मकवानपुर । मकवानपुरमा पहिलो पटक प्याराग्लाईडिङ परीक्षण गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ बुढीचौरमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको सन्दर्भमा मकवानपुरगढी गाउँपालिका-८ बुढिचौरको युल्जाङ डाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको हो । गाउँपालिकाको सबैभन्दा विकट र प्राकृतिक स्रोतले भरिपुर्ण बुढीचौरमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्याराग्लाइडिङको परीक्षण गरिएको वडाअध्यक्ष कुमार सिं घिसिङले बताए । प्याराग्लाइडिङको माध्यमबाट बुढीचौरमा रहेको ऋृषेश्वर गुफालाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने अध्यक्ष घिसिङले बताए ।
प्याराग्लाइडिङ परीक्षण गर्न पोखराबाट ३ जनाको टोली ल्याईएको र २ दिन परीक्षण गराइएको वडाध्यक्ष घिसिङले बताए । बुढीचौरको युल्जाङ डाँडाबाट उडान भएको प्याराग्लाइडिङ बुढीचौरकै खेलमैदानमा ल्यान्ड गरिएको थियो । प्याराग्लाइडिङ परीक्षणका लागि गाउँपालिकाले दुई लाख बजेट उपलब्ध गराएको थियो ।
गाउँपालिकाले महाभारत पर्वत शृङ्खलाको काखमा रहेको बुढीचौरमा व्यवसायीक प्याराग्लाडिङ र वञ्जीजम्प सञ्चालन गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए ।

