मकवानपुर । मकवानपुरमा पहिलो पटक प्याराग्लाईडिङ परीक्षण गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ बुढीचौरमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको सन्दर्भमा मकवानपुरगढी गाउँपालिका-८ बुढिचौरको युल्जाङ डाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको हो । गाउँपालिकाको सबैभन्दा विकट र प्राकृतिक स्रोतले भरिपुर्ण बुढीचौरमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्याराग्लाइडिङको परीक्षण गरिएको वडाअध्यक्ष कुमार सिं घिसिङले बताए । प्याराग्लाइडिङको माध्यमबाट बुढीचौरमा रहेको ऋृषेश्वर गुफालाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने अध्यक्ष घिसिङले बताए ।
प्याराग्लाइडिङ परीक्षण गर्न पोखराबाट ३ जनाको टोली ल्याईएको र २ दिन परीक्षण गराइएको वडाध्यक्ष घिसिङले बताए । बुढीचौरको युल्जाङ डाँडाबाट उडान भएको प्याराग्लाइडिङ बुढीचौरकै खेलमैदानमा ल्यान्ड गरिएको थियो । प्याराग्लाइडिङ परीक्षणका लागि गाउँपालिकाले दुई लाख बजेट उपलब्ध गराएको थियो ।
गाउँपालिकाले महाभारत पर्वत शृङ्खलाको काखमा रहेको बुढीचौरमा व्यवसायीक प्याराग्लाडिङ र वञ्जीजम्प सञ्चालन गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए ।
मकवानपुर । हेटौंडा नगरका सडकलाई साइकलमैत्री बनाउन सकिने बताइएकाे छ । आँचल साहित्य कला पुञ्ज र हिमालयन राइडर्स साेसाइटी मकवानपुरकाे आयाेजनामा शनिबार हेटौंडामा आयोजना भएकाे हेटाैडामा साइकल संरचनाकाे सम्भावना कार्यक्रममा हेटौंडा सहर साइकलमैत्री बन्न सक्ने अवधारणा प्रस्तुत गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्रिभूवन विश्वविद्यालय अंग्रेजी विभागका उपप्राध्यापक डा. तारालाल श्रेष्ठले हेटौंडा सहर साइकलमैत्री बन्न सक्ने अवधारणा पत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले नगरका केही सडकमा तत्काल साइकल लेन निर्माण गर्न सकिने बताएका छन् । बजारका आवश्यक स्थानमा साइकल स्ट्याण्ड निर्माण गर्न सकिने अवधारणा सार्वजनिक गरिएको छ ।
हेटौंडा नगरको सडक चारैतिर कम्तिमा पनि ३५ फिटदेखि ४० फिटभन्दा बढी चौडाई रहेको प्रारम्भिक अध्ययनमा देखिएको हिमालयन राइडर सोसाइटीका ईन्जिनियर सागर पन्थीले बताए । उक्त सडकहरुमा करिब ५ फिट दुबैतर्फ पैदलमार्ग समेत रहेको देखिन्छ । बिश्वका नमूना साइकल सहरहरुमा कम्तिमा साँढे २ देखि ३ मिटरसम्म साइकलको लागि छुट्याउने गरेको पन्थीले जानकारी दिए ।

हेटौंडाको सबेै सडहरुमा करिब ३ फिट चौडाई साइकल लेनकालागि उपलब्ध गराउँदा पनि ईन्धनजन्य सवारीसाधनलाई कुनै नकारात्मक असर नपर्ने अवस्था देखिएको छ । बिश्वकाअत्यधिक जनसंख्या रहेका सहरहरुमाअहिले सवारीजन्य प्रदुषण कम गर्न चौडा सडकहरुलाई साँघुरो बनाउँदै साइकल लेन, हरियाली विकास, सार्बजनिक खुलास्थान अदिको ब्यवस्था गरिएको छ । जसले आमजनमासलाई पैदलवा साइकलमार्फत आवतजावतगर्न प्रोत्साहन गरेको छ ।
एकतर्फी मोटरबाटोमा दुईतर्फी साइकल लेन समेतको ब्यवस्था गरिएको छ । यसले इन्धनजन्य सवारी साधनमाभन्दा साइकलमा यात्रा गर्दा सबै हिसावले सहज र कम खर्चिलो बनाउने गर्दछ । हेटौंडा बजार क्षेत्र बिस्तार बिशाल छैन ।
एक कुनाबाट अर्को कुना पुग्नकालागि करिब ५ मिनेट मात्रै साइकलमा समय लाग्ने देखिन्छ । यसर्थ हेटौंडा बजारलाई साइकलमैत्री सुन्दर नमूना सहरका रुपमा विकास गर्दै अन्ततः दिगो सहरीकरण स्थापित गर्न ईन्धनजन्य सवारी साधनलाई भबिश्यमान्यूनीकरण गर्न सम्भव देखिएको डा. श्रेष्ठले बताए ।
निमेश निखिलले संचालन गरेको कार्यक्रममा हेटाैडा ६ का वडाअध्यक्ष अर्जुन चौलागाई, मकवानपुर साईकल संघका अध्यक्ष संगीत श्रेष्ठ, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष अनिता न्यौपाने हेटौंडाका साईकल अभियन्ताहरुको सहभागिता रहेको थियो ।

