स्वरुपा गुरागाईं
मैले कक्षा ७ को अन्तिम परीक्षा सकेँ । अन्तिम परीक्षाको अन्तिम दिन अर्थात् चैत ९ गते । म परीक्षा दिन मनभरि जोश, जाँगर बोकेर हलमा पसे । किनकि अन्तिम परीक्षा सकेर के गर्ने भन्नेबारे मनभरि उत्सुकता थियो । अघिल्लो दिनहरूको जस्तो अन्तिम दिन पनि परीक्षा सोचेजस्तो राम्रो भयो । परीक्षा दिएर म र मेरी साथी सांसारिका विद्यालयबाट बाहिरिँदै थियौँ ।
पछाडिबाट अचानक कसैले मलाई होलीको रङ लगाएर भाग्यो, हामी दुवैले फर्केर हेर्यौँ तर चिन्न सकिएन । रङ लगाएकामा खासै रिस पनि उठेन । होलीकै बारेमा कुरा गर्दै हामी आ–आफ्नो घरको बाटोमा छुट्यौँ ।
कक्षा ८ को पहिलो दिन कस्तो होला ? जेहोस् मनमा सधैँ सकारात्मक सोच मात्रै राखेकी छु । सकारात्मक सोचले मन शान्त हुन्छ रे । आमा भन्नुहुन्छ, ‘मन शान्त भयो भने स्मरण गर्नुपर्ने कुरा पनि सहजै स्मरण हुन्छ; सधैँ सकारत्मक मात्रै सोच्नुपर्छ ।’ पहिले त यस्ता कुरा नपत्याउने म जब आमाको सोचलाई व्यवहारमा लागु गर्न थालेँ, त्यसबाट आएको नतिजा र आफैँमा देखिएको स्फूर्तिपछि म पनि यस्ता सवालमा चासो राख्न थालेकी छु । आमाले सकारात्मक ऊर्जा दिने कुराहरू पढ्ने र हेर्ने गर्नुहुन्छ । म पनि त्यसमा चासो दिन्छु । विश्वास पनि गर्छु ।
ल भुसुक्कै बिर्सेंछु, तपाईंहरूको पनि वार्षिक परीक्षा सकियो होला है, कस्तो भयो परीक्षा ? नतिजा राम्रो आओस् मेरो तर्फबाट शुभकामना । परीक्षा चल्दै छ भने पनि बेस्ट अफ लक है ।
बिदाको समय बिताउने मेरो अरू योजना पनि छन् । मलाई खानाको परिकार बनाउन खुब रहर लाग्छ, तर जान्दिनँ । नियमित पढाइ, कोचिङ कक्षाको प्रेसरले आमाबुबासँग सिक्नै भ्याउँदिनँ; अब बिदामा सिक्नेछु । हाम्रो घरमा सानो करेसाबारी छ, त्यहाँ आमाले विभिन्न तरकारी र फूलहरू रोप्नुभएको छ । म बिदामा तरकारी गोडमेल गर्ने र पानी पट्याउने काम गर्न सिक्नेछु । माटोमा पानी हाल्दा आउने सुगन्ध मलाई धेरै मन पर्छ । माटोसँग खेल्दै काम गर्न पनि रहर लाग्छ । कहिलेकाहीँ मामाघर र ठुलीआमाको घरमा जाँदा आमा र ठुलीआमा, हजुरआमासँग म पनि खेत र पाखातिर जान्छु । माटो र बिरुवा नियाल्छु, धेरै रमाइलो लाग्छ । आमा र ठुलीआमाहरू सधैँ त्यही काम गर्नुपर्दा भने दुःख हुन्छ हुन्छ होला तर कहिल्यै दुःख देखाउने र सुनाउने गर्नुहुन्न । ठुलीआमा र हजुरआमाले हामीलाई घरमा फर्कंदा कोसेली पठाउनुहुन्छ, तरकारी फलफूलहरू ।
मेरो सानो भाइ छ । उसलाई कक्षा १ परीक्षाको तयारी गराउनु छ । उसको परीक्षा १५ चैतबाट सुरु हुँदै छ । उसलाई पढ्नभन्दा मसँग खेल्न औधि मन पर्छ । मसँग खेल्न पाएपछि उसमा देखिएको खुसीले मलाई पनि आनन्द लाग्छ । भाइ मसँग जिक्सिरहन्छ । ऊ मान्छे पनि सानो छ, सानै कुरामा खुसी र सानै कुरामा दुःखी हुन्छ । अबको एक साता म भाइलाई खेलाउँदै परीक्षाको तयारीमा बढी केन्द्रित हुनेछु । ऊ पनि परीक्षा सकेर घुम्न जान हतारिएको छ । योबिचमा केही अतिरिक्त किताब (आउट अफ कोर्स) पढ्ने योजना पनि छ मेरो । सकेसम्म मैले पढेका ती किताबका बारेमा पनि लेख्नेछु । केही थान किताब ल्याइदिनु हुन बुबालाई भनिसकेकी छु । रातोपाटीले मलाई लेख्न प्रेरित गरिदिएकोमा आभारी छु । थ्याङ्स रातोपाटी !
(सिद्धार्थ मावि हेटौंडा मकवानपुर ।) रातोपाटीबाट ।
स्वरुपा गुरागाईं
कतिबेला सबै कुरा सबैसामु शेयर गरौं भन्ने भएको थियो, तर समय व्यवस्थापनमा नै अलमल भयो। नियमित कक्षा, कोचिङ कक्षा व्यत्तिगत व्यस्तताले गर्दा साता नै बित्न थालेछ । कुरा हो २०८० फागनु १५ गते स्कुलबाट गएको शैक्षिक भ्रमणको । म मेरो स्कुल सिद्धार्थ माविका हेटौंडा २ को कक्षा ७ मा साथीहरु र गुरुहरुसँग शैक्षिक भ्रमणको सिलसिलामा हेटौंडा–११ मा रहेको सहिद स्मारक गएका थियौ । २ जना गुरुहरु र हामी विद्यार्थी ७१ जना थियौं ।
एक महिनादेखि नै हामी कहीँ न कहीँ शैक्षिक भ्रमणमा जाने तयारीमा थियौ । पढाइको कोर्ष पुरा नभएको, परीक्षा मिति नजिकीदै गरेको र समय नमिल्दा कारण भ्रमणमा निस्कीहाल्न सकेको थिएनौ । अघिल्लो दिन जब गुरुले हामी सहिद स्मारक जाने निर्णय सुनाउनु भयो म धेरै खुसी भएँ । घर फर्केना साथ ममु, बाबालाई सूनाएँ, मुमुले भन्नुभयो ‘घुमेर फर्कदा मलाई कोसेली चाहिन्छ ।’ ममुको त्यो कोसेलीको अर्थ घुमेर फर्केपछि त्यहाँको बारेमा केही लेख्नुपर्छ भन्ने थियो । मैले सहमति जनाएँ ।
हुन त मेरा लागि सहिद स्मारक नौलो थिएन । यसअघि पनि पटक पटक म स्मारक गएको थिएँ, तर नौलो अनुभूति यसपटक के होला, नयाँ के थाहा पाएको कुरा लेखुँ म भन्ने चिन्ता पनि लाग्यो, तर मनले हरेश मानेन । मेरो ममु सधैं भन्नुहुन्छ, ‘जीवनमा जे भइरहेको छ, राम्रो भइरहेको, जे हुन्छ राम्रोका लागि हुन्छ, भोली जे हुन्छ त्यो पनि राम्रो नै हुनेछ, हर परिस्थितीलाई खुसीखुसी स्वीकार गरेर अघि बढ्नुपर्छ ।’
मैले राती सुत्नेबेलामा पनि सोचेः नयाँ के होला भोली, स्मारक पहिले पनि गएको भए पनि समकक्षी साथीहरुसँगको यो पहिलो भ्रमण थियो । साथमा गुरुहरु पनि हुँदाको पल झनै नयाँ त केही पक्कै हुनेछ, यही सोचेर कतिबेला निदाएछु । विहान नियमित समयमा उठेर कोचिङ कक्षमा सहभागी भएँ, सदा नै ९ बजे घर आइपुगेर खाना खाएर पुनः स्कुल निस्केँ ।
अनि सुरु भयो हाम्रो स्कुलको प्रार्थना समय । त्यसपछि हामी कक्षमा हाजिर भएर लामबद्ध भइ विद्यालयको बस चढ्यौ । विहानको ११ः३५ बजे विद्यालयको मुल गेटबाट स्मारकको लागि हाम्रो बस पश्चिमतर्फ अघि बढ्यो । विद्यार्थी धेरै भएकोले बस खचाखच थियो, जाडो मौसममा पनि हप्प तातेझै भएको थियो । बस्ने ठाउँ नपाएर कति जना उभिनु परेको थियो, तर कसैलाई आपत्ति थिएन, थियो त केवल रमाइलो मात्रै । गीत बजाउँदै चिच्याउँदै रमाइलो गर्दै हामी लगभग १५ मिनेटमा स्मारकको गेट अगाडी पुग्यौ ।
