मकवानपुर । बागमती प्रदेशकाे मन्त्रिपरिषद विस्तार भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री र १ राज्यमन्त्री थपिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री भएका छन् । यसै गरी इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।
मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । हाल बगमती मन्त्रिपरिषद ५ सदस्यीय रहेकामा मंगलबार ६ जना थप भएका छन् । केही समय अघी बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्याइएको थियाे ।
बाल विवाहको अवस्था,संचालित कार्यक्रमहरु, चुनौति, तथा समाधानका उपायहरु
Tags: No Comments
सर्मिला तामाङ (नाम परिवर्तन) हाल १४ वर्षकी भइन् । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपािलका वडा नं. १ घर भई हाल पढाइको सिलसिलामा हेटौंडा स्थित बस्तिपुरमा ठुलीआमाको घरमा बस्दै आएकी सर्मिला कक्षा ११ मा पढ्ने तयारी गरिरहेकी थिइन् तर यस बिचमा उनले पढाइ समेत छोडेर बकैया गाउँपालिका घर भएका २१ वर्षिय केटासँग विवाह गर्ने निधो गरी आफ्ना बुबा आमासँग आफू विवाह गर्न लागेको सूचना दिइन् र असार १८ गते उनी केटाको साथमा हेटौंडाबाट केटाको घर बकैया तर्फ लागिन् । तर केटाको बुवा सो वडाका जनप्रतिनिधी भएका कारण सो विवाहको प्रयास उनले सफल हुन दिएनन् ।
उनले स्थानीय तह, नेपाल प्रहरी र बालहेल्पलाइनसँगको सहकार्यमा आफ्नो छोराले आपूm खुसी १४ वर्षिय बालिकासँग विवाह गर्न लागेको भन्ने जानकारी गराए र आवश्यक छलफल पश्चात गाउँपालिकाले बालिकालाई मनोविमर्श एवं संरक्षणका लागि बाल हेल्पलाइन नेपाल हेटौंडामा पठाउने निर्णय गरे बमोजिम बालिकालाई हेल्पलाइनमा ल्याई संरक्षणमा राखियो । बालिकालाई मनोसामाजिक मनोविमर्र्श गर्ने क्रममा आपूmले विवाह गर्न खोज्नुको मुख्य कारण बुबा आमाको बेमेल भैरहनु उनले बताइन् । बुबाले दोस्रो विवाह गरी परिवारलाई वेवास्ता गर्ने, आमा वैदेशिक रोजगारमा गएको र बुबा आमाको निरन्तर पारिवारिक द्वन्द्वका कारण संरक्षणको अभावको कारणले आफूले विवाह गर्न खोजेको सर्मिलाको भनाइ छ । बाल हेल्पलाइनमा आए पछि मैले धेरै महत्वपूर्ण कुराहरु कुरा बुझें, आज मेरो आँखा खुल्यो म त सबै साथीहरुलाई २० वर्ष नपुगी विहे गर्ने कुरै नगरौँ भनी सल्लाह सुझाव दिनेछु सर्मिलाले बताइन् ।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. २ की १८ वर्षिय लक्ष्मी तामाङ् (नाम परिवर्तन) ले पनि बालविवाह गरिन् तर बुवाले बालहेल्पलाइन र गाउँपालिका, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय तत्कालिन बालविवाह मुक्त सहजकर्तासँग उजुरी गरेपश्चात सो विवाह पनि रोकियो । आफ्नो छोरीको विवाह रोक्ने क्रममा केटा पक्षबाट धेरै पटक दवाव सामाना गर्नु परेको, धेरै ठाउँ गुनासो गर्दा कसैले आफ्नो कुरा नसुनेको र पछि बालहेल्पलाइनमा जानकारी गराए पछि मात्र विवाह रोक्ने प्रकृया सम्भव भएकोले मैले बालहेल्पलाइनलाई जीवनभर बिर्सन सक्दिनँ र मेरो छोरीलाइ कम्तिमा पनि १२ कक्षासम्म पढाउने ठूलो धोको छ, बालिकाको बुबाले बताउनुभयो ।
बन्दाबन्दीकै समयमा गढी गाउँपालिकाकी सोममाया लामा (नाम परिवर्तन) को पनि प्रेम सम्बन्ध हुन गयो । केटा सोहि गाउँमा ज्यालादारी काम गरेको र लकडाउनका कारण आफ्नो गाउँ संखुवासभा फर्किन नपाए पछि बालिकालाई भगाएर लैजाने योजना उनले बनाए तापनि गाउँलेहरुको सर्तकताले बालविवाह हुनबाट जोगियो ।
बालबिबाह सम्बन्धि उल्लेखित घटनाहरु प्रतिनिधीमूलक घटना मात्रै हुन यस्ता घटनाहरु लकडाउन सुरु भएको मिति ११ चैत्र देखि ४ साउन २०७७ सम्ममा सिविन नेपालले संचालन गरेको छ वटा जिल्लाका बालहेल्पलाइन १०९८ को रेकर्ड अनुसार मकवानपुर जिल्लामा ३१ जना, मोरङ जिल्लामा ३ जना, कास्की जिल्लामा ४ जना, काठमाण्डौं जिल्लामा १५ जना, बाँके जिल्लामा १ जना, कैलाली जिल्लामा ६ जना गरि जम्मा ६० जनाको रेकर्ड भएको छ ।
मकवानपुर जिल्लामा बालबिबाह रोकथामको संयुक्त अभियान संचालनः
पछिल्लो समयमा बालबालिकाका माथि हुने कुनै पनि दुब्र्यवहार, शोषणको साथै बालविवाह सम्बन्धि घटनाहरु स्वंयम बालबालिकाहरु आफैले सुचना गर्नेको संख्या बढेको बालहेल्पलाइनको अभिलेखले देखाएको छ । त्यसमा पनि बालविवाहमा परेका घटनाहरुमा स्वयम बालिकाहरुले आफुले बालविवाहको कष्टकर अनुभव भोग्नु परेको र बालहेल्पलाइनको सम्पर्कमा आइसकेपछि पैसा नलाग्ने फोन नम्वर १०९८ को बारेमा, बालविवाहको असर एवं प्रभावको सम्बन्धमा आफुले बुझि भइसके पछि घटनाको सुचना दिने गरेका छन् । सोहि सुचनाको आधारमा बालविवाह रोकिएको र सुचनादाताको नाम समेत गोप्य राखिए पश्चात उनीहरु बालविवाह रोक्ने अभियानमा लागेका छन् ।
स्थानीय तहले समेत बालविवाहको जोखिममा परेका किशोरकिशोरीहरुको लागि शिक्षा तथा शिपमा आधारित आयआर्जनको लागि बजेट विनियोजन गर्न थालेका छन् जसको कारण जोखिमा परेका किशोरकिशोरीहरु लाभान्वित हुनुको साथै सरकारको बालमैत्री अभियानलाइ समेत सहयोग पुग्ने प्राय निश्चित छ । मकवानपुर जिल्लामा स्थानीय तह, नेपाल प्रहरी, समाजिक विकास मन्त्रालय, बालहेल्पलाइन, संघसंस्था तथा बालसमुहहरुको सक्रियतामा बालबिबाह रोक्ने तथा नियन्त्रण गर्ने अभियान संचालन भइरहेको छ ।
नेपालमा बालविवाहकोस्थिति र कानुनी ब्यवस्था कस्तो छ त ?
दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश र भारत पछि नेपाल बालविवाह हुने तेस्रो उच्च स्थानमा परेको देखिएको छ (MNDHS 2016) २०६८ सालको जनगणना अनुसार १,३८,०१५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएकोमा सोमध्ये १,१५,१५० जना बालिका छन् भने २२,८६५ जना मात्र बालक छन् । १० देखि १४ वर्ष उमेर समूहमा १३,६३,१०७ जनाले विवाह गरेका छन् । त्यसमध्ये ११,०१,२२३ जना बालिका रहेका छन् । बालक २,६१,२२३ जना छन् । १५ देखि १९ वर्ष उमेर समूहमा ४३,४०,४९७ बालिका र २१,७६,७८४ बालकको विवाह भएको छ ।
यस तथ्याङ्कबाट बालकभन्दा बालिकाहरूमा बालविवाह बढी हुने गरेको देखिएको छ । नेपाल सरकारकाले गरेको एक अध्ययन अनुसार नेपालमा करिव ३४ प्रतिशत विवाह १५ वर्ष नपुगेका बालबालिकाको हुन्छ (नेपालको बालबालिकाको स्थिति प्रतिवेदन, २०६४) । नेपालमा बालविवाह अत्यधिक मात्रामा हुने गरे पनि नेपाल प्रहरीमा भने यस विरुद्ध उजुरी निकै कम हुने देखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा नेपाल प्रहरीमा बालविवाह विरुद्धका ८८ घटनाको उजुरी परेको पाइएको छ ।
नेपालकोे संविधानको धारा ३९ को उपधारा (५) मा कुनै पनि बालबालिकाहरुलाई बालविवाह, गैर कानुनी ओसार पसार र अपहरण गर्न वा वन्धक राख्न पाइने छैन भनि बालविवाहला्इ रोक लगाएको छ । साथै बालविवाह गरे गराएमा दण्डनीय हुने र पिडितले कानुन वमोजिम क्षतिपुर्ति पाउने हकको ब्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ ले बालविवाहलाई विवाह सम्बन्धि कसुर मानेको छ र बालविवाह स्वतः बदर हुने उल्लेख छ । बालबालिका सम्बन्धि ऐन २०७५ ले बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिका विरुद्धको कसुर मानेको छ ।
अन्ररतराष्ट्रिय र क्षेत्रिय प्रतिवद्धता कस्ता रहेका छन ?
विश्वब्यापी स्तरमा बालविवाहलाई सहस्राब्दी विकास लक्ष्यको प्राप्तीका लागी बाधकको रुपमा पहिचान गरि दीगो विकासका लक्ष्यहरुको कार्यसुचि ९२०१६—२०३०० मा बालविवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको । सन् २०१३ को सेक्टेम्बरमा संयुक्त राष्ट्र संघिय मानव अधिकार समितिबाट बालविवाह तथा जवरजस्ती हुने विवाह रोकथाम तथा उन्मूलनको सवलीकरण÷ चुनौति उपलब्ध, उदाहरणीय अभ्यास र कार्यन्वयनमा रहेका समस्याहरु विषयक प्रस्ताव र यस पछि सोहि वर्षको डिसेम्वरमा संयुक्त राष्ट संघको ६८औ साधारण सभाबाट बालविवाह तथा जवरजस्ती हुने विवाह विषयक प्रस्ताव पारित गरिए पछि बालविवाह विरुद्धका कार्यक्रमहरु विश्वब्यापीहरुमा उच्च प्राथमिकतामा परेका छन् ।
बालविवाह अन्त्यका लागि प्रदेशहरुको पहलः
केही प्रदेशहरुबाट बालविवाह अन्त्य तथा न्यूनीकरणका लागि प्रतिवद्धता जनाएको पाइएको छ । प्रदेश १ ले २०८२ सालसम्ममा बालविवाहमुक्त प्रदेश घोषणा गर्ने, बागमती प्रदेशले २०७८ सम्ममा बालविवाहमुक्त गर्ने, प्रदेश २ ले “बेटी बचाऊ, बेटी पढाऊ” अभियानमार्फत बालविवाहलाई न्यूनीकरण गर्ने, सुदूरपश्चिम प्रदेशले “सानै छु म, बढ्न देऊ, बालविवाह हैन, पढ्न देऊ” अभियान सञ्चालन गरेको छ । स्थानीय तहबाट बालविवाह निराकरणका लागि बिमा गर्ने नीति समेत लिएका घटना प्रकाशमा आएको छ । बालविवाह विरुद्ध जनचेतना जागरण लगायत बालविवाह नियन्त्रण गर्ने कार्य समेत गैह्रसरकारी संस्था एवम् बालक्लवहरुबाट हुने गरेका घटनाहरु प्रकाशमा आइरहेका छन् ।
बालविवाह अन्त्यका लागि बागमती प्रदेशको पहल र अवस्थाः
“प्रदेश र स्थानीय तहको एउटै सन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश”भन्ने सोचलाई सार्थक तुल्याउन स्थानीय तहसँगको समन्वय र सहकार्यमा वि.स.२०७८ सम्ममा बाल विबाह मुक्त प्रदेश बनाइने, वि.स.२०८० सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा निति लिइएको देखिन्छ ।
