मकवानपुर । आइतबार हेटाैडामा भएकाे सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा १० निवासी बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को मृत्यु भएको छ ।
आइतबार दिउँसो पूर्वपश्चिम सडकखण्ड अन्तरगत उक्त स्थानमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्वर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
दुर्घटनामा परी श्रेष्ठ घाइते भएका श्रेष्ठलाई उपचारको लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याइएको केहीबेरमा नै चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक दासले बताए ।
हेटाैडामा विगत लामाे समयदेखि चिया पसल चलाउँदै आएका श्रेष्ठ जेठा दाइको नामले पचिचित छन् ।
भारतीय वरिष्ठ गायिका लता मंगेशकरको आइतबार विहान निधन भएको छ। उनकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे हाे।
कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनी विगत २ सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन् ।
भारतमा २ दिन राष्ट्रिय शोक घोषणा
भारत सरकारले वरिष्ठ गायिका लता मंगेशकरको निधनमा दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। विश्व चर्चित गायिका मंगेशकर भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित थिइन् ।
राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ।
मकवानपुर । माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी याे वर्ष माघ २३ गते आज परेकाे छ । श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा र आराधनासहित मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व पर्ने भएकाेले सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।
वसन्त पञ्चमी भनिने श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ। देशभरका सरस्वती मन्दिर तथा शिक्षा आर्जन गर्ने शैक्षिक संस्थामा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ ।आज संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आज साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले पनि आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदा भन्दा ४० दिन अघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको मान्यता छ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। विशेष गरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। तर यस पटक देशभर तेस्रो लहरको कोरोना संक्रमणका कारण शैक्षिक संस्थाहरु बन्द छन्।
बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन्। आज बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।
स्कुल बिदाः यसरी बित्छन् दिनहरु
Tags: No Comments
मकवानपुर । सामुदायिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुरेश घिमिरेको दैनिक आजभोलि गाउँघर घुमेरै बित्छ । बिहान घाम नलागुञ्जेल ओछयानमै बस्छन्, मोबाइलमा गेम खेल्छन् ।
खानापछि मोबाइल चार्जमा राख्छन् र निस्कन्छन् टहलिन गाउँतिर । एकै छिनमा फर्कन्छन्, चार्जमा राखेको मोबाइल सम्झेर । फेरि, उही दिनचर्या सुरु हुन्छ, मोबाइलमा गेम र युट्युब ।
