काठमाडाैं/ सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।
मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर मास्ककाे अनिवार्य र उचित प्रयाेग गर्न तथा साबुन पानी राम्राेसँग हात धुने वा स्यानिटाइजरकाे प्रयाेग गर्न आग्रह गरेकाे छ ।
‘मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी काेभिड–१९ काे सङ्क्रमण राेकथाममा सहयाेग गर्न सराेकारवाला सबैमा अनुराेध छ’, विज्ञप्तमा भनिएकाे छ ।

(उज्यालाेबाट )
मकवानपुर । साहित्य संगम मकवानपुरले यसवर्ष साहित्य क्षेत्रमा क्रियाशील १० जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएकाे छ । मकवानपुरकै अग्रणी साहित्यिक साहित्य संगमको शनिबार बसेको बैठकले १० वटा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते संगमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने अध्यक्ष निमेष निखिलले जानकारी दिए ।
साहित्य संगमले गोपालप्रसाद रिमाल स्मृति सम्मान कवि, नाटककार गोपाल पराजुलीलाई दिने निर्णय गरेको छ । काठमाडौं निवासी पराजुलीलाई संगमले २० हजार नगदसहित सम्मानपत्रले सम्मान गर्ने संगमले जनाकारी दिएकाे छ । उनको ‘नयाँ इश्वरको घोषणा’ पुस्तकले मदन पुरस्कार प्राप्त गरिसकेको छ । यो सम्मान नाटकका, साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा रिमालकै परिवारले स्थापना गरेको हो । यसअघि गोपालप्रसाद रिमाल स्मृति सम्मानबाट साहित्यकार नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन् ।
मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । संगमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो । साहित्य संगम मकवानपुरले स्थापना गरेको याे सम्मानबाट तिम्सिनालाई सम्मानपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्न लागिएको हो । स्वर्गीय तिम्सिना साहित्य संगमको उपाध्यक्ष तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष रहेका उनकाे पुञ्जकाे अध्यक्ष पदमा रहँदा निधन भएको थियाे ।
यस्तै पारिजात स्मृति सम्मान डा. अरुण उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । हेटौंडा–१० स्थित आदर्श टोल विकास संस्थाले स्थापना गरेको सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । साहित्यकार पारिजात निकट रही साहित्यमा सेवा पुर्याएवापत डा. उप्रेतीलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।
श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यंग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पुर्याउँदै आउनुभएका रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने संगमका सचिव डीबी बर्तौलाले जानकारी दिनुभयो । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो ।
भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार व्यंग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ राशीले सम्मान गरिने सगमलले जनाएकाे छ ।व्यंग्यकार भैरव अर्यालको स्मृतिमा उहाँको परिवारले यो सम्मान स्थापना गरेको हो । यो सम्मानबाट धुर्मस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसकेका छन् ।
यस्तै शुभद्रादेवि मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तौला ‘आँशु’ लाई प्रदान गर्ने निर्णय भएको छ । मकवानपुरको पालुङ निवासी बर्तौलालाई नगद १० हजार राशीसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेकी हुन् ।
मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा साहित्यसेवी देव श्रेष्ठले आमाको नाममा स्थापना गर्नुभएको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यो यसवर्षबाट प्रदान गर्न लागिएको संगमले जनाएको छ ।
त्यसैगरी भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । संगमका कार्यसमिति सदस्य विशाल अधिकारी ‘आशुतोष’ ले पिताको स्मृतिमा स्थापना गरेकाे यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार राशीसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेको थियो यस वर्षबाट यसको राशी १५ हजार पुर्याइएको छ ।
यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गर्ने निर्णय भएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डेण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यंग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिँदै आएको छ ।
सम्मान तथा पुरस्कारहरु सम्बन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिँदै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष एकैपटक प्रदान गर्न लागिएको सगमका उपाध्यक्ष अनिता न्याैपानेले जानकारी दिइन् ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा भएकाे शहीद स्मृति गाेल्डकप फुटबल प्रतियोगिताकाे उपाधि त्रिभुवन आर्मी क्लबले जितेकाे छ । त्रिभुवन आर्मी क्लबले आज शनिबार भएकाे फाइनल खेलमा आयाेजक मकवानपुर ११ लाइ १-० काे अन्तरले जित हात पारेकाे हाे ।
खेलको ३९ औ मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गरेको गोलनै खेलमा निर्णायक रहयो । बिजयी आर्मी क्लबले नगद १० लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । बिजयी टिमलाई अखिल नेपाल फुटबलसंघका अध्यक्ष कर्माछिरीङ शेर्पा, नेपाली काग्रेश बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतकाले पुरस्कृत गरे ।
उपबिजेतामा मकवानपुर ११ ले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजयी टिमलाई मेयर महत लगायतकाले पुरस्कार हस्तान्तरण गरे ।

आजको खेलमा आर्मीका टेक बहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित भइ नगद १० हजार रुपैँया प्राप्त गरेका छन् । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी मकवानपुर–११ का अमिर श्रेष्ठले उत्कृष्ट खेलाडी बन्न सफल भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरे ।

त्यसैगरी लाइफटाइम एचिवमेन्ट अवार्डबाट पुर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ । आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद २५ हजार रुपैँया प्राप्त गरे ।
आर्मीका दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै शेशेहङ आङदाम्बे उत्कृष्ट मिडफिल्डर, मकवानपुर–११ का रञ्जन बिष्ट उत्कृष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सवैले जनही नगद २५/२५ हजार रुपैँया प्राप्त गरका छन् । प्रतियाेगितामा आयाेजक सहित माेफसलका ३ र राष्ट्रिय ६ अन्तराष्ट्रिय १ गरी १० टीमकाे सहभागिता रहेकाे थियाे । २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।
मकवानपुर / नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी तथा नारायणी संघको वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । नेपाली काँग्रेस मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम नेता बानियाँले यातायात क्षेत्रको समस्या समाधान गर्ने सरकार उदासिन रहेको बताए । विकासको मेरुदण्ड यातायात भएको भन्दै सरकारले यातायात क्षेत्रको समस्यालाई बेवास्ता गर्न नहुने बानियाँले बताए ।
सरकारले साना लगानीका यातायात व्यवसायीलाई एकोहोरो पेलाईमा राखेको कारण व्यवसाय खस्किंदो रहेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए । सवारी दुर्घटनामा चालकलाई बढी दोषी देखाउने प्रवृत्तिप्रती संघको आपत्ति रहेको उनले बताए । ‘कतिपय दुर्घटनामा चालक स्वयमको मृत्यु हुनेगरेको छ,आफूले आफैं गुमाउन को चाहन्छ ‘ श्रेष्ठले भने ‘दुर्घटना न्यूनीकरण गर्न राजमार्गको मर्मत तथा लाईसन्स वितरण प्रक्रियामा सुधार ल्याउनु पर्छ ।’
कार्यक्रममा संघका प्रबन्ध सञ्चालक सरोजकुमार खनालले चालकलाई अनुमाती पत्र दिनुपुर्व कम्तिमा ३ महिना प्राविधिक शिक्षा दिनुपर्ने बताए । यातायात क्षेत्रको दीगो विकास, व्यवस्थापन तथा प्रवर्द्धनका लागि अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गरिनुपर्ने खनालले बताए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संघका पुर्व अध्यक्ष बद्री चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।