बाल विवाह मुक्त प्रदेश बनाउने लक्ष्य अनुरुप वागमती प्रदेश मन्त्रीपरिषद् बाट मिति २०७६।०३।०९ मा पारित निम्नानुसारका उद्धेश्यहरु आत्मसाथ गरेको देखिन्छ ।
- उद्देश्यहरूः
- १.बाल विवाह अन्त्यका लागि विद्यमान ऐन र कानूनको प्रभावकारी कार्यान्वयन गर्ने ।
- २.बाल विवाह हुनुको कारणहरु पत्ता लगाई त्यसलाई सम्बोधन गरी बाल विवाहको अन्त्य गर्ने ।
- ३. बाल विवाह रोकथाम, उद्दार र कानूनी कारवाहीका लागि आवश्यक निर्णय गरि उजुरी संयन्त्रको विकास गर्ने
- ४.प्रदेशका विकासका साझेदार संस्थाहरुको सहकार्यमा बाल विवाह अन्त्यका लागि स्रोतको पहिचान, विनियोजन, कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा अनुगमन र मुल्यांकन गर्ने ।
वि.स. २०६८ को जनगणनालाइ आधार मान्दा यस प्रदेशमा सबै भन्दा बढी बाल विवाह भएको जिल्ला नुवाकोट ६२.६%,सबै भन्दा कम बाल विवाह भएको जिल्ला काठमाण्डौं ३९.२%, रहेको छ भने यसै प्रदेशमा १० वर्ष मुनीको विवाह १.०९%, १०–१४ वर्षको विवाह ८.०७%, १५–१९ वर्षको विवाह ४१.३५% रहेको छ, समग्रमा बागमती प्रदेशमा बाल विवाह २९ प्रतिशत रहेको रहेको छ । (श्रोतः बागमती प्रदेशकोे पहिलो आवधिक)
- बाल विवाह अन्त्यका लागि वागमती प्रदेश सामाजिक विकास मन्त्रालयले गरेका मुख्य मुख्य कार्यक्रम-क्रियाकलाप
- बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति, २०७६ ल्याएको
- बाल विवाह विरुद्धको पम्ल्लेट बनाई सबै स्थानीय तहमा पठाएको
- बाल विवाह विरुद्धको ब्रोसर छपाई तथा वितरण
- दोश्रो प्रदेश समन्वय परिषद्को बैठकमा बाल विवाह अन्य सम्वन्धी विषय साझा घोषण पत्रमा समावेश गरिएको
- बाल विवाह अन्य सम्वन्धमा स्थानीय तहसंग ७ बुदे साझा प्रतिवद्धतामा हस्ताक्षर गरिएको
- बाल विवाह अन्त्य सम्वन्धमा स्थानीय तहको प्रतिवद्धता लिइएको
- बाल विवाह मुक्त प्रदेश अभियान सहजकर्ता नियुक्त
- बाल विवाह अन्त्य सम्वन्धमा सन्देशमुलक जिङ्गल प्रसारण
बालविवाहका असर एवं प्रभावहरु
बालविवाहले बालबालिकालाई आधारभूत अधिकारबाट वञ्चित गराउने, आफ्नो जोडि छनौट गर्ने र विवाह सम्बन्धमा स्वतन्त्र भय निर्णय गर्न पाउने अधिकारबाट वञ्चित गर्दछ । विशेष गरी बालिकाको जीवनमा बालविवाहले बालअधिकार उल्लङ्घनको श्रृखला नै सृजना गरी थप हिंसाको कुचक्रमा धकेल्छ । बालविवाह गर्न पुगेका जोडीको वैवाहिक जीवन दीगो परिपक्क नभई सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धित समस्याहरु देखिने लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचविखन, बीस वर्ष उमेरको तुलनामा १५ वर्ष भित्र विवाह गर्नेको मृत्यको सम्भावना ५गुणा रहने, जस्ता थप हिंसाहरुले बालबालिका र महिलाहरु थप प्रताडित हुन पुगेका कैंयौ उदाहरणहरु देख्न पाइन्छ । यसबाट कालान्तरमा समाज विकास प्रकृयामा महिलाको भुमिका र सहभागिता न्यून बनाइ समतामुलक समाज निर्माण गर्न बाधा पुग्न जाने देखिन्छ ।
बालविवाहका हुनुका मुख्य कारणहरु
बालहेल्पलाइनमा आउने बालविवाह सम्बन्धि अधिकांश घटनामा बालविवाह हुनुको मुख्यकारणमा परिवारमा अभिभावक नुहुन, अन्तरजातिय विवाहलाई परिवारले स्वीकार नगर्नु, पारिवारिक द्धन्द्ध हुनु, आमा बुबाहरुले दोस्रो विवाह गर्नु, अभिभावकले बालबालिकाहरुलाई सानै देखि मोवाइल उपलब्ध गराउनु, पढाइको लागि सानै उमेरमा आफु देखि टाढा राख्नु, जनजातीहरुमा अझै पनि मामाचेला फुपु चेली बीच बैवाहिक सम्बन्ध कायम हुनु आदि प्रमुख कारण रहेको देखिन्छ ।
बालविवाह हुन लागेमा वा भएमा कहाँ सम्पर्क गर्नेः
