मकवानपुर/ बामगती प्रदेशमा आगामी २४ असोजमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । २४ असोजको दिउँसो ३ बजे नवौं हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय प्रदेश सरकारले बुधबार गरेको छ ।
अल्पमतमा परेको बागमती प्रदेश सरकारले आगामी २४ असोजमा विश्वासको मत लिने भएको हो। बुधबार बसेको प्रदेश सरकारको बैठकले अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोजमा अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा १३ जनाले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेर सरकार सञ्चालन गरिरहेकी छिन् । मुख्यमन्त्री शाक्यको दल एमालेसका ४३ सांसदको साथका साथ बागमती सरकार सञ्चालन भइरहेको हो।पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् । पार्टी विभाजनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाक्यले नवौं अधिवेशनमार्फत विश्वासको मत लिने तयारी थालेको भएपनि उनले विश्वासको मत पाउँने अवस्था अहिले छैन ।
एमालेका १३ प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था आइलागेको हो । आफूले विश्वासको मत नपाउने अवस्था भए पनि नतिजा स्वीकार गर्न आफू तयार रहेको मुख्यमन्त्री शाक्यले बताउँदै आएकी छन् ।
५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन् । ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद सङ्ख्या नपुगेपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो।संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।संघमा गठबन्धन गरेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी यो प्रदेशमा मिल्ने हो भने मुख्यमन्त्री शाक्यको बहुमत नपुग्ने निश्चितप्रायः छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफ्नै पार्टी एमाले बाहेक अरुसंग भरपर्ने आधार नभएको बताइएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन असफल हुने र आफूहरुको सरकार बनाउँने विपक्षी गठबन्धनको तयारी छ।विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले आफूहरु मध्येबाट नयाँ मुख्यमन्त्री बनाउँने तयारी गरेका छन् । उनीहरुका अनुसार गठबन्धनमा ५९ मत रहेको छ ।

