स्रष्टाका सम्बन्धमा
राधा पौडेल पेशाले नर्स हुन् । लेखन, सामाजिक अभियान सञ्चालनमा विशेष अभिरुचि भएकी उनी मर्यादित महिनावारी अवधारणाको संस्थापक र मर्यादित महिनावारी विषयमा पि.एच.डी. गर्ने पहिलो महिला हुन् । उनका खलङ्गामा हमला (२०७०), अपवित्र रगत (२०७५), सर्जिकल रजोनिवृत्ति (अनुदित—२०७८), रोल नम्बर एक (२०७८), मारियम मान्छे भई (२०७९) जस्ता कृति प्रकाशित छन् ।
उनको खलङ्गामा हमला कृतिले २०७० को मदन पुरस्कार प्राप्त गरेको थियो । हाल उनी राधा पौडेल फाउन्डेसन मार्फत मर्यादित महिनावारीलाई विश्वव्यापी अभियानका रूपमा नेतृत्व गर्दै आएकी छन् ।
कृतिको बाह्य संरचना र कथाको सारांश
उपन्यासकार राधा पौडेलको ‘मारियम मान्छे भई’ मुख्य रूपमा महिनावारी विषयमा समेटिएको किशोर उपन्यास हो । यसमा मध्यम वर्गीय मुस्लिम परिवारकी किशोरी (मारियम) को जीवनको घटनालाई नै मुख्य विषयवस्तु बनाइएको छ ।
यसका चार अध्यायसम्म छोरी भएकाले र महिनावारीका नाममा परिवारबाट मारियमले भोग्नुपरेका असमान व्यवहारका घटनाहरू समेटिएका छन् । पाँचौँ अध्यायदेखि एघार अध्यायसम्म मारियमले मान्छे बन्न गरिएका संघर्षका घटनाहरू छन् । अन्तिम बाह्रौं अध्यायमा मान्छे बनिसकेको अवस्थाको वर्णन गरिएको छ । यसमा मारियम बाल्यकालदेखि नै घरमा छोरा र छोरीमा गरिने असमान व्यवहारको शिकार बनेकी छन् ।
जब मारियम किशोर अवस्थामा प्रवेश गर्दै जान्छिन् महिनावारी हुने छोरी भएको नाताले उनलाई संस्कारका नाममा अनगिन्ती कुराहरूको पाठ सिकाइन्छ । जुन उनको इच्छा विपरित गर्न लगाइएको छ । महिनावारीका नाममा गरिएका छोरा र छोरीमा गरिने असमान व्यवहारले आफू छोरा सरह स्वतन्त्र रूपमा मान्छे भएर बाँच्न नपाएको अनुभव गर्छिन् । उनको भावना कसैले पनि नबुझेपछि उनलाई आफैँ मान्छे भएर बाँच्ने र आफू जस्तै पीडित छोरीहरूलाई पनि मान्छे बनाउने निर्णय गर्छिन् ।
त्यसका लागि उनले घर परिवार र समाजमा निकै संघर्ष गर्नु परेको छ । कहिले त्यस लक्ष्यमा पुग्छु जस्तो लाग्छ त कहिले एक्लै अनकन्टार जङ्गलमा हराउँ जस्तो लाग्छ । उनको हरेश खाएको मनस्थितिलाई मलम लगाउने काम रेडियोकर्मी र सामुदायिक नर्सले सहयोग गरेर उनको अभियानलाई साथ दिएका छन् । अन्त्यमा उनलाई सबैको साथ सहयोग र आफ्नो दृड संङ्कल्पले मान्छे भएर बाँच्न सफल भएकी छन् ।
निष्कर्ष
उपन्यासकार राधा पौडेलको ‘मारियम मान्छे भई’ उपन्यासमा विशेषगरी महिनावारी विभेद नै यसको बीज मानिन्छ । हाम्रो समाजमा धार्मिक र सांस्कृतिक मान्यताको आडमा परापूर्व कालदेखि नै महिनावारीलाई अपवित्र र अशुद्ध मानिदै आएको छ । पूर्खाले बिरालो बाँधेर सराद गरको देखेर भावी सन्ततिले पनि गरेझैँ महिनावारीलाई पनि त्यसको यथार्थता नबुझी संस्कृतिको नाममा हालसम्म पनि यस्ता क्रियाकलाप भइरहेका छन् ।
यही महिनावारी विभेदकै कारण मारियमले तड्पिएर बाँचेको अवस्थाको कारुणिक घटना यसमा देखिन्छ । महिनावारीका समयमा केही महिलाहरूमा शारीरिक र मानसिक समस्या हुने गर्दछ ।
यस्तो समयमा उचित स्याहार तथा सन्तुलित खानाको जरुरथ पर्दछ तर यही समयमा छुन नहुने, यो खान हुने यो खान नहुने जस्ता बन्देज लगाइदिँदा न्यायसङ्गत नहुनुका साथै नकरात्मक असरहरू पनि पर्छन् ।
छोराहरू परिपक्क हुने क्रममा दारजुँवा आएजस्तै छोरीहरू पनि महिनावारी हुनु साधरण र नियमित प्रकृया हो, महिनावारी हुनु भनेको हरेक महिला बच्चा जन्माउन सक्षम हुनु हो, यसैका कारण हामी सबै जन्मिएका हौँ र संसार यही प्रकृयाबाट वषौँदेखि चलिरहेको छ । यसैले यसलाई अपवित्र र अशुद्ध मानेर विभेद गरिनु गलत अवधारणा हो ।
