- स्वरुपा गुरागाईं
चैत ९ गतेबाट कक्षा ७ को वार्षीक परीक्षा सकिएपछि रिजल्टको प्रतिक्षामा बसेको समयमा रेडक्रसको सेमिनारमा सहभागी हुने मौका पाएँ । चैत २६ र २७ गते बागमती प्रदेश रेडक्रसले आयोजना गरेको ५ औं सेमिनारमा सहभागी भएँ । उक्त सेमिनारमा धेरै कुराहरु सिक्ने अवसर मिल्याे । त्यहाँ रेडक्रससँग सम्बन्धित सिकेका र बुझेका कुरालाई लेख्ने कोशिस गरेको छु । आशा छ प्रतिकृया दिनु हुनेछ ।
अन्तराष्ट्रिय रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्म ८ मे १८२८ का दिन स्वीटजरल्याण्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५९ जुनमा इटालीको सल्फेरिनो पुगेका बेला इटाली र फ्रान्सका संयुक्त सेना र अष्ट्रिया बीच युद्ध भइरहेको थियो ।
त्यो युद्धमा करिब ६ हजार सैनिकको मृत्यु र ४० हजार भन्दा बढी सैनिकहरु घाइते भएका थिए । यस्तो भयानक दृश्यदेखि ड्युनाले घाइतेहरुलाई तत्कालै सक्दो सेवा पुर्याए । सल्फेरिनोको यस दुखद् दृश्यबाट प्रभावित उनले सन् १८६२ मा फ्रेन्च भाषामा सल्फेरिनोको सम्झना नाममा पुस्तक लेखे । जसमा रणभूमिको यथार्थ वर्णन गर्नुको अतिरिक्त युद्दको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकाले घाइतेहरुको उद्दारका लागि हरेक देशमा स्वयमसेवी उद्दार संस्थाको स्थापना र यसका लागि एउटा अन्तराष्ट्रिय सम्झौता हुनु पर्ने सुझाव दिए ।
पुस्तकले धेरै मानिसको मनमा राम्रो प्रभाव पार्यो । उनको विचारसँग सहमत हुने स्वीटजरल्याण्डका अरु सहयोगीहरुसँग मिलेर ड्युनाले सन् १८६३ मा घाइतेहरुको लागि अन्तराष्ट्रिय समिति स्थापना गरे । जसलाई अहिले रेडक्रसको अन्तराष्ट्रिय समिति (ICRC) भनिन्छ । साथसाथै युरोपेली देशहरुबाट राष्ट्रिय रुपमा रेडक्रसका सोसाइटीहरुको स्थापना सुरु भयो । पछि गएर सन् १९१९ मा लिग अफ रेडक्रस सोसाइटी गठन भयो । जसलाई अहिले रेडक्रसको महासंघ भनिन्छ ।
रेडक्रसका ७ आधारभूत सिद्धान्त रहेछन् ।
मानवता
निष्पक्षता
तटस्थता
स्वाधिनता
स्वयम् सेवा
एकता
विश्वव्यापकता
युद्धको समयमा सैनिक चिकित्सा सेवामा आइपर्ने समस्या समाधनको उपाय पत्ता लगाउने उदेश्यले सन् १८६३ मा स्वीजरल्याण्डको जेनेभामा एक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरियो । सो सम्मेलनबाट सेतो पृष्ठभूमिमा रातो धनचिन्ह रेडक्रस लाई विशेष चिन्हको रुपमा घाइते सैनिकहरुको राहत कार्यमा संलग्न संस्थाहरुले प्रयोग गर्ने गरी ग्रहण गरियो । सन् १८६४ को प्रथम जेनेभा महासन्धीले रेडक्रस चिन्हलाई विशेष चिन्हको रुपमा आधिकारिक मान्यता दिएको हो ।
नेपाल रेडक्रस सोसाइटी
उल्लेखित सिद्धान्तहरुमा टेकेर वि.सं. २०२० साल भाद्र १९ गते (४ सेप्टेम्बर १९६३) का दिन नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको रहेछ । नेरेसो गैरनाफामुलक स्वयंसेवी संस्था हो र यसले मानवीय कार्य क्षेत्रमा सरकारको सहयोगी भूमिका खेल्दछ ।
वि.सं. २०२० साल माघ २४ गते तत्कालिन सरकारद्वार जेनेभा महासन्धीहरुमा सम्मिलित भएपछि प्रचलित कानून अनुसार राष्ट्रभरी कार्य गर्ने गरी नेरेसोलाई सरकारबाट मान्यता प्राप्त भएको थियो । नेरेसो अन्तराष्ट्रिय रेडक्रस अभियानको अभिन्न अंग हो । यसलाई वि.सं. २०२१ असोजमा आ.सी.आ.सी. तथा फेडेरेशनले क्रमशः मान्यता र सदस्यता प्रदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीकफ प्रमुख आधार यसका सदस्य एवम् स्वयंसेवकहरु हुन् । संस्थाको सदस्य हुन चाहने १६ वर्ष उमेर पुगेका हरेक व्यक्तिलाई सदस्यता खुल्ला रहेको हुन्छ । नेरेसो केन्द्र प्रदेश जिल्ला वा उपशाखा कार्यालयमा तोकिएको शुल्क बुझाएर सदस्यता लिन सकिने व्यवस्था रहेको छ ।
नेपाल रेडक्रसकमा स्वयंसेवक भन्नाले मानवीय हितका लागि रेडक्रसका आधारभूत सिद्धान्त अनुरुप संस्थाको कुनै पनि निकायसँग आवद्ध भइ वर्षको कम्तिमा ४० घण्टा जिम्मेवारी स्वेच्छिक रुपमा वहन गर्ने व्यक्तिलाई बुझाउँछ । सदस्यता प्राप्त गर्नु भनेको वैधानिक हैसियत प्राप्त गर्नु हो र स्वयंसेवक हुनु भनेको सेवा कार्यमा संलग्न हुनु हो । हरेक व्यक्ति नेरेसोको स्वयंसेवक वा सदस्य दवै हुन सक्छन् । हाल नेरोसोमा कार्यकारी र कार्यक्रम स्वयंसेवक गरी १ लाख भन्दा बढी स्वयंसेवक क्रियाशील छन् ।
रेडक्रसको उदेश्य र नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल धर्म वर्ण लिङ्ग वर्ग जाती राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा भेदभाव नगरी मानवीय विपती रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रस सोसाइटीको उदेश्य हो । म सेवा गर्छु भन्ने मुल मन्त्रका साथ जुनियर तथा युवा रेडक्रसको स्थापना विक्रम सम्बत २०२१ फागुन २२ गतेका दिन भएको हो ।
