मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेशनमा पार्टी सचिव बुद्ध लामाले समेत सभापति पदमा उम्मेदवारी घाेषणा गरेका छन् । पार्टी सचिव लामाले शनिबार हेटौंडा–५ स्थित हेटौंडा रिसोर्टमा घोषणा सभा आयोजना गरेर फागुन १५ गतेदेखि हुने अधिवेशनमा सभापति पदकाे लागि आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
लामाले सभापति पदमा सहमतिको प्रयास भइरहेकोले कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वमा चुनावमा जाने सहमति जुटेकाे अवस्थामा आफू ब्याक हुने समेत उम्मेदवार घाेषणा कार्यक्रममा लामाले बताए । लामाले लामिछाने लामो संघर्ष गरेर निरन्तर राजनीतिमा क्रियाशील रहेको भन्दै लामिछानेकै नेतृत्वमा आफूहरु जान तयार भएको प्रष्ट पारेका छन् ।
‘सहमतिकाे प्रयास असफल भए चुनावमा लामिछाने दाई जानुहुन्न मलाई सहयोग गर्नुहुन्छ, म पनि सभापति पदमा उम्मेदवारी दिन्छ् ।’ लामाले भने । उनले आफ्नो नेतृत्वमा निवर्तमान सभापति इन्द्रबहादुर बानियाँले जिल्लामा स्थापित गराएको कांग्रेसको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने बताए ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विक, प्रवक्ता प्रदीप कोइराला, सह सचिव रामबाबु बानियाँ, महिला नेतृ जानकी लामा, नेता प्रभात दाहाल, सुनिल दाहाल, प्रतिनिधि सभा २ का प्रदेश सभा क्षेत्र ख का सभापति रन्जन कालाखेती, क्षेत्र १ प्रदेश सभा ख का सभापति राजेश बानियाँ लगायतले भनाइ राखेका थिए ।
प्रतिनिधि सभा क्षेत्र २ का सभापति लोक बहादुर मोक्तानको अध्यक्षता तथा पार्टीको कार्यबहाक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा घोषणा कार्यक्रम भएकाे हाे ।
यस अघी शुक्रबार जिल्ला सभापति पदका लागि आनन्दराम पराजुलीले उम्मेदवारी घाेषणा गरेका थिए । शुक्रबार नै सभापति पदमा जयराम लामिछानेले प्यानल र प्रतिवद्धता सहितकाे उम्मेदवारी घाेषणा गरिसकेका छन् ।
कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनकाे निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली सार्वजानिक गर्ने रहेकाे छ भने सोमबार विहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने नेपाली काँग्रेस निर्वाचन जनाएको छ ।
मनाेनयन दर्ता गर्ने समयसम्म सहमति कायम हुन नसकेमा कांग्रेस मकवानपुर सभापतिका लागि ३ जना उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनिया र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्यायले सहमतिकाे लागि प्रयास गरिरहेकाे बताइएकाे छ ।

