स्वरुपा गुरागाईं
कतिबेला सबै कुरा सबैसामु शेयर गरौं भन्ने भएको थियो, तर समय व्यवस्थापनमा नै अलमल भयो। नियमित कक्षा, कोचिङ कक्षा व्यत्तिगत व्यस्तताले गर्दा साता नै बित्न थालेछ । कुरा हो २०८० फागनु १५ गते स्कुलबाट गएको शैक्षिक भ्रमणको । म मेरो स्कुल सिद्धार्थ माविका हेटौंडा २ को कक्षा ७ मा साथीहरु र गुरुहरुसँग शैक्षिक भ्रमणको सिलसिलामा हेटौंडा–११ मा रहेको सहिद स्मारक गएका थियौ । २ जना गुरुहरु र हामी विद्यार्थी ७१ जना थियौं ।
एक महिनादेखि नै हामी कहीँ न कहीँ शैक्षिक भ्रमणमा जाने तयारीमा थियौ । पढाइको कोर्ष पुरा नभएको, परीक्षा मिति नजिकीदै गरेको र समय नमिल्दा कारण भ्रमणमा निस्कीहाल्न सकेको थिएनौ । अघिल्लो दिन जब गुरुले हामी सहिद स्मारक जाने निर्णय सुनाउनु भयो म धेरै खुसी भएँ । घर फर्केना साथ ममु, बाबालाई सूनाएँ, मुमुले भन्नुभयो ‘घुमेर फर्कदा मलाई कोसेली चाहिन्छ ।’ ममुको त्यो कोसेलीको अर्थ घुमेर फर्केपछि त्यहाँको बारेमा केही लेख्नुपर्छ भन्ने थियो । मैले सहमति जनाएँ ।
हुन त मेरा लागि सहिद स्मारक नौलो थिएन । यसअघि पनि पटक पटक म स्मारक गएको थिएँ, तर नौलो अनुभूति यसपटक के होला, नयाँ के थाहा पाएको कुरा लेखुँ म भन्ने चिन्ता पनि लाग्यो, तर मनले हरेश मानेन । मेरो ममु सधैं भन्नुहुन्छ, ‘जीवनमा जे भइरहेको छ, राम्रो भइरहेको, जे हुन्छ राम्रोका लागि हुन्छ, भोली जे हुन्छ त्यो पनि राम्रो नै हुनेछ, हर परिस्थितीलाई खुसीखुसी स्वीकार गरेर अघि बढ्नुपर्छ ।’
मैले राती सुत्नेबेलामा पनि सोचेः नयाँ के होला भोली, स्मारक पहिले पनि गएको भए पनि समकक्षी साथीहरुसँगको यो पहिलो भ्रमण थियो । साथमा गुरुहरु पनि हुँदाको पल झनै नयाँ त केही पक्कै हुनेछ, यही सोचेर कतिबेला निदाएछु । विहान नियमित समयमा उठेर कोचिङ कक्षमा सहभागी भएँ, सदा नै ९ बजे घर आइपुगेर खाना खाएर पुनः स्कुल निस्केँ ।
अनि सुरु भयो हाम्रो स्कुलको प्रार्थना समय । त्यसपछि हामी कक्षमा हाजिर भएर लामबद्ध भइ विद्यालयको बस चढ्यौ । विहानको ११ः३५ बजे विद्यालयको मुल गेटबाट स्मारकको लागि हाम्रो बस पश्चिमतर्फ अघि बढ्यो । विद्यार्थी धेरै भएकोले बस खचाखच थियो, जाडो मौसममा पनि हप्प तातेझै भएको थियो । बस्ने ठाउँ नपाएर कति जना उभिनु परेको थियो, तर कसैलाई आपत्ति थिएन, थियो त केवल रमाइलो मात्रै । गीत बजाउँदै चिच्याउँदै रमाइलो गर्दै हामी लगभग १५ मिनेटमा स्मारकको गेट अगाडी पुग्यौ ।