बालविवाह हुन लागेको वा हुदै गरेको थाह पाएमा बालविवाह हुन नदिने तथा रोक्ने, जनप्रतिनिधि तथा स्थानीय बालअधिकार समितिमा खवर गर्नुका साथै नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउने वा प्रहरी कन्ट्रोलको नम्बर १०० र महिला, बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रको फोन न १०४, बालहेल्पलाइन नेपालकोे पैसा नलाग्ने फोन न. १०९८ (दश— नौ —आठ ) मा फोन गरि जानकारी दिने सकिन्छ ।
बालविवाहको नियन्त्रण कसरी गर्ने
१. अभिभावकहरु आफ्नो बालबालिका प्रति संवेदनशीले भइ उनीहरुका कुरा सुन्ने र निगरानी गर्ने
२. बालबालिकाहरुलाइ अनिवार्यरुपमा विद्यालय पठाउने ।
३. सामाजिक संञ्जालका माध्यमबाट हुने दुरुपयोगका सम्बन्धमा बालबालिका, अभिभावक तथा सरकार विचमा समन्वय गरि आवश्यक गतिविधि संचालन गर्ने ।
४.बिद्यालय पाठ्यक्रममा बालविवाहका असर बारेमा समाबेस गर्ने ।
५. सबै पक्षबाट बालविवाह सम्बनिध सचेतनाका गतिविधि संचालन गर्ने र संचालनमा सहयोग पुर्याउने
६. हाल रहेका विद्यमान ऐन, कानुुनहरु किन प्रभावकारीरुपमा कार्यन्वयन भएनन् बहसको विषय बनाउनु पर्ने ।
७. बालसुमह, किशोरी समुहहरुलाइ बालविवाहका असर, स्वास्थ्य प्रजनन शिक्षा, जीवनउपयोगी सीप लगायतका विषयमा विभिन्न माध्यमबाट सचेतना गर्नु पर्ने ।
८. बालमैत्री स्थानीय पालिका बनाउने अभियानमा सबैको ध्यान जानुपर्ने ।
(लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान विशेषाङ्क सहीखबर साप्ताहिककाे प्रिन्ट संस्करणबाट साभार)
‘पहिलेका बुहारीहरुलाईभन्दा अहिलेका बुहारीहरुलाई बढी धपेडी । घरपरिवार, इष्टमित्र,आफन्त, पढाइ, करियर, कार्यालय……. । ओहो यो हेरेर हामीलाई उबेला त बढी सुविधा, एकलट काम ग-यो पुगिहाल्ने’ महाकाली घिमिरे अर्थात राष्ट्रकवि माधव घिमिरेकाे पत्नीको यो पोष्टले मलाई एकछिन एकोहोरो बनायो । सोच मग्न भए छु ।
केहिवेर हजुरआमा, आमा, भाउजुलाइ सम्झेँ अनि आफुलाइ नियालेँ । एक वाक्यले मलाइ मेरो हजुरआमा, आमा, आफु अनि आफ्नो छोरीसम्मलाइ नियाल्न बाध्य पारेको थियो । म सोच्थे मेरी आमा र हजुरआमाले जति दुःख त म भोग्न सक्दिन । आमाहरुको शारिरीक श्रम देख्न समेत गारो हुने किसिमको हुन्छ। तर यसो विचार गर्दा शारिरिक भन्दा मानसिक थकानले बढि थकाउने रहेछ । साच्चै हो हालका बुहारीहरुलाई अत्यधिक गाह्रो छ।
आमाहरु हजुरआमाहरुको पदचाप पछ्यायर अघी बढ्नु भयो । कुनै परिवर्तित सामाजिक परिवेश भोग्नु परेन आमाहरुले । तर हामी यस्तो बिचधारमा जन्म लियौ कि समाज परिवर्तनको संवाहक बन्नु पर्ने अवस्थामा थियो । पुरानो संस्कृतिलाई पनि जगेर्ना गर्नु, व्याप्त कुरिति र कुप्रथाको अन्त्य गर्नु, राम्रा संस्कारलाइ नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबै जिम्मेवारी हालको परिवेशका नागरिकमा रहेको छ झै लाग्छ ।
पुरुष सदियौदेखि उहि परिवेश र उहि मान सम्मानमा जिइरहेको कारण उनीहरुमा चुनौतिभन्दा पनि आर्थिक जिम्मेवारीको बोझ बाड्ने अवसर प्राप्त भयो तर महिलाहरुको सदियौदेखिको चुलो चौकोको जिम्मेवारी हालसम्म पनि बाँडफाड हुन सकेको छैन । विश्वमा भइरहेको राजनितिक सामाजिक आर्थिक शैक्षिक क्षेत्रमा भएको आमुल परिवर्तनको संवाहक बन्ने जिम्मा अहिलेका महिलामा बढि हुनुले चुनौति र संघर्षका दिनहरु आँखा अघि रहेको झै लाग्छ ।
मेरो लागि विहानी घामको लालिमा जहिले चटारो लियर आउँछ । कलेजको पार्ट टाइम जागिर हतारिदै विहान उठेर नुहाइ धुवाइ पुजा पाठ सकेर बच्चाहरुको लागि विहानको खाजा र खाना बनाइ वरि आफू तयार भएर कलेज सम्मको बाटो तय गर्नु हुन्छ । विहान हस्याङ फस्याङ गर्दै ६ बजे कलेज पुगुन्जेलमा मैले सास कहाँ लिइरहेको हुन्छु मलाइ नै थाहा हुन्न । स–साना दुइ बच्चाहरुलाइ डेरामा बस्ने र छरछिमेकका मानिसहरुलाइ यसो ध्यान दिनु है भनेर जान सजिलो कहाँ थियो र ?
