मकवानपुर । ‘हे दैव’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलको स्वरमा रहेको गितकाे म्यूजिक भिडियो शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई देखाइएको उक्त गितकाे भिडियो हेटौंडा उपमहानगरपालिका ६ नंबर वडा कार्यालयको सहयोगमा स्टेट भिजन प्रालिले तयार पारेको हो । गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष अर्जुनप्रसाद चौँलागाईले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्याउने र स्थानीय कला संस्कृतिको जगेर्णा गर्ने उदेश्यले सो म्यूजिक भिडियो निर्माण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए । सामाजिक उत्तरदायीत्वलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको सो भिडियोले वडावासीहरुमा मात्र नभई देशैभर एउटा सकारात्मक सन्देश प्रवाह हुने उनले बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल र स्टेट भिजन प्रालिका गिरिजा अधिकारीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्याउने उदेश्यले म्यूजिक मिडियो निर्माणमा सहयोग पुर्याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे ।
बलराम पुडासैनीले सहजिकरण गरेको उक्त कार्यक्रममा संगीतकारहरु तुल्सी गौतम, प्रविन्द्र महर्जन, मनोज शाही, गायक उत्सव चौँलागाईलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरकाे २७१ औं साहित्य शृङ्खला सिक्किमकाे गान्ताेकमा आयाेजना गरिएकाे छ ।
सिक्किमेली “चिया कविता” नामक संस्थासँगकाे सहकार्यमा आयाेजित कार्यक्रममा सिक्किमेली तथा झसापका भ्रमण टाेलीमा सहभागी दर्जन बढी कवि साहित्यकारहरूले कविता विधाका रचना वाचन गरेका थिए ।
सिक्किममा रहेर नेपाली भाषा तथा साहित्यकाे उन्नयन तथा सिर्जनामा साधनारत जीविका “अश्रु”, तेजमान बराइली एवम् “चिया कविता” समूहका संयाेजक प्रवीण खालिङलाई आयाेजना सहकार्यकाे वातावरण निर्माणमा सहयाेग गरेकाेले झरना परिवारले धन्यवाद तथा आभार व्यक्त गरेकाे छ ।
कार्यक्रममा मकवानपुरे नेपाली कविहरू आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सचिव भावना सापकाेटा, झसापका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, संस्मरण एवम् नियात्राकार अप्सरा पुडासैनी, प्रलेस मकवानपुरकी अध्यक्ष शान्तिप्रिय वन्दना, प्रलेस नेपालका केन्द्रीय पार्सद सुवास खनाल, झसाप सल्लाहकारहरू जनार्दन खनाल, संस्थापक अध्यक्ष एवम् सल्लाहकार रमेशमाेहन अधिकारी, झसाप अध्यक्ष दीपक गाैतम लगायत उपस्थिति रहेकाे झसाप अध्यक्ष दीपक गाैतम बताए ।
यसै गरी सिक्किमेली नेपाली कविहरू दीपा राई, राधा पाण्डे, लुइस बिष्ट, सिक्किम गजल मञ्चकी संस्थापक अध्यक्ष जीविका ‘अश्रु, अग्रज कवि प्रवीण राई ‘जुमेली’, प्राध्यापक तेजमान बराइली, चिया कविता समूहका संयाेजक प्रवीण खालिङ लगायत उपस्थिति रहेकाे थियाे ।
नेपाली साहित्य परिषद्, सिक्किमलाई साहित्यिक कार्यक्रम तथा पर्यटन अवलाेकन तथा अन्तरक्रियाकाे अवसरका निम्ति झसाप अध्यक्ष गाैतमले विशेष आभार व्यक्त गरेका छन् ।
मकवानपुर । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाकाे जिम्मेवारी लालबहादुर थापालाई दिएकाे छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिले मकवानपुर शाखा सभापति सूर्यचन्द्र न्यौपानेकाे नेतृत्वमा रहेकाे समितिलाई विघटन गर्दै उपसभापति समेत रहेका थापालाई सभापतिको जिम्मेवारी दिईएको हो ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिकाे कार्तिक २३ गतेकाे ३ सय ८ औं बैठकले वैधानिक दायित्व पालना नगरेकाेले मकवानपुर जिल्ला शाखाकाे न्याैपाने नेतृत्वकाे समिति विघटन गर्दै थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरि तदर्थ समिति निर्माण गरिएको हो ।
