चितवन । द्वारिका नेपाल स्मृति गजल पुरस्कार- २०८२ द्वारा युवा गजलकार राजु आचार्य दीप सम्मानित भएका छन् ।
गजल मञ्च चितवनले शनिबार भरतपुरमा मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई २५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यका केशबराज आमोदी लगायतले आचार्यलाई पुरस्कार प्रदान गरेका थिए ।
गजल मञ्च चितवनका पूर्व अध्यक्ष स्व. द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । विशेषगरी गजल विधामा निरन्तर साधनारत चितवन तथा आसपासका युवा स्रष्टालाई यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आइरहेको मञ्च अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए ।
२०७९ सालबाट प्रदान गर्न थालिएको उक्त पुरस्कार पहिलोपटक गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो । यसैगरी २०८० सालमा गजलकार कमल अर्याल र २०८१ सालमा गजलकार विनोद अनुजलाई प्रदान गरिएको थियो । पुरस्कारका संरक्षक भरतपुरकी डिला खरेल हुन् । हाल उनी अस्ट्रेलियामा रहदै आएका छन् ।
गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आएका साहित्यकार आचार्य ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्यापन गर्छन् । प्रलेस, माडी साहित्य परिवार लगायतका संस्थाहरूमा सम्लग्न उनले रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन समेत गर्ने गरेका थिए ।
मकवानपुर । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंशी । बुबाकाे मुख हेर्ने दिन बुबाको सम्मान गरिने परम्परा छ । पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ ।
आजकाे दिन अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ ।
पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।
चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् । पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् । हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।
आज कुशे औंशी
वैदिक सनातन हिन्दू संस्कारमा कुश सांस्कृतिक र धार्मीक महत्व भएकाे पवित्र वनस्पतीकाे रुपमा लिइन्छ । आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् ।
आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् । कुशकाे वैज्ञानीक महत्व पनि प्रमाणीत भइको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो ।
कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो । एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइएकाे बताइन्छ । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ ।
दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।
मोतीराम जयन्ती मनाइदैं
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ६०औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र २५ गते कृष्ण कुशे औँसीका दिन कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट काठमाडौको भोसिको टोलमा जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएका थिए ।
कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले कती मर्न लागे कती डर्न लागे
कुशे औंसी त नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । एकार्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं ।
दरबार हाइस्कूलमा गनिएका राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स-परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासकालागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतूलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवी भानुभक्तसंगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो ।
साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केहि फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात भानुभत्तका कृतीहरुलाई जनमानसमा उजागरगर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् ।
भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् । नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारतजीवनुलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भिडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् ।
मित्र देवशमशेर जंग बहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरवारमा मञ्चन समेत गरीएको थियो । त्यसपश्चात कहिंकतै शारदालाई मञ्चन गरिएको बारे त्यति चर्चा पाइदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरुकालागि हाम्रो पात्रोमाः नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् ।
उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । श्रृंगाररसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्ः
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कैपनि उनका श्रृंगाररसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिनै रहन्छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
दुई आखी भौ त तयार छन् तरबार पाे किन चाहियाे ।
तिमी आफैं मालिक भैगयौ सरकार पाे किन चाहियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा औद्योगिक क्षेत्रमा रहेकाे उद्योगहरुमा कार्यरत कर्मचारीहरुकाे आँखा परीक्षण गरिएकाे छ । उद्योग संघ मकवानपुरले औद्योगिक क्षेत्रका श्रमिक र कर्मचारीहरुकाे लागि आँखा जाँच कार्यक्रम आयोजना गरेकाे हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार हेटौंडा औद्योगिक क्षेत्रमै आयोजित आँखा परीक्षणमा विभिन्न उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारी गरी १ सय १६ जनाको आँखा जाँच गरिएको हाे । जाँच गरिएकाहरु मध्ये १ जनामा मोतिविन्दुकाे समस्या देखिएको थियो । यसैगरी अन्य १० जनालाई हेटौंडा सामुदायिक आँखा अस्पतालमै थप उपचारका लागि आउन सल्लाह दिइएकाे अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताए ।
उनका अनुसार मोतिविन्दु पहिचान भएका १ जनालाई शल्यक्रिया (अपरेशन) का लागि अस्पतालमा बोलाइएको छ । कार्यक्रममा आँखा जाँच पश्चात आवश्यक औषधिहरु पनि निःशुल्क वितरण गरिएको थियो । औद्योगिक क्षेत्रका हेटौंडा ईन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, केपीजे लगायतका उद्योगका कामदार कर्मचारीहरुको आँखा परीक्षण गरिएको थियो ।
आँखा अस्पतालले सामुदायिक कार्यक्रम अन्तर्गत नियमित रुपमा अस्पताल आउन नसक्ने विरामीहरुका लागि विभिन्नस्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयमा पुगेर विद्यार्थीको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार, कर्मचारीहरुको समेत आँखा जाँच गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका स्थित कार्की खाेलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । मकवानपुर प्रहरीका अनुसार मकवानपुरगढी –२ तल्लो छापस्थित उक्त खोलाले बगाउँदा १ जना बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जन ७ नम्बरकाे सुकौरा तर्फबाट घर फर्कने क्रममा खोलाले बगाएको हो । ह्युमपाइप राखेर आवतजावत गर्ने गरिएको कार्की खोलामा शुक्रबार दिउँसो पानीको बहाव बढ्दा बम्जनलाई बगाएकाे बताइएकाे छ । प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीसहितकाे प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलमा खोजतलास कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ। हालसम्म बम्जनको अवस्था थाहा हुन नसकेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रजनन स्वास्थ्यकालागि पत्रकार महासंघ मकवानपुरद्वारा कोष स्थापना
Tags: No Comments
मकवानपुर । पत्रकारिता क्षेत्रमा संलग्न पत्रकार महिलाहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष सुरु गरेको छ । महासंघले बिहीबारबाट औपचारिक रूपमा यो कार्यको शुभारम्भ गरेको हो।
महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । कोषका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ अनुदान व्यवस्था गरेसँगै कोषको शुभारम्भ गरिएको हो ।
नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु प्रशंसनीय भएको बताइन् । उनले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रमकैबीच कोषमा व्यक्तिगत रुपमासमेत १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।
यसैगरी उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राखे । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उनले उपमहानगरपालिका पत्रकारका सबै खालको हितमा सहयोग गर्न सधैं तयार रहेको बताए । उपप्रमुख बानियाँले पनि व्यक्तिगत तर्फबाट कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषमा १०/१० हजार रुपैयाँ सहयोगको घोषणा गरे । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २/२ हजार रुपैयाँ सहयोग गरे ।
यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिबाट ११ हजार संकलन गरी कोषमा राखिएको छ । कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि महिनावरी प्याड, सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।
साथै महासंघले बिहीबार तीज विशेष कार्यक्रम समेत आयोजना गरेको अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।