‘पहिलेका बुहारीहरुलाईभन्दा अहिलेका बुहारीहरुलाई बढी धपेडी । घरपरिवार, इष्टमित्र,आफन्त, पढाइ, करियर, कार्यालय……. । ओहो यो हेरेर हामीलाई उबेला त बढी सुविधा, एकलट काम ग-यो पुगिहाल्ने’ महाकाली घिमिरे अर्थात राष्ट्रकवि माधव घिमिरेकाे पत्नीको यो पोष्टले मलाई एकछिन एकोहोरो बनायो । सोच मग्न भए छु ।
केहिवेर हजुरआमा, आमा, भाउजुलाइ सम्झेँ अनि आफुलाइ नियालेँ । एक वाक्यले मलाइ मेरो हजुरआमा, आमा, आफु अनि आफ्नो छोरीसम्मलाइ नियाल्न बाध्य पारेको थियो । म सोच्थे मेरी आमा र हजुरआमाले जति दुःख त म भोग्न सक्दिन । आमाहरुको शारिरीक श्रम देख्न समेत गारो हुने किसिमको हुन्छ। तर यसो विचार गर्दा शारिरिक भन्दा मानसिक थकानले बढि थकाउने रहेछ । साच्चै हो हालका बुहारीहरुलाई अत्यधिक गाह्रो छ।
आमाहरु हजुरआमाहरुको पदचाप पछ्यायर अघी बढ्नु भयो । कुनै परिवर्तित सामाजिक परिवेश भोग्नु परेन आमाहरुले । तर हामी यस्तो बिचधारमा जन्म लियौ कि समाज परिवर्तनको संवाहक बन्नु पर्ने अवस्थामा थियो । पुरानो संस्कृतिलाई पनि जगेर्ना गर्नु, व्याप्त कुरिति र कुप्रथाको अन्त्य गर्नु, राम्रा संस्कारलाइ नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबै जिम्मेवारी हालको परिवेशका नागरिकमा रहेको छ झै लाग्छ ।
पुरुष सदियौदेखि उहि परिवेश र उहि मान सम्मानमा जिइरहेको कारण उनीहरुमा चुनौतिभन्दा पनि आर्थिक जिम्मेवारीको बोझ बाड्ने अवसर प्राप्त भयो तर महिलाहरुको सदियौदेखिको चुलो चौकोको जिम्मेवारी हालसम्म पनि बाँडफाड हुन सकेको छैन । विश्वमा भइरहेको राजनितिक सामाजिक आर्थिक शैक्षिक क्षेत्रमा भएको आमुल परिवर्तनको संवाहक बन्ने जिम्मा अहिलेका महिलामा बढि हुनुले चुनौति र संघर्षका दिनहरु आँखा अघि रहेको झै लाग्छ ।
मेरो लागि विहानी घामको लालिमा जहिले चटारो लियर आउँछ । कलेजको पार्ट टाइम जागिर हतारिदै विहान उठेर नुहाइ धुवाइ पुजा पाठ सकेर बच्चाहरुको लागि विहानको खाजा र खाना बनाइ वरि आफू तयार भएर कलेज सम्मको बाटो तय गर्नु हुन्छ । विहान हस्याङ फस्याङ गर्दै ६ बजे कलेज पुगुन्जेलमा मैले सास कहाँ लिइरहेको हुन्छु मलाइ नै थाहा हुन्न । स–साना दुइ बच्चाहरुलाइ डेरामा बस्ने र छरछिमेकका मानिसहरुलाइ यसो ध्यान दिनु है भनेर जान सजिलो कहाँ थियो र ?