गुरुहरु स्मारक भित्र जानको लागि टिकट काट्न काउण्टर तिर अघि बढ्नुभयो । यसैको फाइदा उठाउँदै हामी कोही पसलतिर लाग्यौ भने कोही फोटो खिच्न र घुम्न तिर लाग्यौ । पार्किङको बीचमा गैडाको मुर्ती रहेछ र त्यसको माथि रहेको डिस्प्ले बोर्डमा केही नियमहरु थिए । हामीले त्यसमा ध्यान दियौं । गुरुहरुले टिकटको व्यवस्था भएको इसारा गर्नु भएकोले फेरी लामबद्ध भएर भित्र प्रवेश गर्यौ । लामबद्ध हुँदै अवलोकन गर्न तिर लाग्यौ । मानिसहरुको उत्तिकै भिड भित्र पनि थियो । हामी अवलोकन गरिरहेकै थियौ गुरुहरुले त्यहाँ रहेको चिडियाखाना हेर्न जाने भन्नुभयो र हामी त्यतै तिर लाग्यौ । केही साथीहरुले मोबाइल समेत ल्याउनु भएको थियोे । उनीहरु फोटो र भिडियोमा ब्यस्त देखिन्थे । म र साथी संसारिका गुरुहरुसँग कुरा गर्दै अवलोकन गर्दै अगाडि बढ्यौ ।
हामीले चिडियाखानामा हुचिल, गिद्ध, इमु, मृग, चितुवा, खरायो, मयुर, गोही, कछुवा, कालिज, कुखुरा, परेवा, बेलायती, मुसा, हरिण आदी देख्यौ । मलाई भने गोहीको मुख देखेर निकै अनौठो लाग्योः चुच्चो परेको मुखमा कति धेरै दाँत ? यसअघि गोही देखेथें तर दाँत याद गरेको थिइँन । केहीबेर विश्राम गर्न हामी प्रतिक्षालयमा बस्यौ । साथीहरु नाच्न खेल्न र फोटो खिच्न थाले । साथी संसारिका र म भने गुरुहरुसँग अनुमति लिएर वरपर घुम्ने र देखेका कुरा कपिमा नोट गर्न भनेर लाग्यौ ।
त्यहाँबाट हामी प्रजातान्त्रिक पार्क गयौं । जुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको रहेछ । त्यहाँ हामीले विश्वेश्वरप्रसाद कोइरालाको शालिक देख्यौ । उहाँ वि.सं. १९७१ मा जन्मनु भएको र वि.स २०३९ मा बित्नु भएको पनि शालिकसँगै उल्लेख गरिएको रहेछ । यसैगरी मनमोहन अधिकारी (वि.सं. १९८६–२०५६) गणेशमान सिंह (वि.सं. १९७२–२०५४) र पुष्पलाल श्रेष्ठ (वि.सं. १९८१–२०३५) को शालिक देख्यौ । उहाँहरुको नाम सुनेको थिएँ, तर उहाँबारे धेरै जानकारी मलाई अझै छैन । यति मात्रै थाहा छ उहाँहरु हाम्रो देशका लागि महान योद्धा हुन् । तलैबाट देखिने गरी नेपालको नक्सा र सहिद स्तम्भ बनाइएको छ, सँगै विभिन्न खेल उद्यानहरु पनि छन् ।
त्यसछि हामीले शहीद स्तम्भको अवलोकन गर्यौ । जहाँ नेपालका मुख्य ४ सहिदहरु गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलगायतका अन्य शहीदहरुको एउटै ढुंगामा कुदिएका स्मारक देख्यौ । ४ सहिदको बारेमा हामीले किताबमा पनि पढेका थियौ । उहाँहरुको कामलाई सम्मान गरेर यहाँ स्मारक बनाइएको हो । हाम्रो देशका सहिदलाई देखेर मन गौरवले भरियो, नमस्कार गरेँ ।
त्यसपछि हामी सभाहलहरु भएको ठाँउ तर्फ लाग्यौ । जहाँ दिनहुँ जसो २–३ वटा कार्यक्रम हुने रहेछ । साथै त्यस दिन मगर दिवस परेकाले सबै जसो हल भरिएका थिए । त्यसपछि हामी सानो फलामे भ्युटावर तर्फ लाग्यौ । जहाँबाट हामीले शहीदहरुको स्तम्भ, झोलुङ्गे पुल, फूलका बगैचाहरु देख्यौ । भ्युटावरको पछाडी साना साना चौतारो थिए । त्यसपछि हामी अलि पर रहेको शौचालय तर्फ गयौ । शौचालय गएको कुरा पनि के लेख्या भन्नेठान्नु भयो होला है, सार्वजनिक स्थल भएता पनि शौचालयको राम्रो व्यवस्था रहेछ, मलाई मन प-यो, शौचालय सफा थियो, सरसफाइमा हामीले हर हमेसा ध्यान दिनुपर्छ, स्वास्थ्य र सरसफाइ नै हाम्रो पहिलचान हो ।
त्यसपछि हामी विभिन्न फूलहरू भएको बगैचा तर्फ गयौ । त्यहाँका फूल र रङ्गीविङ्गी फूलहरू देखेर मनै खुसी थियो । यति मात्रै नभई त्यहा वनभोज क्षेत्र, मदन स्मारक (मदन भण्डारीको शालिक), मनोरञ्जन पार्क, सहिद स्मारक स्तम्भ, पोखरी, आदि थिए। त्यही स्व.शिलादेवी सिंघल श्री राजेन्द्र सिंघलद्वारा निर्मित पुण्य स्मृति देवी मन्दिर पनि थियो ।
पर्यटकलाई सहजताका लागि स्मारक भित्रै एटीएम पनि रहेछ यो व्यवस्था पनि राम्रो लाग्यो । यही स्व. रूपचन्द्र विष्ट को स्मृतीमा निर्मित थाहा स्तम्भ पनि रहेछ । यो वि.स २०६१ मा निर्मित रहेछ । रुपचन्द्र विष्टको बारेमा मैले मुमुबाटै सुनेको उहाँ मकवानपुर जिल्ला पालुङ भन्ने ठाउँको पुराना कम्युनिष्ट नेता हुन । उहाँले सबै मान्छेले सबै कुरा थाहा पाउनु पर्छ भनेर एउटा अभियान नै चलाउनु भएको थियो रे । उनको अभियानको नाम नै पछिपछि ‘थाहा अभियान’ भन्ने रहन गयो । अहिले त्यही पालुङ समेत समावेश गरी थाहा नगरपालिका बनाइएको छ ।
अं, म स्मारकको कुरा गर्दै थिएँ, यहाँ बिरुवाको नर्सरी पनि रहेछ । पर्यटक सुचना केन्द्र पनि रहेछ, तर हामीले त्यो सूचना केन्द्रको सदुपयोग गर्ने अवसर पाएनौ । फेरी जाँदा अवसर मिल्यो भने त्यहाँ के के छ फेरी लेखौला । अर्को अनौठो कुरा हेटौडा–१७ निवासी जीतबहादुर विश्वकर्माले आफूले हातैले बनाएको पित्तलको घरहरा यहाँ रहेछ । वि.सं २०७४ चैत १५ मा निर्मित यो हेरेर अचम्म लाग्यो । “हातैले पनि कस्तो राम्रोसँग बनाउन सकिँदो रहेछ आहा !” त्यसपछि हामी फेरी चिडिया खाना हेर्दै यतिको ठुलो मुर्ती भएको ठाँउमा पुग्यौ । त्यसको अर्को तर्फमा नेपालको पूर्व राष्ट्रपति विद्या देवी भण्डारीज्यु द्वारा उद्घाटन गरिएको रजत स्तम्भ थियो । जुन २०७६ माघ १४ उद्घाटन गरिएको थियो ।

आहा ! कस्तो राम्रो फाउण्डेशन पनि त्यही नजिकै रहेछ, हामी त्यसको नजिक पुगेर पानीमा एकछिन खेल्यौं । फूलबारीहुँदै घुमेर हामी गैरीशङ्कर हिमाल तर्फ गयौ । केही समयअघि म, ममुको साथीहरु र उहाँहरुको छोराछोरीसँग यहाँ पारिवारीक ड्राइ पिकनिक गएका थियौ, त्यै बेला ममुले भन्नुभएको गौरीशंकर हिमाललाई नै आधार मानेर नेपालको समय निर्माण गरिएको रे, मैले यो कुरा मेरो साथी सांसारिकालाई सुनाएँ, यो कुरा सुनेर उनी दङ्ग परिन् । यहाँ हिमालको फेदीमा गाउँबस्ति, कान्लै कान्ला भएको बारी, घरहरु, कुलो, गोरेटो बाटो कति राम्रो आर्ट गरिएको छ । हेरिरहन मन लाग्छ ।
