“आर्थिक पाटो दरिलो पार्न आर्थिक पत्रकारको सुझाव अपेक्षाकृत छ”
Tags: No Comments
मकवानपुर / बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले आर्थिक पत्रकारीता गर्ने पत्रकारहरूबाट प्रदेशको आर्थिक मामिलामा महत्वपूर्ण सुझाव प्राप्त हुने आशा प्रकट गरेकी छन् ।
पत्रकारले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन सक्ने बताउंदै आर्थिक मन्त्री खड्काले भनिन् “संघीय व्यवस्था बलियो बनाउने आर्थिक पाटो चुस्त हुनुपर्छ ।”
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा हेटौंडामा आयोजित सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसँगको सहकार्यमा आर्थिक पत्रकारहरूलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि तालीम तथा अभिमुखिकरणमा यस्तो बताएकी हुन् । संघीय व्यवस्था सफल बनाउन बित्तीय संघीयता सफल हुनुपर्ने उनले बताइन् । पत्रकारको अध्ययन बिश्लेषणले राष्ट्रको वित्तीय व्यवस्था दरिलो हुने उनले बताइन् ।
सही सूचनाको विश्लेषणले जनतालाई बलियो बनाउने भएकोले सबै प्रकारको नेतृत्वलाई जिम्मेवार बनाउने सुझाव महत्त्वपुर्ण हुने उनले बताइन् । “भौतिक पुर्वाधार क्षेत्रमा विकास गर्नको लागि मात्र बजेट व्यवस्था गरिनु पनि संघीयताको उपलब्धि हैन, भूई तहका व्यक्तिको पहुँचमा पुग्ने विकास गरिनु आवश्यक छ” उनले भनिन् । वित्तीय अनुशासनको पाटोमा पनि पत्रकारले चासो राख्नुपर्ने उनले बताइन् ।
कार्यक्रम बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ सचिव धनिराम शर्माले आर्थिक सूचनाहरू जनताका बिचमा लैजाने क्रममा पत्रकारहरूबाट प्राबिधिक त्रुटि हुने गरेको गुनासो गरे । सरकारले बिनियोजित गर्ने बजेट मितव्ययी भए नभएको, दोहोरपना आए नआएको बारे चासो राखिदिन उनले आग्रह गरे । पारदर्शीतालाई ध्यानमा राख्दै लक्ष्यित बजेट, खर्च बारे राम्रो अध्ययन नभएको उनले बताए । सरकारले बजेट ल्याउनु अघि जनताको सुझाव संकलन भए नभएको, संसदीय नियन्त्रणको अवस्था, कर प्रणाली, योजनाको दीर्घ प्रभावित बारे सूचना आमनागरिकमा लैजान मिडियाले भूमिका निर्वाह गर्नु पर्ने अर्थ सचीव शर्माले बताए ।
आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष जनार्दन बरालको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरू बारे पेफाका सदस्य सचिव गोरखबहादुर शाहीले र प्रदेश बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने कामहरू बारेमा बागमती प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव सुशील पाण्डेले केन्द्रिय तथा प्रदेश बजेट अनुदान प्रणाली, पुँजीगत खर्च संचित कोष बजेट घाट यसका समस्या र अभ्यास बारे जानकारी गराएका थिए । यसैगरी सेजनका निवर्तमान अध्यक्ष भीम गौतमले सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि हालको रिपोर्टिङ बारे पत्रकारलाई सहजीकरण गरेका थिए ।

मकवानपुर । मकवानपुरको हेटौँडामा विहीबार हेटौँडा रन’ प्रतियोगिता भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन् हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका थिए । ६ किलोमिटर ‘हेटौंडा रन’ दौड प्रतियोगितामा हेटौंडा–१४ का डेबिट मिजार प्रथम भएका छन् । यस्तै हेटौंडा १३ को अम्रित सुनार द्वितीय र हेटाैडा १२ कै शशी विश्वकर्मा तृतीय भएका छन् । प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र, दोश्रो स्थान हाँसिल गर्नेले १० हजार तथा तेश्रो हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी प्रतियाेगीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गरेकाे थिए ।
कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर / नेपाली समुदायमा सबैभन्दा धेरै चर्चाको साथ मनाइने बडादशैं आजबाट सुरु भएको छ । आज दशैंको लागि घरघरमा जमरा राखिन्छ र नौ दिनसम्म पूजाआजा गरिन्छ । दशौं दिन सोही जमरालाई समृद्धिको प्रतिक मानेर शिरमा धारण गर्ने गरिन्छ ।