आफु उठेर तयारी अवस्थामा राखिदिएको पानी सम्म पिउन सक्ने बाल बच्चा र कलेजका बच्चाहरु दुवै तिर सम्हाल्न मलाई मेरो फोक्सो घाँटीमा आयर चलिरहेको आभाष हुन्छ । आफ्ना बालबच्चालाई सम्हाल्न भन्दा मुस्किल अझ कलेजका उरन्ठेउला केटा केटी । उनीहरुलाई बसमा लिनु र आफ्नो पार्ट टाइमको जागिर जोगाउन पनि झन मुस्किल । पार्ट टाइम नै सहि कम्तिमा मेरो आत्मसम्मान बचाएको छ यस जागिरले । आफ्नो आवश्यकता पुरा गर्न जागिर खानै पर्ने अवस्था त थिएन । श्रीमानको बैदेशिक जागिरको सिमिततामा रहेर मज्जाले खुसी हुन सकिन्थ्यो तर मलाइ त्यो मात्र पनि मन्जुर थिएन ।
एका तर्फ सोच्ने हो भने महिलाहरुले जागिर खानु भनेको आफूले आफैलाइ अचानोमा राखेर हान्नु झै हो । अफिसमा हुन्जेल लौ घरमा बच्चाहरु के गर्दै होलान् ? उठे कि उठेनन् ? कतै ट्वाइलेट जाँदा लडे कि ? कतै भर्यालङमा लडे कि ? कतै दिदि भाइ झगडा पो गर्दै छन कि ? कतै डेरामा बस्नेहरु आफ्नै धुनमा भएर वास्ता गरेनन कि ? कतै लडेर पलङ र टेवलको कर्नर तिर लाग्यो कि ? कतै टिभि खोल्न जाँदा करेन्ट लाग्ने पो हो की ? यावत् ।
हुन त मैले करेन्ट लाग्ने र लड्न सक्ने जस्ता सम्भावित दुर्घटनाहरु हुन सक्ने स्थानहरुमा जान रोक र सावधानी अपनाउन दिनहुँ बताइरहेकी हुन्छु तर ध्यान जति पुरै घरमा गैरहन्थ्यो घरि घरि । यसरी ध्यान घरतिर गैरहेको छ भन्ने आभाष अरुले पाउलान कि भनेर मुहारमा झुल्किन नदिन कडा प्रतिस्पर्धा गर्नु पथ्र्याे मलाई । यसरी मन र मष्तिस्कलाइ नियन्त्रणमा लिएर काममा तल्लिन हुनु एकातिर महान युद्धमा होमिए बरावर नै लाग्थ्यो ।
आफ्ना आफन्त त सुखका साथी जस्तै लाग्छन । जागिर खाने र महिनामा आउने तलव मात्र देख्ने हुन अनि त्यो तलवको केहि हिस्सा पाइन्छ की सम्म सोच्न भ्याउँछन् । तर, ति दुख भित्रको मानसिक एवं शारिरिक पिडा न देख्न चाहन्छन न त बाँड्न । एकल परिवारमा गरिने संघर्ष एकातर्फ छदै छ अर्को तर्फ सुविधा जनक स्थानमा घर हुनु र आफ्नाहरुको आश्रय स्थल र मान सम्मानमा गर्नुपर्ने थप उर्जाको खपत पुर्ति गर्न एक शनिवारले कहा भ्याउँछ र कहिले काही लाग्छ यो शनिवार किन आउँछ।
एक हप्ताभरको खात माथि खात भएका घरको काम दिनभर गधा जोतिए जसरी जोतिदा पनि सक्न धौ धौ पर्छ । बाल बच्चा परिवार जागिर अनि समाज यी सबैतिर उस्तै सम्बन्ध निभाइरहन जति गारो कार्य के होला र जस्तो पनि लाग्छ । हाँस्न पनि भुलिरहेको हुन्छु कहिले काहि ।
दुख गरी गरी पढिएको थियो के के न गरुला भनेर । सरकारी जागिरका लागि तयारी नगरेको त कहाँ होर । तर विवाह अघि स्कुल कलेज पढ्दैमा बित्यो । कलेज पढाइ सक्ने वित्तिकै वैवाहिक बन्धनमा बाधिनु, सासु ससुरा देवर नन्द आमाजुको मान सम्मान, श्रीमानको लागि छुट्टै समय, घर परिवारमा हरेक कुराको ख्याल गर्दैमा समय वितिजान्थ्यो जागिरकै लागि लोक सेवा
तयारी गर्नु भनेको आफुमा थप बोझ बोक्नु बराबर हुन्थ्यो ।
तर, पनि आफूलाई केहि वेर मात्र सुताएर तयारी गर्न त गरे तर ३।४ बर्ष सम्मको अथक प्रयास कि त बैकल्पिकमा पुर्ण विराम लाग्थ्यो कि त पास हुनै मुस्किल । कलेजमा पढेको समाजशास्त्र विषय त व्यवहारमा लागु गर्न घर परिवारबाट नै कहिले पनि वातावरण नै मिलेन । गैर सरकारी संस्थाहरुबाट आउने जागिरको अफरले घर र जिल्ला छोड्न भन्थ्यो तर आफुले घर छोड्नका लागि परिवार नै त्याग्नु पर्ने अवस्था आउँथ्यो । नन्द पढाइ पुरा गरिन सरकारी जागिर खान थालिन । देवरले पढाइ पुरा गरे इन्जिनियर भएर कमाउदै विवाह समेत गरि छुट्टै बस्न थाले तर आफु जहिको तहि । मास्टर सम्म पढाइ पुरा गरेर प्रमाण पत्र सिरानिमा हालेर निदाउन मलाइ मेरो आत्मसम्मानले दिँदै दिएन ।
ति यावत तनाव बोक्नु भन्दा बरु कलेज नै पढाउछु भन्ने तर्फ लागेको थिएँ । ताकी विहान अलि छिटो उठेर घर धन्दा पनि धानिने अनि कलेजको जागिर पश्चात घर आयर पुन घरपरिवार सम्हाल्न पनि सहज हुने ।
यसरी सुरु गरेको जागिरे र घर परिवारको जिवनमा जव आफ्नो लागि आफ्नाको खाँचो महसुष भएको थियो उक्त समयमा कोहि साथमा रहेनन् । बालबच्चा जन्मिए सकिनसकि आफुलाइ सम्हाल्दै जागिर सम्हाल्न तर्फ विगत ९।१० बर्षदेखि होमिइरहेको छु । सम्झिन्छु म ति दिन जव श्रीमान विदेसियपछि समाज र सहकर्मीहरुले देखाउने स्वार्थ पुर्ण व्यवहार र शंकास्पद नजरको तीर । श्रीमानसंगै छैनन भन्ने वित्तिकै आमा भइसकेकी महिलालाइ पनि चैनले निदाउन दिँदैन यो समाज । दुइ अर्थ लाग्ने शब्दहरुले जिस्काउने सहकर्मीहरुको व्यवहारलाई आफुले सहज पचाउन अन्जान बन्न बाहेक अर्को विकल्प हुन्नथ्यो । जस्ले गर्दा महिला हुनु मानिसकै एक जात नभइ कता कता वस्तु होकि भन्ने भान समेत पथ्र्याे मलाई। अधिकार स्वरुप प्रयोग गरिने महिलाहरुको यउटा अलग पहिचान कहिले बन्ला ? कहिले होला हामीलाइ ससम्मान हेरिने ? कहिले होला हाम्रो इच्छा अनि अस्तित्वको सम्मान पाउने ? कतै प्रश्नवाचक चिन्हमै समाप्त त हुन्न हाम्रो अस्तित्व ।
