मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र गाडीसहित ५ जनालाई पक्राउ गरेकाे छ । भीमफेदी गाउँपालिका वडा नं २ भैँसे चेकपोष्टस्थित सडकबाट आइतबार प्रहरीले बा ०३ ००१ च ११४४ नम्बरको टाटा योद्धा गाडीबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।
फागुन १५ गते आइतबार भैसे प्रहरी चाैकीबाट खटिएकाे प्रहरी टाेलीले भीमफेदीबाट हेटौंडा तर्फ आउँदै गरेको उक्त गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ९ किलो ८ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले गाडीमा सवार भीमफेदी गाउँपालिका वडा नं ५ बस्ने ३२ वर्षीय सवीन रिजाल, २५ वर्षीय सोमसिं घलान, ६० वर्षीया जुठीमाया घलान, ६७ वर्षीय मानबहादुर घलान र ५० वर्षीय संचारसिं घलानलाई पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । मधेश प्रदेशको पर्सा जिल्लामा आगामी चैत्र २ गतेबाट सुरु हुने प्रथम वीरगंज महिला गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी पनि सहभागी हुने भएको छ । वीरगंज युथ एकेडेमीले आयोजना गर्ने उक्त प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिए । हेटौंडा फुटबल एकेडेमीमा २० जना महिला खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन् ।
एकेडेमीले हेटौंडा–४, हुप्रचौरमा दैनिक २ देखि ३ घण्टासम्म महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको प्रशिक्षक लामाले बताए । प्रतियोगिताको तयारी लागि प्रशिक्षणमा हेटौंडा बजारभन्दा टाढाबाट आउनुपर्ने महिला खेलाडीलाई आवासीय सुविधा उपलब्ध गराउने प्रयास भइरहेको लामाले जानकारी दिए। हेटौंडा बजारक्षेत्रका साथै हेटौंडाको हर्नामाडी, पदमपोखरी, मनहरी गाउँपालिकाको चकरी, सुनाचुरी, बागमती गाउँपालिकाका महिला खेलाडी एकेडेमीमा नियमित प्रशिक्षण गरिरहेका छन् ।
प्रशिक्षणमा रहेका महिला खेलाडीलाई नियमित प्रशिक्षण सुरु पश्चात गैंडाकोट नवलपुरको महिला टिम र बारा जिल्लाको अम्लेखगन्जस्थित महिला फुटबल टिमसँग एकेडेमीको महिला टिमले मैत्रीपूर्ण खेल खेलिसकेको छ ।
उक्त प्रतियोगितामा आयोजक वीरगंज युथ एकेडेमीसहित मकवानपुरको हेटौंडा फुटबल एकेडेमी र बागमती गाउँपालिकाको बागमती गाउँपालिका फुटबल खेलकुद विकास समिति, सर्लाहीको बागमती युवा क्लब, बारा जिल्लाको निजगढ फुटबल क्लब, अमलेखगन्जको सिद्धबाबा युवा क्लब, भारतको नरकटियागन्ज र छपरा टिम सहभागी हुनेछ । प्रतियोगिताको प्रथम हुनेले ३ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
चुनावी चहलपहलः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लाकाे नयाँ कार्यसमितिको लागि मतदान भएको छ । हेटौंडा-१ को चौकीटोलमा मतदान ताेकिएकाे समय भन्दा ३ घण्टा ढिलो सुरु भएको हो । निर्वाचनमा १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन् । मतदान कार्यक्रम बेलुका ५ बजेसम्म जारी रहने कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । नेतृत्वको लागि सभापतिमा आनन्दराम पराजुली, जयराम लामिछा र बुद्ध लामाकाे प्यानल चुनावी मैदानमा छ । तस्विरः सहिखबर




मकवानपुर/ वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गम १ लाख नगद सहित मकवानपुरमा सम्मानित हुने भएका छन् ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट यसवर्ष जङ्गमलाई सम्मान गर्न लागेको हो । आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय भएको सार्वजनिक गरिएको हो ।
हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ । जसको राशी एक लाख रुपैयाँ रहेको छ ।
२०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।
उनलाई २७ फागुनमा यो सम्मान प्रदान गरिने भएको छ । उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए ।
२०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, गायिका शुशिला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरेकाे हाे ।
शनिबार ५ साहित्यिक श्रष्टालाई विभिन्न साहित्य सम्मानबाट मम्मानीत गरेकाे संगमले २ जनालाई साहित्य पुरस्कारबाट सम्मानित गरेकाे छ। संगमले आफ्नाे ३ सय १६ औं साहित्य सन्ध्यामा उक्त सम्मान तथा पुरस्कार प्रदान गरेकाे हाे ।
यस वर्षकाे मकवानपुर साहित्य श्री सम्मानबाट मकवानपुरे युवा साहित्यकार सुवास खनाल सम्मानित भएका छन् । संगमले स्थापना गरेकाे उक्त सम्मान १५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे रहेकाे छ । यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति सम्मानबाट चितवनका साहित्यकार मनोज भण्डारी सम्मानित भएका छन् । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीकाे सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य सम्मानबाट मकवानपुरका साहित्यकार दीपक गौतम सम्मानित भएका छन् । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीकाे मङ्गलादेवी श्रेष्ठ स्मृति नारी साहित्य सम्मानबाट साहित्यकार रुकु कार्की सम्मानित भएकाे संगम अध्यक्ष अनिता न्याैपानेले जानकारी दिइन् ।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीकाे मुक्क्ति–तारा साहित्य सम्मानबाट समिक्षक घनश्याम घिमिरे सम्मानित भएका छन् । यो सम्मान पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने गरि स्थापना गरिएकाे न्याैपानेले बताइन् ।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारकाे राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ ।
न्याैपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिएकाे छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई १ जनालाई प्रदान गरिदै आएको छ ।
साहित्यकार तुल्सी थापाकाे विशिष्ट आथित्यता तथा संगम अध्यक्ष न्याैपानेकाे सभाध्यक्षतामा भएकाे ३ सय १६ औ साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्यहरुले मन्तव्य सहित साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा सम्मान तथा पुरस्कार संस्थापक सहित साहित्यकारहरु शम्भु बास्काेटा, मिन प्रसाद लामिछाने, देवराज तिवारी, राजकुमार लामिछाने, ह्याग्रिव आचार्य, शान्ति प्रीयवन्दना, पुरुषाेत्तम आचार्य, राम अविकास, सुनिल गाैतम, चिरञ्जिवी लामिछाने, विश्वनाथ सन्जेल, भावना सापकाेटा, भवानी तिमल्सिना,गंगा सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यस वर्षकाे भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्यकार हरिकला उप्रेती सम्मानित गरिने यस अघी नै सगमले निर्णय गरेकाे छ । वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त सम्मान आगामी फागुन १९ गते विहीबार अर्यालकाे स्मृति दिवसकाे दिन प्रदान गरिने न्याैपानेले बताइन् ।
