मकवानपुर । गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा चयन भएका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि आईतबार बसेको पहिलो पुर्ण बैठकले लामालाई सचिव चयन गरेको हो ।
गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र सदस्यहरुलाई सामाजिक सजालमार्फत् धन्यवाद व्यक्त गरेका छन् ।
‘मलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेकोमा केन्द्रीय कार्यसमिति प्रति हार्दिक आभार प्रकट गर्दै मलाई दिएको जिम्मेवारीमा ईमान्दारीपुर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुरको कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका लामाले मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष र बागमती प्रदेश अध्यक्षको भुमिका समेत निर्वाह समेत गरिसकेका छन् । २५ बर्षदेखी गैरसरकारी संस्थामा क्रियाशील लामा युवा सेवा समाज(युसेस) मकवानपुरको अध्यक्षको रुपमा क्रियाशील छन् ।
यसैबिच, मकवानपुरकी गैरसरकारी संस्थाकर्मी ईन्दिरा न्यौपाने गैरसरकारी संस्था महासंघको बागमती प्रदेश सहइन्चार्जमा चयन भएकी छिन् । पुस २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित ४७ केन्द्रीय सदस्यको पूर्ण बैठकले रुपमा जिम्मेवारी तोकेको थियो ।
गैरसरकारी संस्था महासंघको अध्यक्षतमा रामप्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्षमा ध्रुवदेव यादव, उपाध्यक्षमा हिम शर्मा र भावना भट्ट, महासचिवमा अर्जुन भट्टराई, उप– महासचिवमा उमेश विश्वकर्मा र राजेन्द्र शर्मा लगायत रहेका छन् ।