आफु उठेर तयारी अवस्थामा राखिदिएको पानी सम्म पिउन सक्ने बाल बच्चा र कलेजका बच्चाहरु दुवै तिर सम्हाल्न मलाई मेरो फोक्सो घाँटीमा आयर चलिरहेको आभाष हुन्छ । आफ्ना बालबच्चालाई सम्हाल्न भन्दा मुस्किल अझ कलेजका उरन्ठेउला केटा केटी । उनीहरुलाई बसमा लिनु र आफ्नो पार्ट टाइमको जागिर जोगाउन पनि झन मुस्किल । पार्ट टाइम नै सहि कम्तिमा मेरो आत्मसम्मान बचाएको छ यस जागिरले । आफ्नो आवश्यकता पुरा गर्न जागिर खानै पर्ने अवस्था त थिएन । श्रीमानको बैदेशिक जागिरको सिमिततामा रहेर मज्जाले खुसी हुन सकिन्थ्यो तर मलाइ त्यो मात्र पनि मन्जुर थिएन ।
एका तर्फ सोच्ने हो भने महिलाहरुले जागिर खानु भनेको आफूले आफैलाइ अचानोमा राखेर हान्नु झै हो । अफिसमा हुन्जेल लौ घरमा बच्चाहरु के गर्दै होलान् ? उठे कि उठेनन् ? कतै ट्वाइलेट जाँदा लडे कि ? कतै भर्यालङमा लडे कि ? कतै दिदि भाइ झगडा पो गर्दै छन कि ? कतै डेरामा बस्नेहरु आफ्नै धुनमा भएर वास्ता गरेनन कि ? कतै लडेर पलङ र टेवलको कर्नर तिर लाग्यो कि ? कतै टिभि खोल्न जाँदा करेन्ट लाग्ने पो हो की ? यावत् ।
हुन त मैले करेन्ट लाग्ने र लड्न सक्ने जस्ता सम्भावित दुर्घटनाहरु हुन सक्ने स्थानहरुमा जान रोक र सावधानी अपनाउन दिनहुँ बताइरहेकी हुन्छु तर ध्यान जति पुरै घरमा गैरहन्थ्यो घरि घरि । यसरी ध्यान घरतिर गैरहेको छ भन्ने आभाष अरुले पाउलान कि भनेर मुहारमा झुल्किन नदिन कडा प्रतिस्पर्धा गर्नु पथ्र्याे मलाई । यसरी मन र मष्तिस्कलाइ नियन्त्रणमा लिएर काममा तल्लिन हुनु एकातिर महान युद्धमा होमिए बरावर नै लाग्थ्यो ।
आफ्ना आफन्त त सुखका साथी जस्तै लाग्छन । जागिर खाने र महिनामा आउने तलव मात्र देख्ने हुन अनि त्यो तलवको केहि हिस्सा पाइन्छ की सम्म सोच्न भ्याउँछन् । तर, ति दुख भित्रको मानसिक एवं शारिरिक पिडा न देख्न चाहन्छन न त बाँड्न । एकल परिवारमा गरिने संघर्ष एकातर्फ छदै छ अर्को तर्फ सुविधा जनक स्थानमा घर हुनु र आफ्नाहरुको आश्रय स्थल र मान सम्मानमा गर्नुपर्ने थप उर्जाको खपत पुर्ति गर्न एक शनिवारले कहा भ्याउँछ र कहिले काही लाग्छ यो शनिवार किन आउँछ।
एक हप्ताभरको खात माथि खात भएका घरको काम दिनभर गधा जोतिए जसरी जोतिदा पनि सक्न धौ धौ पर्छ । बाल बच्चा परिवार जागिर अनि समाज यी सबैतिर उस्तै सम्बन्ध निभाइरहन जति गारो कार्य के होला र जस्तो पनि लाग्छ । हाँस्न पनि भुलिरहेको हुन्छु कहिले काहि ।
दुख गरी गरी पढिएको थियो के के न गरुला भनेर । सरकारी जागिरका लागि तयारी नगरेको त कहाँ होर । तर विवाह अघि स्कुल कलेज पढ्दैमा बित्यो । कलेज पढाइ सक्ने वित्तिकै वैवाहिक बन्धनमा बाधिनु, सासु ससुरा देवर नन्द आमाजुको मान सम्मान, श्रीमानको लागि छुट्टै समय, घर परिवारमा हरेक कुराको ख्याल गर्दैमा समय वितिजान्थ्यो जागिरकै लागि लोक सेवा
तयारी गर्नु भनेको आफुमा थप बोझ बोक्नु बराबर हुन्थ्यो ।