अहो, हामी गुरुहरुबाट छुट्टएको निकै बेर भएछ, हामी फर्क्याै, गुरुहरुले के के टिप्यौ, निकै बेर हरायौ त भनेर हाँस्नुभयो, गाली गर्नु भएन, कत्ति मायालु हाम्रा गुरुहरु ।
देखेसम्मका सबै कुरा टिपोट गरेर प्रतिक्षालयमा आएर आएपछि एकछिन विश्राम गर्यौ । त्यहाँ हाम्रो हेटौडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाको टोलीपनि भ्रमण गर्न आउनु भएको मैले देखेँ र सबैलाई भने, हामी सबैले उहाँसँग सामूहिक फोटो खिच्यौं ।
त्यसपछि हामी खाजा खान तिर लाग्यौं । खाजापछि नाचगान गर्यौ, गुरुहरुलाई पनि नाच्न कर गरीगरी हामी पनि सँगै नाच्यौं, करिब १ घण्टा जति नाचगान गरेर हामी थकित भयौं, औधि रमाइलो भयो । फेरी केही बेर विश्राम गर्यौं । समय बितेको पत्तै भएन, हामी त फर्कने बेला पो भएछ, त्यसपछि गुरुहरुले हामी सबैलाई १/१ ओटा फ्रुटी दिनुभयो खाँदै हामी बसमा चढ्यौ । फेरी पनि बसमा चिच्याउँदै रमाउँदै हामी करिब १५ मिनेटपछि स्कुल आएपुग्यौ, र आ–आफ्नो घरको बाटो लाग्यौ ।
मैले भ्रमणमा जे जे देखे यहाँहरुसँग पनि शेयर गरेको छु । आशा छ सुझाव पाउनेछु । अझै धेरै छुटाएँ होला, सिक्दै छु सिक्ने अवसर दिनुहुनेछ । मेरो स्कुलका गुरुहरुलाई यो अवसरको लागि धन्यवाद । ममुले भन्नुभएको यो स्मारकको परिकल्पनाकार हाम्रो हेटौंडाका डोरमणी पौडेल हुनुहुन्छ, जो बागमती प्रदेशको पहिलो मुख्यमन्त्री समेत हुनुभयो । उहाँले कति मज्जाले कुन कुन ठाउँमा के के बनाउने भनेर प्लानिङ गर्नु भएको वाह, मलाई त धरै मन पर्यो ।
हजुरहरु पनि आउनुभयो भने राम्राेसँग अवलोकन गर्नुहोला । यहाँ के छैन र ? सबै थोक छ । पिकनिक खानको लागि सबै व्यवस्था छ, विभिन्न जातीय पोषाकमा फोटो खिचाउन पाइन्छ, पुर्खाहरुको योगदान पढ्न र अवलोन गर्न पाइन्छ, सयाैं हजाराै फूलहरुले मन नै हराभरा बनाउँछ, पानीको फोहोरामा फोटो खिचुखिचुँ लाग्छ, भ्यू टावर चढेर वरपरको संसार पनि हेर्न पाइन्छ, मैले त सबै कुरा भन्न पछि छुटाएँ होला, आफू आउँदा नछुटाई हेर्नुहोला ल, धन्यवाद ।
- सुशीला कार्की
यसरी हामी संयुक्तरूपमा एकसाथ सबै मिलेर महिला समानतालाई कायम गर्न सकौँ ।
यसरी अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेव्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवस आयोजना गर्यो । सोसलिस्ट पार्टीले सन् १९०८ को त्यस कपडा उद्योगका महिला कामदारहरूका आन्दोलनको स्मरणमा २८ फेव्रुअरी १९०९ को दिनलाई राष्ट्रिय महिला दिवसको रूपमा अमेरिकामा मनाएका थिए ।
यसपछि यसलाई फेव्रुअरी महिनाको अन्तिम आइतबारको दिन पारेर मनाइन थालियोे । यसरी सन् १९१० मा सोसलिस्ट इन्टरनेसनलको दोस्रो महिला सम्मेलन डेनमार्कको राजधानी कोपेहेगेनमा भयो । त्यही सम्मेलनमा ‘अन्तर्राष्ट्रिय महिला दिवस’को घोषणा गरियो ।
त्यस समयको प्राथमिकता महिलाहरूलाई मताधिकार दिलाउनु थियो । त्यो समयमा महिलालाई मत दिने अधिकर कतिपय मुलुकहरूमा बहाल थिएन ।
कोपेहेगेनको सन् १९१० को सम्मेलनमा अमेरिकी महिला प्रतिनिधिहरू र जर्मनीका प्रतिनिधिमध्येमा ल्कारा जेटकीन, केट डून्कर, पौला थिएडेको सरसल्लाह, छलफल र प्रेरणाबाट हरेक वर्ष महिला दिवस मनाउने घोषणा गरिएको थियो ।
त्यस सम्मेलनले ८ मार्चलाई नारी दिवस कायम गरिने निर्णय गर्यो । अमेरिकामा सन् १९०८ को आठ मार्चमा भएको कपडा उद्योगका महिला श्रमिकहरूको विरोध प्रदर्शनका दिन स्मरण गर्दै कायम गरेको हो । यसपछि अन्तर्राष्ट्रिय नारी वर्षको रूपमा संयुक्त राष्ट्र संघले सन् १९७५ देखि मनाउन सुरु गरेको थियो । साथै यो वर्षलाई अन्तर्राष्ट्रिय महिला वर्षको रूपमा घोषणा गरेको पनि हो ।
सन् १९७७ मा संयुक्त राष्ट्र संघको साधारण सभाले सदस्य राष्ट्रहरूलाई निम्त्याउँदै ८ मार्चको दिनलाई विधिवत् महिलाहरूको अधिकार र विश्व शान्तिको निम्ति यूएन होली डे (बिदाको दिन) भनी घोषणा गरेको थियो ।
यतिखेर अन्तर्राष्ट्रिय नारी वर्ष प्रत्येक वर्ष ८ मार्चको दिनमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस संसारको अधिकांस मुलुकहरूमा हर्ष र उल्लासको साथ मनाइने गरेको छ ।
नेपालले पनि सन् १९७५ को अन्तर्राष्ट्रिय नारी दिवसलाई भव्यताको साथ मनाएको थियो । यसरी महिला अधिकार स्थापित गर्ने हेतूले २०३३ सालमा मुलुकी ऐनमा छैठौँ संसोधन गरी महिला अधिकारलाई केही खुकुलो पारिएको हो ।
यसपछि पनि मुलुकी ऐनमा महिला अधिकार स्थापनाका हकमा पटक–पटक संशोधन भएका हुन् । २०५८ सालको ११औँ संशोधन, केही लैङ्गिक समानतासम्बन्धी संशोधन २०६३ र २०७२ को संशोधनपछि पनि ब्यापक संशोधनहरू भएका छन् ।
सर्वोच्च अदालतबाट बारम्बार महिला हक स्थापित हुने गरी विभिन्न रिटहरू र मुद्दाहरूको फैसलाहरूका सन्दर्भमा न्याय निरोपण गरिँदै महिला अधिकारहरूको स्थापना गरिएको हामी पाउँछौँ ।
यसका अतिरिक्त मुलुकी देवानी–संहिता र मुलुकी फौजदारी संहिता २०७४ मा महिलाहरूका अधिकारहरूमा व्यापक हेरफेर भएको पाउछौँ । महिला अधिकारको स्थापना निम्ति नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावको उन्मूलन हुने महासन्धिमा नेपालले २०४७ सालमै हस्ताक्षर गरेको थियो ।
उक्त महासन्धिमा हस्ताक्षरपश्चात् नेपालमा महिलासम्बन्धी हक अधिकार राख्दै कानुनहरूमा उक्त महासन्धिअनुरूप संशोधन वा निर्माण भएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चबारेमा चर्चा गरिँदा के भनिन्छ भने यो, त्यो दिन हो, जहाँ महिलाहरूले आफ्नो उपलब्धि प्राप्तिका निम्ति राष्ट्रियता, जातीयता, भाषा, संस्कृति, आर्थिक र राजनीतिक कुराको विभाजनविना नै पहिचान पाउने छन् ।
महिला दिवसको सुरुवातदेखि नै महिलाहरूले विश्वमा चाहे विकासोन्मुख मुलुक हुन् वा विकासशील राष्ट्र हुन्, तिनको आयाम बन्न सुरु भएको हो ।
