मकवानपुर । मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक सभा शनिबार पुष ३ गते हेटौंडामा भएको छ । संघका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख अतिथ्यतामा वार्षिक सभा भएको हो ।
सभामा मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो । यसै गरी लामो समय हेटौंडामा ग्याँस व्यवसायी गर्दै आउनुभएका अग्रज व्यवसायी पिताम्बर ढकाललाई समेत सम्मान गरिएको थियो ।
साधारणसभामा ग्यास विक्रेता संघ मकवानपुरका सचिव केशव मुडभरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कृष्ण ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले आगामी दिनमा संघले प्रमाणीकरण गरेपछि मात्रै ग्यासको अधिकृत विक्रेता हुने व्यवस्था गर्ने प्रस्ताव गरेको अध्यक्ष जाेशीले बताए । संघमा मकवानपुर जिल्लामा ग्यास विक्री गर्ने ६३ वटा अधिकृत विक्रेताहरु आवद्ध छन् ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल ग्याँस व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष राधिका महर्जन, उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, ग्याँस व्यावसायीका संस्थापक अध्यक्ष धनप्रसाद पौडेल, साहारा ग्याँस उद्योगका प्रमुख खड्क थापा, बाबा ग्याँस उद्योगका प्रमुख विमल कालाखेती, मकवानपुर होटल एशोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर मदिरा व्यवसायी संघका अध्यक्ष सर्वेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

