मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगितामा एबीसी भेट्रान्स पोखराले नागस्वती भेट्रान्स हेटौंडालाई हराउँदै जीत हात पारेकाे छ । नागस्वती हेटौंडालाई २-१ गोल अन्तरले हराउँदै एबीसी पोखरा विजेता भएको हो ।
खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले १ गोल थपेपछि एविसी भेट्रान्सले उपाधि जित्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एबीसीका नरेन्द्रजंग गुरुङ हुनुभएको थियो ।
विजेता एबीसीले ट्रफि सँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ । यस्तै उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ।
प्रतियाेगिता अन्तरगत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिएकाे छ । खेलको उत्कृष्ट गोल किपर एबीसीका सुर्य शर्मा, कोच एबीसीका सुरज गुरुङ, मिड फिल्डर एबीसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबीसीका विश्वराज श्रेष्ठ भए भने उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भएका छन् । उनीहरुलाई ट्रफि र जनही ५/५ हजार नगद सहित पुरस्कृत गरिएकाे छ ।
विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । पिप्ले युवा क्लबले निर्माण गर्दै गरेकाे खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलका कार्यक्रम संयोजक मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