नेपाल रेडक्रसको अभिन्न अंगको रुपमा रहेको जुनियर तथा युवा रेडक्रस सर्कलमा किशोरकिशोरी तथा युवाहरु स्वयंसेवकको रुपमा नेतृत्वदायी भूमिकामा र लाभान्वितका रुपमा आवद्ध हुदै आएका छन् । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिने र कक्षा १ देखि १२ सम्म वा ९ देखि १२ सम्म पढाइ हुने विद्यालयमा वा विश्वविद्यालयमा वा समुदायमा युवा रेडक्रस सर्कल गठन गरिन्छ । जुनियर तथा युवा रेडक्रस सर्कलको कार्यसमितिको अवधी २ वर्षको हुन्छ ।अर्काे सिकाइकाे कुरा भयाे रक्तदान बारे । रक्तदान जीवनदान जस्तै रहेछ । हाम्रो शरिरको रातो रक्तकण १२० दिनमा, सेतो रक्तकण केहीघण्टामा र प्लेटलेस केही दिनमा मर्दा रहेछन् र नयाँ उत्पादन हुने रहेछन्। हामीले रक्तदान गर्दा यी कुराको दान गर्छौ, त्यसैले यसलाई मरेर जाने रगत दान गर्नु पनि भनिन्छ । खेर जाने रगत खेर जानु अघि दान गर्दा अरु काेही जाे रगतकाे अभाव छ उसलाई बचाउँन सकिने रहेछ । तीन/तीन महिनाको फरकमा १८ देखि ६५ वर्षसम्मका व्यक्तिहरुले रगत दान गर्न सक्छन् ।
रक्तदान गर्ने हो भने ४५ किलो तौल, होमोग्लोविन न्यूनतम १२ ग्राम, चक्तचाप सामान्य, जटिल रोग नलागेको आदी हुनु पर्छ । त्यसैगरी महिलामा महिनावारी भएको ८ दिनसम्म, गर्भाअवस्थाका महिला, स्तनपान गराइरहेका महिलाहरु, लागूपदार्थ दुर्व्यसनीमा लागेका व्यक्तिहरु आदीले रक्तदान गर्न सक्दैनन । पुरुषले ७६ मलिग्रामसम्म रक्तदान गर्न सक्छन् भने महिलाले ६६ मिलिग्रामसम्म रक्तदान गर्न सक्छन् ।
रक्तदान गर्दा फाइदा पनि रहेछ । रक्तदानले तनाव कम गर्छ, मुटुका लागि राम्रो हुन्छ,होमोग्लोबिनको स्तर ठिक हुन्छ , तौल व्यवस्थापन गर्छ । नेपालमा रगत चाहिएका व्यक्तिले सजिलै प्राप्त गर्ने,रक्तदान कार्यक्रममा सहयोग, स्थानीय तह, सरकारी बैंक संस्था, साना र मझौला उद्योगहरु, सामाजिक कार्यसँग सम्बन्धित संस्था,ब्लड बैंकहरु गरिएका छन् ।
गत फागुन २१ गतेकाे राष्ट्रिय सत्तासमिकरण फेरबदलपछि सरकार फेरबदलकाे परिदृष्यमा बागमती प्रदेश सरकार पनि रहेकाे थियाे । बागमती प्रदेशमा बदलिएकाे सत्तासमिकरण अनुसारका दललाई मनाउन समेत बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हम्मेहम्मे परेको थियाे । सत्तासमिकरणका दलहरुले समेत बार्गेनिङ्न गरेका कारण अप्ठ्याराेमा परेका जम्कट्टेलले मुख्यमन्त्री पद जाेगाउन एक दलकाे सांसद अपहरण गरेकाे समेत आराेप खेप्नु परेकाे थियाे ।
त्यति मात्रै हाेइन प्रदेश सभामा विश्वासकाे मत लिन ताेकिएकाे समयमा समेत नेकपा एकिकृतका सांसदलाई मन्त्रीमा नियुक्त गरी भाेलीपल्ट मात्रै सपथ कार्यक्रम गराएका थिए । न्युनतम बहुमत मात्रै प्राप्त गरे सत्ताबाट विमुख हुनबाट जाेगिएका उनलाई अझै संकट नटरेकाे राजनीतिक वृतमा देखिदै आएकाे छ ।
१२ मन्त्रालय रहेकाे बागमतीमा अहिले विनाविभागीय मन्त्री समेत १३ जना मन्त्री छन् । जम्कट्टेल भने मन्त्रालयको संख्या बढाएर भएपनि तत्काललाई सत्ताकाे संकट टार्ने दाउमा रहेकाे देखिन्छन भने सत्तारुढ दल नेकपा एमाले कुनै पनि हालतमा मन्त्रालयकाे संख्या बढाउन नहुने अडानमा रहेकाे छ । यता विना विभागीय मन्त्री एकिकृत समाजवादीकी रमा आले मन्त्री नियुक्ति हुँदा नै विश्वासकाे मत पछि मन्त्रालय दिने सहमति भएकाेले मन्त्रालयकाे जिम्मेवारी पाउनु पर्नेमा अडिक छन् । जम्कट्टेल मन्त्रालय संख्या बढाउने तयारी भएकाे बताउँछन् तर त्याे काम गर्नु अहिलेकाे समयमा असम्भव जस्तै छ ।
यसअघि १४ मन्त्रालय रहेकाे बागमतीमा मन्त्रालयकाे संख्या बढि भएकाे भन्दै सत्तापक्ष र प्रतिपक्षसमेतबाट आलाेचन भएकाेले कार्यदल गठन गरी मन्त्रालयकाे संख्या १२ कायम गरिएकाे थियाे । यसअघि कायम भएकाे मन्त्रालय संख्या समेत राजनीतिक दललाई भाग पुर्याउन भएकाे नत्र प्रदेशमा १२ मन्त्रालय समेत बढी भएकाे सर्वसाधारणदेखि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आवाज उठाउने गरेका छन् ।
दलहरु बिच सहमती कायम गरेर मन्त्रालयको संख्या बढाएर विना विभागीय मन्त्रीको व्यवस्थापन गर्ने सरकारको तयारी रहेकोबेला सत्ता समिकरण निर्माणको चरणमा मन्त्रालयको संख्य नबढाउने सर्त सम्झौता रहेकाे थियाे । यसबाट समेत सम्झौता एकातिर व्यवहार अर्काे तीर देखिदैछ । तर वर्तमान राजनीतिक परिस्थितिका कारण मन्त्रालयको संख्या वृद्धि गर्नु उचित हुँदैन ।
मुख्यमन्त्रीकाे पद बचाउन बढाइएका मन्त्री व्यवस्थापनमा चुनौति थपिएपछि बागमतीमा मन्त्रालय विभाजनलाई विकल्पकाे रुपमा लिइएकाे बताइन्छ । मुख्यमन्त्री जम्कट्टेलले सरकारलाई पूर्णता दिँदै गत चैत २० मा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त गरेका थिए ।
रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव एकिकृत समाजवादीका विना विभागीय मन्त्रीको व्यवस्थापनको लागि सरकारकाे तर्फबाट अघि सारिएकाे छ । सरकारले एकीकृत समाजवादीलाई उक्त प्रस्ताव राखेकाे हाे । एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । यसले समेत उनी संघीय सहमति अनुसार बागमतीकाे मुख्यमन्त्रीमा कायम रही रहने निश्चित देखिन्छ । एसले मात्रै पनि उनलाई दिएकाे समर्थ फिर्ता लिदै सरकारबाट बाहिरिएकाे खण्डमा सरकारकाे विकल्प खाेज्नु पर्ने अवस्था रहन्छ । निर्णायक भूमिकामा रहेकाे एसलाई कसरी लिएर अघि बढ्छन् त्याे भने भाेलीका दिनमा हुने राजनीतिक ट्याकटिस वा उथलपुथलले बताउनेछ ।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर हुने भएकाे समेत चर्चा चल्न थालेकाे छ। एसले हालका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साललाई मन्त्रीबाट फिर्ता बाेलाएर १ जना नयाँ अनुहारमा सरकारमा सहभागी गराउने कसरत गरेकाे छ । मन्त्रलाय बढाउने नहुनेमा अडिक एमाले सम्झौता अनुसार समाजवादीलाई ३ मन्त्रालयमात्रै दिइनु पर्ने बताउँछ । बागमती प्रदेशमा यसअघिको माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सत्ता गठबन्धनमा मन्त्री नियुक्त भएका उनीहरू मन्त्रीपदबाट हट्न लागेका हुन्।
एसले सरकारबाट २ मन्त्री फिर्ता बाेलाएर १ पठाउदाँ भने मन्त्रालयकाे संख्या र मन्त्रीकाे सन्तुलन विग्रदैन् । यो दलहरु वीच भएकाे सहमती सम्झौता अनुकुल हाे भने मन्त्रालय संख्या बढाउँदा आउने समस्याकाे समेत हल हाे । तर यसमा एसले अहिले उठाएकाे उल्लेखित मुद्दाले कतिकाे गति लिन्छ त्याे भने हेर्न बाँकी छ ।
तीन मन्त्री रहेको एकीकृत समाजवादीलाई मागेकै दुई मन्त्रालय दिनेगरी एक मन्त्री ब्याक गराउने सहमती जुटेको एसकाे भनाई रहेकाे छ । उसले मुख्यमन्त्रीसमक्ष भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयमध्ये एक आफूले पाउनुपर्ने सर्त राखेको छ । सर्तअनुसार अघि बढ्ने मौखिक सहमती भएको बताइए पनि सरकारकाे तर्फबाट एसलाई दिएकाे २ विकल्प मध्ये मन्त्रालय संख्या बढाउनु पर्ने अवस्था आए नेकपा एमालेले विरोध वा समर्थन के हुने हाे त्याे समयले देखाउँछ । बागमती मन्त्रालयकाे संख्या घटाउन पर्ने आवाज उठाउने एमाले अग्रपंतिमा पर्दछ ।
बागमतीमा मन्त्रालयको संख्या नबढ्ने एसकाे भनाइ रहेपनि त्याे दोस्राे विकल्प नहाेला भन्न सकिदैन् । मुख्यमन्त्रीले विकल्पसहितकाे प्रस्ताव एससँग राखेपछि मन्त्रालय संख्या बढ्ने सम्भावना उत्तिकै रहन्छ । राजनीतिमा असम्भव केही हुदैन भन्ने नेताहरुले अव के गर्छन् त्याे भने हेर्न बाँकी छ । मन्त्रीसंख्या १२ कायम गर्ने र त्यही अनुसार व्यवस्थापन गर्दै अघि बढ्न सक्नु पर्छ । सुशासन र पारदर्शिता कायम राख्ने हाे भने अझै मन्त्रालयकाे संख्या घटाउँदा नै सरकारले जस लिने स्थान सुरक्षित गर्नेछ ।
स्वरुपा गुरागाईं
वार्षिक परीक्षा सकिएपछि कोर्स बाहिरका किताब पढ्ने गर्छु । बुबाले केही किताब ल्याउनुभयो । तीमध्ये एक थियो, ‘आमाले सक्नुहुन्छ ।’
आन्विका गिरीले लेख्नुभएको यो किताब पढ्नुअघि उहाँको ‘हाम्रो कुरा पनि सुन्नुस्’ भन्ने किताब पढेकी थिएँ । उहाँका किताबमध्ये ‘आमाले सक्नुहुन्छ’ मैले पढेको दोस्रो किताब हो । आमाबुबाले भन्नुभएको थियो, ‘किताब पढेपछि केही कुरा लेख्नु ।’
‘आमाले सक्नुहुन्छ’ पुस्तकमाथि डा. अरुणा उप्रेतीले भूमिका लेख्नुभएको छ । बालबालिकाले जीवनका समस्यालाई कसरी हेर्छन्, मातापिताको काममा कसरी मद्दत गर्छन्, जीवन भोगाइबाट पाइलैपिच्छे कसरी ज्ञान हासिल गर्दै जान्छन् ? आदि कुरा एउटी बालिकाको माध्यमबाट सरल भाषा र रोचक शैलीमा यस पुस्तकमा प्रस्तुत भएका छन् र यस पुस्तकले नेपाली समाजमा महिलाको स्थिति, लैङ्गिक विभेद, पारिवारिक जिम्मेवारीबारे अनेक ज्ञान पस्किएको छ भन्ने उहाँको प्रतिक्रिया छ ।
यो पुस्तक एउटा सचित्र बालकथाहरूको शृङ्खला हो भन्ने मेरो बुझाइ छ । जसमा छोरा र छोरीबिचको भेदभाव, आमा–बुबाको सङ्घर्ष, दाजुबहिनी र दिदीभाइको माया, बाल्यकालका झगडा, गाउँले जीवन, स्कुलका रमाइला दिन आदिको बारेमा लेखिएको छ ।
साङ्ग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको यस किताबका लागि कुलदीप जंगबहादुर गुरुङले चित्र कोरेका छन्, मलाई पनि चित्रकला खुब मन पर्छ, कहिलेकाहीँ कोर्ने कोसिस पनि गर्छु ।
१८० पेज रहेको किताबमा सातवटा कथाक्रम रहेका छन्, प्रत्येक कथाक्रमभित्र उपक्रम छन् । कथाक्रम १ मा शीर्षकथा ‘आमाले सक्नुहुन्छ’ रहेको छ । जसमा १३ वटा उपक्रम छन् । यी उपक्रममा सानी बालिकाको परिचय, घरमा आएको समस्या र त्यसको समाधान, बालिकाका अभिभावकलाई गरिएको कुटपिट, नयाँ साइकल देख्दा र चढ्दाको खुसी आदि विषयवस्तु रहेका छन् ।
घरमा आएको समस्या बालबालिकालाई पनि सुनाउनुपर्छ, उनीहरू पनि परिवारका सदस्य हुन् भन्ने कुरा मलाई साह्रै चित्त बुझ्यो । भनिन्छ, समस्या जस्तोसुकै भए पनि अरुसँग सेयर गर्दा समाधान निस्कन्छ । त्यसैले घरका समस्या बालबालिकालाई पनि सुनाउनुपर्छ भन्ने लाग्छ ।
