मकवानपुर । यस वर्षकाे भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार हरिकला उप्रेती सम्मानित भएकी छिन् । फागुन १९ गते साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपरले आयाेजना गरेकाे सम्मान समर्पण तथा व्यङ्ग्य कविता सङ्ग्रह विमाेचन कार्यक्रममा भक्तपुरकी हास्यव्यङ्ग्य कवि उप्रेतीलाई उक्त सम्मानबाट सम्मानित गरिएकाे हाे ।
वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे राशीकाे उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गत माघ १८ गते बसेकाे संगमकाे बैठकले उक्त सम्मान उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेकाे थियाे । हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीकाे तीनवटा कृति प्रकाशित रहेकाे छ ।

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे आयाेजनामा भैरव अर्याल स्मृति सम्मान कार्यक्रम भएकाे हाे । सिस्नपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष गाम्नाङ्गेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