तर, पनि आफूलाई केहि वेर मात्र सुताएर तयारी गर्न त गरे तर ३।४ बर्ष सम्मको अथक प्रयास कि त बैकल्पिकमा पुर्ण विराम लाग्थ्यो कि त पास हुनै मुस्किल । कलेजमा पढेको समाजशास्त्र विषय त व्यवहारमा लागु गर्न घर परिवारबाट नै कहिले पनि वातावरण नै मिलेन । गैर सरकारी संस्थाहरुबाट आउने जागिरको अफरले घर र जिल्ला छोड्न भन्थ्यो तर आफुले घर छोड्नका लागि परिवार नै त्याग्नु पर्ने अवस्था आउँथ्यो । नन्द पढाइ पुरा गरिन सरकारी जागिर खान थालिन । देवरले पढाइ पुरा गरे इन्जिनियर भएर कमाउदै विवाह समेत गरि छुट्टै बस्न थाले तर आफु जहिको तहि । मास्टर सम्म पढाइ पुरा गरेर प्रमाण पत्र सिरानिमा हालेर निदाउन मलाइ मेरो आत्मसम्मानले दिँदै दिएन ।
ति यावत तनाव बोक्नु भन्दा बरु कलेज नै पढाउछु भन्ने तर्फ लागेको थिएँ । ताकी विहान अलि छिटो उठेर घर धन्दा पनि धानिने अनि कलेजको जागिर पश्चात घर आयर पुन घरपरिवार सम्हाल्न पनि सहज हुने ।
यसरी सुरु गरेको जागिरे र घर परिवारको जिवनमा जव आफ्नो लागि आफ्नाको खाँचो महसुष भएको थियो उक्त समयमा कोहि साथमा रहेनन् । बालबच्चा जन्मिए सकिनसकि आफुलाइ सम्हाल्दै जागिर सम्हाल्न तर्फ विगत ९।१० बर्षदेखि होमिइरहेको छु । सम्झिन्छु म ति दिन जव श्रीमान विदेसियपछि समाज र सहकर्मीहरुले देखाउने स्वार्थ पुर्ण व्यवहार र शंकास्पद नजरको तीर । श्रीमानसंगै छैनन भन्ने वित्तिकै आमा भइसकेकी महिलालाइ पनि चैनले निदाउन दिँदैन यो समाज । दुइ अर्थ लाग्ने शब्दहरुले जिस्काउने सहकर्मीहरुको व्यवहारलाई आफुले सहज पचाउन अन्जान बन्न बाहेक अर्को विकल्प हुन्नथ्यो । जस्ले गर्दा महिला हुनु मानिसकै एक जात नभइ कता कता वस्तु होकि भन्ने भान समेत पथ्र्याे मलाई। अधिकार स्वरुप प्रयोग गरिने महिलाहरुको यउटा अलग पहिचान कहिले बन्ला ? कहिले होला हामीलाइ ससम्मान हेरिने ? कहिले होला हाम्रो इच्छा अनि अस्तित्वको सम्मान पाउने ? कतै प्रश्नवाचक चिन्हमै समाप्त त हुन्न हाम्रो अस्तित्व ।
कोरोना महामारीले हरेकका लागि केहि न केहि तनावको अवस्था सिर्जना गरेको छ तर मेरा लागि कोरोना महामारी संगै सुरु भएको लकडाउनको जिवन शैलिले केहि राम्रो समय लियर आयो । अनलाइन शिक्षा घरैवाट सुरु हुनुले बालबच्चा र आफु संगै बस्ने सहज वातावरण सिर्जना भयो । वालबच्चा र आफु संगै व्यस्त हुने देखि लियर आरमदायक समय व्यतित गर्न मेरा लागि पहिला कि त सुत्ने समय कुर्नु पर्थ्यो कि त विदाको समय । शिक्षण पेशा अरुलाइ देख्न अति सहज छ ।
तर भोग्नेले बालबच्चाले गर्ने होमवर्क भन्दा कयौ गुणा आफूले होमवर्क गरेर तयार हुनुपर्छ । सबैभन्दा बढि गालि खाइने यो शिक्षण पेशाले मलाइ जीवनमा थप शिक्षित बनाउँदै लगिरहेको छ । गर्व लाग्छ मलाइ म एक शिक्षिका हुँ , समाज परिवर्तनको संवाहक । यसैले मलाई मानसिक रुपमा बलियाे बनाउँदै ल्याएकाे छ दिनदिनै । आफूमा आत्मनिर्भर भएकै कारण समाजमा अरु महिलाले जस्ताे नमिठा वचन (हिंसा) सहेर झक्नु परेकाे छैन आफैसँग । हज्जारै कामकाे व्यस्तताले कहिलेकाँही पीडानुभुति हुन्छ तर मनमा आफैप्रति गाैरव जागेर आउँदा मलाई हिंसाकाे अनुभुति पटक्कै छैन ।
(लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान विशेषाङ्क सहीखबर साप्ताहिककाे प्रिन्ट संस्करणबाट)

