मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक ४ महिना पछि बस्ने भएकाे छ । प्रदेश सरकारले प्रदेश सभाकाे हिउँदे अधिवेशन १८ माघमा आह्वान गर्ने निर्णय गरेसँगै ४ महिना पछि प्रदेश सभाकाे बैठक संचालन हुने भएकाे हाे ।
गत १६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गरिएको थियो ।शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले १८ माघ २०८१ बिहान ११ बजेका लागि प्रदेश सभाको १५ औँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाकाे अधिवेशन आह्वान गर्ने छन् । १६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्दर्भमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण तथा कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए । उनका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग बोर्ड तथा निकायका लेटर हेड, छाप तथा बोर्डहरुमा समावेश गर्न निर्देशन दिएको उनले बताए ।
यसैगरी बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापन लगायतका काम गर्न निर्देशन दिएको छ । यसैगरी प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले प्रदेश जग्गा एकीकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ । बैठकले प्रदेश भवन नीति, २०८१ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको उनले जानकारी दिए ।