नेपाली महिलाहरूको वर्तमान अवस्थाको विकास सूचकाङ्क सन्दर्भमा सामान्य चर्चा गर्दा के देखिन आएको छ भने सन् २०२३ सम्मका आँकडा मूल्याङ्कन गरेर हेर्दा महिलाको जनसंख्या २०७८ सालको जनगणना अनुसार ५१.०४ प्रतिशत छ र पुरुषको जनसंख्या ४८.९६ प्रतिशत कायम छ ।
सन् २०२३ को आँकडाअनुसार शिक्षामा महिलाको प्रतिशत ६९.४ प्रतिशत र पुरुषको प्रतिशत ८३.६ प्रतिशत कायम छ । रोजगारीको हकमा निजामती सेवामा हाल जम्मा ८८,६५७ को संख्या रहेकामा महिलाको हकमा २६.५८ प्रतिशत कायम छ ।
२०७८ कै जनगणना अनुसार महिलाको उपस्थिति कृषि क्षेत्रमा ७४% छ, तर भूमिमा महिलाको स्वामित्य भने बढ्दै गएर ३४.४ कायम हुन पुगेको देखिएको छ । तथापि नेपालको संविधान २०७२ ले संसदमा ३३ प्रतिशतको अनिवार्य उपस्थितिलाई कायम गरेको छ ।
यो अनिवार्य उपस्थितिको बाध्यताले गर्दा हालैको आमनिर्वचनपछि संसद्मा ११२ जना महिलाहरू अर्थात् ३३.५३ प्रतिशत महिला प्रतिनिधिहरूको उपस्थिति रहन सम्भव भएको हो ।
तथापि संविधानले जुन किसिमको समावेशी र समानुपातिकको अवधारणा राखेको देखिन्छ, त्यसअनुरूप महिलाको उपस्थिति सरकारी सेवामा, राजनीतिमा, व्यक्तिगत क्षेत्रका सेवाहरूमा वा अन्य कुनै पनि क्षेत्रमा अनुपातिक रूपमा उपस्थिति हुन सकेको पाइँदैन ।
तसर्थ, नेपालमा महिला वर्गको कूल जनसंख्याको चार खण्डमध्ये तीन खण्ड बेरोजगार छन् । विपन्न छन् । प्रताडित छन् । रोजगार भए पनि तिनको निजी हक कायम हुन सम्भव हुँदैन । महिलाले पढे पनि नपढे पनि रोजगारी गरे पनि नगरे पनि परिवारिक घर व्यवहारको भारलाई वहन गर्ने कष्ट गर्नैपर्छ ।
कृषि र मजदुरीमा संलग्न हुने महिलाहरूको पारिश्रमिक जति कष्ट गरेर आर्जन गरेको भए पनि तिनको निजी हुन सक्दैन । अर्कातर्फ तिनको परिश्रमको मूल्य कहिले कायम हुँदैन । यो अवस्था हुने पर्ने मूलकारण हो, महिलाहरूमा शिक्षाको अभाव हुनु ।
अक्षरको ज्ञानसम्म भए पनि रोजगारमूलक शिक्षाको अभाव रहनु हो । नेपालमा शिक्षित महिलाको प्रतिशत ६९.४ प्रतिशत छ । तर यो दर अक्षर पहिचान गर्नेहरूसम्म हो । उच्च शिक्षा हासिल गर्ने महिलाको प्रतिशत न्यून छ ।
त्यही न्यून संख्यामा रहेका महिलाहरूको प्रतिशतले पनि जम्मैले रोजगारी पाउन सकेको देखिँदैन । यसकाकारण हो, सेवा रोजगारीहरूमा समानुपतिक समावेशी पद्धतिलाई नअपनाइनु । एकातिर महिलाहरूको कम प्रतिशत शिक्षित रहनु र अर्कातर्फ सरकारले समानुपातिक समावेशी पद्धतिको अवलम्बन नगर्नु । यसकारणवाट पनि महिलाहरू रोजगारीबाट बञ्चित छन् ।
यसअतिरिक्त महिलाहरू चाहे धनी वर्गका हुन् वा गरिव वर्गका किन नहुन् सामाजिक परम्परा, रीतिरिवाज र भेदभावकाकारण अझै पनि अधिकांस समाजमा पीडित छन् । विपन्न तथा सीमान्तकृत महिलाहरूको संख्या यस अर्थमा पनि अधिक छ । तिनीहरू पिछडिएका छन्, विकासको मूल धारभन्दा टाढा छन् र तिनले अरु पीडा खप्नुपर्ने हुन्छ ।
प्रथमतः शिक्षाको अभावमा महिलाहरूको यो ठूलो समूहमा चेतनाको अभाव छ । तिनलाई जीवन कसरी निर्वाह गर्ने त्यसको जानकारी हुँदैन ।
कसैले शोषण आफूमाथि गर्दैछ भन्ने कुराको अड्कल पनि तिनले हतपत लगाउन सक्दैनन् । राज्यबाट प्राप्त हुने साना–साना सुविधाबाट पनि तिनीहरू विमुख हुन पुग्छन् । यसका अतिरिक्त कानुन र संविधानले प्रदत्त गरेको हक अधिकारबारे तिनलाई जानकारी हुँदैन ।
सानो उमेरमा बिबाह हुनु, असमयमा सन्तान हुनु, घर परिवारको कामको सम्पूर्ण दायित्वको भारी खेप्नु, पेटभरि खान नपाउनु, भोक भोकै बाँच्न बाध्य हुनु, तिनको दिनचर्या हुन पुग्छ ।
कतिको परिवारले त्यागी दिने वा स्वयम् त्याग्न बाध्य हुनुपर्ने अवस्था पर्छ । त्यस्तो समयमा सन्तानको मायाले तिनलाई अभावमा पनि काखी च्याप्न बाध्य हुनुपर्ने अनि छाकछाकै आफू भोकै बसेर तिनको पेट भर्नुपर्ने बाध्यता आएको देखिन्छ ।
अर्कातिर समाजले जहिले पनि महिलाले आत्मनिर्भर बन्न खोज्दा जहिले पनि तिनको चरित्रमाथि प्रश्न उठाउने गर्छ । गरिब र सीमन्तकृत वर्गका महिलाहरूमा ठूलो आंकाक्षा हुँदैन । सानो सहयोग वा सानो मद्दत पाए पनि तिनले आफ्नो जीवनलाई सुखी र खुसी तुल्याउन सक्नेछन् ।
हाम्रो संविधानको धारा ४२ मा सामाजिक न्यायको हकको प्रवधान छ, जहाँ जाति जनजाति, पिछडिएका वर्ग, अपाङ्ग र विकलाङ्गहरूलाई राज्यको सवै निकायहरूमा समावेशी सिद्धान्त अनुरूप समावेश गर्ने उल्लेख छ ।
लोप हुन लागेका जाति आदीवासी समुदाय, जनजातीलाई शिक्षा, स्वास्थ्य, बसोवास, नियुक्ति, खाद्य र सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था छ । किसानलाई पनि बिजन मलको सुविधा र सहयोग गर्ने व्यवस्था देखिन्छ ।
तर यी प्रावधानहरूलाई कानुन बनाएर लागू गर्ने प्रयास गरिँदैन । तत्काल यी संविधानका प्रावधान लागू हुने अवस्था पनि देखिएको छैन । यही व्यवहार सरकाको रहिरहने हो भने ती सीमान्तकृत, विपन्न र विकासका पूर्वाधारभित्र समावेश नरहेका ठूलो जनसख्याका नेपाली महिलाहरूको विकास कहिल्यै पनि हुने देखिँदैन ।
शहर र नगर क्षेत्रमा वसोवास गर्ने महिलाहरूको ग्रामीण क्षेत्रमा बस्ने महिलाहरूको अनुपातिक तुलनामा केही राम्रो स्थिति देखिएको छ । हाम्रो ग्रामीण क्षेत्रमा ७० प्रतिशत महिलाहरूको बसोवास छ । अधिक सख्यामा विपन्न र गरिब महिलाहरूको बसोबास पनि ग्रामीण क्षेत्रमै छ ।
त्यसो हँुदा महिला वर्गको समूल विकास हुन ग्रामीण क्षेत्रमा नै केन्द्रित हुन जरुरी छ । संयुक्त राष्ट्र संघको आह्वान पनि जाति जनजाती, पिछडा, सीमान्तकृत, विपन्न वर्गका महिलाहरूलाई विकासको मूलधारमा ल्याउने हो ।
हाम्रो मुलुकको परिपाटी हेर्दा थोरै सहयोग गर्ने अनि बढी प्रचार गर्ने एउटा दुर्गुण छ । अर्को विकासका प्रत्येक योजना र वितरणहरूमा राजनीतिकरण गरिन्छ । स्थानीय निकायमा जुन दल सम्बद्धले जितेको छ, तिनका मतदाताले मात्र विकास योजनाका लाभ पाउने गर्छन् ।
