलो अनि फेरि सन्तान भिन्नबस्दा यसले दिएको नैरास्यतालाई आम नेपालीको भोगाइको प्रतिविम्ब हुने गरि कलम चलाउनु भएको छ । पढ्दैजाँदा पृष्ठ १४१ मा लेखेको यो भनाइले मन छुन्छ । एउटा सत्य के हो भने देखेको सवै चिज पाइदैनन् । कुनै चीज पाइएन भनेर दुखी हुने हो भने जिन्दगी भरीनै दुखी भएर बिताउनु पर्ने हुन्छ । जे पाइन्छ त्यसैमा चित्त बुझाउन सक्नु जिन्दगीको सफलता रहेछ ।
वास्तवमा यो भनाइ त इशावाष्य उपनिशदको पहिलो ऋचा तेन त्यक्तेन भूंजिथा मा गृध कष्यस्विधनम् को आशय हो । अर्थात उपनिषद् भन्दछ कि अरुको धनको लोभ वा आश नगर जे पाएका छौ त्यसलाई मेरो भागको पाएको छु भन्ने भावले काम गरिरहुँ । कृतिकारले आफ्नो जीवनमा महत्वराख्ने अनगिन्ति ब्यक्तिहरुको हार्दिकताका साथ उच्च अहोभावले उल्लेख गर्नु भएको छ । विश्वकर्मा समुदायका आफ्ना मित र मितबाका घटना प्रसंग देखि डा. अर्जुन कार्की सम्मका कुरा झाँक्री कार्की सहयोग र मित जी रमेश गुरुंगको उपचारमा गरेको योगदान थाहा पाउँदा यो पाठक नतमस्तक बन्न पुगेको छ त्यो मानवीय सत्प्रयास प्रति ।
आफ्नो कृतिमा कृतिकारले बिभिन्न बिषयबस्तुमा आफ्ना मान्यताहरुलाई पनि ब्यक्त गर्नु भएको छ । सारमा भन्नु पर्दा समय अमुल्य छ, मिहेनत अपरिहार्य छ, इमान्दारीताको परिणाम दीर्घकालिन हुन्छ, अन्तर्आत्माको आवजलाइ सुन्नु पर्दछ, महत्वाकांक्षी पनि हुनुपर्दछ तर आसक्ती र असन्तुष्टिले जीवनको मिठास रित्याउँछ भन्ने मान्यताका सारहरु देख्न सकिन्छ ।
यस्तो लाग्छ कागजका पाना भरी कृतिकार गुनगुनाउनु भएको छ । अतितसँग बग्नु भएको छ । स्वनिर्णय र आफ्ना कार्यशैली प्रति सन्तुष्ट हुनु भएको छ । जिन्दगीका अनेक मोडहरुको कथा र त्यसभित्रका व्यथाहरु डा. नानीराम सुवेदीको मात्र होइन यो त मिहेनतमा विश्वास गर्ने र इमान्दारीतामा रमाउने हरेक नेपालीको मर्म हो । जो परिवारको सुख र शान्तिलाई नै आफ्नो सुखशान्ति देख्छ अनि परिवारको चाहनामा आफूलाई बिर्सिदिन्छ । आदरणीय डा. नानीराम सुवेदीको यो सिर्जनालाई अझ दोहोराएर पढ्ने मन छ ।
पृष्ठभूमी
सन १९६० को नोभेम्बर २५ का दिन डोमानिकन रिपब्लिकका मिरावल परिवारका ३ साहसिक दिदी बहिनी पार्टिया, मनिर्भा र मारियाको तात्कालिन त्रिजुलो सरकारले गरेको हत्याको दिनको संझनामा यो दिवस मनाउन शुरु गरिएको थियो । तत्कालिन सरकारको तानाशाही शासनका बिरुद्धमा आवाज उठाएका ती दिदी बहिनीका श्रीमानलाई सरकारले बन्दी बनाएको र श्रीमानहरुलाई जेलमा भेटेर फर्कने क्रममा निर्मम हत्या गरी दुर्घटनाको संज्ञा दिईएकोमा अधिकारकर्मीले त्यस घटनालाई स्वीकार गरेनन् र त्यसको विरुद्ध आवाज उठाईरहे ।
Unforgeable Butterflies को उपनामले चिनिने ती तीन दिदी बहिनीहरुको बलिदानी त्याग र उच्च साहसको सम्मान गर्दै सन् १९९१ मा Center For Global Leadership (CWGL) को सहयोगमा विभिन्न २० देशका २३ जना उत्साहित महिलाहरुको एक समुहले शुरु गरेकोे लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख (महिला हिंसा बिरुद्धको दिवस) देखि शुरु भई डिसेम्बर १० तारिखका दिन (अन्तराष्ट्रिय मानव अधिकार दिवस) १६ दिनसम्म मनाउने गरिन्छ र यस बीचमा अन्य विभिन्न दिवसीय कार्यक्रमहरु समेत रहेका छन् ।
त्यसको झण्डै तीन दशक पछि सन १९९९ डिसेम्बर १७ मा UNO ले ७४ सदस्य राष्ट्रबाट प्रस्तावित लैङ्गिक हिंसा बिरुद्धको दिवसीय अभियानलाई महासभाबाट सर्वसम्मत पारित गरी मान्यता प्रदान गरे पश्चात विश्वव्यापी रुपमा यसको थप महत्व बढ्न गएको पाईन्छ ।
नेपालमा लैङ्गिक हिंसा बिरुद्धको अभियान