कोरोना महामारीले हरेकका लागि केहि न केहि तनावको अवस्था सिर्जना गरेको छ तर मेरा लागि कोरोना महामारी संगै सुरु भएको लकडाउनको जिवन शैलिले केहि राम्रो समय लियर आयो । अनलाइन शिक्षा घरैवाट सुरु हुनुले बालबच्चा र आफु संगै बस्ने सहज वातावरण सिर्जना भयो । वालबच्चा र आफु संगै व्यस्त हुने देखि लियर आरमदायक समय व्यतित गर्न मेरा लागि पहिला कि त सुत्ने समय कुर्नु पर्थ्यो कि त विदाको समय । शिक्षण पेशा अरुलाइ देख्न अति सहज छ ।
तर भोग्नेले बालबच्चाले गर्ने होमवर्क भन्दा कयौ गुणा आफूले होमवर्क गरेर तयार हुनुपर्छ । सबैभन्दा बढि गालि खाइने यो शिक्षण पेशाले मलाइ जीवनमा थप शिक्षित बनाउँदै लगिरहेको छ । गर्व लाग्छ मलाइ म एक शिक्षिका हुँ , समाज परिवर्तनको संवाहक । यसैले मलाई मानसिक रुपमा बलियाे बनाउँदै ल्याएकाे छ दिनदिनै । आफूमा आत्मनिर्भर भएकै कारण समाजमा अरु महिलाले जस्ताे नमिठा वचन (हिंसा) सहेर झक्नु परेकाे छैन आफैसँग । हज्जारै कामकाे व्यस्तताले कहिलेकाँही पीडानुभुति हुन्छ तर मनमा आफैप्रति गाैरव जागेर आउँदा मलाई हिंसाकाे अनुभुति पटक्कै छैन ।
(लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान विशेषाङ्क सहीखबर साप्ताहिककाे प्रिन्ट संस्करणबाट)
मकवानपुर। सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता साेमबारबाट सुरु भएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले हेटौंडा भेट्रान्स क्लबको आयोजनामा भएकाे प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै महतले खेल तथा खेलाडीहरुलाई सहयोग गर्दै जाने बताए । हेटौंडाका वडा र टोल टोल सम्म खेलकुदका पूर्वाधार विकासको कामसंगै खेलाडीहरुको पनि प्रतियोगिताहरुलाई प्राथमिकता दिइएको उनले बताए ।
पौष ३ गते सम्म जारी रहने प्रतियोगितामा १८ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पूर्व राष्ट्रिय खेलाडीहरु सहितको सहभागिता रहेको कार्यक्रम संयोजक मणिराज गौतमले बताए ।
उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सबीच भएको छ । खेलको निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा हेटौंडा भेट्रान्स क्लब (बि) विजयी भएको छ । हेटौंडाले सिमरा भेट्रान्सलाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले विजयी भएको हो । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला भएका छन् । त्यस्तै सोमबार चितवन राष्ट्रिय भेट्रान्सले वाइ पाएको छ । हाम्रो वीरगञ्ज क्लब सहभागी नभएपछि चितवनले वाइ पाएको हो ।
सातौ प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवाराज बज्रचार्यले बताए । खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।
हेटौंडा ५ क्याम्पाचौरमा रहेको खेलमैदानमा भएको प्रतियोगितामा मंगलबार पाँच वटा खेल हुने जनाइएको छ । मंगलबार पहिलो खेल सानो गौचरण नाइट किंग र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुनेछ । यस्तै अर्काे खेल एविसी पोखरा र कालभैरव क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ । त्यस्तै नागस्वती भेट्रान्स हेटौंडा र वीरगञ्ज युथ क्लबबीच र बौद्ध भेट्रान्स काठमाडौं र बानेश्वर फुटबल क्लब काठमाडौंबीच खेल हुनेछ । यसैगरी अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच पनि मंगलबारनै खेल हुने जनाइएको छ ।
नजिकै न्यायको न्यानोपन
Tags: No Comments
- न्याय र इमान व्यक्तिको सबैभन्दा प्यारो पक्ष हो । आफू अन्यायमा परेको र आफ्नो इमान गुमेको कुनै पनि सचेत व्यक्तिले सहन सक्दैन । हिंसाले व्यक्तिलाई अन्यायमा पार्दछ र इमान गुमेको आभाष गर्दछ । तर, हिंसा हरेक घर र हरेक कार्यालयहरुमा हुने गरेको अध्ययनहरुले देखाएको छ । हिंसाले व्यक्तिको सिर्जनशिलतालाई पनि मार्दछ । समग्रमा हिंसा व्यक्ति, परिवार र सिङ्गो राष्ट्रको लागि बाधक नै हो । हिंसा विरुद्ध सुन्य सहनशिलता अपनाउँदै लिङ्गको आधारमा हुने सबै प्रकारको हिंसाको विरोध गर्दै हरेक वर्ष हिंसा विरुद्ध अभियान चाल्दै आइएको छ । देश संघीयताको चरणमा प्रवेश गरेपछि जनप्रतिनिधि निर्वाचित भएर आए । न्यायको लागि अदालत नै धाउनु पर्ने बाध्याता टरेको छ । नजिकै न्यायको न्यायोपन दिलाउन प्रतिनिधिहरु लागिपरेका छन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सकिदै गर्दा हेटौंडा उपमहानगरपालिका उप्रमुख तथा न्यायीक समिति संयोजक मिनाकुमारी लामासँग यसै विषयको पेरीफेरीमा गरिएको कुराकानीको सारः
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ, कसरी समिक्षा गर्नुहुन्छ ?