त्यसमाथि यति भ्रष्टाचार छ कि विकास योजनाका खर्चहरू माथिदेखि तलसम्म पुग्दासम्म वास्तविक योजना कार्यान्वयन गर्ने कार्यको हकमा दश प्रतिशत पनि खर्च हुँदैन । महिलाहरूको शिक्षा, पेशा रोजगार, खाद्यान्नको हक, बसोबासदेखि लिएर संविधान प्रदत्त धारा ४२ मा भएको न्यायको हक कार्यान्वयन नहुनुका मूल कारण यिनै हुन् ।
(लेखक पूर्व प्रधानन्यायाधीश हुन्, याे लेख बाह्रखरी डटकमबाट साभार गरिएकाे हाे ।)
आप्रवासन प्राचिन मानव सभ्यतादेखि नै एक नियमित घटनाक्रमको रुपमा लिंईदै आएको छ । (जोशी, सिंखडा र प्रिस्कोट २०११) परापूर्वककाल देखिनै आप्रबासनको परम्परा रहंदै आएको कुरालाई नकार्न सकिंदैन । बैदेशिक रोजगार बिभागको २०१४ को तथ्यांकलाई आधार मान्ने हो भने पनि सन् १९९० उदार अर्थतन्त्र र रोजगारीको अवसरको रुपमा आप्रवासनलाई औपचारीकाता प्रदान गरेको पाईन्छ । यस्तो आप्रवासनको क्रम आजको दिनमा आएर गम्भीर मुद्दाकाे बिषय बनेको छ ।
आप्रवासनको अबस्था हेर्ने हो भने पनि बर्तामान अवस्थामा औपचारीक रुपमा नेपालको विमानस्थलको प्रयोग गरि दैनिक सरदर १७०० व्यक्तिहरु रोजगारीको सिलसिलामा विदेसिएको तथ्याङ्कले देखाउंछ । यसरी विदेशिनेहरुमा २५ देखि ३५ उमेर समुहको संख्या उल्लेख्य रहेको पाईन्छ । भारतसंग खुल्ला सिमाना जोडिएको कारण मौसमी रोजगारीलगायत अन्य रोजगारीमा जाने मानिसहरुको एकिन आंकडामा सम्बन्धित निकायमा अद्यावधिक छैन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई हेर्दा विदेशमा बसोबास गर्ने नेपालीको जनसंख्या २,१६९,४७८ रहेको छ । जसमा ८१. २८ प्रतिसत पुरुष र १८.७२ प्रतिसत महिला रहेका छन् । जुन दक्षिण एसिया क्षेत्रका अन्य देशको तुलनामा उनीहरुको आप्रवासी कामदार र जनसंख्याको कुल जनसंख्याको अनुपातमा सबैभन्दा बढी हो ।
सन् २०२२ को आर्थिक सर्वेक्षणका आधारमा वैदेशिक रोजगारीका लागि अनुमति लिने नयाँ र पुनः स्वीकृत हुने कामदारको संख्या ५,६६५,२२६ पुगेको छ, जसमध्ये ५,३४८,८१४ पुरुष र ३,१६,४१२ महिला छन् । त्यसमध्ये करिब ९० प्रतिशत कामदारले खाडी मुलुक र मलेसियाका अदक्ष र अर्धदक्ष गन्तव्यको स्वीकृति पाएका छन् भने बाँकी १० प्रतिशतले अन्य गन्तव्यमा जाने दक्ष जनशक्तिको स्वीकृति पाएका छन् । श्रम आप्रवासनले अहिले नेपालको समाज र अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । श्रमशक्तिको पलायन र परिणाम स्वरूप सामाजिक र आर्थिक रेमिट्यान्सले घरायसी जीविकोपार्जनको संरचना र देशको अर्थतन्त्रलाई नयाँ आकार दिएको छ । (अधिकारी, २०२१)
नेपालमा श्रम रोजगारीले पुर्याएको योगदान

बैदेशिक रोजगार बिभागले ११० राष्ट्रहरुमा श्रम स्विकृती दिएता पनि तोकियको भन्दा फरक राष्ट्रहरुमा गैरकानुनी तरिकाबाट लुकिछिपि जाने चलन बढ्दै गएको पाईन्छ । अनिश्चित राजनीतिक र बिग्रँदै गएको आर्थिक अवस्था नेपाली युवाहरुलाई विदेशको विकल्प खोज्ने प्रमुख शक्ति बनेको छ । नेपाल श्रम आप्रबासन प्रतिवेदन २०२२ अनुशार अन्तरदेशीय बसाइँसराइँको मापनसँगै नेपालको बसाइँसराइँ परिदृश्य द्रुत रूपमा परिवर्तन भएको छ । विगत तीन दशकमा रोजगारीमा उल्लेख्य वृद्धि भएको छ । ठूलो परिमाणमा श्रमको लागि नेपाली नागरिकहरूको बसाइँसराइँमा धेरै कारकतत्वहरु भएतापनि प्रमुख रुपमा गरिबी, रोजगारीको अभाव देशभित्र अवसरहरूको कमि, द्वन्द्व र अन्य सामाजिक, वातावरणीय र राजनीतिक कारण, दक्ष र कम सीप भएका आप्रवासी कामदारहरूका मागहरु साथै गरीबिका रेखामुनी रहेका राष्ट्रहरुमा उच्च ज्यालाको प्रस्तावले पनि यस्तो अवस्था सृजना भएको पाईन्छ ।
नेपालको सरदर जनसंख्यालाई हेर्दा नेपालको प्रत्यक तिन घर मध्य १ घरले रेमिटेन्स पाउने गरेको देखिन्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि यसको बिशेष योगदान देखिन्छ । यसले परिवारको सञ्चित आय र बचतमा अभिबृद्धि गर्नुका साथै ऋण तिर्न र सानोतिनो उद्योग व्यवसायमा पनि यसको योगदान रहेको देखिन्छ । यसले सकारात्मकता संगसंगै ब्यक्ति परिवार र समाजमा अन्य प्रभाव पनि पारेको छ । वृद्ध आमाबाबुलाई छाडेर गएको कारण केही ज्येष्ठ नागरिक बृद्धाश्रममा आश्रय लिएका छन् (खनाल, राई, र चालिसे, २०१८; एस थापा, २०१७) ।
त्यस्तै वैदेशिक रोजगारीसँग सम्बन्धित गलत धारणा वा स्टिरियोटाइपहरूका कारण आप्रवासी कामदारहरू फर्किएपछि सामाजिक कलंकको सामना गरेको पाईन्छ । त्यस्तै दक्ष र अर्ध–दक्ष कामदारहरूको बहिर्गमनले “ब्रेन ड्रेन“ हुन सक्ने र नेपालको विकासका लागि अत्यावश्यक विशेषज्ञता गुमाउन सक्ने र स्थानीय उद्योगहरूको विकास र समग्र सामाजिक आर्थिक प्रगतिमा प्रतिकुल असर पार्न सक्ने कुराको आंकलन गर्न सकिन्छ ।
यस्तो प्रभावका कारण व्यक्तिको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेको देखिन्छ । आप्रवासनका कारण व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको देखिन्छ । पति–पत्नी विछोड, विवादित वैवाहिक सम्बन्ध, अविश्वास र पुरुषहरुद्वारा पितृत्व अनुभव को हानि जस्ता घटनाहरु सामान्य जस्तो भैसकेका छन् । शारीरिक स्वास्थ्यको कुरा गर्नुपर्दा स्वास्थ्य जोखिम, दुर्घटना र कार्यस्थलमा भेदभावपूर्ण व्यवहार भोग्नु परेको अवस्था छ । (जोशी एट अल, २०११, सिजापति एट अल २०१५, सुवेदी, १९९१) । त्यस्तै मृगौला सम्बन्धी समस्या बोकेर फर्कने ब्यक्तिहरुको संख्या पनि उल्लेख्य रहेको पाईन्छ ।
शारीरिक स्वास्थ्यसंगसंगै यसले मानसिक स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकुल प्रभाव पारेको देखिन्छ । एक अध्ययनले देखाए अनुसार नेपाली आप्रवासी कामदारहरूमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूमा चिन्ताको प्रमुख कारण हुन् । (महत एट अल, २०२०, भाईटल साईन २०२२) । त्यस्तै चिन्ता, उदासिनता, टाउको दुखाइ र आत्महत्या प्रयासहरू खाडी सहयोग परिषद् (Gulf Cooperation Council GCC) देशहरूमा पुरुष आप्रवासी कामदारहरूले सामना गर्ने प्रमुख स्वास्थ्य सम्बन्धी जोखिमहरूको रूपमा चिनिन्छन् । (रेग्मी एट अल २०१९) ।
