मकवानपुर/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारीत मन्त्री परिषदमा थप भएका मन्त्रीहरु शालिकराम जमकट्टेल र निमा लामाले विहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले क्रमशः आर्थिक मामिला तथा योजना मन्त्री र स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका हुन् । जमकट्टेल यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारमा आन्तरीक मामिला तथा कानुन मन्त्री भएका थिए ।
यो सँगै बागमती प्रदेशमा मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ । मुख्यमन्त्री पाण्डेले यसअघि नै कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानून, कुमारी मुक्तानलाई समाजिक विकास र कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भइसकेका छन् । मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रदेशको सत्तारूढ दलभित्र विवाद सिर्जना भएपछि विहीबारको सपथ ग्रहण कार्यक्रम तोकिएको समयभन्दा झण्डै २ घण्टा ढीलो भएको थियो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सदनबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । तर चारदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट र संख्याको विषयमा सहमति हुन नकेको बताइएको छ ।
माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीको गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएपछि बसेको बैठकमा सबै दलसँग मन्त्री बन्नेको नाम उपलब्ध गराउन माग गरेका थिए । मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारीमा लागेका मुख्यमन्त्री पाण्डे अहिले सहमति गराउन नसक्दा समस्या छन् । संविधानतः कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने व्यवस्था छ । जस अनुसार यो प्रदेशमा २२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउन सकिन्छ ।
गठबन्धनले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय विभाजन गरी मुख्यमन्त्रीसहित १३ वटासम्म मन्त्रालय बनाउने तयारी गरिरहेको छ । गठबन्धनमा रहेको माओवादी र कांग्रेसमा मन्त्री बन्ने सांसदको सूची लामो भएका कारण थप मन्त्रालय बढाउन माग गरिएको बुझिएको छ । पाण्डेले सामाजिक विकास मन्त्रालय फुटाएर त्यससहित युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गरी तीनवटा मन्त्रालय बनाउने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन्।
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विभाजन गरेर कृषि मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने तयारीमा गठबन्धन छ ।

