बन्दिपुर (तनहुँ)। तनहुँ जिल्लाको पूरानो सदरमुकाम बन्दिपुर ‘पहाडकी रानी’ उपनामले परिचित छ। परम्परागत नेवारी आर्किटेक्ट जोगाइराखेका घरहरू, स्थानीय स्लेट ढुङ्गाको बाटो, नेवार, मगर, गुरुङ अनि विभिन्न जातजातीको जिउँदो जातीय संग्रहालय हेर्न तथा अध्ययन गर्न बन्दीपुर पुग्नै पर्छ ।
रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, हाइकिङ लगायत एड्भेञ्चरको मज्जा, मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाको अवलोकनकाे अद्भुत अनुभव संगाल्न समय मिलाएर पुग्नै पर्ने ठाउँ हो बन्दिपुर । नेवारी शैलीका परम्परागत घरहरू भएको बन्दिपुर बजार करिब २ सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती रहेकाे नेपाल सरकारकाे सहसचिवबाट अवकाश प्राप्त शिक्षाविद् स्थानीय दिनेश श्रेष्ठ बताउँछन् ।
भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको मुख्य आकर्षणसँगै ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् । १८ औं र १९ औं शताब्दीमा बन्दिपुर भारत र तिब्बत बीचको मार्गमा एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । ब्यापारीहरू कोलकता जाने, काठमाडौं र तिब्बतसँग ब्यापार गर्नका लागि बन्दिपुरको बाटो प्रयोग गर्दथे । यस्तै मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि चितवनतर्फबाट सामान ल्याउने मुख्य व्यापारिक नाका बन्दिपुर रहेकाे बिन्दवासिनी हाेमस्टे संचालन गर्दै आएकी शान्ति कुँबर बताउँछिन् ।

बिन्दबासिनी होमस्टेका सदस्यहरु
वि.सं. २०२५ मा बन्दिपुरबाट तनहुँको सदरमुकाम दमौली सारियो । सदरमुकाम सरेपछि बन्दिपुर सुनसान बन्यो । २०५० सम्म आइपुग्दा सुन्दर बन्दिपुर बजार खण्डहरमा परिणत भएको थियो । त्यतिखेर बन्दीपुर ‘मृत शहर’ भनेर समेत चिनिएको थियो । कतिपयले बन्दीपुरलाई ‘भूत गाउँ’ भनेर समेत सम्बोधन गर्न थालेका कुँवरले बताइन् ।
‘बन्दिपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दिपुरको विकासका लागि पुनः पहल गरे’ कुँबरले भनिन् ‘२०६३ पछि बन्दिपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो ।’ क्रमशः बन्दिपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगिएकाे उनले जानकारी दिइन् ।
सन् २००५ मा ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ अन्तर्गत बन्दीपुरको ‘रिनोभेसन’ शुरू गरिएको थियो । त्यसपश्चात पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जीर्ण बनेका घरहरूलाई पूरानै शैलीमा सुन्दर डिजाइन र आकार दिएर सिँगारियो । बजार बीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दिपुरकै स्लेट ढुङ्गा छापिए । उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिँड्न सहज भयो । यसरी मेहनत गरेपछि बन्दिपुर बेहुलीझैं चिटिक्क सिँगारिएकाे छ ।

विहानी दृश्य
बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइएकाे छ । जसले गर्दा बन्दिपुर बजार शान्त छ । रात्रीकालिन समयमा समेत बन्दिपुरमा रात पर्दैन प्रकाशकाे उज्यालाेले झिलिमिलि देखिन्छ । सवारीसाधन रहित बन्दिपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन्, जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै खानपिन गर्न सकिन्छ । होमस्टे विद्यार्थीमैत्री भएकोले धूम्रपान निषेधित क्षेत्र रहेको छ ।
सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर ‘डेड सिटी’ बाट ‘टुरिजम सिटी’को रुपमा अहिले नेपाल लगायत विश्वभर नै प्रसिद्ध छ । जहाँ वर्षेनी हजारौ बाह्य तथा आन्तरिक पर्यटक आउँने गरेकाे कुँबरकाे भनाई छ । बन्दिपुरलाई आर्थिक तथा सांस्कृतिक रुपमा अगाडि बढाउन युवादेखि वौद्धिक सर्कल समेत प्रयासरत रहेकाे श्रेष्ठ बताउँछन् ।
मगर भाषामा ‘बन’को अर्थ जंगल र ‘डी’को अर्थ पानी हो । जंगलबाट आएको पानी भन्ने अर्थ लाग्ने गरि बन्डिपुर हुँदै पछि बन्दिपुर नामाकरण भएको स्थानीय बताउँछन् । बन्दिपुरमा नेवार समुदायमात्र नभएर मगर, गुरुङ, ब्राह्मण लगायतका जातजातीको बसोबास रहेको छ । यी सबै जातजातीको साँस्कृतिक संग्रहालयकाे रुपमा समेत बन्दिपुरलाई चिनिने गरेकाे श्रेष्ठ बताउँछन् । बन्दिपुरमा लाखे नाँच, डोको नाँच लगायत विभिन्न जात्राहरू, चुड्का, कौरा, सोरठी, मरुनि र झ्याउरे भाकाहरूमा रमाउन पाइन्छ।
२०६८ सालबाट बन्दिपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएकाे पाइन्छ । बन्दिपुर सामुदायिक होमस्टे (साबिकको चन्डेनी पिपलथोक होमस्टे) पहिलाे हाेमस्टे रहेकाे कुँवर बताउँछिन् । उक्त हाेमस्टेले सफलता प्राप्त गरेपछि बजार क्षेत्र र आसपासका गाउँहरूमा होमस्टे स्थापनाको लहरै चलेकाे उनकाे भनाई छ । ‘कोरिखा र धरमपानीको होमस्टेमा गुरुङ संस्कृतिमा रमाउन पाइन्छ’ उनले भनिन् ‘मगर संस्कृति बुझ्न रामकोट जानु पर्छ ।’ विमलनगर, तीनधारा, नारायण टोल, मोहोरिया, टुँडिखेलमा पनि होमस्टे खुलेका छन् ।
दशैंको फूलपातीका दिन खड्गदेवीको शोभा यात्रा, नव वर्षको दिन बिस्केट जात्रासँगै पुतलीको बिहे, साउन महिनामा सिद्धगुफामा बोलबमको मेला, रामनवमीमा पातलेद्वार गुफामा मेला, त्यसैगरि कात्तिकको हरेक सोमबार गरिने थानीमाईको पूजा, ठूलो एकादशीमा तिनधारा महादेवको पूजा बन्दिपुरका विशेष तिथीहरू हुन् ।
नेपाल सरकारको कृषि अनुसन्धान केन्द्र (बाख्रा), प्रदेशस्तरको व्यवसायिक किट विकास केन्द्र (मौरी, च्याउ, रेशम खेती), निजी स्तरबाट सञ्चालित कालिज तथा गाई फार्म, याम्पा फाँटको तरकारी खेती बन्दिपुरको कृषि पर्यटनका मुख्य आधार रहेका छन् ।

टुडिखेल
मणि मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढीले बन्दिपुरको ऐतिहासलाई बोकेका छन् । बाइसे, चौबिसे राजाका पालामा तनहुँको केन्द्र तनहुँसुर भएपनि त्यसपछाडिको गढीको रूपमा मणि मुकुन्देश्वरी गढीलाई लिइन्छ । बन्दिपुरमा सेन राजाहरूले पनि शासन गरेका थिए । मणि मुकुन्द सेन दरबारको भग्नावशेषहरू बन्दिपुर माथि थुम्कामा अझै पनि रहेको छ । त्यस थुम्कामा जानका लागि पछिल्लो समय मणि मुकुन्द सेन पदमार्ग नै निर्माण गरिँदैछ । जसलाई ‘मिनी ग्रेट वाल’ नामले समेत चिनिने कुँबर बताउँछिन् ।