यो अभियान एउटा सन्दर्भ मात्रै हो । हामीले लैङ्गिक हिंसा विरुद्धको सशक्तिकरणको अभियान सकिएको भनेर बुझ्दैनौ । यो १६ दिन मात्रै अभियानका लागेर हिंसाको न्युनिकरण संभव पनि छैन । यसलाई एउटा उत्सवको रुपमा मात्रै लिएर अलि बढी चर्चापरिचर्चा गर्ने गरिएको मात्रै हो । हामीले यसवर्ष विगतका वर्षहरुमाभन्दा केही फरक गर्ने जमर्को गरेका थियौं । अहिले वडा वडामा गठन भएको महिला जागरण समूहले अभियानमा सचेतना कार्यक्रम गरेको छ ।
गतवर्ष पनि हामीले सचेतनामुलक कार्यक्रमसँगै दीगो रुपमा स्थापित हुने प्रकारको कार्यक्रममा गरेका थियौ यस वर्ष पनि धेरै जसो कार्यक्रम यस्तै गरियो । सबै वडाहरुमा उपमहानगरपालिकाले कानुनी सचेतनासमेतको कार्यक्रमहरु गरेका छौ ।
वडा वडामा हिंसा र ऐन कानूनी व्यवस्थाबारे अन्तरक्रिया, सचेतना कार्यक्रममा गरेका छौ । हामीले अभियानमा मात्रै कार्यक्रमहरु सिमित नरहोस् भनेर नगरमा हिंसा न्यूनीकरणको लागि डोरम्याप बनाएका थियौ । यो डोरम्यापको आधारमा वर्षैभरी कसरी के कस्ता कार्यक्रम गर्ने भन्ने योजना समेत तय भएका थिए, त्यसै अनुसारको बजेटि· र कार्यक्रमहरु भइरहेका छन् ।
ग्रामिण वडास्तरको कार्यक्रमले घरघरको समस्यालाई पहिचान गर्न सहयोग मिलेको छ । म आफैंपनि सहभागि भएर त्याहाँको हिंसा बारेको वस्तुस्थिती बुझ्ने कोसिश गरेको छु । कतिपय कार्यक्रममा आफ्नो व्यवस्तताले पुग्न नसकेपनि स्थानीय जनप्रतिनिधि ज्यूहरु र हाम्रा कर्मचारी ज्यूहरुले कार्यक्रमलाई सफल बनाउनु भएको छ । सचेतना तथा प्रेरणा जगाउने प्रकारका कार्यक्रम भएका छन् ।
अभियानको क्रममा प्रचारप्रसार गरिएको सचेतनाको कुराले आगामी दिनमा हुनसक्ने हिंसात्मक गतिविधिमा कम ल्याउने, हिंसा सहेर नबस्नको लागि जागरुक हुनेसम्मको जग बनेको छ ।
अभियान अन्तरगत हामीले सेतो रिवन क्याम्पियन पनि ग-यौ (क्रस सेतो रिवनले म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा गरेको देखेमा म त्यसको प्रतिकार गर्छु भन्ने अर्थ राख्दछ।) यसै गरी अभियानकै क्रममा लैङ्गिक हिंसा भनेको के हो रु कस्तो कस्तो हिंसा हुनसक्छ,कसरी बच्ने, कानूनी व्यवस्था÷ उपचार के छ भन्नेबारेमा जानकारी भएको छ ।
नेतृत्वमा आएपछि महिलाको आर्थिक स्तर सशक्त बनाउनको के गर्नु भयो ?
हिंसाको प्रमुख कारण आर्थिक कमजोरी नै हो । घर परिवार चलाउन आर्थिक समस्या हुँदा कुनै न कुनै रुपमा त्यहाँ हिंसा उत्पन्न हुने रहेछ । यसैले हामीले व्यक्तिको आर्थिक हैसियत माथि उकास्नको लागि पहल ग¥यौ । यस अन्तरगत अहिले ३९० जना महिला उद्यमीहरु तयार गरेका छौ । आर्थिक रुपमा आत्मर्निभर बनाउने सुरुवाती कार्यक्रम हो यो ।
उहाँहरुलाई आर्थिक रुपमान्तरणमा लैजानको लागि हामीले पहल गरेका हौ । हिंसापछि घरवार विहीन महिलाहरुलाई व्यवस्थापन गर्न हेटौंडा–११ मा घर बनाएका छौं । उद्यमी महिलालाई उहाँहरुको उत्पादन संकलन केन्द्र बनाइसकेका छौ । विक्रि केन्द्रको ठाउँ पहिचान भइ बजेटिङ पनि भैसकेको छ ।
न्यायीक समितिको संयोजक पनि हुनुहुन्छ,स्थानीय सरकारले नजिकै न्यायको न्यायोपन दिलाउँन सक्यो भन्ने लाग्छ ?
जो जो हाम्रो सेवामा जोडिनु भएको छ उहाँहरुको मुहारको हाँसो देख्दा हामीले नजिकै न्यायको न्यायोपना दिन सकेका छौं भन्ने लागेको छ । हिंसा भएको भन्ने उजुरी आएपछि हामीले सबैलाई सम्बोधन गरेका छौ । कसैको घरै थिएन घर बनाएका छौ, आर्थिक कारण हिंसा भएकाहरुलाई सिपसँग जोडेर आर्थिक रुपमा स्वावलम्वि बनाएका छौ । कसैलाई रोजगारसँग जोडेका छौ । कसैलाई मानोचामल भराएका छौ । कतिलाई अंशबण्डा समेत दिलाएका छौ । ४ वटासम्म मुद्दा परेका महिलालाई पनि हामीले उचित व्यवस्थापन गरेको उदाहरण छ । जो जो हामीसँग जोडिनु भएको छ, हामीले निराश बनाएका छौनौ ।
निर्वाचित जनप्रतिनिधि भएर झण्डै पाँच वर्ष बिताइसक्नु भयो, हिंसा न्यूनिकरणको लागि कस्तो नीतिगत सुधार आवश्यक छ ?