यता, कक्षा ९ मै अध्ययनरत सबिना खड्काको दैनिकी भने अलि फरक छ । उनीसँग मोबाइल छैन, स्कुल बिदा छ । बिहान आमासँग घाँस खोज्न जंगल जान्छिन्, जंगलबाट फर्केर आमा (सानीकान्छी) ले खाना तयार गर्दै गर्दा घरका कोठा सफा गर्छिन्, खाना खाएपछि आलु खन्ने, लसुन बटुल्नेलगायत काममा आमासँगै मेलापात जान्छिन् । उनकी १० वर्षीया बहिनी दिउँसो बाख्रा चराउन जान्छिन्, साँझ–बिहान घरका जुठा भाँडा माझ्न सघाउँछिन् ।
आर्थिक रूपमा विपन्न खड्काको परिवारजस्तै ग्रामीण भेगका अधिकांश बालबालिकाको दैनिकी विद्यालय बन्द भएदेखि परिवारको काममा सघाएर बित्छ । परिवारको काममा सघाउन नसक्ने अधिकांश बालबालिका चौरमा धुलो खेल्दै गरेका भेटिन्छन् ।
कोरोना संक्रमण फैलने डरले सरकारले विद्यालय बन्द गरेको एक महिना हुनै लाग्यो तर केहीबाहेक शैक्षिक संस्थाले वैकल्पिक सिकाइ सुरु गरेका छैनन् । ग्रामीण भेगका विद्यालयले सिकाइको विकल्प खोज्नै नसकेको बताउँछन्, अभिभावक राजेश खड्का ।
उता, सहरी इलाकाका केही बाहेक सामुदायिक विद्यालयले पनि अनलाइन कक्षा सुरु गरेका छैनन् । नीजि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेका छैनन् ।
सिकाइमै समस्या
विद्यालय बन्द भएपछि सिकाइलाई वैकल्पिक तरीकाबाट नियमितता दिइरहेका नीजि विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ पनि खासै प्रभावकारी देखिएको छैन । हेटौंडा सिद्धार्थ शिशुसदन कक्षा ६ मा अध्ययनरत छात्र प्रद्योत गुरागाईं अनलाइन कक्षामा हुने पढाईबाट थकित देखिन्छन् ।
‘स्कुल गएर आउँदाजस्तो स्फूर्ति अनलाइन पढ्दा हुँदैन, निरन्तर स्क्रिनमा हेरेर होला छोरो सधैं थकित देखिन्छm,’ प्रद्योतका बुबा पुरुषोत्तम भन्छन्,‘अनलाइन कक्षामा अभिभावक साथैमा नहुँदा अन्यत्र ध्यान दिने डर पनि उस्तै हुन्छ ।’ प्रद्योत कक्षाको सर्वोत्कृष्ट विद्यार्थी हुन्, पढाइमा मन लगाउँछन् तर पनि ‘अनलाइन कक्षा हुँदा अन्यत्र ध्यान दिन्छ कि ?’ भन्ने डरले छाड्दैनन्, बुबा पुरुषोत्तमलाई । ‘बालबालिका हुन्, सधैं उस्तै हुँदैनन्, हामीले निगरानी गर्न नसक्दा र समय नभ्याउँदा अन्य प्रोगामतिर लाग्ने डर हुन्छ,’ उनको चिन्ता छ ।
कामकाजी अभिभावकले सन्तानको अनलाइन कक्षामा निगरानी गर्न नसक्दा झनै समस्या हुनसक्ने बताउँछन्, सिवीन बाल हेल्पलाइन मकवानपुर प्रमुख झविन्द्र ज्ञवाली । अनलाइन कक्षामा सहभागी भएको दाबी गर्दै आएका बालबालिका फेसबुक, युटुबलगायत साइडमा व्यस्त भएपछि बाल दुर्व्यबहार तथा बालविवाहसमेत बढेको उनको आँकलन छ ।
अनलाइन कक्षा र अभिभावकको कार्यालय समय एकै हुने भएकाले झनै समस्या भएको अर्का अभिभावक सम्झना घिमिरेको अनुभव छ । ‘अफिस जानुपर्छ, उनीहरू अनलाइनमा पढ्छन् कि खेलेर बस्छन् वा अश्लिल साइड पो हेर्छन् कि चिन्ता लागिरहन्छ,’ घिमिरे भन्छिन् ।
कक्षा दुई र नर्सरीमा बढ्ने छोरोछोरीलाई अनलाइन कक्षामा सहभागी गराउँदै आएका अभिभावक विनोद चौलागाईंको पनि उस्तै अनुभव छ । ‘आफैं बसेर सिकाइमा सहजीकरण गर्नसके केही सिकाइ हुन्छ, समय दिन नसक्दा बालबालिकाले बुझ्न सक्दैनन्,’ चौलागाईं सुनाउँछन्, ‘स्वास्थ्य संकटको अवस्था रहेकाले अनलाइनको विकल्प छैन भनेर स्कुलले पनि अनिवार्य गरेको छ ।’
कामकाजी अभिभावकले सन्तानको अनलाइन कक्षामा निगरानी गर्न नसक्दा झनै समस्या हुनसक्ने बताउँछन्, सिवीन बाल हेल्पलाइन मकवानपुर प्रमुख झविन्द्र ज्ञवाली । अनलाइन कक्षामा सहभागी भएको दाबी गर्दै आएका बालबालिका फेसबुक, युटुबलगायत साइडमा व्यस्त भएपछि ‘बाल दुर्व्यबहार’ तथा बालविवाहसमेत बढेको उनको आँकलन छ ।
