मकवानपुर / नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी तथा नारायणी संघको वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । नेपाली काँग्रेस मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम नेता बानियाँले यातायात क्षेत्रको समस्या समाधान गर्ने सरकार उदासिन रहेको बताए । विकासको मेरुदण्ड यातायात भएको भन्दै सरकारले यातायात क्षेत्रको समस्यालाई बेवास्ता गर्न नहुने बानियाँले बताए ।
सरकारले साना लगानीका यातायात व्यवसायीलाई एकोहोरो पेलाईमा राखेको कारण व्यवसाय खस्किंदो रहेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए । सवारी दुर्घटनामा चालकलाई बढी दोषी देखाउने प्रवृत्तिप्रती संघको आपत्ति रहेको उनले बताए । ‘कतिपय दुर्घटनामा चालक स्वयमको मृत्यु हुनेगरेको छ,आफूले आफैं गुमाउन को चाहन्छ ‘ श्रेष्ठले भने ‘दुर्घटना न्यूनीकरण गर्न राजमार्गको मर्मत तथा लाईसन्स वितरण प्रक्रियामा सुधार ल्याउनु पर्छ ।’
कार्यक्रममा संघका प्रबन्ध सञ्चालक सरोजकुमार खनालले चालकलाई अनुमाती पत्र दिनुपुर्व कम्तिमा ३ महिना प्राविधिक शिक्षा दिनुपर्ने बताए । यातायात क्षेत्रको दीगो विकास, व्यवस्थापन तथा प्रवर्द्धनका लागि अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गरिनुपर्ने खनालले बताए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संघका पुर्व अध्यक्ष बद्री चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।

