- जगन्नाथ सुवेदी
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका ६ को माख्लो छाप भन्ने गाउँमा २०१३ सालमा जन्मिएका डा. नानीराम सुवेदीलाई मैले चिनेको २० बर्ष अगाडी हो । त्यतिवेला उहाँ इसिमोडमा काम गर्नुहुन्थ्यो । उतिवेला उहाँले मलाई एड्भोकेसीको विषयमा प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुने अवसर पनि दिनु भएको थियो ।
उहाँको प्रेरणाले मैले उतिवेला जनवकालत रणनीति र विश्लेषण नामक पुस्तक लेखन तथा प्रकाशन पनि गर्न सकेको थिएँ । १०० प्रति पुस्तक इसिमोडकै तर्फबाट किनिदिएर मलाई अझ थप हौसला पनि दिनु भएको थियो । त्यो साथ र सहयोगको निम्ति म डा. नानीराम सुवेदीलाई कहिल्यै पनि भुल्न सक्दिन । अनुहारमा हर वखत प्रसन्नता छाइरहने उहाँलाई देख्दा मलाई जहिलेपनि सुखानुभूति भइरहन्छ । जीवनमा कति मानिसहरुसँग संगत गरियो तर एकदमै थोरै मानिसमात्र त्यस्ता भेटिन्छन् जो सँग बसुन्जेल रमाइलो र खुसि मिलिरहन्छ । त्यहि मध्येको एक उहाँ हुनुहुन्छ भन्ने मेरो ठम्याइ हो ।
आफू अनुकुल कुनै परिस्थिति वा कारण तयार भएमा मात्र खुसी हुने हो भने त्यो कारण वा परिस्थिति नभएका बखत खिन्न नै बनिरहने ? बिना कारण पनि मनदेखि उसै प्रसन्न बनिरहने हो भने त्यो खुसि र प्रसन्नतालाई कसैले र कहिल्यै पनि खोस्न सक्दैनन् । सरल जीवनशैली, नम्र बोलीवचन, प्रष्ट धारणा र हार्दिकता युक्त मुस्कान डा. नानीरामका पर्याय हुन् । उहाँलाई भेट्दा यस्तो लाग्छकी जीवन रमाइलो छ, स–साना कुराहरुमा खुसी छरिएका हुन्छन् र ढंग पुर्याएर बटुल्यो भने ति हाम्रै निम्ति हुन्।
यो २० बर्षको अन्तरालमा उहाँसँग कहिलेकाहीँ भेटघाट पनि हुन्थ्यो कहिले फोन संवाद पनि हुन्थ्यो । एकदुई पटक नानीराम दाइ हाम्रो पालुङ्गको घरमा र हेटौंडाको घरमा पनि आउनु भएको थियो । उहाँको त्यो आगमनले हाम्रो व्यक्तिगत सम्वन्धलाई पारिवारिकरण गराइदियो । थर मिलेर मात्र कहाँ होर उहाँका अनुकरणीय भावना र प्रशंसनीय जाँगरले गर्दा मनैदेखि दाइ भन्न मन लाग्छ ।
उहाँले लेखेका बिभिन्न कृतिहरु छन् । कुनै पहिला पनि मलाई दिनु भएको थियो । कति पढेँ कति पढिन आफ्नो ठाउँमा छ तर यसपाली मेरो कार्य थलो काठमाडौं नै भएपछि दाइलाई भेट्न पुगेँ । त्यसो त केहिदिन मात्र अगाडी मलाई अनलाइन देखेर ए भाइ के छ यता आउने हैन भन्दै बोलाउनु पनि भएको थियो । पेप्सिकोला टाउन प्लानिङ्गको नामले चिनिने पुरानो सिनामंगलमा हाल बसोबास गर्नु भएका दाइको घरमा जाँदा दाइले मलाई गेट देखिनै स्वयं लिएर जानु भयो उहि मिठो मुस्कानका साथ उहि शालिन शैलीका साथ ।