दशैंको पहिलो दिन आज जमरा राख्ने दिनलाई घटस्थापना भन्ने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।
जमरा राख्नको लागि हिजै सरसफाई गरेर चोखो गरी राखिएको घर, मन्दिर, कोठाहरुमा आज विधि पूर्वक जमरा राखिन्छ ।कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
आज अर्थात घटस्थापनाको दिनदेखि नवरात्र शुरु भएको छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
अन्य साइत हेर्नुहाेस्

मकवानपुर/ बामगती प्रदेशमा आगामी २४ असोजमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । २४ असोजको दिउँसो ३ बजे नवौं हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय प्रदेश सरकारले बुधबार गरेको छ ।
अल्पमतमा परेको बागमती प्रदेश सरकारले आगामी २४ असोजमा विश्वासको मत लिने भएको हो। बुधबार बसेको प्रदेश सरकारको बैठकले अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोजमा अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा १३ जनाले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेर सरकार सञ्चालन गरिरहेकी छिन् । मुख्यमन्त्री शाक्यको दल एमालेसका ४३ सांसदको साथका साथ बागमती सरकार सञ्चालन भइरहेको हो।पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् । पार्टी विभाजनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाक्यले नवौं अधिवेशनमार्फत विश्वासको मत लिने तयारी थालेको भएपनि उनले विश्वासको मत पाउँने अवस्था अहिले छैन ।
एमालेका १३ प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था आइलागेको हो । आफूले विश्वासको मत नपाउने अवस्था भए पनि नतिजा स्वीकार गर्न आफू तयार रहेको मुख्यमन्त्री शाक्यले बताउँदै आएकी छन् ।
५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन् । ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद सङ्ख्या नपुगेपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो।संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।संघमा गठबन्धन गरेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी यो प्रदेशमा मिल्ने हो भने मुख्यमन्त्री शाक्यको बहुमत नपुग्ने निश्चितप्रायः छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफ्नै पार्टी एमाले बाहेक अरुसंग भरपर्ने आधार नभएको बताइएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन असफल हुने र आफूहरुको सरकार बनाउँने विपक्षी गठबन्धनको तयारी छ।विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले आफूहरु मध्येबाट नयाँ मुख्यमन्त्री बनाउँने तयारी गरेका छन् । उनीहरुका अनुसार गठबन्धनमा ५९ मत रहेको छ ।
मकवानपुर । बागमती प्रदेशकाे प्रदेशसभाकाे अधिवेशन आह्वानकाे सिफारिस गरिएकाे छ । बुधबार बसेकाे प्रदेश पम्त्रिपरिषद् बैठकले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्न सिफारिस गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकले असोज २४ गते अाइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । हालका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेकी थिइन् ।
प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन पश्चात १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै शाक्य नेतृत्वको सरकार पूर्णरुपमा अल्पमत परिसकेको छ । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।
वाग्मती प्रदेशमा हाल १ सय ९ सांसद छन् । सभामुखसहित ५६ सांसद रहेको एमालेको तर्फबाट एकल बहुमतको सरकार बनाएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ सांसद मात्र छन् । सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा शाक्यको पद जोगिने सम्भावना छैन । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेस २२ र नेकपा (एकीकृत समाजवादी) १३ र स्वतन्त्र सांसद १ गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ ।
यस अघी नै ३ सांसद रहेकाे विवेकशील साझा पार्टीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।