पृथ्वी राजमार्गसँगै टाँसिएको विमलनगर चुनपहराको रकक्लाइम्बिङ, भिमकाय शिद्धगुफाको अवलोकन सँगसँगै पातलेद्वार लगायतका गुफाहरूको अवलोकन, भञ्ज्याङ चौतारा नजिकैबाट फराकिला हिमशृङ्खला हेर्दै सुखौरा फाँटमा झर्ने प्याराग्लाइडिङ, रामकोटदेखि बन्दिपुर बजार हुँदै कोरिखा पुग्ने अफरोड साइक्लिङ रुट, मस्यार्ङ्दी र सेती नदीको र्याफ्टिङले बन्दिपुरलाई साहसिक पर्यटन हबका रूपमा पनि स्थापित गरेको छ ।
फराकिला हिमशृङ्खलाहरूको अवलोकन, बादल उठेर बनेको ताल (ह्वाइट लेक) टुडिखेल तथा थानीमाई मन्दिर माथिबाट देखिने सूर्योदय, सुनौला किरण छर्ने मनमोहक सूर्यास्त, बजार नजिकैको रानीवन अनि जंगल भित्र सुनाखरी लगायत जंगली फूलहरूको माधुर्य हेर्दा बन्दिपुर प्रकृतिको उत्कृष्ट सिर्जना भएको भान हुन्छ ।
थानीमाईको डाँडाबाट देखिने बन्दिपुर बजार र आसपासको ‘बर्ड आई भ्यु’, आसपासका गाउँमा जाँदाको अफरोड ड्राइभिङ, चैत वैशाखमा जाँदा भेटिने काफल र ऐंसेलु, होमस्टेको ब्रेकफास्टमा चाख्न पाइने कोदोको रोटी मानसपटलमा घुमिरहने बन्दिपुरका याद बन्न पुग्ने हाेटल संघ बन्दिपुरका अध्यक्ष सगीता प्रधान बताउँछिन् ।
हरिया वनजंगल, हाइकिङ रुटमा भेटिने मृग लगायतका जंगली जनावर तथा चराचुरुङ्गी, शान्त र सितल बाताबरण, बन्दिपुरेको न्यानो आत्मियता अनि पर्यटक देखेर मुस्कुराउने फराकिला हिम शृङ्खलाले बन्दिपुरको महत्व अझ बढाएको छ । बिमलनगरबाट शिद्द्गुफा हुँदै बन्दिपुर, डुम्रेबाट पुरानो बन्दिपुरे उकाली हुँदै बन्दिपुर, बन्दिपुर बजारबाट मणि मुकुन्देश्वरी गढी एकदिने हाइकिङका लागि उपयुक्त रुटहरू हुन् । त्यस्तै चन्द्रकोट गढी, हुस्लाङ कोट, रामकोट र बन्दिपुर बजारबाट दक्षिण तर्फका विभिन्न गाउँहरूमा हाइकिङ जान सकिन्छ ।
टुँडिखेल बन्दिपुर बजारको पश्चिममा रहेको थुम्को हो । राणाहरूले शाषन लिएपछि यो ठाउँलाई पश्चिम ३ नम्बर बाहिनी अड्डा (ब्यारेक) बनाएका थिए । सोही थुम्कालाई पछि चौर बनाइएको हो । यहाँ वर, पिपलको ५ वटा रुख भएको पन्चवृक्ष चौतारा रहेको छ । पहिले टुँडिखेलभित्र गाडी जान्थ्यो । स्थानीयले टुँडिखेलमा सिँडी बनाएपछि भने गाडीहरू जान पाएनन् ।
टुँडिखेलबाट हिमालय पर्वत, मर्स्याङ्दी नदीको नागबेली रुप र आसपासका उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । टुँडिखेलबाट गोर्खा दरबार, लिगलिगकोटको दरबार, लमजुङको राइनासकोट, फराकिला हिमशृंखलाहरू देख्न सकिन्छ । पैदल यात्रा गर्दै बन्दिपुरको डाँडाकाँडा हेर्ने र शितल हावा खाँदै थकाइ मार्न टुँडिखेल चर्चित रहेकाे प्रधान बताउँछिन् । राणा शाषन विरुद्ध २००७ माघ १ मा बन्दिपुरमा भएको आन्दोलनमा ६ जना सहीद भएका थिए । सहीदहरू सम्झनामा उनीहरूको शव दह गरेकै स्थानमा अहिले सहीद स्मारक पार्क बनाइएको छ ।

पुरानो काठे घर
बन्दिपुर बजार प्रवेश गर्ने बित्तिकै पूरानो दरबार जस्तै एउटा घर देखिन्छ । चन्द्रगोपाल प्रधानले वि.सं. १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर उक्त घर बनाकाे स्थानीय जानकारहरु बताउँछन् । तत्कालीन समयमा दरबार जस्तो घर बनाएका कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरि ३ सय ५ चाँदीको मोरु जरिवाना तिराएका थिए । राणाहरूको अवरोधका कारण घरको नौ तला बनाउने योजना रोकियो । सात तला निर्माण भएको उक्त घरको तल्लो दुई तला पुरेर हाल पाँच तला कायम गरिएको छ ।