घर भित्र पसेर सन्चो विसन्चो र हाल खबर सुन्ने सुनाउने हाम्रो काम के सकिएको थियो किताबै किताबको सोकेस भए तर्फ गएर उहाँले केहि किताव छान्दै र खोज्दै गर्न थाल्नुभयो । एकातर्फ बौद्धिक ब्यक्तित्व र सधैं सक्रिय भइरहने नानीराम दाइको हातमा रहेका दुईथान पुस्तक अनि अर्कातर्फ पढाई लेखाईमा अलि अल्छि म । मेरो मनले मलाई भनिगो लौ केटा अव फेला परिस् । नभन्दै दाइले यो पढ्नोस है मेले लेखेको मेरै जिन्दगीका अनेक मोडहरु । उहाँले यतिमात्र कहाँ भन्नु भोर अझ यो पढ्दा कस्तो लाग्छ सुनाउनु पर्छ है । मैले तत्कालै मनैदेखि प्रतिवद्धता जनाएँ र भने हस् ।
त्यही दिनको बेलुका देखिनै म पुस्तक पढ्दै गएँ शब्द चयन र निर्भिक प्रस्तुतिमा उहाँको ब्यक्तित्वको सुवास कागजका पानाभरि फैलिएको पाएँ । अलिअलि गर्दै केहि दिनमा निक्कै पानाहरुमा आँखालाई दौडाएँ मस्तिष्कलाई डुलाएँ मनलाई रमाएँ अनि सकेजति ज्ञानलाई जगाएँ । पढ्दै जाँदा रमाइलो लाग्थ्यो अनि मनमनै भन्थेँ यो कृति लेख्ने दाइ पढ्दै रमाउने भाइ ।
यो कृतिमा आफ्ना बाल्यकाल, गोठालो जीवनका क्षणहरु, बा आमाका माया र चाहना, परम्परागत शिक्षा, खरी र पाटीको जगेर्ना, सरिरहने स्कुल र जता जता स्कुल गयो उतै उतै पढ्न जानुपर्ने बाध्यता, सानै उमेरमा आयोजनाहरुमा भएका काम जिम्मेवारी, आर्मीको जागिर र आफैंले रोजेरै खोजेरै डोटी जिल्लामा सरुवा त्यहाँ गएर पढाइलाई अगाडि बढाएको र बिबाह गर्ने रहर पलाएको अनि केटी खोजी लगनगाँठो कसेको कुरा पढिरहुँ लाग्ने गरि उल्लेख गर्नु भएको छ । पढिरहँदा आफूपनि लेखक सँगै बगिरहको छु कि भन्ने लाग्छ । आर्मीको जागिर छोडेर शिक्षक पेश रोजेकाे प्रसंग समेत मन छुने गरी प्रस्तुत भएका छन् ।
यति सम्ममा के कुरा भेटिन्छ भने डा. नानीराम सुवेदीले आफूलाई उतिवेला सानो ठुलो जस्तोसुकै सहयोग गर्ने मानिसलाई उच्च सम्मानका साथ सम्झिएर आभार प्रकट गर्नुभएको छ । आजकाल मतलवी मानिसको संख्या कत्तिको छ त्यो त विना सर्भेक्षण मैले कसरी भनौला र तर मानिसमा नैतिक शिक्षा र चेतनाको धरातल कमजोर भएको छ । गाली गलौजमा गर्नमा मानिस जति जाँगरिलो छ अरुका कदर गर्न र सम्मान गर्नमा मौन छ । उहाँको लेखनमा पितृभक्ति पनि प्रगाढ पाइन्छ । बाको मायाँ, घर छोड्दा बा लाई भएको खिन्नता र त्यसलाई आफूले गरेको महशुस, गाउँलेले आफूलाई हाम्रा पुरेतका छोरा भनिदिंदा र त्यो सुन्न पाउँदाका सुखानुभूति पृत्रीभक्तिका पक्ष हुन् ।
उहाँ जति नरम बोली ब्यवहारको हुनुहुन्छ पुस्तक पढ्दा बल्ल थाहा पाएँ उत्तिकै आँटिलो र साहासी पनि हुनुहुदो रहेछ । मानिस आफूले अपनाएको कार्यक्षेत्र हत्तपत्त छोड्न सक्दैन तर उहाँले आर्मीको जागिर छोडेर शिक्षकमा आउनु भयो । आफ्नै पहलकदमीमा मावि स्थापित गराएर प्रअ बन्नु भयो फेरि आयोजनातिर जानुभयो । उतिबेला क्यानडा पढ्न जानु भयो पछि फेरि बिकासे संस्थामा आउनुभयो ।
यसमा दुइवटा पक्ष मैले भेट्टाएँ पहिलो उहाँमा काम प्रतिको लगनशिलता सीप र इमान्दारीता अर्को उहाँलाई भेट्ने जतिले माया र साथ दिनु । स्विस आयोजनामा कामगर्दा नेपाली सरकारी कर्मचारीको हैरानी दिने तर काम भने नगर्ने कुराले पारेको दुष्प्रभावलाई आफू त्यस ठाउँमा पुगेर सुधार गर्दै काम गराइको शैली र इमान्दारीताले अरुको मन जित्न सफल बन्नु भएछ । आफू भलो त जगत भलो भन्ने नेपाली उखान डा. नानीराम सुवेदीको जिवनमा राम्रै गरि मेल खाएको छ ।
