मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस मकवानपुर जिल्लाकाे नयाँ कार्य समितिकाे लागि भएकाे मतदान कार्यक्रम सकिएकाे छ । सोमबार अपरान्न १२ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।
मकवानपुरकाे सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १ हजार ७ सय ७५ मत खसेको छ । जिल्लामा रहेकाे कुल १ हजार ८ सय ५१ मतदाता मध्ये ७६ जना मतदाता मतदान कार्यक्रममा अनुपस्थित रहेका थिए । मतगणना कार्य समेत नेपाली काग्रेस पार्टी कार्यालयमा आज रातीबाटनै सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यसमिति सदस्यमा ८ जना निर्विरोध
कांग्रेस जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । चुनावी प्रकृया अन्तर्गत आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएको कांग्रेस निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएको छ ।
निर्विरोध निर्वाचित हुने सदस्यहरुमा दलित तर्फ डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फ भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी र बागमती गाउँपालिकाको खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्ला तर्फ सेतेमान वल रहेका छन् ।
जिल्ला सभापति सहित बाँकी पदहरुका लागि भने सोभबार चुनाव भएकाे हाे । निर्वाचनमा ४८ पदका लागि १ सय १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नयाँ नेतृत्वकाे लागि १ सभापति पदमा ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदमा ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै भूगोल तथा कल्स्टरमा गरी ९२ जना सदस्यहरुको उम्मेदवारी परेको थियो ।
सभापति पदमामा आनन्दराम पराजुली,जयराम लामिछाने र बुद्ध लामा, प्यानल सहित प्रतिस्पर्धामा रहेका छन् ।
मनोनयन शुल्क ४ लाख ३९ हजार
जिल्ला अधिवेशनमा मनोनयन शुल्क बापत् ४ लाख ३९ हजार रुपैयाँ उठेकाे छ । सभापति पदमा ३० हजार, उपसभापति पदमा ४९ हजार, सचिव पदमा ४२ हजार र सहसचिव पदमा ४२ हजार गरी पदाधिकारी उम्मेदवारी मनाेनयन दर्ता १ लाख ६३ हजार संकलन भएको हो । यस्तै सदस्य पदका लागि ९२ जनाले तीन हजारका दरले मनोनयन दर्ता शुल्क २ लाख ७६ हजार संकलन भएको छ।