मेरो घरमा आमा र बुबाबिच काममा विभेद भएको मैले कहिल्यै देखिनँ, दुवैजना कामकाजी हुनुहुन्छ । दुवैजना घरायसी काममा उसैगरी खट्नुहुन्छ । हामी दिदीभाइमा पनि कुनै फरक व्यवहारको आभास गरेकी छैन मैले तर किताब पढ्दा हाम्रो हजुरआमा र आमाहरूले भोग्नुपरेको दुःखको पाटो थाहा भयो ।
कथाक्रम २ ‘आमाको बचतमा’ नौवटा उपक्रम छन् । जसमा हुरी र पानीले घरमा पुर्याएको असर, किताब नयाँ नरहँदाको दुःख, परिवारको आर्थिक अवस्था, जून हेर्ने रहर, आमाले गर्नुभएको बचत आदि छन् । हाम्रो समाजमा घरायसी कुरोमा महिलाले बोल्न पाउँदैनथे, अझै पनि महिलाले घरको बारेमा चासो राख्दा नराम्रो सोचिन्छ । महिलालाई पनि आफ्नो विचार राख्न पाउने अधिकार हुन्छ । महिला र पुरुष बराबरी भनिएको छ । त्यसैअनुरूप महिला सदस्य (आमा)को सहयोगका कारण घरमा समस्या टरेको कथाक्रममा छ । बचत गर्नलाई समेत कथाले सन्देश दिएको छ ।

कथाक्रम ३ ‘काम जसले गरे नि भो’मा ८ वटा उपक्रम छन् । जसमा बुबाजस्तो आमा, किताबकी पात्रको साथीको आमासँग पैसा नभएको, बुबाले कपाल कोरिदिँदा साथीहरूले जिस्क्याएको, वनभोज जाँदाको अनुभव, बुबालाई घरको काम गर्दा किन अरुले जिस्क्याउँछन् भन्ने प्रश्न, बुबाले घरको काम गर्नुको रहस्य, आफ्नो काम आफैँ गर्नुपर्छ आदि उपक्रम रहेका छन् ।
छोरा र छोरी एकै हुन् । उनीहरूमा विभेद गर्नु हुँदैन । छोरीहरूले घरधन्दा गर्ने तर छोराहरू भने खेलेर बस्ने गर्नु हुँदैन । सबैले सबै काम सिक्नु र जान्नुपर्छ । काम पालैपालो गर्नुपर्छ । घरको काम छोरी मान्छेले मात्रै गर्नुपर्छ भन्ने धारणा राख्नु हुँदैन । कसैले घरको काम गरेको देखेँ भने जिस्क्याउने होइन, आफूले पनि घरको काम गर्ने बानी बसाल्नुपर्छ ।
कथाक्रम ४ ‘आमाले हिसाब जान्नुभयो’मा पाँचवटा उपक्रम छन् । जसमा आमाको हिसाबमा आएको गडबड, पैसा कम हुँदा आमाले छोराछोरीलाई सोधेको, हिसाबमा सय रुपैयाँ बढी हँुदाको पीर, आमाले हिसाब नजानेपछि बहिनीले हिसाब सिकाइदिएको, सधैँ बजार गए पढाइ छुट्छ भनी सम्झाएको आदि छन् ।
कुरा बुझ्दै नबुझी अरुलाई दोष लगाउनु हुँदैन । बिनाकारण आरोप लगाउनु नराम्रो हो । समस्याबाट भागेर समाधान हुने पनि त होइन भन्ने सन्देश यो कथाक्रमले दिएको छ ।
कथाक्रम ५ ‘आमाले बराबरी गर्नुभयो’मा ११ वटा उपक्रम रहेका छन् । जसमा जुडसितल पर्व मनाउँदा दाइले आफ्नो भाग खाना खोसेर भाग्दाको रिस, आमाले फुटबल ल्याउँदा खुसीको सीमा नरहेको, फुटबल कसले खेल्ने भनी झगडा गरेको, आमाले फुटबल खेल्न नियम बनाउनुभएको, कथाकी पात्रले फुटबल खेलमा गोल गर्दाको खुसी, प्रतियोगितामा परिवारको एकजनाले मात्रै भाग लिन पाउने भन्दाको दुःख, कथाकी पात्रले प्रतियोगिताको बेस्ट प्लेयर हुँदाको फुक्र्याइ आदि विषय आएका छन् । छोरा र छोरीबिचको भेदभाव कायम रहेकाले कथाकी पात्रले फुटबल खेल्दा सबैले जिस्क्याएको उदाहरण पनि यस कथाक्रममा छन् ।
कथाक्रम ६ ‘आमाले भन्नुभयो लुक्नुपर्दैन’मा १० वटा उपक्रम रहेका छन् । जसमा अँध्यारोमा डर सबैलाई लाग्छ, कथाकी पात्रको साथी कहाँ गई भन्ने जिज्ञासा, साथी नआउनुको कारण थाहा पाएपछि भेट्न गएको, कारण कसैलाई नभन्नु भन्दा अचम्म मानेको, तँ अब ठुली भइस् भनेर खेल्न नदिँदाको दुखेसो आदि छन् । हाम्रो समाजमा अझै पनि अन्धविश्वास रहेका छन् । कथाकी पात्रकी साथीलाई महिनावारी हुँदा लुकाएर राखिएको तर छोरी महिनावारी हुँदा लुकाउनुपर्छ भनेर कथाकी पात्रका बुबाले भन्दा आमाले नमानेको, अन्धविश्वासको पछि लागेर हुन्न भन्दै आमाले बुबालाई सम्झाएको कथाक्रमको उपक्रममा छ ।
कथाक्रम ७ ‘आमाको दोकान खुल्यो’मा आठवटा उपक्रम छन् । जसमा आफ्नी साथीले चम्किलो र नौलो खालको पेन ल्याउँदा अचम्म मानेको, पात्रलाई पनि त्यो पेन चाहिएको तर पेन महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले किन्न नसक्दाको दुःख, घरमा टीभी आउँदाको खुसी, ठूलो टीभी चाहियो भनेर कसैले पनि खाना नखाएको, आमाले टीभी किन्न मान्दा खुसी भएको, आमाले आफ्नै दोकान खोल्नुभएको आदि विषयवस्तु रहेका छन् ।
मेरो घरमा आमा र बुबाबिच काममा विभेद भएको मैले कहिल्यै देखिनँ, दुवैजना कामकाजी हुनुहुन्छ । दुवैजना घरायसी काममा उसैगरी खट्नुहुन्छ । हामी दिदीभाइमा पनि कुनै फरक व्यवहारको आभास गरेकी छैन मैले तर किताब पढ्दा हाम्रो हजुरआमा र आमाहरूले भोग्नुपरेको दुःखको पाटो थाहा भयो, जुन जीवन उपयोगी लागे ।
यस पुस्तकमा गाउँघरको परिवेश आएको छ, यसमा आएका विषयवस्तु हामीजस्ता बालबालिकाको भोगाइजस्तो लाग्छ, तर सहरका बालबालिकाले कसरी सङ्घर्ष गरिरहेका हुन्छन् भन्ने यस पुस्तकमा भेटिएन । युवा अवस्थामा प्रवेश गरेकाहरूले बाल्यकालको स्मरणका लागि र प्रौढ पुस्ताले आफूले गरेको सङ्घर्षको सम्झना दिलाउने पुस्तक हो जस्तो लाग्छ ‘आमाले सक्नुहुन्छ’ ।