महिला तथा बालिकाको मानव अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाच्न पाउने हक सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म (मंसिर ९ देखि २४ गतेसम्म) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल सरकारको मिति २०६६।५।२६ को निर्णय अनुसार सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष” को रुपमा मनाउन घोषणा गरेको र सो बमोजिम “लैङ्गिक हिंसा विरुद्ध राष्टिय कार्ययोजना २०१० समेत १ वर्षका लागि कार्यान्वयन भईसकेको । सो कार्ययोजनाको कार्यान्वयनबाट केही नीतिगत तथा संरचनागत उपलब्धि हासिल भएता पनि लैङ्गिक हिंसा तथा विभेद सामाजिक विकृतिजन्य समस्या भएकोले यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सहित दीर्घकालिन योजनाको रुपमा ल्याउनुु पर्ने महशुस गरिएको ।
एक वर्षे कार्ययोजना कार्यान्वयनको अनुभवबाट दीर्घकालिन योजना तर्जुमा गर्ने सोच अनुरुप लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (आ.व.२०६९।०७०–२०७३.०७४) कार्यान्वयन भईसकेको । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट नयाँ कार्ययोजना निर्माण प्रक्रिया प्रारम्भ गरिएको । हालै नयाँ सरकार गठन पश्चात प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सामाजिक विकास तथा रुपान्तरण महाशाखा र सो अन्र्तगत ‘महिला, बालबालिका, ज्येष्ठनागरिक, श्रम तथा सामाजिक सुरक्षा शाखा’ स्थापना गरिएको ।
यस वर्ष “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने अन्तराष्ट्रिय नारासाथ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना गरि मनाईएको छ र नेपालमा पनि लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ ।
सेतो रिवन अभियान
सन १९८९ डिसेम्बर ६ का दिन क्यानडाको मोन्छेरल विश्वविद्यालयको पोलिटेन्किन कलेजमा मार्क लेपिन नामक एक २५ वर्षे युवकले १४ जना छात्राहरुको सामुहिक हत्या गरेको थियो । बन्दुक र धारिलो हतियार सहित कलेजको तेश्रो तलामा पुगेको ती युवकले छात्राहरुलाई छात्रबाट अलग गरी तिमिहरुलाई यहा बस्ने अधिकार छैन भन्दै एकतर्फ जम्मा गरी हत्या गर्न शुरु गरेका थिए ।
त्यस पछि अन्य कोठामा गई छात्राहरु खोजी खोजी हत्या गरी अन्त्यमा आफूले समेत आत्महत्या गरे । घटनास्थलमा भेटिएको सुसाइड नोट अनुसार उनी महिलाहरु प्रति निकै आक्रोसित रहेको र देशका विभिन्न १९ जना महिलाहरुको हत्या गर्ने लिष्ट समेत तयार गरेको पाइएको थियो ।
यसै घटनाको संझनामा क्यानडाका केही उत्साहित युवाहरुको प्रयत्नमा सन १९९१ मा जम्मा ६ हप्ताको तयारीमा करिव १ लाख व्यक्तिहरुको सहभागितामा महिला हिंसा बिरुद्ध पुरुषहरुलाई जागरुक बनाउने उद्धेश्यले अंग्रजी वर्णमालाको Violence को V अक्षर लाई उल्टो बनाउदा हुने आकारमा लगाईने सेतो रिवन “म हिंसा गर्दिन, म आफू हिंसा सहन्न र देखेमा प्रतिकार गर्दछु (Zero Tolerance)” को मान्यता र प्रतिबद्धतामा आधारित अभियान हो ।
यो रिवन खास गरी १६ दिने अभियानमा लगाउने गरिन्छ र युरोपका केही मुलुकहरुमा १६ दिने अभियानको अवधिमा संसदमा समेत सेतो रिवन लगाउने प्रचलन रहेको पाईन्छ ।
लैङ्गिक हिंसाको परिभाषा
