आँचलको आयोजनामा फागुन २१ र २२ गते साहित्य महाेत्सव
Tags: No Comments
मकवानपुर । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा साहित्य महोत्सव आयोजना गर्ने भएकाे छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर साहित्यक महोत्सवको आयोजना गरेको हो ।
साहित्यका विभिन्न विषय र साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्तर्क्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । ‘महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने छ’ न्याैपानेले भनिन्– ‘महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनेछ ।’
महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकार बीच साहित्य आदानप्रदान हुने न्यौपानले जानकारी दिइन् । सााहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिस्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको छ ।
दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार आउने जनाइएको छ । फागुन २० गते शुक्रबार उद्घाटन हुने महोत्सवमा ‘साहित्यमा राजनीति’ विषयमाथि बहस हुने छ । त्यस्तै महोत्सवमा कविता, गीत, गजल, मुक्तक वाचन कार्यक्रम रहेको आँचलकी सचिव भावना सापकोटाले बताईन् ।
यस्तै महोत्सवमा ‘समकालिन कविताको मार्ग चित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम पनि रहेको सचिव सापकोटाले जानकारी दिइन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महोत्सव अन्र्तगत ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहस भने पर्यटकीय स्थल गुम्बाडाँडामा हुने छ । यस्तै महोत्सवमा ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यस माथि बहस हुने जनाइएको छ । यस बाहेक महोत्सवमा साङ्गीतिक कार्यक्रम, पुस्तक प्रर्दशनी, कला प्रर्दशनी समेत हुने छ ।
महोत्सवमा ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् । ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् । यस्तै ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छनभने यसको सहजकर्ता निमेष निखिल रहेका छन् । यसैगरी ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यक्रम कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नेछिन् । कार्यपत्र माथि प्रणेता र राम अविकासले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।
मकवानपुर । मकवानपरे कवी तथा व्यङ्ग्यकार मीनप्रसाद लामिछानेकाे व्यङ्ग्य कविता सङ्ग्रह मैले जीउन जानिन विमाेचन गरिएकाे छ ।
लामिछानेकाे हास्यव्यङ्ग्य कविता सङ्ग्रह बिहीबार हेटाैंडास्थित पुष्पलाल स्मृति पुस्तकालयमा आयाेजित कार्यक्रममा सार्वजनिक गरिएकाे हाे । हास्यव्यङ्ग्यकार एवम् सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कृतिकार लामिछानेका बुवा लिलानाथ लामिछाने लगायतले कृतिकाे विमाेचन गरेका हुन् । सङ्ग्रहमा ४१ वटा हास्यव्यङ्ग्य कविता रहेका छन् ।
कृतिमाथि समीक्षा गर्दै सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले वर्तमान समयका विभिन्न भाेगाईहरु व्यङ्ग्यात्मक शैलीमा कृतिमार्फत उजागर गरिएकाे बताए । हास्य र व्यङ्ग्यलाई मिलाएर प्रस्तुत गर्नु जटिल काम भएकाे बताउँदै निखिलले त्यस्ताे जटिलतालाई चिर्दै लामिछानेले उत्कृष्ट कविता पस्किएकाे बताए ।

कार्यक्रममा कृतिकार लामिछानेले विचार र कलालाई एकसाथ पस्कनु चुनाैतीपूर्ण रहेकाे बताउँदै आफूले हास्यव्यङ्ग्यका साथमा विचारसमेत प्रदान गर्ने प्रयास गरेकाे बताए । प्रमुख अतिथि गाम्नाङ्गेले हास्यव्यङ्ग्यकाे लागि मकवानपुर उर्वर भूमि बन्दै गएकाे बताएका थिए ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे आयाेजनामा कृति विमाेचन कार्यक्रम भएकाे हाे । सिस्नपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष गाम्नाङ्गेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

मकवानपुर । यस वर्षकाे भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार हरिकला उप्रेती सम्मानित भएकी छिन् । फागुन १९ गते साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपरले आयाेजना गरेकाे सम्मान समर्पण तथा व्यङ्ग्य कविता सङ्ग्रह विमाेचन कार्यक्रममा भक्तपुरकी हास्यव्यङ्ग्य कवि उप्रेतीलाई उक्त सम्मानबाट सम्मानित गरिएकाे हाे ।
वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे राशीकाे उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गत माघ १८ गते बसेकाे संगमकाे बैठकले उक्त सम्मान उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेकाे थियाे । हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीकाे तीनवटा कृति प्रकाशित रहेकाे छ ।

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे आयाेजनामा भैरव अर्याल स्मृति सम्मान कार्यक्रम भएकाे हाे । सिस्नपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष गाम्नाङ्गेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
मकवानपुर।मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा-८ रहेको एक उद्योगमा गएराती आगलागी भएको छ । आगलागी अझै नियन्त्रणमा नआएको नगरपालिकाको बारूणयन्त्र शाखाले जनाएको छ ।
हेटौंडा-८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको हो ।
गएराति साँडे ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले आगो निभाउने कार्य जारी रहेको बताए ।
हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भई रहेको छ ।
आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश बिपद् व्यवस्थापन गुल्मबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टोली, शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुरबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको प्रवक्ता रिमालले बताए ।
उक्त गोदाममा पचास हजार भुसको बोरा रहेको प्रहरीले जनाएको छ । आगलागी बाट कुनै पनि मानविय क्षती नभएको तर गोदाम जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी जयराम लामिछानेले नवनिर्वाचित पदाधिकारीहरुको सम्मान गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा उपस्थित काँग्रेस मकवानपुरका नेताहरुले आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचन भएकाे बताएका छन् । उनीहरुले पार्टीलाई मकवानपुरमा एक नम्बरको पार्टी बनाउन लागि पर्ने बताए । कार्यक्रममा नवनिर्वाचित जिल्ला सभापति बुद्ध लामाले पार्टीभित्रको सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताए । उनले भने ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकियाे ।’ अब मकवानपुर कांग्रेसमा कुनैपनि गुट उपगुट नहुने लामाले दावी समेत गरेका छन् ।
सम्मान कार्यक्रममा सभापतिका प्रत्यासी पराजुलीले जिल्ला अधिवेशनका प्रतिनिधिहरुले सभापतिका सबै उम्मेदवारलाई समान हैसियत दिएको भन्दै सभापतिमा पराजित भएपनि आफ्नो क्रियाशीलतामा कमी नआउने प्रतिवद्धा व्यक्त गरे । उनले गत निर्वाचनमा मेयरमा झिनो मतान्तरले पराजित भएपनि पार्टीको संगठन निर्माणमा अहोरात्र खठिएको स्मरण गराउँदै अबका दिनमा पनि आफ्नो क्रियाशिलतामा कुनै कमि नआउने बताए ।
यस्तै सभापतिका अर्का उम्मेदवार लामिछानेले पार्टीभित्र विचार र समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै काँग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताएका छन् । लामिछानेले स्थानीय तहको निर्वाचनकाे लागि आफूहरु एकै मत र मन भएर संगठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भने ‘सबै कांग्रेस जन एकजुट भएर आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत हुनुपर्छ ।’
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानेले अबको नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर लैजान अहम भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित लामा सहित उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वरकुमार पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँलाई सम्मान गरिएको थियो ।
