मकवानपुर । मधेश प्रदेशको पर्सा जिल्लामा आगामी चैत्र २ गतेबाट सुरु हुने प्रथम वीरगंज महिला गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी पनि सहभागी हुने भएको छ । वीरगंज युथ एकेडेमीले आयोजना गर्ने उक्त प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिए । हेटौंडा फुटबल एकेडेमीमा २० जना महिला खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन् ।
एकेडेमीले हेटौंडा–४, हुप्रचौरमा दैनिक २ देखि ३ घण्टासम्म महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको प्रशिक्षक लामाले बताए । प्रतियोगिताको तयारी लागि प्रशिक्षणमा हेटौंडा बजारभन्दा टाढाबाट आउनुपर्ने महिला खेलाडीलाई आवासीय सुविधा उपलब्ध गराउने प्रयास भइरहेको लामाले जानकारी दिए। हेटौंडा बजारक्षेत्रका साथै हेटौंडाको हर्नामाडी, पदमपोखरी, मनहरी गाउँपालिकाको चकरी, सुनाचुरी, बागमती गाउँपालिकाका महिला खेलाडी एकेडेमीमा नियमित प्रशिक्षण गरिरहेका छन् ।
प्रशिक्षणमा रहेका महिला खेलाडीलाई नियमित प्रशिक्षण सुरु पश्चात गैंडाकोट नवलपुरको महिला टिम र बारा जिल्लाको अम्लेखगन्जस्थित महिला फुटबल टिमसँग एकेडेमीको महिला टिमले मैत्रीपूर्ण खेल खेलिसकेको छ ।
उक्त प्रतियोगितामा आयोजक वीरगंज युथ एकेडेमीसहित मकवानपुरको हेटौंडा फुटबल एकेडेमी र बागमती गाउँपालिकाको बागमती गाउँपालिका फुटबल खेलकुद विकास समिति, सर्लाहीको बागमती युवा क्लब, बारा जिल्लाको निजगढ फुटबल क्लब, अमलेखगन्जको सिद्धबाबा युवा क्लब, भारतको नरकटियागन्ज र छपरा टिम सहभागी हुनेछ । प्रतियोगिताको प्रथम हुनेले ३ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