मकवानपुर / हेटौंडा अस्पतालले आयोजना गरेको शिविरमा जाँच गराउन आएमा मध्ये ४१ प्रतशित बिरामीको उपचारको लागि शल्यक्रिया नै गर्नुपर्ने देखिएको छ । सामान्य औषधि खुवाएर वा लगाएर निको नहुने अवस्था भएपछि उनीहरुलाई थप उपचार अर्थात शल्यक्रियाको लागि रिफर गरिएको छ ।
मकवानपुरको हेटौंडा अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराइएका मध्ये ४१ प्रतिशतको स्वास्थ्य समस्या जटिल प्रकृतिको भएको पाइएपछि शल्यक्रियाको लागि रिफर गरिएको हो । रिफर गरिएका सबै बिरामीको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौमा निशुल्क शल्यक्रिया हुनेछ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मनहर कुमार यादबले स्वास्थ जाँच गरेका थिए ।
शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएकोमा ३७ जनाको शल्यक्रिया अनिवार्य भएकोले थप उपचारको लागि रिफर गरिएको शिविरका संयोजक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यापक सुपेन्द्र कार्कीले बताए । शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

त्यस्तै शिबिरमा मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको बिरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामीहरु, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौँलागाईले बताए ।
दुई दिनसम्म शिविर सञ्चालन गर्ने भनिएता पनि उपस्थित बिरामी जाँचको लागि बाँकी नभएकोले आइतबार शिविर नहुने कार्कीले बताए । यद्यपि तोकिएको अवस्थाको बिरामी स्वास्थ्य जाँचको लागि आएमा कुनै पनि समयमा उनीहरुलाई उपचारमा सहजिकरण तथा समन्वय गरिने कार्कीले बताए ।
मकवानपुर/ मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौल सहित १६ बुंदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सकिएको छ ।
बागमती प्रदेशलगायत देशको सातै प्रदेशमा जारी मानव अधिकार रक्षक प्रादेशिक दुई दिने सम्मेलनमा मानव अधिकार रक्षकहरूलाई राज्यले सुरक्षाको सुनिश्चितता सहित पीडितलाई तत्काल उद्वार गर्ने टिमको व्यवस्था गर्नुपर्ने औल्याईएको छ । सम्मेलनले ११ बुंदे स्थिती पत्र तथा १६ बुँदे घोषणा पत्र जारी गरेको हो ।
राजनीतिक नेतृत्व, सुरक्षा निकाय र सरकारी संयन्त्रले मानव अधिकार रक्षकको भूमिका र पहिचानलाई प्रयाप्त ध्यान नदिएको, दलहरूले बेलाबेला आफ्नो कार्यकर्ताहरूलाई मानव अधिकार उल्लंघनका घटनामा समेत संलग्न गराएको अवस्था प्रति सम्मेलनमा ध्यानाकर्ष भएको थियो ।
मानव अधिकार हनन्का घटनामा पीडितहरूकोन्यायको लागि आवाज उठाउने ब्यक्तिले धम्की, हिंसा तथा गैरकानुनी पक्राउ जस्ता कार्यहरूको सामना गर्नु परेको, महिला मानव अधिकारकर्मींहरूले विभिन्न खालका दुव्र्यवहार र हिंसा भोग्नु तथा लान्छना र आरोपको सामना गर्नु परिरहेको, जघन्य आपराधिक घटनामा समेत भित्रभित्रै मिलाउन खोज्ने, प्रहरी प्रशासनले समेत मिलापत्र गराउन पहल गर्ने परिपाटीले मानव अधिकार रक्षकहरू नै जोखिममा पर्ने खतरा रहेको, पीडकबाट मानवअधिकार रक्षकहरूलाई विभिन्न डर, धाक/धम्की दिने गरेका कारण मानवअधिकार रक्षकहरू विस्थापित भइरहेको स्थिती सार्वजनिक गरिएको छ ।