गुरुहरु स्मारक भित्र जानको लागि टिकट काट्न काउण्टर तिर अघि बढ्नुभयो । यसैको फाइदा उठाउँदै हामी कोही पसलतिर लाग्यौ भने कोही फोटो खिच्न र घुम्न तिर लाग्यौ । पार्किङको बीचमा गैडाको मुर्ती रहेछ र त्यसको माथि रहेको डिस्प्ले बोर्डमा केही नियमहरु थिए । हामीले त्यसमा ध्यान दियौं । गुरुहरुले टिकटको व्यवस्था भएको इसारा गर्नु भएकोले फेरी लामबद्ध भएर भित्र प्रवेश गर्यौ । लामबद्ध हुँदै अवलोकन गर्न तिर लाग्यौ । मानिसहरुको उत्तिकै भिड भित्र पनि थियो । हामी अवलोकन गरिरहेकै थियौ गुरुहरुले त्यहाँ रहेको चिडियाखाना हेर्न जाने भन्नुभयो र हामी त्यतै तिर लाग्यौ । केही साथीहरुले मोबाइल समेत ल्याउनु भएको थियोे । उनीहरु फोटो र भिडियोमा ब्यस्त देखिन्थे । म र साथी संसारिका गुरुहरुसँग कुरा गर्दै अवलोकन गर्दै अगाडि बढ्यौ ।
हामीले चिडियाखानामा हुचिल, गिद्ध, इमु, मृग, चितुवा, खरायो, मयुर, गोही, कछुवा, कालिज, कुखुरा, परेवा, बेलायती, मुसा, हरिण आदी देख्यौ । मलाई भने गोहीको मुख देखेर निकै अनौठो लाग्योः चुच्चो परेको मुखमा कति धेरै दाँत ? यसअघि गोही देखेथें तर दाँत याद गरेको थिइँन । केहीबेर विश्राम गर्न हामी प्रतिक्षालयमा बस्यौ । साथीहरु नाच्न खेल्न र फोटो खिच्न थाले । साथी संसारिका र म भने गुरुहरुसँग अनुमति लिएर वरपर घुम्ने र देखेका कुरा कपिमा नोट गर्न भनेर लाग्यौ ।
त्यहाँबाट हामी प्रजातान्त्रिक पार्क गयौं । जुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको रहेछ । त्यहाँ हामीले विश्वेश्वरप्रसाद कोइरालाको शालिक देख्यौ । उहाँ वि.सं. १९७१ मा जन्मनु भएको र वि.स २०३९ मा बित्नु भएको पनि शालिकसँगै उल्लेख गरिएको रहेछ । यसैगरी मनमोहन अधिकारी (वि.सं. १९८६–२०५६) गणेशमान सिंह (वि.सं. १९७२–२०५४) र पुष्पलाल श्रेष्ठ (वि.सं. १९८१–२०३५) को शालिक देख्यौ । उहाँहरुको नाम सुनेको थिएँ, तर उहाँबारे धेरै जानकारी मलाई अझै छैन । यति मात्रै थाहा छ उहाँहरु हाम्रो देशका लागि महान योद्धा हुन् । तलैबाट देखिने गरी नेपालको नक्सा र सहिद स्तम्भ बनाइएको छ, सँगै विभिन्न खेल उद्यानहरु पनि छन् ।
त्यसछि हामीले शहीद स्तम्भको अवलोकन गर्यौ । जहाँ नेपालका मुख्य ४ सहिदहरु गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलगायतका अन्य शहीदहरुको एउटै ढुंगामा कुदिएका स्मारक देख्यौ । ४ सहिदको बारेमा हामीले किताबमा पनि पढेका थियौ । उहाँहरुको कामलाई सम्मान गरेर यहाँ स्मारक बनाइएको हो । हाम्रो देशका सहिदलाई देखेर मन गौरवले भरियो, नमस्कार गरेँ ।