समग्रमा मलाई यो किताब उपयोगी लाग्यो । यसले समस्याहरू समाधान गर्न; घर र समाजमा राम्रो वातावरण बनाउन सिकाउँछ । तपाईंले पनि पढ्नुभएको छ कि यो पुस्तक ? थप कुरा मलाई नि बुझाइदिनु ल । (सिद्धार्थ मावि हेटौँडा– २ ।)
पहाडकी रानी बन्दिपुर,अनुभव संगाल्न पुग्नै पर्ने ठाँउ
Tags: No Comments
बन्दिपुर (तनहुँ)। तनहुँ जिल्लाको पूरानो सदरमुकाम बन्दिपुर ‘पहाडकी रानी’ उपनामले परिचित छ। परम्परागत नेवारी आर्किटेक्ट जोगाइराखेका घरहरू, स्थानीय स्लेट ढुङ्गाको बाटो, नेवार, मगर, गुरुङ अनि विभिन्न जातजातीको जिउँदो जातीय संग्रहालय हेर्न तथा अध्ययन गर्न बन्दीपुर पुग्नै पर्छ ।
रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, हाइकिङ लगायत एड्भेञ्चरको मज्जा, मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाको अवलोकनकाे अद्भुत अनुभव संगाल्न समय मिलाएर पुग्नै पर्ने ठाउँ हो बन्दिपुर । नेवारी शैलीका परम्परागत घरहरू भएको बन्दिपुर बजार करिब २ सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती रहेकाे नेपाल सरकारकाे सहसचिवबाट अवकाश प्राप्त शिक्षाविद् स्थानीय दिनेश श्रेष्ठ बताउँछन् ।
भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको मुख्य आकर्षणसँगै ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् । १८ औं र १९ औं शताब्दीमा बन्दिपुर भारत र तिब्बत बीचको मार्गमा एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । ब्यापारीहरू कोलकता जाने, काठमाडौं र तिब्बतसँग ब्यापार गर्नका लागि बन्दिपुरको बाटो प्रयोग गर्दथे । यस्तै मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि चितवनतर्फबाट सामान ल्याउने मुख्य व्यापारिक नाका बन्दिपुर रहेकाे बिन्दवासिनी हाेमस्टे संचालन गर्दै आएकी शान्ति कुँबर बताउँछिन् ।

बिन्दबासिनी होमस्टेका सदस्यहरु
वि.सं. २०२५ मा बन्दिपुरबाट तनहुँको सदरमुकाम दमौली सारियो । सदरमुकाम सरेपछि बन्दिपुर सुनसान बन्यो । २०५० सम्म आइपुग्दा सुन्दर बन्दिपुर बजार खण्डहरमा परिणत भएको थियो । त्यतिखेर बन्दीपुर ‘मृत शहर’ भनेर समेत चिनिएको थियो । कतिपयले बन्दीपुरलाई ‘भूत गाउँ’ भनेर समेत सम्बोधन गर्न थालेका कुँवरले बताइन् ।
‘बन्दिपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दिपुरको विकासका लागि पुनः पहल गरे’ कुँबरले भनिन् ‘२०६३ पछि बन्दिपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो ।’ क्रमशः बन्दिपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगिएकाे उनले जानकारी दिइन् ।
सन् २००५ मा ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ अन्तर्गत बन्दीपुरको ‘रिनोभेसन’ शुरू गरिएको थियो । त्यसपश्चात पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जीर्ण बनेका घरहरूलाई पूरानै शैलीमा सुन्दर डिजाइन र आकार दिएर सिँगारियो । बजार बीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दिपुरकै स्लेट ढुङ्गा छापिए । उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिँड्न सहज भयो । यसरी मेहनत गरेपछि बन्दिपुर बेहुलीझैं चिटिक्क सिँगारिएकाे छ ।

विहानी दृश्य
बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइएकाे छ । जसले गर्दा बन्दिपुर बजार शान्त छ । रात्रीकालिन समयमा समेत बन्दिपुरमा रात पर्दैन प्रकाशकाे उज्यालाेले झिलिमिलि देखिन्छ । सवारीसाधन रहित बन्दिपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन्, जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै खानपिन गर्न सकिन्छ । होमस्टे विद्यार्थीमैत्री भएकोले धूम्रपान निषेधित क्षेत्र रहेको छ ।
सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर ‘डेड सिटी’ बाट ‘टुरिजम सिटी’को रुपमा अहिले नेपाल लगायत विश्वभर नै प्रसिद्ध छ । जहाँ वर्षेनी हजारौ बाह्य तथा आन्तरिक पर्यटक आउँने गरेकाे कुँबरकाे भनाई छ । बन्दिपुरलाई आर्थिक तथा सांस्कृतिक रुपमा अगाडि बढाउन युवादेखि वौद्धिक सर्कल समेत प्रयासरत रहेकाे श्रेष्ठ बताउँछन् ।
मगर भाषामा ‘बन’को अर्थ जंगल र ‘डी’को अर्थ पानी हो । जंगलबाट आएको पानी भन्ने अर्थ लाग्ने गरि बन्डिपुर हुँदै पछि बन्दिपुर नामाकरण भएको स्थानीय बताउँछन् । बन्दिपुरमा नेवार समुदायमात्र नभएर मगर, गुरुङ, ब्राह्मण लगायतका जातजातीको बसोबास रहेको छ । यी सबै जातजातीको साँस्कृतिक संग्रहालयकाे रुपमा समेत बन्दिपुरलाई चिनिने गरेकाे श्रेष्ठ बताउँछन् । बन्दिपुरमा लाखे नाँच, डोको नाँच लगायत विभिन्न जात्राहरू, चुड्का, कौरा, सोरठी, मरुनि र झ्याउरे भाकाहरूमा रमाउन पाइन्छ।