यसैगरी स्थानीय स्तरमा मानव अधिकार रक्षकहरूले आवश्यक सूचना लिनुपर्दा सहजै नपाइने अवस्था रहेको रहेको स्थिती पत्रका उल्लेख छ । यसैगरी सम्मेलनको घोषणापत्रमा समानता, सम्मान, संरक्षण र सुरक्षाको लागि मानव अधिकार रक्षकसम्बन्धी तीनतहका सरकारले कानून तर्जुमा गरी कार्यान्वयन गरिनुपर्ने, मानवअधिकार रक्षकहरूले आफूले कामगर्ने क्षेत्रमा सहज रुपमा सूचनाको पहुँच पाउने गरी स्थानीयदेखि संघीयतहसम्म राष्ट्रिय मानवअधिकार आयोगले समन्वय गरिदिनुपर्ने, आयोगले मुलुकभित्र रहेका मानव अधिकार रक्षकहरूको सूचीतयार गर्ने र सोको नियमित अद्यावधिक गरिनु पर्ने घोषणा गरिएको छ ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकहरूको मापदण्ड निर्धारण, वार्षिक प्रतिवेदन, उचित सम्मान र पुरस्कार व्यवस्था गनुपर्ने, आयोग र तीनै तहका सरकारले विभिन्न क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकको क्षमता अभिवृद्धिमा उचित ध्यान दिनुपर्ने, उल्लेख छ ।
आयोगले सातै प्रदेशबाट आएको स्थिति पत्र र घोषणा पत्रलाई कम्पाइल गरेर सरकारलाई सुझावको रुपमा बुझाउने अयोगको सदस्य लिलि थापाले बताइन् । दुई दिनसम्म चलेको सम्मेलमा इन्सेक, पत्रकार महासंघ, सञ्चारिका समूह, सिविन बाल हेल्प लाईन, माइती नेपाल, अपाङग महासंघ, दलित महासंघ, बार एशोसियस, मानव अधिकार संगठन, विभिन्न गैससका प्रतिनिधिहरु सहभागी थिए ।
हेर्नुहाेस घोषणा पत्र


मकवानपुर /मकवानपुर जिल्लाको थाहा नगरपालिका जिल्ला कै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।
थाहाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगती अनलाइन रिपोटिङ फोकल पर्सन सुरज कुमार भुजेलले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।
‘आयोगले तोकेको सूचकमा थाहानगरले पाएकाे अंक रिपोटिङमा गरे भन्दा कम अंक हो, कामकाे आधारमा अझ पुर्नमूल्याङ्कनका लागि प्रमाण पेश गछौं’ भुजेलले भने । आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
पालिकाको प्रमुख तथा जनप्रतिनीधिहरुको सहयोगबाटै उपलब्धी हासिल गर्न सकिएको थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । पालिकाको वित्तिय सेवा प्रवाहलाई थप सुधार गर्दै लैजाने प्रशासकीय अधिकृत पुरीको प्रतिवद्धता छ । पालिकाको कार्य सम्पदन मूल्याङ्कनका प्रभावकारी रुपमा जिम्मेवार बहन गर्ने सबै जनप्रतिनीधि र कर्मचारीलाई नगर प्रमुख लवशेर विष्टले धन्यवाद दिएका छन् ।
आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क मकवानपुरको मनहरी गाउँपालिकाले पाएको छ । मनहरीले ४४.१३ अंक पाएको हो । त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ६५.०७, बकैयाले ६१.८८, राक्सिराङले ६०, कैलाशले ५६.९९, भिमफेदीले ५६.४५, बागमतीले ५३.१७, इन्द्रसरोवर गाउँपालिकाले ५१.०२ र हेटौंडा उपमहानगरपालिकाले ४५.७३ मूल्याङ्कन अंक पाएको छ ।
आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ ।