त्यसपछि हामी सभाहलहरु भएको ठाँउ तर्फ लाग्यौ । जहाँ दिनहुँ जसो २–३ वटा कार्यक्रम हुने रहेछ । साथै त्यस दिन मगर दिवस परेकाले सबै जसो हल भरिएका थिए । त्यसपछि हामी सानो फलामे भ्युटावर तर्फ लाग्यौ । जहाँबाट हामीले शहीदहरुको स्तम्भ, झोलुङ्गे पुल, फूलका बगैचाहरु देख्यौ । भ्युटावरको पछाडी साना साना चौतारो थिए । त्यसपछि हामी अलि पर रहेको शौचालय तर्फ गयौ । शौचालय गएको कुरा पनि के लेख्या भन्नेठान्नु भयो होला है, सार्वजनिक स्थल भएता पनि शौचालयको राम्रो व्यवस्था रहेछ, मलाई मन प-यो, शौचालय सफा थियो, सरसफाइमा हामीले हर हमेसा ध्यान दिनुपर्छ, स्वास्थ्य र सरसफाइ नै हाम्रो पहिलचान हो ।
त्यसपछि हामी विभिन्न फूलहरू भएको बगैचा तर्फ गयौ । त्यहाँका फूल र रङ्गीविङ्गी फूलहरू देखेर मनै खुसी थियो । यति मात्रै नभई त्यहा वनभोज क्षेत्र, मदन स्मारक (मदन भण्डारीको शालिक), मनोरञ्जन पार्क, सहिद स्मारक स्तम्भ, पोखरी, आदि थिए। त्यही स्व.शिलादेवी सिंघल श्री राजेन्द्र सिंघलद्वारा निर्मित पुण्य स्मृति देवी मन्दिर पनि थियो ।
पर्यटकलाई सहजताका लागि स्मारक भित्रै एटीएम पनि रहेछ यो व्यवस्था पनि राम्रो लाग्यो । यही स्व. रूपचन्द्र विष्ट को स्मृतीमा निर्मित थाहा स्तम्भ पनि रहेछ । यो वि.स २०६१ मा निर्मित रहेछ । रुपचन्द्र विष्टको बारेमा मैले मुमुबाटै सुनेको उहाँ मकवानपुर जिल्ला पालुङ भन्ने ठाउँको पुराना कम्युनिष्ट नेता हुन । उहाँले सबै मान्छेले सबै कुरा थाहा पाउनु पर्छ भनेर एउटा अभियान नै चलाउनु भएको थियो रे । उनको अभियानको नाम नै पछिपछि ‘थाहा अभियान’ भन्ने रहन गयो । अहिले त्यही पालुङ समेत समावेश गरी थाहा नगरपालिका बनाइएको छ ।
अं, म स्मारकको कुरा गर्दै थिएँ, यहाँ बिरुवाको नर्सरी पनि रहेछ । पर्यटक सुचना केन्द्र पनि रहेछ, तर हामीले त्यो सूचना केन्द्रको सदुपयोग गर्ने अवसर पाएनौ । फेरी जाँदा अवसर मिल्यो भने त्यहाँ के के छ फेरी लेखौला । अर्को अनौठो कुरा हेटौडा–१७ निवासी जीतबहादुर विश्वकर्माले आफूले हातैले बनाएको पित्तलको घरहरा यहाँ रहेछ । वि.सं २०७४ चैत १५ मा निर्मित यो हेरेर अचम्म लाग्यो । “हातैले पनि कस्तो राम्रोसँग बनाउन सकिँदो रहेछ आहा !” त्यसपछि हामी फेरी चिडिया खाना हेर्दै यतिको ठुलो मुर्ती भएको ठाँउमा पुग्यौ । त्यसको अर्को तर्फमा नेपालको पूर्व राष्ट्रपति विद्या देवी भण्डारीज्यु द्वारा उद्घाटन गरिएको रजत स्तम्भ थियो । जुन २०७६ माघ १४ उद्घाटन गरिएको थियो ।

