मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी जयराम लामिछानेले नवनिर्वाचित पदाधिकारीहरुको सम्मान गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा उपस्थित काँग्रेस मकवानपुरका नेताहरुले आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचन भएकाे बताएका छन् । उनीहरुले पार्टीलाई मकवानपुरमा एक नम्बरको पार्टी बनाउन लागि पर्ने बताए । कार्यक्रममा नवनिर्वाचित जिल्ला सभापति बुद्ध लामाले पार्टीभित्रको सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताए । उनले भने ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकियाे ।’ अब मकवानपुर कांग्रेसमा कुनैपनि गुट उपगुट नहुने लामाले दावी समेत गरेका छन् ।
सम्मान कार्यक्रममा सभापतिका प्रत्यासी पराजुलीले जिल्ला अधिवेशनका प्रतिनिधिहरुले सभापतिका सबै उम्मेदवारलाई समान हैसियत दिएको भन्दै सभापतिमा पराजित भएपनि आफ्नो क्रियाशीलतामा कमी नआउने प्रतिवद्धा व्यक्त गरे । उनले गत निर्वाचनमा मेयरमा झिनो मतान्तरले पराजित भएपनि पार्टीको संगठन निर्माणमा अहोरात्र खठिएको स्मरण गराउँदै अबका दिनमा पनि आफ्नो क्रियाशिलतामा कुनै कमि नआउने बताए ।
यस्तै सभापतिका अर्का उम्मेदवार लामिछानेले पार्टीभित्र विचार र समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै काँग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताएका छन् । लामिछानेले स्थानीय तहको निर्वाचनकाे लागि आफूहरु एकै मत र मन भएर संगठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भने ‘सबै कांग्रेस जन एकजुट भएर आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत हुनुपर्छ ।’
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानेले अबको नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर लैजान अहम भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित लामा सहित उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वरकुमार पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँलाई सम्मान गरिएको थियो ।

