मकवानपुर । माइती नेपाल मकवानपुरले आगामी १ बर्ष सञ्चालन हुने मानव बेचविखन रोकथाम परियोजना बारे हेटौंडा उपमहानगरपालिकासँग पूर्व सहमति बैठक गरेको छ ।
परियोजना अन्तरगत बेचविखनमा परेका वा बेचबिखनको जोखिममा रहेका, विद्यालय छाडेर बसेका वा छाड्ने अवस्थामा रहेका, जबरजस्ती श्रम गर्न बाध्य तथा यौन हिंसा र दुर्ब्यवहारमा परेका महिला, किशोरीहरुलाई उद्धार गरी आबधिक सेल्टरको सहयोग, सिपमुलक कार्यक्रम तालीम प्रदान गर्ने उदेश्य रहेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
आगामी १ बर्ष सन्चालन हुने परियोजना मार्फत किशोरीहरुलाई उनीहरुको बौद्धिक क्षमतामा बृद्धि गरी सबै खाले हिंसाको विरुद्धमा महिला अभियानकर्ताको रुपमा स्थापित हुन सहयोग गर्ने, सरकारी तथा गैर सरकारी संस्था, महिला तथा बालबालिकाहरुसँग सम्बन्धित संस्थाहरु र संजालसँग सहकार्य र समन्वय गरी मानव बेचविखन र सबै खाले हिंसा विरुद्ध लड्न एक्यवद्धता गर्ने लामाले बताइन् ।
परियोजना अन्तरगत उद्धार गरिएका तथा जोखिम अवस्थाका ४० जना महिला तथा किशोरीहरुलाई आवासीय सेवा सहित सिलाई कटाई तालिम प्रदान गर्ने, सिलाई कटाई तालिममा सहभागीहुनेहरुको लागि शैक्षिक एक्सपोजर भ्रमण आयोजना गर्ने,
परामर्श प्रदान गरी मानव बेचबिखन बिरुद्धको अभियानकर्ता वा परामर्शकर्ताको रुपमा विकास गर्ने, सहभागी हुने ४० जना महिला तथा किशोरीहरुको लागि नेतृत्व विकास संचार, सामुहिक गतिशीलता र सहजीकरण, महिला तथा किशोरीहरुको अधिकार सम्बन्धी भएका कानुनी प्राबधानहरु र मानब बेचबिखन बिरुद्ध कानुनी ज्ञान सम्बन्धी जानाकारी गराइने छ।
परियोजना संञ्चालित क्षेत्रमा रहेको सरकारी संयन्त्र परियोजना परामर्श समितिसँग वैठक आयोजना गरी कार्यक्रमको गत बर्षको प्रगति विवरण र यस बर्षको योजनाबारे जानाकारी गराई प्राप्त सुझाब र सल्लाहलाई कार्यक्रममा संलग्न गर्ने पनि लामाले बताइन् । सचेतनाको लागि मानब बेचबिखन बिरुद्ध सचेनात्मक रेडियो कार्यक्रम, जिङ्गल निर्माण गर्ने, रेडियोवाट प्रसारित गर्ने र उक्त कार्यक्रम निर्माण गर्दा स्थानिय भाषालाई पहिलो प्राथमिकता दिईने उनले बताइन् ।

विद्यालयमा किशोर तथा किशोरीहरुलाई मानव बेचबिखन र सुरक्षित बसाईसराई बारे जानकारी प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा मनाईने विभिन्न दिवस तथा सचेतनात्मक अभियानहरु संञ्चालन गर्ने, विश्व एड्स दिवस,बाल दिवस,मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस, लैगिंक हिंसा विरुद्धको दिवस, अन्तराष्ट्रिय महिला दिवस उद्धार तथा रोकथाम गरिएका महिलाहरुलाई पुर्नमिलनको समयमा परामर्श सेवा प्रदान गर्ने लामाले बताइन् ।
हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाको अध्यक्षतामा भएको बैठकमा लामाले मानव बेचविखन तथा असुरक्षित बसाइसराई न्यूनिकरण सम्बन्धमा पैरवी कार्यक्रम गर्ने, मानव बेचविखन तथा असुरक्षित बसाइसराई न्यूनिकरण सम्बन्धमा सरोकारवालासंग समन्वय गरेर अगाडी बढ्ने, स्थानीय सरकारसँग समन्वायत्मक बैठक आयोजना गरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा सहकार्य गरेर अगाडि बढिनेछ।
यसैगरी होटल व्यवसायी र यातायात कर्मीहरुसंग मानव बेचविखन, लैगिंक हिंसा, बाल श्रमशोषण तथा जवरजस्ती श्रमका विरुद्ध सचेतनामुलक गोष्ठीहरु संञ्चालन गरिने छ । यो परियोजनाबाट प्रत्यक्ष रुपमा ४ हजार ५ सय जना र अप्रत्यक्ष रूपमा २४ हजार जना लाभाविन्त हुने लामाले बैठकमा जानकारी दिइन्।
बैठकमा माइती नेपाल मकवानपुरको फिल्ड सुपरभाइजर मन लामा, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा, समाज कल्याण शाखा प्रमुख भैरव कुमाल, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सञ्जाल संयोजक आरती पाठक, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबा, साना हातहरू नेपालका डिकम्बर रुपाचालगायतको उपस्थिति रहेको थियो ।