बन्दिपुर बजारको शिरमा छ सुन्दर रानीबन । अनि रानीबनको काखैमा छ बौद्ध गुम्बा । बन्दिपुरका गणेश बहादुर गुरुङको अग्रसरतामा र नेतृत्वमा बिक्रम सम्बत २०६० सालमा गुम्बा निर्माण भएको हो। गुम्बाले धार्मिक पर्यटनमा टेवा पुर्याएको छ । तनहुँमा अन्यत्र गुम्बा नहुँदा यो गुम्बा निर्माण गरिएको गुरुङ बताउँछन् । गुम्बामा शाक्यमुनि बुद्धका मूर्ति राखिएको छ । साथै विभिन्न मुलुकहरूबाट ल्याइएका बौद्ध धर्मग्रन्थका पुस्तक राखिएको छ ।
धारापानी महादेव, बसाहा थान, सेराटारको सन्तानेश्वर महादेव, झप्रीको मुलपानी महादेव, ऐतिहासिक खड्गदेवी मन्दिर, गुरुन्चे डाँडाको थानीमाई, नाहालाको भुत्याइ बराह मन्दिर, पवित्रा स्कुल नजिकैको भुकभुके बराह, बजार क्षेत्रको बिन्द्यबासिनी, महालक्ष्मी स्थान, गणेश थान र महादेव मन्दिर, चामुण्डा देवी, तिनधाराको राधाकृष्ण मन्दिर र महादेव मन्दिर, बन्दिपुरका महत्त्वपूर्ण धार्मिक गन्तव्य हुन् ।
बन्दिपुर बजारमा कोशेली घर छ, जहाँ खासगरी बन्दिपुरका कृषि उपज किन्न पाइन्छ । कोरीखा, धरमपानी र रामकोट गाउँ जाँदा रैथाने उत्पादन र स्थानीय गाई भैंसीको घ्यु कोशेली ल्याउन सकिन्छ । पछिल्लो समय बनेका होटलहरूले परम्परागत नेवारी आर्किटेक्टलाई प्राथमिकता दिएका छन् । जसले बन्दिपुरको मौलिक शोभामात्रै बढाएको छैन, पर्यटकहरूलाई पनि लोभ्याएको छ । यसैगरी परम्परागत ढुंगेधारले डाेकाेमा गाग्रो वा गाग्री तथा पानी बाेक्न मिल्ने अन्य भाडाकुडा राखेर नाम्लाेले बाेकेर पानी लिन वा लुगा धुन जाने हाम्राे अग्रज पुस्ताकाे दैनिकीकाे झझल्काे दिलाउँछ ।
पर्यटक स्ट्याण्डर्डका होटलदेखि सुविधासम्पन्न समेत गरी ७० बढी होटलहरू बन्दिपुरमा रहेका छन् ।ती हाेटलले एकै पटक एक हजार जनालाई सेवा दिन सकिने हाेटल संघ बन्दिपुर अध्यक्ष प्रधान बताउँछिन् । काेभिडकाे समयले थला परेकाे वन्दिपुरकाे हाेटल व्यवसायले अहिले लय समातेकाे उनले बताइन् । बन्दिपुरका प्रायः हाेटल पारिवारिक सदस्य आफैले संचालन गरि स्वरोजगारकाे माध्यम बनेका तथा केही होटलले अन्य जनशक्तिलाई समेत रोजगार दिएकाे प्रधानले बताइन् । आन्तरिक तथा वाह्य पर्यटनकाे राम्राे सम्भावना रहेकाे बन्दिपुरमा विदेशी पर्यटकहरु हप्तौ बसी अध्ययन अवलाेकन गर्ने गरेका उनले बताइन् । आन्तरिक पर्यटककाे लागि बसाइ लम्ब्याउन सकिने भए पनि हाल त्यस खालकाे प्याकेजकाे व्यवस्था नगरिएकाे तर सोच रहेकाे प्रधानकाे भनाई छ ।
बिन्दबासिनी होमस्टेका अध्यक्ष कुँवर बन्दिपुरमा आउने पाहुनालाई पारिवारिक वातावरणमा स्वागत सत्कार गरिने गरेकाे बताउँछिन् । ‘होमस्टेमा बास बस्नको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि बन्दिपुरको इतिहास, सास्कृतिक पक्ष र प्राकृतिक पक्षको जानकारी गराएर मात्रै बसाई ब्यबस्थापन गर्दै आएका छौ’ उनले भनिन् ।
किन त ?