२०६८ सालबाट बन्दिपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएकाे पाइन्छ । बन्दिपुर सामुदायिक होमस्टे (साबिकको चन्डेनी पिपलथोक होमस्टे) पहिलाे हाेमस्टे रहेकाे कुँवर बताउँछिन् । उक्त हाेमस्टेले सफलता प्राप्त गरेपछि बजार क्षेत्र र आसपासका गाउँहरूमा होमस्टे स्थापनाको लहरै चलेकाे उनकाे भनाई छ । ‘कोरिखा र धरमपानीको होमस्टेमा गुरुङ संस्कृतिमा रमाउन पाइन्छ’ उनले भनिन् ‘मगर संस्कृति बुझ्न रामकोट जानु पर्छ ।’ विमलनगर, तीनधारा, नारायण टोल, मोहोरिया, टुँडिखेलमा पनि होमस्टे खुलेका छन् ।
दशैंको फूलपातीका दिन खड्गदेवीको शोभा यात्रा, नव वर्षको दिन बिस्केट जात्रासँगै पुतलीको बिहे, साउन महिनामा सिद्धगुफामा बोलबमको मेला, रामनवमीमा पातलेद्वार गुफामा मेला, त्यसैगरि कात्तिकको हरेक सोमबार गरिने थानीमाईको पूजा, ठूलो एकादशीमा तिनधारा महादेवको पूजा बन्दिपुरका विशेष तिथीहरू हुन् ।
नेपाल सरकारको कृषि अनुसन्धान केन्द्र (बाख्रा), प्रदेशस्तरको व्यवसायिक किट विकास केन्द्र (मौरी, च्याउ, रेशम खेती), निजी स्तरबाट सञ्चालित कालिज तथा गाई फार्म, याम्पा फाँटको तरकारी खेती बन्दिपुरको कृषि पर्यटनका मुख्य आधार रहेका छन् ।

टुडिखेल
मणि मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढीले बन्दिपुरको ऐतिहासलाई बोकेका छन् । बाइसे, चौबिसे राजाका पालामा तनहुँको केन्द्र तनहुँसुर भएपनि त्यसपछाडिको गढीको रूपमा मणि मुकुन्देश्वरी गढीलाई लिइन्छ । बन्दिपुरमा सेन राजाहरूले पनि शासन गरेका थिए । मणि मुकुन्द सेन दरबारको भग्नावशेषहरू बन्दिपुर माथि थुम्कामा अझै पनि रहेको छ । त्यस थुम्कामा जानका लागि पछिल्लो समय मणि मुकुन्द सेन पदमार्ग नै निर्माण गरिँदैछ । जसलाई ‘मिनी ग्रेट वाल’ नामले समेत चिनिने कुँबर बताउँछिन् ।
पृथ्वी राजमार्गसँगै टाँसिएको विमलनगर चुनपहराको रकक्लाइम्बिङ, भिमकाय शिद्धगुफाको अवलोकन सँगसँगै पातलेद्वार लगायतका गुफाहरूको अवलोकन, भञ्ज्याङ चौतारा नजिकैबाट फराकिला हिमशृङ्खला हेर्दै सुखौरा फाँटमा झर्ने प्याराग्लाइडिङ, रामकोटदेखि बन्दिपुर बजार हुँदै कोरिखा पुग्ने अफरोड साइक्लिङ रुट, मस्यार्ङ्दी र सेती नदीको र्याफ्टिङले बन्दिपुरलाई साहसिक पर्यटन हबका रूपमा पनि स्थापित गरेको छ ।
फराकिला हिमशृङ्खलाहरूको अवलोकन, बादल उठेर बनेको ताल (ह्वाइट लेक) टुडिखेल तथा थानीमाई मन्दिर माथिबाट देखिने सूर्योदय, सुनौला किरण छर्ने मनमोहक सूर्यास्त, बजार नजिकैको रानीवन अनि जंगल भित्र सुनाखरी लगायत जंगली फूलहरूको माधुर्य हेर्दा बन्दिपुर प्रकृतिको उत्कृष्ट सिर्जना भएको भान हुन्छ ।
थानीमाईको डाँडाबाट देखिने बन्दिपुर बजार र आसपासको ‘बर्ड आई भ्यु’, आसपासका गाउँमा जाँदाको अफरोड ड्राइभिङ, चैत वैशाखमा जाँदा भेटिने काफल र ऐंसेलु, होमस्टेको ब्रेकफास्टमा चाख्न पाइने कोदोको रोटी मानसपटलमा घुमिरहने बन्दिपुरका याद बन्न पुग्ने हाेटल संघ बन्दिपुरका अध्यक्ष सगीता प्रधान बताउँछिन् ।
हरिया वनजंगल, हाइकिङ रुटमा भेटिने मृग लगायतका जंगली जनावर तथा चराचुरुङ्गी, शान्त र सितल बाताबरण, बन्दिपुरेको न्यानो आत्मियता अनि पर्यटक देखेर मुस्कुराउने फराकिला हिम शृङ्खलाले बन्दिपुरको महत्व अझ बढाएको छ । बिमलनगरबाट शिद्द्गुफा हुँदै बन्दिपुर, डुम्रेबाट पुरानो बन्दिपुरे उकाली हुँदै बन्दिपुर, बन्दिपुर बजारबाट मणि मुकुन्देश्वरी गढी एकदिने हाइकिङका लागि उपयुक्त रुटहरू हुन् । त्यस्तै चन्द्रकोट गढी, हुस्लाङ कोट, रामकोट र बन्दिपुर बजारबाट दक्षिण तर्फका विभिन्न गाउँहरूमा हाइकिङ जान सकिन्छ ।
टुँडिखेल बन्दिपुर बजारको पश्चिममा रहेको थुम्को हो । राणाहरूले शाषन लिएपछि यो ठाउँलाई पश्चिम ३ नम्बर बाहिनी अड्डा (ब्यारेक) बनाएका थिए । सोही थुम्कालाई पछि चौर बनाइएको हो । यहाँ वर, पिपलको ५ वटा रुख भएको पन्चवृक्ष चौतारा रहेको छ । पहिले टुँडिखेलभित्र गाडी जान्थ्यो । स्थानीयले टुँडिखेलमा सिँडी बनाएपछि भने गाडीहरू जान पाएनन् ।
टुँडिखेलबाट हिमालय पर्वत, मर्स्याङ्दी नदीको नागबेली रुप र आसपासका उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । टुँडिखेलबाट गोर्खा दरबार, लिगलिगकोटको दरबार, लमजुङको राइनासकोट, फराकिला हिमशृंखलाहरू देख्न सकिन्छ । पैदल यात्रा गर्दै बन्दिपुरको डाँडाकाँडा हेर्ने र शितल हावा खाँदै थकाइ मार्न टुँडिखेल चर्चित रहेकाे प्रधान बताउँछिन् । राणा शाषन विरुद्ध २००७ माघ १ मा बन्दिपुरमा भएको आन्दोलनमा ६ जना सहीद भएका थिए । सहीदहरू सम्झनामा उनीहरूको शव दह गरेकै स्थानमा अहिले सहीद स्मारक पार्क बनाइएको छ ।

पुरानो काठे घर