आहा ! कस्तो राम्रो फाउण्डेशन पनि त्यही नजिकै रहेछ, हामी त्यसको नजिक पुगेर पानीमा एकछिन खेल्यौं । फूलबारीहुँदै घुमेर हामी गैरीशङ्कर हिमाल तर्फ गयौ । केही समयअघि म, ममुको साथीहरु र उहाँहरुको छोराछोरीसँग यहाँ पारिवारीक ड्राइ पिकनिक गएका थियौ, त्यै बेला ममुले भन्नुभएको गौरीशंकर हिमाललाई नै आधार मानेर नेपालको समय निर्माण गरिएको रे, मैले यो कुरा मेरो साथी सांसारिकालाई सुनाएँ, यो कुरा सुनेर उनी दङ्ग परिन् । यहाँ हिमालको फेदीमा गाउँबस्ति, कान्लै कान्ला भएको बारी, घरहरु, कुलो, गोरेटो बाटो कति राम्रो आर्ट गरिएको छ । हेरिरहन मन लाग्छ ।
अहो, हामी गुरुहरुबाट छुट्टएको निकै बेर भएछ, हामी फर्क्याै, गुरुहरुले के के टिप्यौ, निकै बेर हरायौ त भनेर हाँस्नुभयो, गाली गर्नु भएन, कत्ति मायालु हाम्रा गुरुहरु ।
देखेसम्मका सबै कुरा टिपोट गरेर प्रतिक्षालयमा आएर आएपछि एकछिन विश्राम गर्यौ । त्यहाँ हाम्रो हेटौडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाको टोलीपनि भ्रमण गर्न आउनु भएको मैले देखेँ र सबैलाई भने, हामी सबैले उहाँसँग सामूहिक फोटो खिच्यौं ।
त्यसपछि हामी खाजा खान तिर लाग्यौं । खाजापछि नाचगान गर्यौ, गुरुहरुलाई पनि नाच्न कर गरीगरी हामी पनि सँगै नाच्यौं, करिब १ घण्टा जति नाचगान गरेर हामी थकित भयौं, औधि रमाइलो भयो । फेरी केही बेर विश्राम गर्यौं । समय बितेको पत्तै भएन, हामी त फर्कने बेला पो भएछ, त्यसपछि गुरुहरुले हामी सबैलाई १/१ ओटा फ्रुटी दिनुभयो खाँदै हामी बसमा चढ्यौ । फेरी पनि बसमा चिच्याउँदै रमाउँदै हामी करिब १५ मिनेटपछि स्कुल आएपुग्यौ, र आ–आफ्नो घरको बाटो लाग्यौ ।
मैले भ्रमणमा जे जे देखे यहाँहरुसँग पनि शेयर गरेको छु । आशा छ सुझाव पाउनेछु । अझै धेरै छुटाएँ होला, सिक्दै छु सिक्ने अवसर दिनुहुनेछ । मेरो स्कुलका गुरुहरुलाई यो अवसरको लागि धन्यवाद । ममुले भन्नुभएको यो स्मारकको परिकल्पनाकार हाम्रो हेटौंडाका डोरमणी पौडेल हुनुहुन्छ, जो बागमती प्रदेशको पहिलो मुख्यमन्त्री समेत हुनुभयो । उहाँले कति मज्जाले कुन कुन ठाउँमा के के बनाउने भनेर प्लानिङ गर्नु भएको वाह, मलाई त धरै मन पर्यो ।
हजुरहरु पनि आउनुभयो भने राम्राेसँग अवलोकन गर्नुहोला । यहाँ के छैन र ? सबै थोक छ । पिकनिक खानको लागि सबै व्यवस्था छ, विभिन्न जातीय पोषाकमा फोटो खिचाउन पाइन्छ, पुर्खाहरुको योगदान पढ्न र अवलोन गर्न पाइन्छ, सयाैं हजाराै फूलहरुले मन नै हराभरा बनाउँछ, पानीको फोहोरामा फोटो खिचुखिचुँ लाग्छ, भ्यू टावर चढेर वरपरको संसार पनि हेर्न पाइन्छ, मैले त सबै कुरा भन्न पछि छुटाएँ होला, आफू आउँदा नछुटाई हेर्नुहोला ल, धन्यवाद ।