बन्दिपुरकाे ऐतिहासिक सांस्कृतिक तथा प्राकृतिक पक्षकाे सामान्य जानकारी गराउँदा पाहुनाहरुले आफ्नाे समय अनुसार बन्दिपुरकाे घुम्नै पर्ने स्थानकाे छनौट गर्न सजिलाेकाे लागि भन्छिन् कुँबर ।
पारिवारिक वातावरणमा घुलमिल हुँदै घरमै बसेकाे अनुभव दिलाउन होमस्टेमा आबद्ध सबै घरका सदस्यबाट स्वागत तथा बिदाई गर्ने गरिएकाे छ । हाेमस्टेमा पाहुनाहरु १-२ दिन भन्दा बढी बस्दैनन तर बिदेशीहरु बन्दिपुरको ईतिहास सस्कृती अध्ययनको लागि अलि समय बस्ने गरेकाे उनकाे अनुभव छ । विशेष गरी विद्यार्थीहरुकाे समूह र भ्रमणमा आउने टाेलीहरुकाे राेजाइमा हाेमस्टे पर्ने गरेकाे उनी बताउँछिन् । हाेमस्टेमा खाना र बसाईमा प्याकेजमा केही सहुलियत त छ तर आन्तरिक र बाह्य पर्यटकको लागि बसाई लम्ब्याउने गरि विशेष प्याकेज ल्याउने नसिकएकाे उनी स्वीकार्छिन ।
गण्डकी प्रदेश सरकारले सरकारी कर्मचारीलाई भ्रमण तथा कार्यक्रममा जादाँ उपलब्ध भएसम्म हाेमस्टेमै बस्नु पर्ने नियम बनाएकाेमा खुशी हुँदै कुँवरले भनिन् यस्ताे कार्यमा सवै पक्षबाट सहयोग हुनु पर्छ । स्वराेजगारकाे लागि हाेमस्टे उपयुक्त भएकाे अवलाेकनकर्ताहरुकाे बुझाइ रहेकाे छ । बन्दिपुर गाउँपालिका भित्र १२ वडा हाेमस्टे दर्ता रहेकाे तथा बन्दिपुर बजार क्षेत्रमा ४ वटा हाेमस्टे रहेकाे कुँवरले जानकारी दिए । ती हाेमस्टेकाे क्षमता २ हजार रहेकाे उनी बताउँछिन् । तर बन्दिपुर बजार क्षेत्रमा रहेका हाेमस्टेकाे क्षमता भने १ हजार रहेकाे छ ।
बागमती प्रदेशकाे राजधानी मकवानपुरकाे हेटौडाबाट १ सय ३६ किलोमीटर, सघीय राजधानी काठमाडौंबाट १ सय ३५ किलोमीटर तथा गण्डकी प्रदेशकाे राजधानी कास्कीकाे पोखराबाट ६६ किलोमीटर यात्रा गरेपछी तनहुँको डुम्रे बजार पुगिन्छ । डुम्रेबाट ८ किलोमीटर नागबेली उकालो सडक पार गरेपछि बन्दिपुर बजार पुग्न सकिन्छ । सार्वजनिक यातायातबाट जाँदा भने डुम्रेबजारबाट सवारी साधन परिवर्तन गर्नुपर्ने हुन्छ । डुम्रेबाट बस, जिप वा ट्याक्सीमा बन्दिपुर जान सकिन्छ ।
बन्दिपुरका मुख्य मुख्य स्थान दुईदेखि तीन दिनमा घुम्म सकिन्छ भने सबै क्षेत्रकाे भ्रमण गर्ने हाे भने भने एक हप्ताकाे समय छुट्ट्याउनुपर्ने कुँवर बताउँछिन् ।







