मकवानपुर/ वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गम १ लाख नगद सहित मकवानपुरमा सम्मानित हुने भएका छन् ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट यसवर्ष जङ्गमलाई सम्मान गर्न लागेको हो । आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय भएको सार्वजनिक गरिएको हो ।
हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ । जसको राशी एक लाख रुपैयाँ रहेको छ ।
२०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।
उनलाई २७ फागुनमा यो सम्मान प्रदान गरिने भएको छ । उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए ।
२०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, गायिका शुशिला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

