मकवानपुर / हेटौंडा अस्पतालले आयोजना गरेको शिविरमा जाँच गराउन आएमा मध्ये ४१ प्रतशित बिरामीको उपचारको लागि शल्यक्रिया नै गर्नुपर्ने देखिएको छ । सामान्य औषधि खुवाएर वा लगाएर निको नहुने अवस्था भएपछि उनीहरुलाई थप उपचार अर्थात शल्यक्रियाको लागि रिफर गरिएको छ ।
मकवानपुरको हेटौंडा अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराइएका मध्ये ४१ प्रतिशतको स्वास्थ्य समस्या जटिल प्रकृतिको भएको पाइएपछि शल्यक्रियाको लागि रिफर गरिएको हो । रिफर गरिएका सबै बिरामीको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौमा निशुल्क शल्यक्रिया हुनेछ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मनहर कुमार यादबले स्वास्थ जाँच गरेका थिए ।
शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएकोमा ३७ जनाको शल्यक्रिया अनिवार्य भएकोले थप उपचारको लागि रिफर गरिएको शिविरका संयोजक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यापक सुपेन्द्र कार्कीले बताए । शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

त्यस्तै शिबिरमा मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको बिरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामीहरु, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौँलागाईले बताए ।
दुई दिनसम्म शिविर सञ्चालन गर्ने भनिएता पनि उपस्थित बिरामी जाँचको लागि बाँकी नभएकोले आइतबार शिविर नहुने कार्कीले बताए । यद्यपि तोकिएको अवस्थाको बिरामी स्वास्थ्य जाँचको लागि आएमा कुनै पनि समयमा उनीहरुलाई उपचारमा सहजिकरण तथा समन्वय गरिने कार्कीले बताए ।

