मकवानपुर । मकवानपरे कवी तथा व्यङ्ग्यकार मीनप्रसाद लामिछानेकाे व्यङ्ग्य कविता सङ्ग्रह मैले जीउन जानिन विमाेचन गरिएकाे छ ।
लामिछानेकाे हास्यव्यङ्ग्य कविता सङ्ग्रह बिहीबार हेटाैंडास्थित पुष्पलाल स्मृति पुस्तकालयमा आयाेजित कार्यक्रममा सार्वजनिक गरिएकाे हाे । हास्यव्यङ्ग्यकार एवम् सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कृतिकार लामिछानेका बुवा लिलानाथ लामिछाने लगायतले कृतिकाे विमाेचन गरेका हुन् । सङ्ग्रहमा ४१ वटा हास्यव्यङ्ग्य कविता रहेका छन् ।
कृतिमाथि समीक्षा गर्दै सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले वर्तमान समयका विभिन्न भाेगाईहरु व्यङ्ग्यात्मक शैलीमा कृतिमार्फत उजागर गरिएकाे बताए । हास्य र व्यङ्ग्यलाई मिलाएर प्रस्तुत गर्नु जटिल काम भएकाे बताउँदै निखिलले त्यस्ताे जटिलतालाई चिर्दै लामिछानेले उत्कृष्ट कविता पस्किएकाे बताए ।

कार्यक्रममा कृतिकार लामिछानेले विचार र कलालाई एकसाथ पस्कनु चुनाैतीपूर्ण रहेकाे बताउँदै आफूले हास्यव्यङ्ग्यका साथमा विचारसमेत प्रदान गर्ने प्रयास गरेकाे बताए । प्रमुख अतिथि गाम्नाङ्गेले हास्यव्यङ्ग्यकाे लागि मकवानपुर उर्वर भूमि बन्दै गएकाे बताएका थिए ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे आयाेजनामा कृति विमाेचन कार्यक्रम भएकाे हाे । सिस्नपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष गाम्नाङ्गेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।