त्यस्तै परिवारको उच्च अपेक्षा, काममा अनुचित व्यवहार, गरीब जीवन अवस्था, एक्लोपन, सामाजिक समर्थनको कमी र विदेशमा गरीब सामाजिक जीवन, अन्य मानसिक स्वास्थ्य सेवाहरूमा उचित पहुँचको अभाव जस्ता तत्वहरुका कारण यो अबस्था सृर्जित छ (रेग्मी एट अल २०२०)।
बैदेशिक रोजगारीका क्रममा मृत्युहुने नेपालिहरुको संख्यालाई हेर्नेहो भने आर्थिक वर्ष २०२१÷२२ मा, कुल १३९५ नेपाली आप्रवासी कामदारको मृत्यु (३९ महिला सहित) भएको तथ्यांकले देखाउंछ । त्यस्तै मलेसिया, साउदी अरेबिया, कतार र युएईमा सन् २०१९/२० देखि २०२१/२२ सम्म वार्षिक १५० भन्दा बढी नेपाली आप्रवासी कामदारको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
यसले गर्दा आप्रवासनका कारण मनोसामाजिक तथा मानसिक स्वास्थ्यमा यसले दूरगामी प्रभाब पारेको देखिन्छ । यसका कारण मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याका घटनाहरु उल्लेख्य रुपमा रहेको आंकलन गरिएतापनि यसको एकिन तथ्यांक भने छैन । तर सन् २००८ मा एक अध्ययनले के देखाएको छ भने सामान्य ब्यक्तिको भन्दा आप्रवासी कामदारका परिवारमा डिप्रेसन र चिन्ता दुवैको व्याप्ति हुनुका साथै थियो त्यसको अनुपात पनि दोब्बर पाइएको छ (रोसी २००८) । राेसी विभिन्न तह र तप्का बाट यसको व्यवस्थापनमा चासो दिनुपर्ने आवश्यकता देखिन्छ ।
यसले आप्रवासनले गर्दा आत्महत्याहरुको घटनाहरु पनि उल्लेख्य रुपमा रहेको तथ्यांकले देखाउंछ ।

अहिलेको अवस्थामा आप्रवासन आवश्यकता, रहर, बाध्यता जे जस्तो भएता पनि यसलाई व्यवस्थापन गर्न नसकिएमा यस्ले दुरगामी असर पार्ने स्वतःसिद्ध छ । परिवारको एक सदस्य आप्रवासनमा हुंदा उसबाट आश्रीत उसका परिवार लगाएत उसंग सम्बन्धित व्यक्तिको मानसिक स्वास्थ्यमा पनि चासो दिनुपर्ने देखिन्छ । यदि त्यो व्यक्ति मानसिक स्वास्थ्य समस्या भएर समुदायमा फर्किंदाको अवस्थामा उ लगाएत उसको परिवारले भोग्नुपर्ने समस्या साथै त्यस्तो व्यक्तिको उपचार र पुनःएकिकरणमा ध्यान दिनु आवश्यक देखिन्छ ।
राज्यको नजर त्यो व्यक्ति जनसंख्याको एउटा एकाई होला तर उसको परिवारको लागि त्यो व्यक्ति सबै थोक हो । त्यसैले त्यस्तो व्यक्तिको सम्बोधनको लागि राज्यले केन्द्रबिन्दुको रुपमा राखेर हेरिनुपर्छ । यसको लागि स्थानीय तह देखिनै आप्रवासनका नीति र रोजगारीका क्षेत्रमा हुने सम्भावित खतराबारे सटिक जानकारी प्रदान गरी नीतिनिर्माताहरुलाई स्थानीय सुरक्षित माइग्रेसनको बारेमा सुझाव प्रदान गर्न सक्नेछन् । आप्रबासनको बढ्दो चापलाई ध्यानमा राखि स्थानीय स्तरमा प्रबिधि केन्द्रहरू र हेल्प हेक्सको मार्फत् सहयोग गरी सिप विकास कार्यक्रमहरू चलाउनुपर्ने देखिन्छ ।
स्थानीयतहले स्थानीयस्तर देखिनै आप्रबासनको एकिन तथ्यांकहरु संकलन गरी त्यसको अद्याबधिक गर्ने साथै त्यस्ता व्यक्ति तथा परिवारमा भएका ब्यक्तिहरुको मानसिक सुस्वास्थ्यको लागि नितिगत तहमा नै सम्बोधन हुने व्यवस्था मिलाई उनीहरुको पुनःएकिकरणकाे लागि योजनाद्ध तरिकाले अगाडि बढ्नुपर्ने देखिन्छ । यस्ता बिषयलाई समयमानै सम्बोधन हुन नसकेमा यसले भयावह अबस्था सृजना गर्न सक्ने कुरालाई नकार्न सकिन्न ।
प्रतिकृयाकाे लागि: shrkhanal@gmail.com
(खनाल मकवापूर जिल्लामा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रमको लागि टिपिओ नेपालमा कार्यक्रम संयोजक हुन् ।)
स्वास्थ्यको लागि पदयात्रा राम्रो व्यायाम
Tags: No Comments

हिड्नु स्वास्थ्यको लागि लाभदायक छ । हाइकिङ अग्रेजी शब्द, जसको नेपाली पदयात्रा हुन्छ । अंग्रेजीमा ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा, उचाइको राजा । यसैबाट केही उचाईमा तर ग्रामीण बस्ती तथा जंगली बाटो भएर कुनै गन्तव्य तय गरिन्छ भने त्यो पदयात्रा स्वास्थको हिसाबले झनै राम्रो हुन्छ ।
हाइकिङ वा पदयात्रा जे भने पनि अर्थ केही उचाइ र कोलाहल मुक्त वातावरण ग्रामीण बस्ती पाखा पहराको दृश्यावलोकन गर्दै हिँडेर स्वास्थ्य लाभ गर्नु बुझिन्छ । बिहान बेलुकाको समयमा १-२ घण्टा हिड्नुलाई हिडाई मात्रै भनिन्छ । त्यो एक्लै वा केही साथीहरूको साथमा दिनहु गर्न सकिन्छ । शहरी क्षेत्र वा आफू बसिरहेको ठाउँ भन्दा केही पर स्वच्छ वातावरण भएका गाउँ तिरको कुनै गन्तव्यतिर हिँड्डुल गर्दै दृश्यावलोकन गर्नुलाई पदयात्रा भनिन्छ । पदयात्रा सामुहिक गरिन्छ ।
नेपालमा धेरै ठाउँ छ्न पदयात्राका लागि । ठाँउ र समय अनुसार पदयात्राको दिन तय गरिन्छ । सामान्यतया ५-७ घण्टा कुनै उपयुक्त समय मिलाएर समुहमा पदयात्रा गर्न सकिन्छ । मकवानपुरमा समेत पदयात्रा गर्ने पर्याप्त ठाँउहरु छन् । हेटौंडा वरपरसमेत यस्ता ठाउँ छन् । जहाँ बिहानै हिडेर ग्रामीण बस्तिको रहनसहन हेर्दै पहाडी दृश्यावलोकन गर्न सकिन्छ । समूह र फुर्सद मिले पदयात्रा हरेक हप्ता पनि गर्न सकिन्छ । तर महिनामा एक पटक पदयात्राको लागि समय मिलाउन सके स्वास्थ्यको समेत राम्रो मानिन्छ । त्यसो त हरेक दिन विहान वा बेलुका समय मिलाएर १ देखि २ घण्टा हिडाइबाट समेत लाभ लिन सकिन्छ ।
