मकवानपुर । मकवानपुरकाे हेटौंडा औद्योगिक क्षेत्रमा रहेकाे उद्योगहरुमा कार्यरत कर्मचारीहरुकाे आँखा परीक्षण गरिएकाे छ । उद्योग संघ मकवानपुरले औद्योगिक क्षेत्रका श्रमिक र कर्मचारीहरुकाे लागि आँखा जाँच कार्यक्रम आयोजना गरेकाे हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार हेटौंडा औद्योगिक क्षेत्रमै आयोजित आँखा परीक्षणमा विभिन्न उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारी गरी १ सय १६ जनाको आँखा जाँच गरिएको हाे । जाँच गरिएकाहरु मध्ये १ जनामा मोतिविन्दुकाे समस्या देखिएको थियो । यसैगरी अन्य १० जनालाई हेटौंडा सामुदायिक आँखा अस्पतालमै थप उपचारका लागि आउन सल्लाह दिइएकाे अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताए ।
उनका अनुसार मोतिविन्दु पहिचान भएका १ जनालाई शल्यक्रिया (अपरेशन) का लागि अस्पतालमा बोलाइएको छ । कार्यक्रममा आँखा जाँच पश्चात आवश्यक औषधिहरु पनि निःशुल्क वितरण गरिएको थियो । औद्योगिक क्षेत्रका हेटौंडा ईन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, केपीजे लगायतका उद्योगका कामदार कर्मचारीहरुको आँखा परीक्षण गरिएको थियो ।
आँखा अस्पतालले सामुदायिक कार्यक्रम अन्तर्गत नियमित रुपमा अस्पताल आउन नसक्ने विरामीहरुका लागि विभिन्नस्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयमा पुगेर विद्यार्थीको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार, कर्मचारीहरुको समेत आँखा जाँच गर्दै आएको छ ।