सन्तानको संरक्षण माया ममतामा नानीराम र उहाँका बा दुवै अब्बल देखिनुहुन्छ । बुढेसकालमा पनि आफ्ना छोरा नाति कसरी बसेका होलान् भनि सन्धिुपाल्चोकदेखि पाल्पासम्म हेर्न पुग्नु भएका आफ्ना बाको प्रसंगपनि कृतिमा मिठ्ठो गरि समेट्नु भएको छ । केयर नेपालको जागिर युएनडीपीमा प्रवेश फेरि केयरमा नै वापसी, बझाङ र धनकुटाका प्रसंगलाई मिठो शैलीमा प्रस्तुत गर्नुभएको छ । असल बौद्धिक ब्यक्तित्वको भेटले थालनी भएको पीएचडीको यात्रा र सुखद सफलता अनि इसिमोडको जागिर र अनुभवहरुपनि रोचक छन् ।
सन्तानका विवाह, नातिनी नातिसँगको रमाइलो अनि फेरि सन्तान भिन्नबस्दा यसले दिएको नैरास्यतालाई आम नेपालीको भोगाइको प्रतिविम्ब हुने गरि कलम चलाउनु भएको छ । पढ्दैजाँदा पृष्ठ १४१ मा लेखेको यो भनाइले मन छुन्छ । एउटा सत्य के हो भने देखेको सवै चिज पाइदैनन् । कुनै चीज पाइएन भनेर दुखी हुने हो भने जिन्दगी भरीनै दुखी भएर बिताउनु पर्ने हुन्छ । जे पाइन्छ त्यसैमा चित्त बुझाउन सक्नु जिन्दगीको सफलता रहेछ ।
वास्तवमा यो भनाइ त इशावाष्य उपनिशदको पहिलो ऋचा तेन त्यक्तेन भूंजिथा मा गृध कष्यस्विधनम् को आशय हो । अर्थात उपनिषद् भन्दछ कि अरुको धनको लोभ वा आश नगर जे पाएका छौ त्यसलाई मेरो भागको पाएको छु भन्ने भावले काम गरिरहुँ । कृतिकारले आफ्नो जीवनमा महत्वराख्ने अनगिन्ति ब्यक्तिहरुको हार्दिकताका साथ उच्च अहोभावले उल्लेख गर्नु भएको छ । विश्वकर्मा समुदायका आफ्ना मित र मितबाका घटना प्रसंग देखि डा. अर्जुन कार्की सम्मका कुरा झाँक्री कार्की सहयोग र मित जी रमेश गुरुंगको उपचारमा गरेको योगदान थाहा पाउँदा यो पाठक नतमस्तक बन्न पुगेको छ त्यो मानवीय सत्प्रयास प्रति ।
आफ्नो कृतिमा कृतिकारले बिभिन्न बिषयबस्तुमा आफ्ना मान्यताहरुलाई पनि ब्यक्त गर्नु भएको छ । सारमा भन्नु पर्दा समय अमुल्य छ, मिहेनत अपरिहार्य छ, इमान्दारीताको परिणाम दीर्घकालिन हुन्छ, अन्तर्आत्माको आवजलाइ सुन्नु पर्दछ, महत्वाकांक्षी पनि हुनुपर्दछ तर आसक्ती र असन्तुष्टिले जीवनको मिठास रित्याउँछ भन्ने मान्यताका सारहरु देख्न सकिन्छ ।
यस्तो लाग्छ कागजका पाना भरी कृतिकार गुनगुनाउनु भएको छ । अतितसँग बग्नु भएको छ । स्वनिर्णय र आफ्ना कार्यशैली प्रति सन्तुष्ट हुनु भएको छ । जिन्दगीका अनेक मोडहरुको कथा र त्यसभित्रका व्यथाहरु डा. नानीराम सुवेदीको मात्र होइन यो त मिहेनतमा विश्वास गर्ने र इमान्दारीतामा रमाउने हरेक नेपालीको मर्म हो । जो परिवारको सुख र शान्तिलाई नै आफ्नो सुखशान्ति देख्छ अनि परिवारको चाहनामा आफूलाई बिर्सिदिन्छ । आदरणीय डा. नानीराम सुवेदीको यो सिर्जनालाई अझ दोहोराएर पढ्ने मन छ ।