प्रायः पदयात्रा गर्न रुचाउने मध्येको मलगायत केही साथीहरूले माघ १३ गते शनिबार हेटौडा नजिकैको छोटो तर रमाइलो पदयात्रा मार्ग छनौट गरि हिड्ने मेसो मिलायौ र केही साथीहरुकाे समय पक्का गर्यौ । करिव करिव हामी जाने समुहमा ९/१० जनाकाे टुङ्गाे लागेकाे थियाे । साेही अनुसार शनिबार विहानै केही खाजा बनाउन चार बजे उठेर तम्मतयार गर्दै थिए दिदी शान्ति प्रिय बन्दनाकाे ट्वाङ्ङ मेसेज आयाे म जान्न सन्चाे भयन माफ पाउँ । मेराे मनकाे उत्साहा जागर सब मर्याे । अब के गरुँ गरुँ दाेधारमा परियाे । हिजै समय पक्का गरेकाे आफू भन्दा परिपक्प मान्छे समूहमा नहुने भएपछि म दाेधारमा परे । खाजा त बनाए तर ओछ्यानमा आयर पल्टिएँ । विहान ६:३० वजे पैदल हिड्ने ठाउँ सामरी पुलमा पुग्ने भनी अघिल्लाे दिन निधाे गरेका थियाै । तर त्यतिन्जेल सम्म ओछ्यानमै थियाै हामी । समुहकाे सदस्य सुनिताकाे कल आयाे म बुद्द चाेक आइपुगे तपै कहाँ ? म त झसङ्ग भए उनकाे कल राख्न नपाउँदै मन्जुले फाेन गरिन् दिदि हामी त सामरी पुल आइपुग्याै तपाईंहरु कहाँ भन्दै । केहीअघि मरेकाे जाँगरलाई फेरी तङ्याउदै संजिव कार्की र वावुलाई तयार हुन भने र हतार हतारमा १५/२० मिनेटमा यति रफ्तारमा सामरी पुल पुगियाे कि अचम्मित भएँ । चिसाेले कठ्याङ्ग्रियकाे हातमा हाेस थियन ।

हाम्राे पदयात्राकाे अर्काे साथि थिईन मन्जु मैनाली । मसिनि खिरिलि पातली तर अत्यधिक भावुक र सबकाे कुरा बुझ्ने जिम्मेवार घरतिर हिडे जसरी आएकी रहिछिन् हाइकिङ जान चप्पलै लगाएर, साेच्दै थे यीनलाई हिड्ने समयमा गाराे त हुन्न ? हिड्न त सक्छिन? कार्यक्षेत्रमा संधै छाेटाे समयमा भेटिने उनी जस्ताे कार्यक्षेत्रमा थिन तेस्तै सरल लामाे यात्रामा पनि थिइन । मानिसमा दाेहाेराे व्यवहार धेरै देखिन्छ तर उनमा देखिन्न । अरुकाे दुख देख्न नसक्ने मन्जु सानै उमेरमा परिपक्क देखिन्छिन । मन्जुले नै हामी माझ नयाँ साथि लिएर आएकी रहिछिन् । उनले साथमा विल्कुल नयाँ थिइन आरती ।
सबै जम्मा भएपछि हाम्रो पैदल यात्रा सुरु भयो सामरी पुलबाट । टोलीमा ९ वर्ष देखि ४० वर्षसम्ममा सदस्य थियौ । मकवानपुर गढिको आमभन्ज्याङ्गको बाटो हुँदै हामी सात जनाको टोलीले तय गर्यौ वुङदल-कप्सेरी-बाघचौर-आदामार-बाघझोराको पदमार्ग रुट । जुन भिमफेदी गाउँपालिका वडा नं १ को दक्षिणी भेगमा पर्दछ । सामरी पुल (भीमफेदी गाउँपालिका तर्फ) को पूर्वबाट करिब २ किमिको दुरीमा रहेको आमभन्ज्याङ्गको बुङ्दल झर्ना नपुग्दै केही वरबाट कप्सेरी जानका लागि हाम्रो टोली ठाडो उकालो तर्फ प्रस्थान गर्यौ । टोलीका ९ वर्षीय सबैभन्दा सानो सदस्य उकालोमा सबैभन्दा अगाडि लागेको थियो ।
कच्चि सडकको बाटो नभयको त होइन तर हिड्ने नै भएपछि किन लामो तर सहज हुने बाटो रोज्ने भनेर ठाडो उकालो बाटो रोजेका हामीलाई उकालो बढ्दै जाँदा श्वास फुलेर आएको थियो । सानो सदस्य त हिडिरहेको छ हामी किन हिड्न सक्दैनौ र भन्ने मानसिक रुपमा उत्प्रेरित हुँदै स्वाश्वको गति बढाउदै उकालो लागिरह्यौ केही बेर सुस्ताउँदै, सुस्केरा हाल्दै । स्थानीयवासी जो त्यहीबाटो आफ्नो दैनिक कर्मको लागि हिड्छ उहाँहरुलाई करिव १५ मिनेट लाग्ने बाटो हामीले ४५ मिनेट लगाएर पार गर्यौ । बाटाेमा बेला बेला आमाकै झल्काे दिलाउने गरि कम्मरमा हात राख्दै सुस्केरा हाल्दै हिडिन् मन्जु । म ओ आमाेइ भन्दै जिस्काउदै गर्दा मुसुक्क हास्ने मन्जु हामीसँग यति लामाे यात्रामा पहिलाे पटक साथमा थिइन् ।
कप्सेरी गाउँ पुगपछि देखिएका दृश्यावलोकनले हामीले ४५ मिनेट लगाएर पार गरेको उकालोको थकाइलाई विर्साइ दियो । वर्णन गर्न कठिन भएपनि अत्यधिक सुन्दर दुश्यमा पूर्वमा लहर परेका पहाड, उत्तर पुर्वमा छत्रेको ठुलो लेक नाकमै ठोकिएला जसरी उभिएको, दक्षिणतिर सामरी खोला र राप्ती खोला त्रिवेणी धामसम्म बगिरहेको दृष्य, हेटौडा बजार तथा औद्योगिक क्षेत्र, चुरेपर्वत क्षेत्र, पश्चमतिर पहाडी दृष्य र उत्तर तर्फ भिमफेदीकै साना साना गाउ अनि भरेङ्गी आकारका कान्लाहरु ।

अहिले जाडोको समय, यो मौसममा यसै पनि व्यायाम गर्न जाँगर चल्दैन, जसले शरीर चुस्त हुन पाएको छैन । त्यसैले जाडो मौसममा हाइकिङको महत्व अझ बढ्छ । विहानको सुर्योदयसँगै यात्रामा लम्किएका हामी दक्षिण तर्फवाट उकालो लागि माथि पुग्दा पारिलो घाम ! घाम माथि पुग्दा हामी पनि माथि पुगेका थियौ सँगसँगै । हाम्रो टोली कप्सेरी गाँउबाट पुनः अघि बढ्यौ स्थानीयहरुसंग कुराकानी गर्दैगर्दै । तामाङहरुको वस्ती रहेको कप्सेरीसम्म मज्जाले अटो चल्दो रहेछ । हेटौंडा बजारबाट २०० रुपैया भाडामा अटोले ल्याउँने/पुर्याउने रहेछ । जेहोस संघीयतासंगै घरघरमा सिंहदरवार पुगेको छ छैन तर बाटो घाटो, बिधुत र पानीको सुविधा भने पुगेको छ ।
मानिसको आधारभुत आवश्यकता विस्तारै पूरा हुँदै गएको देखिन्छ । हलो पनि प्रयोग गर्न नमिल्ने बारीका कान्लाहरुमा कोदो रोपेर नल काटेमा ठोसा ताजै थिए । त्यहाँ खेती गर्नका लागि अझैपनि कुटो कोदालो नै प्रयोग हुन्छ, कतैपनि देखिएन हाते ट्याक्टर । हाते ट्याक्टरको सहायताले केही सहज हुने भने देखिन्छ खेतिपातिका लागि ।
हाम्रो पाइला अघि बढीनै रहेको थियो बाघझोराको लागि, आउदै थियो कप्सेरी पछिको बाघचौर गाउँ । जहाँ एउटा विधालय रहेछ जनता आधारभुत विधालय । कुलेखानी तेस्रो जलविद्युत आयोजनाले उक्त विद्यालयको दुबैतर्फ पर्खाल बनाइदिएको रहेछ २०७१ सालमा । एकनाले आकारमा बनेको विद्यालयको लागि चौर थिएन । थोरै क्षेत्रफलमा निर्माण भएको विद्यालयको दुवै तर्फ भिर रहेछ । कुलेखानी तेस्रोले सामाजिक काम गरेको रहेछ पर्खाल बनाई हुनसक्ने संभावित क्षतिबाट बचाउन ।
हामीले थकानलाई केही बेर त्यही बिसाउने र सामान्य खाजा स्कुलकै पेटिमा बसेर खाने भयौ । स्थानीय स्तरमा १/२ स्थानमा चर्च थियो र स्थानीयहरु हामी केही वितरण गर्न चर्चमा आएको अनुमान गर्दै प्रश्न गर्दै थे । धर्म प्रति मेरो कुनै प्रतिशोध छैन । म यशु, अल्लाहा, बुद्द, महादेव, विष्णु, गुरु नानक सवलाई समान मान्छु किनकि सब धर्मको एउटै सार छ शान्ति, अहिसा, एकता, सद्भाव । चर्चमा गयर प्रभु यशुको प्रसाद खाएको छु, मस्जिदमा गएर कुरानलाई ढोगेको छु, गिता र बाइवल दुवैलाइ संगै घरमा राखेको छु, गुम्वा त सबैभन्दा प्रिय क्षेत्र जहाँ शान्तिको महशस गर्छु र गइरहेको हुन्छु पनि । तर उक्त गाँउमा चर्चका मान्छेहरु मात्र केही लियर जाने रहेछन् भन्ने लागिरह्यो । ती गाँउमा गुम्वा देखिन तर तामाङको समाधिस्थल भने देखेँ । स्कुलको पेटिमा बसेर हामीले खाजा खायौ कोदोको रोटी, मस्याङको विरौला, मिठ्ठो चिया भिटामिन बिस्कुट ।