CEDAW का अनुसार “महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा र बिभेद भन्नाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक वा अरु कुनै विषय सम्बन्धी मानव अधिकार तथा स्वतन्त्रतालाई आफ्नो वैवाहिक स्थिति जे जस्तो रहेको भएता पनि पुरुष र महिलाको समानताको आधारमा उपभोग गर्नमा वा प्रयोग गर्नमा व्यवधान पार्ने वा त्यसको मान्यतालाई नै क्षति वा शून्य पार्ने उद्धेश्य भएको, लिङ्गकाे आधारमा हुने कुनैपनि भेदभाव वा बहिस्कार वा प्रतिबन्ध सम्झनु पर्दछ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न बनेको ऐन, २०७२ ले कानुनमा लैङ्गिक हिंसाको परिभाषा समेटेको छ जस अनुसार “लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लि·को आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउन कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिकको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य, वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ” भन्ने परिभाषा गरेको छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय प्रतिबद्धताहरु
– मानव अधिकारको बिश्वव्यापी घोषणा १९४८
– नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६
– आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६
– जातीय भेदभाव उन्मुलन सम्बन्धी महासन्धि १९६९
– महिला बिरुद्द हुने सबै किसिमका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९
– बेइजिंग घोषणा तथा कार्ययोजना १९९५
– संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२०
– दीगो विकासका लक्ष्य, २०१५ – २०३०
नेपालमा लैङ्गिक हिंसा सम्बन्धमा भएका प्रगति र चुनौतीहरु
नेपालको ऐन कानुनमा भएको सफलता
नेपालको संविधानको धारा १८ समानताको हक राज्यले नागरिकका विच लि·को आधारमा कुनैपनि भेदभाव नगर्ने, लैङ्गिक आधारमा पारिश्रमिक र सामाजिक सुरक्षामा भेदभाव गरिने छैन, पैत्तृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ ।
संविधानमा उल्लेखित महिला सम्बन्धी व्यवस्थाहरु
आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने, राज्यको संरचना गर्दा समानतामा आधारित समतामुलक समाज, समवेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने, समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, राष्ट्रिय महिला आयोग संवैधानिक निकायको रुपमा रहने र सो का अध्यक्ष र सदस्यहरु महिला मात्र रहने, राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशम कार्यालय स्थापना गर्न सक्ने, संवैधानिक अंग र निकायमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गर्ने, नेपाली राजदुत र विशेष प्रतिनिधि समावेशी सिद्धान्तको आधारमा नियुक्त गरिने, सवै सरकारी सेवामा पदपुर्ति गर्दा खुला र समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्ने, सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष ब्यवस्था गरिने ।
संविधानमा उल्लेखित सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति
असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिंदै जीविको पार्जनका लागि समुचित व्यवस्था गर्दै जाने, जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुनःस्थापना, संरक्षण, सशक्तीकरण गरी स्वावलम्बी बनाउने, प्रजनन अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता गर्ने, बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्यांकन गर्ने ।
गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार
सामाजिक सुरक्षा र गरिबी निवारण तर्फ
स्थानीय नीति, कानून, मापदण्ड, नियम, अध्ययन, अनुसन्धान,लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन
वडा समितिको काम, कर्तव्य र अधिकार
वडाभित्र आर्थिक र सामाजिक रुपमा पछि परेका महिला बालबालिका, दलित, अपा·ता भएका व्यक्ति, ज्येष्ठ नागरिक अल्पसंख्यक, सीमान्तीकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने ।
बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने ।
लैङ्गिक हिंसा निवारणका लागि विशेष पहल
घरेलु हिंसाबाट प्रभावितहरुका लागि १७ जिल्लामा अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्रहरुको स्थापना र सञ्चालन गरिएको, अब क्रमशः स्थानीयतहमा हस्तान्तरण हुँदै गरेको, मानव बेचविखनबाट प्रभावितहरुका लागि गैससको सहयोगमा १० जिल्लामा पुनस्थापना केन्द्र सञ्चालन भै रहेको, मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्र काठमाण्डौमा सञ्चालन भै रहको, महिला संस्थाअन्तर्गत लैङ्गिक हिंसा निगरानी समुह गठन तथा परिचालन गरिएको, राष्ट्रिय महिला आयोगबाट लैङ्गिक हिंसा निवारणका लागि २४ घण्टे ११४५ हटलाईन सेवा (उपत्यका तथा नुवाकोट) सञ्चालन भै रहेको ।
लैङ्गिक हिंसा अन्त्य सम्बन्धमा देखिएका समस्या तथा चुनौती
लैङ्गिक हिंसालाई बढावा दिने सामाजिक संरचना, सोंच, मूल्य, मान्यता, प्रथा, परम्परा, हानिकारक अभ्यास कायमै रहनु, यस्को कारणले हुने गरेका हिंसालाई सामाजिक रुपमा स्वीकार गर्नु ।
लैङ्गिक हिंसाको नयाँ स्वरूपहरु देखिदै जानु विकास, शान्ति र समानताको प्रमुख मुद्दाको रुपमा ग्रहण गर्न नसक्नु । लैङ्गिक हिंसा सम्बन्धी पूर्ण, खण्डीकृत तथ्यांक नहुनु ।
लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम संघ, प्रदेश र स्थानीय तहबाट एकीकृत रुपमा संचालन गर्नु (यस सम्बन्धी संस्थागत संयन्त्र, प्रणाली र क्षमता विकास गर्नु) ।
हिंसा पीडितको न्यायमा पहुँच स्थापना गर्ने कार्य, हिंसा पीडितको पारिवारिक तथा सामाजिक पुनस्र्थापना गर्नु (मुख्यतः मानसिक समस्या भएका पीडित) दबाव, अनुचित प्रभाव तथा मिलापत्रवाट पीडकले सजाय नपाउनु ।
पश्चिमेली संस्कार भित्रीनु र संचार साधनहरूको दुरुपयोगले गर्दा महिला हिंसामा सहजता थपिदिएको छ ।
कानुनी ज्ञानको अभाव, चेतना र शिक्षा दिक्षामा कमी हुनु ।
अबको बाटो
लैङ्गिक हिंसाको कारण धेरैको जीवन तहस नहस भएको छ । महिला हिंसा महिलाको मात्र सरोकारको विषय नभई सबैको साझा सरोकारको विषय भएकाले सबैले यसलाई आत्मसात गरी हिंसा न्यूनीकरणका निम्ति समन्वयत्माक ढंगले अगाडि बढ्नुपर्ने देखिन्छ ।
पितृसतात्मक सोचलाई तोड्दै सहअस्तित्वको भावनालाई आत्मसात गरी लैङ्गिक विभेद अन्त्यका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने आजको आवश्यकता हो । महिला र बालिकाहरु हिंसाबाट बढी प्रताडित हुने हुदाँ महिला र बालिकाको शिक्षा, आर्थिक सक्षमता तथा समग्र सशक्तिकरणका लागि पहल गरिनुपर्ने छ ।
यसैगरी महिला हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि पुरुषजनको सहभागिता र सहयोग अभिवृद्धि गर्नुपर्ने, परिवर्तित राज्य संरचना अनुसार स्थानीय तहमा लैङ्गिक हिंसा सम्बन्धी सवालहरुलाई आन्तरिकीकरण गरी हिंसा निवारणका लागि आवश्यक कार्यक्रम तथा कार्ययोजना सहित अघि बढ्नुपर्छ ।
लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गर्नेपर्ने,महिला वर्गलाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेरी सम्मानजनक दृष्टिकोण र व्यवहार गरिनुपर्छ । न्याय प्रणालीलाई सरल,सहज, छिटो छरितो बनाइनुपर्ने, हिंसाका घटनाहरुलाई उजागर गर्नुपर्ने र हिंसाको विरुद्ध आवाज उठाउने, समाजमा व्याप्त कुरिती, कुसँस्कार र प्रथालाई हटाउदै जाने जस्ता सवालमा अब ध्यान दिनु जरुरी छ ।
हुन त यि पाटाहरुमा वर्षौदेखि काम गरिदै आएको छ, यद्यपी हालसम्मको कामको समीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने देखिन्छ ।
(अभियनको क्रममा कार्यक्रममा प्रस्तुत सामग्री सम्पादन गरि तयार पारीएको – सं.)