बन्दिपुर बजार प्रवेश गर्ने बित्तिकै पूरानो दरबार जस्तै एउटा घर देखिन्छ । चन्द्रगोपाल प्रधानले वि.सं. १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर उक्त घर बनाकाे स्थानीय जानकारहरु बताउँछन् । तत्कालीन समयमा दरबार जस्तो घर बनाएका कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरि ३ सय ५ चाँदीको मोरु जरिवाना तिराएका थिए । राणाहरूको अवरोधका कारण घरको नौ तला बनाउने योजना रोकियो । सात तला निर्माण भएको उक्त घरको तल्लो दुई तला पुरेर हाल पाँच तला कायम गरिएको छ ।
बन्दिपुर बजारको शिरमा छ सुन्दर रानीबन । अनि रानीबनको काखैमा छ बौद्ध गुम्बा । बन्दिपुरका गणेश बहादुर गुरुङको अग्रसरतामा र नेतृत्वमा बिक्रम सम्बत २०६० सालमा गुम्बा निर्माण भएको हो। गुम्बाले धार्मिक पर्यटनमा टेवा पुर्याएको छ । तनहुँमा अन्यत्र गुम्बा नहुँदा यो गुम्बा निर्माण गरिएको गुरुङ बताउँछन् । गुम्बामा शाक्यमुनि बुद्धका मूर्ति राखिएको छ । साथै विभिन्न मुलुकहरूबाट ल्याइएका बौद्ध धर्मग्रन्थका पुस्तक राखिएको छ ।
धारापानी महादेव, बसाहा थान, सेराटारको सन्तानेश्वर महादेव, झप्रीको मुलपानी महादेव, ऐतिहासिक खड्गदेवी मन्दिर, गुरुन्चे डाँडाको थानीमाई, नाहालाको भुत्याइ बराह मन्दिर, पवित्रा स्कुल नजिकैको भुकभुके बराह, बजार क्षेत्रको बिन्द्यबासिनी, महालक्ष्मी स्थान, गणेश थान र महादेव मन्दिर, चामुण्डा देवी, तिनधाराको राधाकृष्ण मन्दिर र महादेव मन्दिर, बन्दिपुरका महत्त्वपूर्ण धार्मिक गन्तव्य हुन् ।
बन्दिपुर बजारमा कोशेली घर छ, जहाँ खासगरी बन्दिपुरका कृषि उपज किन्न पाइन्छ । कोरीखा, धरमपानी र रामकोट गाउँ जाँदा रैथाने उत्पादन र स्थानीय गाई भैंसीको घ्यु कोशेली ल्याउन सकिन्छ । पछिल्लो समय बनेका होटलहरूले परम्परागत नेवारी आर्किटेक्टलाई प्राथमिकता दिएका छन् । जसले बन्दिपुरको मौलिक शोभामात्रै बढाएको छैन, पर्यटकहरूलाई पनि लोभ्याएको छ । यसैगरी परम्परागत ढुंगेधारले डाेकाेमा गाग्रो वा गाग्री तथा पानी बाेक्न मिल्ने अन्य भाडाकुडा राखेर नाम्लाेले बाेकेर पानी लिन वा लुगा धुन जाने हाम्राे अग्रज पुस्ताकाे दैनिकीकाे झझल्काे दिलाउँछ ।
पर्यटक स्ट्याण्डर्डका होटलदेखि सुविधासम्पन्न समेत गरी ७० बढी होटलहरू बन्दिपुरमा रहेका छन् ।ती हाेटलले एकै पटक एक हजार जनालाई सेवा दिन सकिने हाेटल संघ बन्दिपुर अध्यक्ष प्रधान बताउँछिन् । काेभिडकाे समयले थला परेकाे वन्दिपुरकाे हाेटल व्यवसायले अहिले लय समातेकाे उनले बताइन् । बन्दिपुरका प्रायः हाेटल पारिवारिक सदस्य आफैले संचालन गरि स्वरोजगारकाे माध्यम बनेका तथा केही होटलले अन्य जनशक्तिलाई समेत रोजगार दिएकाे प्रधानले बताइन् । आन्तरिक तथा वाह्य पर्यटनकाे राम्राे सम्भावना रहेकाे बन्दिपुरमा विदेशी पर्यटकहरु हप्तौ बसी अध्ययन अवलाेकन गर्ने गरेका उनले बताइन् । आन्तरिक पर्यटककाे लागि बसाइ लम्ब्याउन सकिने भए पनि हाल त्यस खालकाे प्याकेजकाे व्यवस्था नगरिएकाे तर सोच रहेकाे प्रधानकाे भनाई छ ।
बिन्दबासिनी होमस्टेका अध्यक्ष कुँवर बन्दिपुरमा आउने पाहुनालाई पारिवारिक वातावरणमा स्वागत सत्कार गरिने गरेकाे बताउँछिन् । ‘होमस्टेमा बास बस्नको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि बन्दिपुरको इतिहास, सास्कृतिक पक्ष र प्राकृतिक पक्षको जानकारी गराएर मात्रै बसाई ब्यबस्थापन गर्दै आएका छौ’ उनले भनिन् ।
किन त ?
बन्दिपुरकाे ऐतिहासिक सांस्कृतिक तथा प्राकृतिक पक्षकाे सामान्य जानकारी गराउँदा पाहुनाहरुले आफ्नाे समय अनुसार बन्दिपुरकाे घुम्नै पर्ने स्थानकाे छनौट गर्न सजिलाेकाे लागि भन्छिन् कुँबर ।
पारिवारिक वातावरणमा घुलमिल हुँदै घरमै बसेकाे अनुभव दिलाउन होमस्टेमा आबद्ध सबै घरका सदस्यबाट स्वागत तथा बिदाई गर्ने गरिएकाे छ । हाेमस्टेमा पाहुनाहरु १-२ दिन भन्दा बढी बस्दैनन तर बिदेशीहरु बन्दिपुरको ईतिहास सस्कृती अध्ययनको लागि अलि समय बस्ने गरेकाे उनकाे अनुभव छ । विशेष गरी विद्यार्थीहरुकाे समूह र भ्रमणमा आउने टाेलीहरुकाे राेजाइमा हाेमस्टे पर्ने गरेकाे उनी बताउँछिन् । हाेमस्टेमा खाना र बसाईमा प्याकेजमा केही सहुलियत त छ तर आन्तरिक र बाह्य पर्यटकको लागि बसाई लम्ब्याउने गरि विशेष प्याकेज ल्याउने नसिकएकाे उनी स्वीकार्छिन ।
गण्डकी प्रदेश सरकारले सरकारी कर्मचारीलाई भ्रमण तथा कार्यक्रममा जादाँ उपलब्ध भएसम्म हाेमस्टेमै बस्नु पर्ने नियम बनाएकाेमा खुशी हुँदै कुँवरले भनिन् यस्ताे कार्यमा सवै पक्षबाट सहयोग हुनु पर्छ । स्वराेजगारकाे लागि हाेमस्टे उपयुक्त भएकाे अवलाेकनकर्ताहरुकाे बुझाइ रहेकाे छ । बन्दिपुर गाउँपालिका भित्र १२ वडा हाेमस्टे दर्ता रहेकाे तथा बन्दिपुर बजार क्षेत्रमा ४ वटा हाेमस्टे रहेकाे कुँवरले जानकारी दिए । ती हाेमस्टेकाे क्षमता २ हजार रहेकाे उनी बताउँछिन् । तर बन्दिपुर बजार क्षेत्रमा रहेका हाेमस्टेकाे क्षमता भने १ हजार रहेकाे छ ।