तदर्थ समितिको उपसभापति खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन भएका छन । यसैगरी मन्त्री पिताम्बर बास्तोला, कोषाध्यक्षमा यसोदा श्रेष्ठ, उपमन्त्री सानु थापा, उपकोषाध्यक्ष हरिकृष्ण कार्की चयन भएका छन् । शाखा सदस्यहरु कमल विष्ट, कृष्णप्रसाद चौँलागाई, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ चयन भएका छन् ।
रेड्क्रस अभियानमा लागेको २१ बर्षपछी थापा सभापति भएका हुन् । रेडक्रसको मूल्य र मान्यतामा रहेर नयाँ समितिले कार्य गर्ने थापाले बताए । सामाजिक संस्थामा पद भन्दा पनि सेवाको भावले लागेको र अहिले प्राप्त पदको उच्च मर्यादा राखेर काम गर्ने उनले बताए । थापा सभापति भएसँगै २ दशकदेखि न्यौपानेको नेतृत्वमा रहेको रेडक्रस मकवानपुरले नयाँ सभापति पाएको हाे ।

मकवानपुर/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारीत मन्त्री परिषदमा थप भएका मन्त्रीहरु शालिकराम जमकट्टेल र निमा लामाले विहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले क्रमशः आर्थिक मामिला तथा योजना मन्त्री र स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका हुन् । जमकट्टेल यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारमा आन्तरीक मामिला तथा कानुन मन्त्री भएका थिए ।
यो सँगै बागमती प्रदेशमा मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ । मुख्यमन्त्री पाण्डेले यसअघि नै कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानून, कुमारी मुक्तानलाई समाजिक विकास र कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भइसकेका छन् । मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रदेशको सत्तारूढ दलभित्र विवाद सिर्जना भएपछि विहीबारको सपथ ग्रहण कार्यक्रम तोकिएको समयभन्दा झण्डै २ घण्टा ढीलो भएको थियो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सदनबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । तर चारदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट र संख्याको विषयमा सहमति हुन नकेको बताइएको छ ।
माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीको गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएपछि बसेको बैठकमा सबै दलसँग मन्त्री बन्नेको नाम उपलब्ध गराउन माग गरेका थिए । मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारीमा लागेका मुख्यमन्त्री पाण्डे अहिले सहमति गराउन नसक्दा समस्या छन् । संविधानतः कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने व्यवस्था छ । जस अनुसार यो प्रदेशमा २२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउन सकिन्छ ।
गठबन्धनले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय विभाजन गरी मुख्यमन्त्रीसहित १३ वटासम्म मन्त्रालय बनाउने तयारी गरिरहेको छ । गठबन्धनमा रहेको माओवादी र कांग्रेसमा मन्त्री बन्ने सांसदको सूची लामो भएका कारण थप मन्त्रालय बढाउन माग गरिएको बुझिएको छ । पाण्डेले सामाजिक विकास मन्त्रालय फुटाएर त्यससहित युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गरी तीनवटा मन्त्रालय बनाउने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन्।
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विभाजन गरेर कृषि मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने तयारीमा गठबन्धन छ ।
तराईमा विशेष गरी मनाइने छठ पर्व आज मनाइएकाे छ । तराई मधेसकाे मुख्य पर्व छठ केही समय देखि पहाडी समुदायले पनि मनाउँने गरेका छन् । हेटौंडा लगायतका पहाडी शहरी क्षेत्रमा समेत याे पर्व मनाइएकाे छ । हेटाैडाकाे राप्ती नदीमा छठपर्व मनाइएको छ । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यकाे पुजा उपासना र अर्घ्य दिएर छठ मनाइएको हाे । विहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।