‘अधिकांश अभिभावक बालबालिकाले अनलाइनमा के गर्दै छन् ? भनेर निगरानी राख्न भ्याउनुहुन्न, केही अभिभावक शैक्षिक रूपमा पनि बालबालिकालाई निगरानी राख्न नसक्ने भएका कारण घटना भइरहेको छ,’ ज्ञवालीले भन्छन् ।
भुल्दै कोरोना त्रास
निरन्तर तेस्रो पटक कोरोना संक्रमण अवस्था भोगेपछि अभिभावक अब कोरोनालाई जीवनशैलीसँगै स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राख्न थालेका छन् ।

दैनिक काम गरेर गुजारा चलाउनुपर्ने वर्गका अभिभावक मात्रै हैन, ठुलै व्यापार व्यवसाय गर्नेले समेत कोरोनालाई त्रासभन्दा फरक शैलीमा कामलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने धारणा राख्न थालेका छन् । हरेक वर्ष कोभिडको डरमा स्कुल बन्द गरेर विद्यार्थीको पढाई अनियमित हुन थालेपछि यस्ता भनाई आउन थालेको संस्थागत विद्यालय अभिभावक संघ मकवानपुर अध्यक्ष रमिला सापकोटाको ठहर छ ।
सरकारले बालबालिकाका लागि कोभिडविरुद्धको खोप लगाउन सुरु गरेकोले ‘अब डरमा विद्यालय बन्द नगर्दा हुने’ उनको सुझाव छ । १२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउनतर्फ सरकार लाग्नुपर्ने उनको जोडसमेत छ ।
‘पढ्ने र सिक्ने उमेरका बालबालिका अहिले स्कुल बिदा हुँदा कोही हिलो र धुलो चौरमा भेटिन्छन्, कोही घाँस, सोतर, दाउरा खेप्दै गरेका भेटिन्छन्,’ उनी भन्छिन्, ‘अनलाइन कक्षमा सहभागी भएका बालबालिकाको झनै भयावह अवस्था छ, उनीहरूलाई अनलाइनको लत छुटाउन भोलिका दिन धेरै गह्रो पर्नेछ ।’
यो बेला घरैमा रहेका बालबालिकालाई अभिभावले सक्दो बढी समय दिनुपर्ने उनको जोड छ । बालबालिकालाई अभिभावकले नैतिक शिक्षा सिकाउनमा जोड दिनुपर्ने, उनीहरूसँगै खेल्ने र रमाउने गरेर व्यवहारीक ज्ञानका कुरा सिकाउन सहजीकरण गर्नुपर्ने सापकोटाले औंल्याइन् ।
यता, अभिभावक जानुका सञ्जेल विद्यालय बन्द भएपछि घरैमा बस्न बाध्य छोरालाई ‘फ्रेस’ राख्न घरैमा रमाइलो वातावरण सिर्जना गरिरहन्छिन् ।
‘हामी घरैमा रमाइलो गर्छौं, दुई छोरालगायत परिवारका सबैजना बसेर गाउने/बजाउने मादल, बासुरी, हामोनियम बजाउने गर्छौं, तनाव लिएर हुन्न घरै गीत-संगीतमय हुँदा बच्चाहरूले पनि गानाबजानाको सीप सिकेका छन्,’ जानुकाले भनिन्, ‘हामीले थोरै समय निकालेर परिवारलाई दिँदा मानसिक रूपमा धेरै फ्रेस भएको आभाष भएको छ ।’
मकवानपुर । साहित्यकार माधव बहादुर पोख्रेलको नाट्य कृति ‘ऐनाभित्रको आकाश’ विमोचन गरिएको छ । शनिबार हेटौंडामा मातृभूमि साहित्य समाजले कार्यक्रम आयाेजना गरी पाेख्रेलकाे ‘ऐनभित्रको आकाश’ विमाेचन गरेकाे हाे ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष समेत रहेका पोख्रेलको कृति ‘ऐनाभित्रको आकाश’काे सम्बन्धमा प्राध्यापक तथा साहित्यकार नीरा शर्मा र प्राध्यापक तथा समीक्षक घनश्याम घिमिरेले समीक्षा गरेका थिए । ‘ऐनभित्रको आकाश’ को प्रकाशन मातृभूमि साहित्य समाजले गरेको हो ।
‘ऐनभित्रको आकाश’ विमोचन कार्यक्रम मातृभूति साहित्य समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा कलाकार रमेश बुढाथोकीको प्रमुख आतिथ्यता र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको आतिथ्यता रहेको थियो ।
‘ऐनाभित्रको आकाश’ पोख्रेलले तेस्रो कृति हो । यसअघि पोख्रेलको नाट्य कृति ‘आकांक्षाको चिता’ २०६९ सालमा प्रकाशित भएको छ भने कविता संग्रह ‘रित्तिएको गाउँ’ २०७० सालमा प्रकाशित भएको थियो ।