अब विगतको भन्दा अवस्था सहज छ, हिंसाको उजुरी र न्यायको संस्कार बनेको छ । हिंसा सहेर बस्नाले थप हिंसा हुने, पीडकलाई बल पुग्ने संस्कार पहिले थियो भने अब, सहेर हैन, प्रतिकार गरेर हिंसा न्यूनिकरण हुन्छ भन्ने धारण र तथा संस्कारको विकास भएको छ ।
नगरको वडा÷वडा र टोल टोलमा न्यायको लागि तालिम प्राप्त मेलमिलाप समिति छ। जनप्रतिनिधिहरु हुनुहुन्छ। हिंसाको उजुरी हुने बितिकै न्याय पाइन्छ। परम्परागत गलत अभ्यासहरु अब फेरिदों छ । तर, विगतको भन्दा केही चुनौति अझै छ । त्यसैले नीति र रणनीति भन्दा पनि आम बुझाइलाई फराकिलो बनाउनु नै मुख्य कुरा हो । घरलाइ नै हिंसा मुक्त बनाउनु पर्छ, अनि सबैतिर विस्तारै हामीले सोचेजस्तो बन्न सक्छ ।
महिल हिंसाको मात्रै उजुरी आउँछ की ?
हैन, पछिल्लो समय पुरुषहरु पनि हिंसामा परेको उजुरी आउन थालेको छ । तर सहजै उजुरी आउँदैन । वैदेशिक रोजगारको क्रममा पुरुषहरु पनि हिंसामा पर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिलाई हेर्ने हो भने हिंसाको दर बढ्नु भन्दा पनि बाहिरीने क्रम बढेको हो । अब हिंसा सहेर, आफ्नो भाग्यलाई दोष दिएर बस्ने पुस्ता छैनन् । हिंसाको प्रतिकार गर्दा मात्रै हिंसाको उपचार पाइन्छ भन्ने जमात बनेको छ । विस्तारै हिंसा गर्ने हुन्न भन्ने जमातको सिर्जना गर्नु हाम्रो अभियान हो ।
फरक पुस्ता बिच पनि हिंसा छ ?
हो छ, अहिलेको पुस्ताहरु बढीजसो केही न केहीमा व्यस्त रहने हुँदा घरमा रहने ज्येष्ठ नागरिकहरुलाई बढी हिंसा हुने गरेको छ । उहाँहरुको हेरचाहमा समय दिन नचाहने, नभ्याएपछि जेष्ठ नागरिक वृद्धा आश्रम पुगेका छन् । जसको कारण उहाँहरुलाई मानसिक पीडा बढी हुने
गरेको छ । आफ्नो पारिवारीक वातावरणमा नातिनातिनासंगै खेल्दै बस्न पाउने उहाँहरुको अधिकार पनि हो तर, पुस्ता अन्तरको कारण उहाँहरुको मनोभावलाई नबुझेको कारण समस्या हुने गरेको छ। पुस्तान्तरणको कारण उब्जेको हिंसा अहिलेको चुनौति हो ।
के गर्दा हिंसामुक्त आदर्श समाज बन्नसक्ला ?
सबैभन्दा पहिले त आफूले आत्माबल दरिलो बनाउने, म जे गरिराखेको छु ठिक गरिराखेको छु, म सही छु भनेर दरिलो मन बनाउने, आफ्नो यात्रामा लागि रहने । आफ्नो आत्माबल नै सबैभन्दा पहिलो अश्र हो । त्यसपछि महिला मात्रै हैन पुरुषलाई पनि हिंसाको विरुद्धमा जानकारी जगाउनु पर्छ । हिंसात्मक घटनामा संलग्न पुरुषहरु पनि त्यो घटनापछि जीवनभर पछुताउनु पर्छ । उसलाई कानूनले समाउँछ, जेल जान्छ । कानूनले सजायँ भोगाउँछ । त्यसपछि उसको आश्रित हाँसीखुसी परिवारको विजोक हुन्छ ।
पालनपोषणमा आश्रित श्रीमति बालबच्चा होलान् । अविवाहित भए झन् धेरै भविष्या बाँकी होला, आमाबुबा आफन्तहरुलाई पनि उस्तै पीडा हुन्छ । यसकारण पनि हिंसामा जो संलग्न हुन्छ, उमाथि पनि त्यसपछि मानसिक तथा शारिरीक समेत हिंसा हुन्छ । यो पाटो बुझेर परिवारले हिंसा नगर्नेको लागि समयमै सचेत गराउनु पर्छ । छोरीलाई साँझ कहाँ गएर ढीलो आइस् भन्ने प्रश्न गर्नेले छोरालाई पनि प्रश्नगरोस् ।
छोरीमाथि सुरक्षा खोज्नेले छोराले पनि अरुलाई असुरक्षित गरायो कि भनेर सोच्ने गरोस् । छोरी बलात्कृत होली भनेर डराउनेले छोराले कसैको छोरीलाई बलात्कार गरेर आउला भन्ने डर पनि राखोस् अनि न्यूनिकरण संभाव छ ।
अन्तमा हिंसा न्यूनिकरणको लागि केही सन्देश ?
सबैभन्दा पहिले हिंसामा जो पर्नुभएको छ उहाँहरुलाई भन्न चाहन्छुः ‘तपाईहरु निराश नहुनुहोस्, आत्मबल उच्च राखेर न्यायको लागि भिड्नु होस, तपाईले नै आत्मबल कमजोर बनाउनु भयो भने हिंसा गर्नेले आफूले जितेको आभाष गर्ने छ, तपाईले जित्नु भए पो उसले हार्छ र फेरी फेरी हिंसा गर्दैन, अरुले पनि त्यै देखेर हिंसा गर्ने आँट गर्दैनन् । उसले तपाई हिंसाबाट उठ्न नसकोस भन्ने चाहन्छ, तपाई पछिहट्नु भयो भने उसको चाहाना पुरा हुन्छ, तपाई दरिलो भएर उठ्नोस् हेटौंडा उपमहानगरपालिका न्यायीक समिति तपाईको घरदैलोमा छ भन्ने चाहन्छु । वडाको मेलमिलाप कर्यकर्तासँग जोडिए तपाई हामीसँग जोडिन सकिन्छ । जसले हिंसा गरेको देख्नुहुन्छ, प्रतिकार गर्ने र न्यायको लागि सहयोग गर्न अनुरोध गर्दछु ।
(लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान विशेषाङ्क सहीखबर साप्ताहिककाे प्रिन्ट संस्करणबाट साभार)