यस उपन्यासले लैङ्गिक असमानतालाई पनि उठान गरेको छ । छोरीलाई मात्र सबेरै उठेर आमासँगै घरको काममा लगाउनु, निर्णय प्रकृयामा सुविधा नपाउनु, खाने र लगाउने कुरामा पनि असमानता देखिनु, महिनावारी भएकी दिदीलाई छोएको निउमा भाइलाई नुहाएर चोख्याउनु, बुबाले महिनावारी हुँदा लगाएको कपडा छुँदा पवित्र हुन भगवानसँग क्षमा मान्न गएको अवस्थालगायतका घटनाहरूलाई हेर्दा छोरी मान्छेलाई तल्लो दर्जामा राखेर व्यवहार गरेको देखिन्छ ।
जसका कारण मारियम छोराहरूको जस्तो जीवन जिउन नपाएर विक्षिप्त भएकी छन् साथै पुरुषहरूको जस्तै स्वतन्त्र जीवनको अभिलाषा राखेकी छन् । यसमा पात्र चयनका आधारमा इस्लाम संस्कारको घटनाको आकलन गर्न सकिन्छ तर यसमा प्रस्तुत गरिएको घटनाक्रम हेर्दा हिन्दु संस्कृति जस्तै देखिन्छ । इस्लाम समुदायमा पनि हिन्दुका जस्तै लैङ्गिक असमानताका साथै महिनावारी विभेद हुने गरेका छन् या फरक छन् भन्ने बारे केही अस्पष्टता देखिन्छ । फरक संस्कृति भए सोही बमाजिम घटना प्रस्तुत गरेको भए कथानक थप रोचक हुने थियो ।
उपन्यासमा प्रस्तुत गरिएको घटनाक्रम हेर्दा गाउँको मध्यम वर्गीय पारिवारिक परिवेश जस्तो अनुमान गर्न सकिन्छ । गाउँमा परिवार तथा समाजले यो हाम्रो संस्कृति हो निरन्तरता दिनुपर्छ भन्दै मारियम जस्तै किशोरीहरूलाई बाध्यात्मक रूपमा यस्ता विभेद गरिरहेको देखिन्छ ।
यसमा धेरै छोरीहरूको कथालाई उजागर गरिएको छ । केही यसबाट उत्रिन सकेका छन् भने केही समस्यासँग जुधिरहेका छन् । यस कृतिको अध्यायन गरिरहँदा हरेक किशोरीले आफैँले भोगेको समस्याको स्मरण गराउँछ । यस समस्या नभोगेका किशोरीहरूका लागि पनि रोचक कथा हुनेछ ।
यसमा जन्मेदेखि नै छोरा र छोरीमा गरिने व्यवहारका साथै महिनावारीका नाममा किशोरी तथा महिलाले भोगेका कारुणिक घटनालाई स्पष्ट रूपमा देखिन्छ । यसको मुख्य उद्देश्य महिनावारीलाई सामाजिक संस्कारको आडमा विभेद गरियो भने त्यसबाट विभिन्न असरहरू देखिन्छन् भन्ने कुरा देखाउन खोजिएको छ साथै कतैबाट पनि उठान नगरिएको सामाजिक र धार्मिक रूपमा उपेक्षा गरिएको महिनावारीको विषयलाई समेटेर त्यसको भ्रम निभारण गर्दै समाज परिवर्तन गर्ने उद्देश्य पनि रहेको छ ।
समाजका सामाजिक कुसंस्कारहरू हुर्कदै गरेकी किशोरलाई पढाउँदा सकरात्मक भन्दा नकरात्मक असर बढी पर्छ भन्ने कुरा थाहा हुन्छ । यस्तै कुनै उद्देश्य लिएर हिँड्दा आइपर्ने समस्याहरूसँग जुध्दै अघि बढ्नु पर्छ भन्ने सन्देश पनि दिएको छ । यसमा नवीतम् कथावस्तु, कथानकमा पाँचवटाको विन्यास छ तर यसमा कार्य–कारण सम्बन्धमा आधारित घटनाहरूले पाठकका मनमा कुतूहलता सिर्जना गर्दै पहिलो घटनाबाट दोस्रो, तेस्रो गर्दै अन्तिममा पूर्ण सन्तष्टिको अवस्था प्राप्त गरेको घटनालाई देखाएर अघि बढ्न कथानक केही चुकेको देखिन्छ ।
मुख्य पात्र प्रगतिशील भूमिका, सहायक पात्र रेडियोकर्मी अभिलेख र नर्स (अनुकूल पात्र)को भूमिकाले हरेश खाएकी मारियमलाई लक्ष्यमा पुग्न उल्लेखनीय सहयोग गरेको र अन्य पात्रहरूले पनि कथालाई न्याय गरेका छन् । साधारण बोलिचालीको भाषा प्रयोग गरिएकाले सरल र सहज भाषा, तृतीय पुरुष आत्मपरक शैलीमा आख्यानीकरण गरिएको यो उपन्यास सबैखाले पाठकका लागि पठनयोग्य कृति बनेको छ ।

