मकवानपुर / वैदेशिक रोजगारको कारण समाजमा विभिन्न समस्या सिर्जना भएकोले यस्ता समस्या न्यूनीकरण गर्ने सामूहिक प्रतिबद्धता र पहल आवश्यक भएको बताईएको छ ।
वैदेशिक रोजगारमा संलग्न भएकाहरू बिचको भौतिक दुरिले उब्जने शंका उपशंका, समाजले लगाउने भेदभाव, लान्छना र सामाजिक लागतको दुरुपयोग भएको बताइएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस २०२१ को सन्दर्भमा एकीकृत ग्रामीण विकास सेवा संस्थाले आयोजना गरेको वैदेशिक रोजगारले निम्त्याएको सामाजिक असर न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम यस्तो चर्चा गरिएको हो । वैदेशिक रोजगारको कारण धेरै सकारात्मक काम भए पनि यसको केही नकारात्मक कामकै बढी चर्चा हुने गरेको र सकारात्मक प्रयास बारे परियोजना अधिकृत उमा पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । वैदेशिक रोजगारको कारण बिप्रेषण, सीप, अनुभव, आत्मनिर्भरता, सामाजिक प्रतिष्ठा, उद्यमशीलता, जीवनस्तर सुधार जस्ता पाटामा फाईदा पुगेको पौडेलले बताइन्।
नेपालबाट ५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारमा आवद्ध रहेको र जसमा ५ प्रतिशत महिला रहेको अधिकृत पौडेलले बताइन् । कार्यक्रममा हेटौंडा १७ का वडा अध्यक्ष भैरव राईले सचेतनामुलक कार्यक्रमले सामाजिक लान्छना कम गर्न सक्ने बताउंदै सचेतना र सही सन्दर्भहरूको प्रचारप्रसार अभियान जारी राख्नुपर्ने बताए । वैदेशिक रोजगारले सम्बन्ध बिच्छेद जस्ता घटनाले परिवार बिखण्डित भएको अध्यक्ष राईले बताए ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले, शाखा अधिकृत भैरव कमाललगायतले सामाजिक विकासको पाटोमा धेरै काम गर्न बांकी रहेको बताए । युवाको शक्ति र सिपलाई बुझेर स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरूले बताए ।

श्रीमान वैदेशिक रोजगार रहेकै कारण आफूहरूमाथी अनावश्यक लान्छना लाग्ने गरेकोले संस्थाले सामाजिक परामर्श तथा स्वरोजगारको लागि सहयोग गरिदिन कार्यक्रममा सहभागी महिलाहरूले आग्रह गरेका थिए ।
कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) संयोजक अन्जिता थापा मगर, एकीकृत ग्रामीण विकास सेवाका सचिब मिनप्रसाद पौडेल, माइती नेपाल मकवानपुर प्रमुख माया लामा, नारी संरक्षण केन्द्र संयोजक राम मिजारलगायतले समसामयिक समस्या बारे जानकारी गराएका थिए ।
वैदेशिक रोजगारबाट २०७० सालयता रेमिटेन्समात्रै ७० खर्ब भित्रिएको र गत आर्थिक बर्षमा मात्रै ९ खरब रेमिटेन्स भित्रिएको तथ्यांक सार्वजनिक गरिएको थियो । तथ्यांकअनुसार यसबाट कुल ग्राहस्थमा २५ प्रतिशत योगदान छ ।
कार्यक्रम सहभागीहरूले वैदेशिक रोजगारलाई सुरक्षित र सम्मानित बनाउन सही सूचना प्रवाह गर्ने, नकारात्मक सन्देश प्रचारप्रसार नगर्नेलगायतको सवालमा प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएका थिए । कार्यक्रम संस्थाका प्रशासन तथा लेखा अधिकृत शुभराज लामाले सन्चालन गरेका थिए ।