अब सुरु भयो त्यो अघिको यात्रा । समतल समतल बाटो हुदै हामी अघि बढ्दै आदामार तर्फ अघि बढ्यौ जहाँ अचम्मको दृश्य देखियो । जग्ङेश्वर महादेव गुफा । जहाँ जात्रा लाग्ने रहेछ। विशाल गुफा जहाँ प्रतीत हुँदै थियो केही समय अघि मात्र जात्रा समापन रहेछ । उक्त स्थानमा रहेको महादेव थानो गुफा भित्र डराइडराइ गयौ । गुफाको माथि सानो प्वाल थियो जहाँबाट प्रकाश छिरिरहेका । उक्त प्रकाशको छाँया गुफाको अर्को कुनातिर देखिएको थियो जसरी आँगनबाट बसेर ऐना घाममा देखाएर तेस्को प्रकाश घरभित्र अधेरो क्षेत्रसम्म पुर्याउने काम गर्थ्यौ सानोमा । गुफाको प्रकाश र देखिएको छाँयाले फेरी एकपटक बालापनको याद गरायो। गुफा भित्र दिनभर बत्ति वलिरहने रहेछ करिव ३ वटा वल्ब बालिएको थियो । सुन्दर रहेछ गुफा ।गुफाको संरक्षण र संरचना व्यवस्थापनमा ध्यान दिन सके धार्मिक तथा आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिन्छ भने भक्तजनलाई समेत सहज हुनेछ ।
महादेवथानमा लामै समय व्यतित गर्यौ हामीले । गुफाको भित्रसम्म गएर हेर्यौ । स्थानीय श्रमदान सहित निर्माण गरिएको उक्त मन्दिर क्षेत्र अझै व्यवस्थित हुने पर्खाइमा रहेको पायौ । मन्दिरमा करिव ४५ मिनेट अलमलिएपछि पुन हामी आदमारलाई नियाल्दै हिड्यौ जुन उत्तर पश्चिम क्षेत्र तर्फ अघि बढ्दै थियो । बाटोमा धुलो उडाउदै अघि बढेको हामी यात्रा छोटिदै थियो । घरी अन्ताक्षरी खेल्दै घरी दौडदै घरी घोचपेच गर्दै व्यवहारिक भन्दा पनि बालकपनमा हाम्रो टोली वेपर्वाह हिडिरह्यौ ।
हरेक यात्रा सहज हुने गर्छ भन्ने लाग्छ साथीको साथले । साथमा अझ वचपना भएका साथी भए झन सहज र मिठो बन्ने रहेछ । अझ साथमा ९ बर्ष आफ्नै छोरा समेत हिडिरहेको थियो । उ पनि रमाउने भएको छ पदयात्रामा । उ यात्रा भरी घरी खुरुर दौडेर अघि पुग्ने र फस्ट भएँ भन्छ त घरि अन्तिममा भएको साथीलाई सोध्न पुग्छ हिड्न सक्नु भएन हो ? उसको र मेरो हरेक कुरा मिल्छ । प्रकृतिमा रमाउन मलाई जति मनपर्छ उति उसलाई पनि । जति गुनगुनाउन मलाई मनपर्छ उति उसलाई पनि ।
गितकाे तालमा हामी म्युजिक पनि मिक्स गर्छाै टिङ् टि टि टिङ टिङ टि टि टिङ । गितकै तालमा नाच्ने गाेडाहरुले वाटाे धुलाे उडाउन मस्तथ्याे भने ती धुलाेलाइ तिनै खुट्टाका कपडाले मज्जाले लपेटेर लिएकाे थियाे । गाेजिमा हात हालेर खालि खल्ति पल्टाउदै छाेराे थप गुन गुनाउछ ।


हर यात्रामा ट्युनिङ मिल्ने साथी हुनुपर्छ र मेराे ट्युनिङ मेराे छाेराेसंग मिल्छ । हाम्राे टाेलिमा उहीँ उमेरका समूह छैनन् । आफू हाँस्न थालेपछि सबैलाई हसाउने सन्ताेषी बर्ताैला जाे घुम्न भनेसी हुरुक्क हुने । धेरै समय भएकाे छैन चिनजान भयकाे उनीसँग तर पनि अति आत्मिय छौ । अझ हिमाली क्षेत्रहरुमा समेत ट्रेकिङ गरिसकेकी सन्ताेषीसँग यात्राका धेरै अनुभवहरु छन् । त्यस्तै छिन सुनिता लामा पनि । लजालु तर हर जाे काेहिसंग मिल्ने, लाग्दैन कि हाम्राे हिजाे मात्र चिनजान भएकाे हाे । अरुकाे खुव प्रशंसा गर्छिन । समुहमा घाेडा जसरी हिड्ने उनी उनकाे साथमा हिड्दा पनि दाैडनु परेकाे फिल हुन्छ । त्यसैले म हात समाएर हिड्छु ताकि तालमेल मिलाेस ।
यसरी करिव करिव ५ घण्टामा ११:५६ मा हामीले बाघझाेरा स्थित त्रिभुवन राजपथमा ओर्लियाैँ । त्यहाँबाट सावरी साधन पाइने आशमा पैदल नै हिडिरह्याै तर करिव ३ किलाेमिटर हिड्दा पनि हामीले साधन पाउन सकेनाै । एउटा सेल पकाए जस्तै भयाे हाम्राे हाइकिङ यात्रा सामरी पुलमै आयर टुङ्गियाे । सामरी पुलमा आएर ढिडाे र मासु खाएर आ आफ्नाे गन्तव्यका लागि छुट्टियाै छिट्टै अर्काे हाईकिङ जाने याेजना बनाउँदै ।

हाम्रो वरपरको प्रकृति, भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्ने एक उपयुक्त माध्यम पनि हो– हाइकिङ । यति मात्र होइन, सहरका घना बस्तीमा हुर्कंदै गरेका हाम्रा नानीबाबुहरूलाई प्रकृतिसँग साक्षात्कार गराउँदै हिँड्ने बानीको विकास गराउन पनि हाइकिङले सहयोग नै गर्छ । हाम्रा सहरमा पर्याप्त खुला ठाउँ, बगैँचा, सफा नदी र प्रकृतीमैत्री संरचनाहरू छैनन् । बालबालिका बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर कृत्रिम वातावरणमा हुर्कन बाध्य छन् । यो वातावरणले बालबालिकाको सर्वाङ्गीण विकासमा असर परेको छ । बालबालिकालाई बिस्तारै प्रकृति र समाजबाट बिमुख पनि बनाउँदै लगेको छ । वन, चरा, पुतली, जनावर, सफा पानीका कलकल बग्ने झरना/नदी केवल मोबाइल, ल्यापटप तथा टेलिभिजनको स्क्रिनमा मात्र हेर्न बाध्य छन् बालबालिका । त्यसैले अहिलेको हुर्कंदो सहरी पुस्ताका लागि स्वच्छ हावा लिँदै, चराको चिरबिर आवाज सुन्दै उकाली ओराली हिँड्न हाइकिङ एक अवसर पनि हो ।
यात्रामा हामी प्रकृतिसँग मात्र सामिप्यता भेट्दैनाै साथमा हुने साथीहरुसँग पनि नजिक हुन्छाै एउटै परिवार जसरी । मकवानपुर जिल्लामा हाइकिङका लागि थुप्रै रुटहरु रहेका छन तर पछिल्लाे समय सडक निर्माण सगै तेस्ता पैदल हिड्ने वाटाेहरु नस्ट भयकाे तथा पैदल हिड्न छाेडेपछि ती वाटाेहरु झाडिले हराएकाे पनि पाइयाे । स्थानिय निकायले आफ्नाे क्षेत्रमा आन्तरिक पर्यटनमाा ध्यान दिई पैदल हिड्ने रुटहरुकाे संरक्षण गर्न जरुरी रहेकाे देखिन्छ । त्यस्तै रुटकाे मध्यक्षेत्रतिर विश्राम स्थान तथा स्थानीय तहकाे प्रमुख र विशेष कुराकाे पहिचान झल्कने कुराहरुकाे विस्तार गर्न जरुरी छ । जस्ले उक्त स्थानकाे चिनारी मात्र नभै सामाजिक सांस्कृतिक तथा व्यवसायिक गतिविधिलाई बढवा दिओस ।


