मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा हुने भएकाे छ । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका १३ माघ २०८१ मा ३ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएकाे हाे ।
शुक्रबार वडा कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गर्दै वडा घोषणाकाे जानकारी गराएकाे हाे । नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा १००, १ वटा सूचकमा ९८, र १ वटामा ९५ प्रतिशत सम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासन्युक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेकाे वडाध्यक्ष ढलक बहादुर थापाले जानकारी दिए ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाको कुल जनसंख्या ६ हजार ४४३ रहेको मध्ये ३ हजार १९७ महिला, २ हजार २४६ पुरुष रहेका छन् । वडामा कुल बालबालिका १ हजार ४९८ रहेकाेमा बालक ७९३ र बालिका ७०५ रहेका छन्। सामुदायिक र संस्थागत तथा बाल विकास केन्द्र सहित ५ वटा विद्यालयहरु संचालनमा रहेकाे वडामा १२ वटा बालसमूहहरु र १ वडा बाल सञ्जाल रहेको छ । जसमा २०० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ३४१ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, १५ वटा टोल विकास संस्थाहरु मनकामना सरस्वती टोल विकास, बसाहा महादेव टोल बिकास, सिमलथली टोल विकास, राईटोल टोल विकास, बुद्धटोल टोल चिक्ास, लक्ष्मी नारायण टोल विकास, लेवट टोल विकास, मोरङधाप टोल विकास, लेखपाती टोल विकास, बाल उज्जवल टोल विकास दक्षिणकाली टोल विकास, मिलनटोल टोल विकास, खाडिदमार टोल वकास, जम्बु चौतारा टोल विकास, चौराटार टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक संस्थाहरु, बसामाडी, लेवट र चकदेवी सामुदायिक वन उपभोक्ता समिति लगायत सहकारी संस्थाहरु समेत क्रियाशील रहेका पत्रकार भेटघाटमा जानकारी दिएकाे छ ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडाकाे बालमैत्री स्थानीय शासन युक्त वडा घाेषणा सन्दर्भमा वडाध्यक्ष तथा बालमैत्री वडा घाेषणा मुल समारोह समितिका संयोजक थापाद्वारा प्रकाशित प्रेश विज्ञप्तिमा भनिएकाे छ ‘आजका बालबालिका भविष्यका नेतृत्वकर्ता हुन्। आज हामीले बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, वृद्दिविकास र सहभागिताको अवसर दिन सकेमा मात्र भविषयमा राज्यले एउटा असल, सभ्य र सक्षम नागरिक पाउन सक्छ। बालबालिकाको वृद्धी तथा व्यक्तित्व विकासको लागि दिईने बातावरण, अवसर र व्यवहार नै बालमैत्री अभियानको मुलसार हो भने बालबालिकाहरुको मौलिक तथा आधारभूत अधिकारलाई सुनिश्चित गर्न ल्याईएको शासकीय अवधारणा नै बालमैत्री स्थानीय शासन हो ।’
हेटौडा उपमहानगरपालिकाको १९ वडा मध्ये एक यस वडा नं. ३ मा बहुभाषिक र बहुधार्मिक मिश्रित जनसमुदायको बसोबास रहेको छन् भने साविक बसामाडीको ३ र ५ नम्बर वडा मिलेर बनेको हो। कुल क्षेत्रफल १५.५.६ वर्ग किलोमिटर रहेको वडाको पश्चिम र उत्तर तर्फ वडा नम्बर १९, पुर्वी सिमानामा वडा नम्बर ११ पर्दछ भने दक्षिणमा वडा नम्बर १२ (राप्ति नदी) पर्दछ। वडाको केहि भागहरु शहरी र केहि भाग ग्रामिणस्तरका रहेकाे मध्ये भागमा महेन्द्र राजमार्ग रहेको छ। वडा भित्र सि.आर.एस. कम्पनी, युनिलिभर, सिप्रदी ट्रेडिङ प्रा ली. सहारा ग्यास उद्योग, शिवालिक हर्वल प्रा ली, इभान्स हर्बल प्रा.ली. लगायत साईबाबा कापी उद्योगलगायतका ठुला कम्पनीहरु समेत रहेका छन् ।
बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयन सँगै विभीन्न स्थानीय तहहरुले शुरुवात गरी कार्यान्वयनको प्रक्रिया अगाडी बढाईएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ। नेपाल सरकाले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने लक्ष्यलाई पछ्याउदै हेटौंडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाको रुपमा घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्दता गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय भएकाे हाे ।
तत्पश्चात ३ नम्बर वडाले २०७९ मंसिर १३ गते सरोकारहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ थापाले जानकारी दिए । ‘नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेका छौ’ उनले भने ।
‘सूचक प्राप्तिको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भईसकेको छ’ उनले भने ‘जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमन समेत भइसकेकाे सन्दर्भमा अभियानलाई सफल पार्न वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामी घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको हौं।’
१३ माघ आईतबार वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा महेन्द्र किरण माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने भएकाेले अभियानलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो स्थानवाट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्धता जनाईदिनु हुन समेत वडाध्यक्षले आग्रह गरेका छन् ।

