मकवानपुर । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरेकाे हाे ।
शनिबार ५ साहित्यिक श्रष्टालाई विभिन्न साहित्य सम्मानबाट मम्मानीत गरेकाे संगमले २ जनालाई साहित्य पुरस्कारबाट सम्मानित गरेकाे छ। संगमले आफ्नाे ३ सय १६ औं साहित्य सन्ध्यामा उक्त सम्मान तथा पुरस्कार प्रदान गरेकाे हाे ।
यस वर्षकाे मकवानपुर साहित्य श्री सम्मानबाट मकवानपुरे युवा साहित्यकार सुवास खनाल सम्मानित भएका छन् । संगमले स्थापना गरेकाे उक्त सम्मान १५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे रहेकाे छ । यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति सम्मानबाट चितवनका साहित्यकार मनोज भण्डारी सम्मानित भएका छन् । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीकाे सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य सम्मानबाट मकवानपुरका साहित्यकार दीपक गौतम सम्मानित भएका छन् । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीकाे मङ्गलादेवी श्रेष्ठ स्मृति नारी साहित्य सम्मानबाट साहित्यकार रुकु कार्की सम्मानित भएकाे संगम अध्यक्ष अनिता न्याैपानेले जानकारी दिइन् ।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीकाे मुक्क्ति–तारा साहित्य सम्मानबाट समिक्षक घनश्याम घिमिरे सम्मानित भएका छन् । यो सम्मान पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने गरि स्थापना गरिएकाे न्याैपानेले बताइन् ।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारकाे राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ ।
न्याैपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिएकाे छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई १ जनालाई प्रदान गरिदै आएको छ ।
साहित्यकार तुल्सी थापाकाे विशिष्ट आथित्यता तथा संगम अध्यक्ष न्याैपानेकाे सभाध्यक्षतामा भएकाे ३ सय १६ औ साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्यहरुले मन्तव्य सहित साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा सम्मान तथा पुरस्कार संस्थापक सहित साहित्यकारहरु शम्भु बास्काेटा, मिन प्रसाद लामिछाने, देवराज तिवारी, राजकुमार लामिछाने, ह्याग्रिव आचार्य, शान्ति प्रीयवन्दना, पुरुषाेत्तम आचार्य, राम अविकास, सुनिल गाैतम, चिरञ्जिवी लामिछाने, विश्वनाथ सन्जेल, भावना सापकाेटा, भवानी तिमल्सिना,गंगा सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यस वर्षकाे भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्यकार हरिकला उप्रेती सम्मानित गरिने यस अघी नै सगमले निर्णय गरेकाे छ । वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त सम्मान आगामी फागुन १९ गते विहीबार अर्यालकाे स्मृति दिवसकाे दिन प्रदान गरिने न्याैपानेले बताइन् ।