बागमती प्रदेशकाे राजधानी मकवानपुरकाे हेटौडाबाट १ सय ३६ किलोमीटर, सघीय राजधानी काठमाडौंबाट १ सय ३५ किलोमीटर तथा गण्डकी प्रदेशकाे राजधानी कास्कीकाे पोखराबाट ६६ किलोमीटर यात्रा गरेपछी तनहुँको डुम्रे बजार पुगिन्छ । डुम्रेबाट ८ किलोमीटर नागबेली उकालो सडक पार गरेपछि बन्दिपुर बजार पुग्न सकिन्छ । सार्वजनिक यातायातबाट जाँदा भने डुम्रेबजारबाट सवारी साधन परिवर्तन गर्नुपर्ने हुन्छ । डुम्रेबाट बस, जिप वा ट्याक्सीमा बन्दिपुर जान सकिन्छ ।
बन्दिपुरका मुख्य मुख्य स्थान दुईदेखि तीन दिनमा घुम्म सकिन्छ भने सबै क्षेत्रकाे भ्रमण गर्ने हाे भने भने एक हप्ताकाे समय छुट्ट्याउनुपर्ने कुँवर बताउँछिन् ।
बेवास्ताको मारमा बालबालिका
Tags: No Comments
जन्म दिने तर जन्मिनेको जीवनको बारेमा परवाह गर्ने अभिभावकका बालबालिका विभिन्न जोखिममा परिरहेका छन् । हुँदा खाने परिवारमा मात्र होइन हुने खाने परिवारमा पनि यो समस्या देखिन्छ । भनिन्छ– मानिसको पहिलो पाठशाला घर हो । तर परिवारको व्यस्तता र बेवास्ताको कारण बालबालिकाले अभिभावकबाट उचित संरक्षण, सुरक्षा र स्याहार प्राप्त गर्न सकिरहेका छैनन् ।
वैदेशिक रोजगारीमा जाने परिपाटी बढ्दो छ । परिवारमा श्रीमान् मात्र नभई श्रीमतीसमेत ससाना छोराछोरीलाई अरूको जिम्मा लगाएर विदेशिँदा बालबालिकाको पालनपोषण र स्याहारसुसारमा मात्र होइन सामाजिकीकरणमा ठूलो असर परिरहेको छ । यस्ता बालबालिकामा सामाजिक भावको अभाव देखिन्छ भने परिस्थितिजन्य व्यवहार गर्न सिकिरहेका हुँदैनन् । स्वदेशमै भए पनि पेसा/व्यवसायमा व्यस्त बाबुआमाका छोराछोरीले अभिभावकसँग बिताउन पर्याप्त समय पाइरहेका छैनन् ।
बालबालिकालाई खाना खुवाउने र सुताउने बेला गीत, कविता, श्लोक, कथा, लोरी, चुट्किला सुनाउने परिपाटीमा परिवर्तन हुँदै गइरहेको छ । रुँदा होस् वा खाना खुवाउँदा, झगडा गर्दा फकाउन वा बिदाको समय कटाउन अभिभावकले मोबाइल, ट्याब दिने गर्छन् । यसले बालबलिकालाई एकोहोरो बनाएको छ । सामाजिक संस्कार, पारिवारिक रहनसहन, धर्म तथा संस्कृतिमा घुलनशील हुनेभन्दा पनि बाहिरी विषयवस्तुमा रमाइरहने परिवेशको सिर्जना गरेको छ । जसका कारण कतिपय बालबालिकामा भर्चुअल अटिजमसमेत देखा पर्न थालिसकेको छ ।
बाबुआमा वा परिवारका सदस्यबीच रहने सद्भाव, सम्मान, एकअर्काले गर्ने व्यवहार, हाउभाउ, चालचलनको प्रत्यक्ष असर बालबालिकामा पर्छ । कतिपयले बालबालिकाको सिकाइलाई बेवास्ता गरेर उनीहरूकै अगाडि झगडा गर्ने, मादक पदार्थ सेवन गरी गालीगलौज गर्ने, रिसाउने, अपशब्द बोल्ने गर्दा पनि बाल मस्तिष्कमा नराम्रो प्रभाव पर्छ । यस्तो परिवेशमा हुर्किएका बालबालिका हिंस्रक हुने, कुलतमा लाग्ने, आदर, सम्मान गर्न नजान्ने, झर्किने तथा अवाञ्छित गतिविधिमा संलग्न हुने गर्छन् । कतिपयमा मानसिक तथा मनोसामाजिक समस्या देखापर्न सक्छ ।
विगतमा अधिकांश मागी विवाह बालविवाह हुन्थे । अहिले अभिभावकले नचाहँदा पनि धेरैजसो बालविवाह भागी विवाह हुने गरेका छन् । बालविवाह कानुनले बर्जित गरे पनि सामाजिक दायित्वको मुद्दा बन्न सकिरहेको छैन । परिवार, आफन्त र समुदायको मौन समर्थनले बालविवाहले निरन्तरता पाइरहेको छ । इज्जत, प्रतिष्ठा र मानसम्मानसँग जोडेर बाल भविष्यलाई जोखिममा पर्न दिने र बेवास्ता गर्ने प्रचलनले समस्याको शृंखलामा जोडिन पुगेका छन् बालबालिका । अभिभावकले सम्बन्धविच्छेद गर्दा पनि बालबालिका उचित हेरचाह र संरक्षणमा हुर्किन पाएका छैनन् । अभिभावकविहीन बालबालिकालाई परिवार वा आफन्तको संरक्षकत्वमा हुर्काउन पहल गर्नुपर्नेमा बालगृहमा लैजाने परिवेशको सिर्जना हुँदा बालबालिकाले व्यावहारिक शिक्षा प्राप्त गर्न सकेका हुँदैनन् ।
सुविधाभोगी र निष्क्रिय जीवनशैली बढ्दै गएको छ । घरमा उपभोग गर्ने खानेकुरा मात्र होइन छोराछोरीलाई विद्यालयमा समेत पत्रु खाजा पठाउने गरिएको छ । यतिसम्म कि परिवार सबै मिलेर घरमा खाना पकाएर खाने चलन हराउँदै गयो । होटल तथा रेस्टुरेन्टमा गएर वा घरमै मगाएर खाने रमाउने बानीको विकास भएको छ । यसले बालबालिकाको क्रियाशीलता, सामञ्जस्य, अनुभव र सिकाइमा प्रत्यक्ष प्रभाव पार्नुका साथै स्वास्थ्यमा नकारात्मक असर परेको छ ।
बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने कुरा बाल्यावस्थामा उनीहरूले पाएको वातावरणले निर्धारण गर्छ । उनीहरूको उज्ज्वल भविष्यका लागि सामाजिकीकरण प्रक्रिया र स्वस्थकर जीवनशैलीमा परिवारले विशेष ध्यान दिनुपर्छ । छोराछोरीलाई साधन स्रोत उपलब्ध गराउँदा हुने उपयोग र दुरुपयोग तथा त्यसले गर्ने असर सम्बन्धमा अभिभावक सचेत हुनुपर्छ । सबैभन्दा नजिकको संरक्षक परिवार भएकाले छोराछोरीप्रति समस्या निम्तिएपछि उपचारको खोजीभन्दा जोखिम आकलन गरी सोहीबमोजिम सुरक्षा, सावधानी अपनाउँदै विशेष हेरचाह र संरक्षणको उचित व्यवस्था मिलाउनु जरुरी देखिन्छ । कान्तिपुरबाट





