मकवानपुर । गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा चयन भएका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि आईतबार बसेको पहिलो पुर्ण बैठकले लामालाई सचिव चयन गरेको हो ।
गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र सदस्यहरुलाई सामाजिक सजालमार्फत् धन्यवाद व्यक्त गरेका छन् ।
‘मलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेकोमा केन्द्रीय कार्यसमिति प्रति हार्दिक आभार प्रकट गर्दै मलाई दिएको जिम्मेवारीमा ईमान्दारीपुर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुरको कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका लामाले मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष र बागमती प्रदेश अध्यक्षको भुमिका समेत निर्वाह समेत गरिसकेका छन् । २५ बर्षदेखी गैरसरकारी संस्थामा क्रियाशील लामा युवा सेवा समाज(युसेस) मकवानपुरको अध्यक्षको रुपमा क्रियाशील छन् ।
यसैबिच, मकवानपुरकी गैरसरकारी संस्थाकर्मी ईन्दिरा न्यौपाने गैरसरकारी संस्था महासंघको बागमती प्रदेश सहइन्चार्जमा चयन भएकी छिन् । पुस २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित ४७ केन्द्रीय सदस्यको पूर्ण बैठकले रुपमा जिम्मेवारी तोकेको थियो ।
गैरसरकारी संस्था महासंघको अध्यक्षतमा रामप्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्षमा ध्रुवदेव यादव, उपाध्यक्षमा हिम शर्मा र भावना भट्ट, महासचिवमा अर्जुन भट्टराई, उप– महासचिवमा उमेश विश्वकर्मा र राजेन्द्र शर्मा लगायत रहेका छन् ।
मकवानपुर । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटाैडाकी रश्मि बस्नेत निर्वाचित भएकी छन् । नेपाल जेसीजको ४८ औं महाधिवेशनमा बस्नेत उपाध्यक्षमा निर्वाचित भएकी हुन् । पोखरा जेसीजको आतिथ्यमा भएको महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदमा एक मात्र महिलाको रुपमा उम्मेदवारी दिएकी बस्नेतले पाँचौं सर्वाधिक मत ल्याएर विजयी भएकी हुन् ।
१२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारहरुका बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो भने बस्नेतले ९ सय ३३ मत प्राप्त गरेकी थिइन् थियो । राष्ट्रिय उपाध्यक्षमा निर्वाचित बस्नेत हेटौंडा लेडी जेसीज वर्ष २०१२ को अध्यक्ष हुन् भने वर्ष २०२१ को प्रमुख सल्लाहकार रहेकी छन् । यसै गरी नेपाल जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन भएका छन् ।
यसै गरी जेसीजकाे राष्टिय महाधिवेशनमा वर्ष २०२१ को Lom president of the year अवार्ड र समुदाय स्तरमा कार्य गरेकोमा outstanding community sector project area B अवार्डबाट जेसीआई हेटौडा लेडीलाई सम्मानित गरिएको छ। जेसीआई हेटौडा लेडीले गरेको कार्यहरुप्रति उच्च मुल्यांकन गर्दै उक्त अवार्डबाट सम्मानित गरिएकाे हाे ।
मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगितामा एबीसी भेट्रान्स पोखराले नागस्वती भेट्रान्स हेटौंडालाई हराउँदै जीत हात पारेकाे छ । नागस्वती हेटौंडालाई २-१ गोल अन्तरले हराउँदै एबीसी पोखरा विजेता भएको हो ।
खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले १ गोल थपेपछि एविसी भेट्रान्सले उपाधि जित्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एबीसीका नरेन्द्रजंग गुरुङ हुनुभएको थियो ।
विजेता एबीसीले ट्रफि सँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ । यस्तै उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ।
प्रतियाेगिता अन्तरगत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिएकाे छ । खेलको उत्कृष्ट गोल किपर एबीसीका सुर्य शर्मा, कोच एबीसीका सुरज गुरुङ, मिड फिल्डर एबीसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबीसीका विश्वराज श्रेष्ठ भए भने उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भएका छन् । उनीहरुलाई ट्रफि र जनही ५/५ हजार नगद सहित पुरस्कृत गरिएकाे छ ।
विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । पिप्ले युवा क्लबले निर्माण गर्दै गरेकाे खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलका कार्यक्रम संयोजक मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सडकखण्डबाट ८८.६० क्युफिट सालको काठसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २४ वर्षीय सुशान लोप्चन र १८ वर्षीय सुदिप लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले आज (शनिबार) दिउँसो पक्राउ गरेको हो ।
हाडीखोला तर्फबाट बस्तीपुर चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१– च १२६०नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको उक्त परिणामको काठ बरामद भएपछि निज गाडी चालक सुशान र गाडीमा सवारी सुदिपलाई पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।
उनीहरुलाई उक्त परिणामको काठ, पिकअप गाडीसहित नियन्त्रणमा लिई आवश्याक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाउने पहल भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारबाट सिर्जित समस्या न्यूनीकरण गर्ने सामूहिक प्रतिबद्धता र पहल आवश्यक
Tags: No Comments
मकवानपुर / वैदेशिक रोजगारको कारण समाजमा विभिन्न समस्या सिर्जना भएकोले यस्ता समस्या न्यूनीकरण गर्ने सामूहिक प्रतिबद्धता र पहल आवश्यक भएको बताईएको छ ।
वैदेशिक रोजगारमा संलग्न भएकाहरू बिचको भौतिक दुरिले उब्जने शंका उपशंका, समाजले लगाउने भेदभाव, लान्छना र सामाजिक लागतको दुरुपयोग भएको बताइएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस २०२१ को सन्दर्भमा एकीकृत ग्रामीण विकास सेवा संस्थाले आयोजना गरेको वैदेशिक रोजगारले निम्त्याएको सामाजिक असर न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम यस्तो चर्चा गरिएको हो । वैदेशिक रोजगारको कारण धेरै सकारात्मक काम भए पनि यसको केही नकारात्मक कामकै बढी चर्चा हुने गरेको र सकारात्मक प्रयास बारे परियोजना अधिकृत उमा पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । वैदेशिक रोजगारको कारण बिप्रेषण, सीप, अनुभव, आत्मनिर्भरता, सामाजिक प्रतिष्ठा, उद्यमशीलता, जीवनस्तर सुधार जस्ता पाटामा फाईदा पुगेको पौडेलले बताइन्।
नेपालबाट ५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारमा आवद्ध रहेको र जसमा ५ प्रतिशत महिला रहेको अधिकृत पौडेलले बताइन् । कार्यक्रममा हेटौंडा १७ का वडा अध्यक्ष भैरव राईले सचेतनामुलक कार्यक्रमले सामाजिक लान्छना कम गर्न सक्ने बताउंदै सचेतना र सही सन्दर्भहरूको प्रचारप्रसार अभियान जारी राख्नुपर्ने बताए । वैदेशिक रोजगारले सम्बन्ध बिच्छेद जस्ता घटनाले परिवार बिखण्डित भएको अध्यक्ष राईले बताए ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले, शाखा अधिकृत भैरव कमाललगायतले सामाजिक विकासको पाटोमा धेरै काम गर्न बांकी रहेको बताए । युवाको शक्ति र सिपलाई बुझेर स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरूले बताए ।

श्रीमान वैदेशिक रोजगार रहेकै कारण आफूहरूमाथी अनावश्यक लान्छना लाग्ने गरेकोले संस्थाले सामाजिक परामर्श तथा स्वरोजगारको लागि सहयोग गरिदिन कार्यक्रममा सहभागी महिलाहरूले आग्रह गरेका थिए ।
कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) संयोजक अन्जिता थापा मगर, एकीकृत ग्रामीण विकास सेवाका सचिब मिनप्रसाद पौडेल, माइती नेपाल मकवानपुर प्रमुख माया लामा, नारी संरक्षण केन्द्र संयोजक राम मिजारलगायतले समसामयिक समस्या बारे जानकारी गराएका थिए ।
वैदेशिक रोजगारबाट २०७० सालयता रेमिटेन्समात्रै ७० खर्ब भित्रिएको र गत आर्थिक बर्षमा मात्रै ९ खरब रेमिटेन्स भित्रिएको तथ्यांक सार्वजनिक गरिएको थियो । तथ्यांकअनुसार यसबाट कुल ग्राहस्थमा २५ प्रतिशत योगदान छ ।
कार्यक्रम सहभागीहरूले वैदेशिक रोजगारलाई सुरक्षित र सम्मानित बनाउन सही सूचना प्रवाह गर्ने, नकारात्मक सन्देश प्रचारप्रसार नगर्नेलगायतको सवालमा प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएका थिए । कार्यक्रम संस्थाका प्रशासन तथा लेखा अधिकृत शुभराज लामाले सन्चालन गरेका थिए ।