मकवानपुर/वडा कार्यालयमा गरिएको तोडफोड तथा वडा अध्यक्षको कुर्सी सडकमा फ्याँक्ने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा शुक्रबार गरिएको तोडफोड विरुद्ध कारवाहीको माग गर्दै स्थानीयहरुले ज्ञापन पत्र बुझाएका हुन् । वडावासीले जिल्ला प्रशासन कार्यालयमा नारावाजी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई आज ज्ञापनपत्र बुझाएका हुन् ।
गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुर्व्यहार भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको छ । टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्याँकेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । शुक्रबारहेटौंडा उपमहानगर –८ को वडा कार्यालयमा तोडफोड गर्दै अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी फालिएको थियो । स्थानीय सेवाग्राहीले वडाअध्यक्ष श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै तोडफोड गरेको दाबि गरेका थिए ।
वडा अध्यक्ष श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् । पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्याउन मनसायले पार्टीको काममा बढि ध्यान दिन थालेको स्थानीयले बताए छन् । प्रशासनमा नाराबाजीपछि बुझाएका स्थानीयहरुको साथमा अहिले सहायक प्रमुख जिल्ला अधिकार गैह्रेको अध्यक्षता सर्वदलीय संयन्त्रको बैठक बसिरहेको छ ।
मकवानपुर/स्थानीय तह निर्वाचन तयारीका लागि विभिन्न राजनीतिक दलहरुले आफ्नो तयारी सुरु गरेका छन् । यसैचि नेकपा (एकीकृत समाजवादी) मकवानपुरले निर्वाचन परिचालनको लागि १ हजार १ जना सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टीको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको पोखरेलले बताए ।
सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ताहरु पनि तोकेको छ । हेटौँडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष श्रीधर पोखरेल, थाहा नगरपालिकामा पोलिटब्युरो सदस्य ललित बस्नेत, मनहरी गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान र प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र सूर्यचन्द्र न्यौपाने, राक्सिराङ गाउँपालिकामा कल्याण विक्रम घलान, बागमती गाउँपालिकामा प्रदेश कमिटी सदस्य यादव गजुरेललाई सहजकर्ता चयन गरेको छ ।
यसैगरी बकैया गाउँपालिकामा पार्टी सचिव विष्णु दाहाल, इन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने र निर्वाचन आयोग सदस्य रामचन्द्र बल, कैलाश गाउँपालिकामा प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङलाई सहजकर्ता चयन गरेको छ । सबै स्थानीय तहहरुमा चैत १५ भित्र बैठक बसी अभियानलाई सक्रिय बनाइने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए ।
संघीय निर्वाचनको परिणामसम्म गठबन्धन कायम रहने पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज केदार न्यौपानेले बताए । “स्थानीय तह निर्वाचनमा कयौँ स्थानमा हामीले चाहँदाचाहँदै पनि गठबन्धनलाई छाड्नु पर्ने अवस्था आउन सक्छ” न्यौपानेले भने “संघीय निर्वाचनसम्म गठबन्धनको चक्र रहने हाम्रो लक्ष्य हो ।” गठबन्धनले कार्यदल बनाएर नै स्थानीय तहको भागवण्डा हुने उनले बताए ।
युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट तिमल्सिना सम्मानित
Tags: No Comments
मकवानपुर । युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट प्राध्यापक डा. पशुपति तिमल्सिना सम्मानित भएका छन् । शनिबार प्रगतिशील लेखक संघ मकवानपुरकाे आठाैं जिल्ला सम्मेलनकाे अवसरमा प्राध्यापक डा. तिमल्सिनालाई १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानित गरिएकाे हाे ।
युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान मकवानपुरका अग्रज साहित्यकार आरसी रिजालले स्थापना गरेका हुन् । कार्यक्रममा साहित्यकार सुवास खनालले सम्मानित तिमल्सिनाको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए।
साहित्यकार युद्धप्रसाद मिश्र साहित्यिक जीवनकै विषयमा विद्यावारिधी गरेका तिमल्सिनाले युद्धप्रसाद मिश्रको साहित्यिक व्यक्तित्व र उनकाे योगदानको विषयमा चर्चा गरेका थिए। प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष्य शान्ति प्रियबन्दनाको अध्यक्षता तथा प्रगतिशील लेखक संघका महासचिव समीर सिंहको प्रमुख आतिथ्यमा प्रलेस मकवानपुरकाे आठाैं जिल्ला सम्मेलन भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि समीर सिंहले प्रलेस मकवानपुरले प्रकाशित गरेकाे “प्रलेस -३” नामक मुखपत्र समेत सार्बजनिक गरेका थिए ।
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा ट्राइवेकरमा ललितपुरले धादिङलाई ५–३ गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलमा निर्धारित खेलमा गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो ।
त्यस्तै, दोस्रो खेलमा मकवानपुर फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा दोलखालाई ५–१ गोलअन्तरले हराउदैं मकवानपुर फाइनल प्रवेश गरेको हो । मकवानपुरका लागि १४ मिनेटमा समिरराज थोकरले पहिलो गोल गरेका थिए । खेलको ३४ मिनेटमा मकवानपुरका ललित चौलागाईले थप एक गोल थपेका थिए ।
खेलको दोस्रो हाफमा दोलखाका स्वंयम श्रेष्ठले ५३ मिनेटमा सान्त्वना गाेल गरेका थिए । मकवानपुरको तर्फबाट ५५ मिनेटमा समिरराज थोकरले थप १ गोल गरे । खेलमा मकवानपुरका लागि अमिर श्रेष्ठ र अनिष महर्जनले १/१ गोल गर्दै ५–१ को गोलअन्तरले मकवानपुर फाइनल प्रवेश गरेको खेल संयोजक कल्पना शर्माले बताइन् ।
आइतबार दिउँसो ३ बजे फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । खेल नकआउट चरणमा खेलाइएको थियो ।
क्रिकेटतर्फ
क्रिकेट खेल तर्फ मकवानपुर र काभ्रे सेमीफाइनल प्रवेश गरेका छन् । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा मकवानपुर र काभ्रे सेमीफाइनल प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ । भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । काभ्रेले १२.५ ओभरमै २ विकेट गुमाउदैं १ सय ३३ रन बनाएको थियो ।
त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । शनिबार क्रिकेटका २ खेल हुनेछ । पहिलो खेल धादिङ र काठमाडौं तथा दोस्रो खेल नुवाकोट र चितवनबीच हुने क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
यसैगरी मकवानपुरमा शनिबारबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । हेटौंडा ४ पारिजातपथमा रहेको कभर्डहलमा खेल हुने खेल संयोजक माधव कोइरालाले बताए । प्रतियोगितामा १३ जिल्लाकै सहभागिता रहेको छ ।
काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ मा बस दुर्घटना भएको हो ।
हेटौंडाबाट चितवन तर्फ गईरहेको ना ४ ख ४४५४ नंबरको बस आज बिहान ८ बजेर २० मिनेटमा दुर्घटना हुँदा बसमा सवार दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नंबर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
दुर्घटनामा परेर अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उक्त दुर्घटना विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन विवरण संकलन भईरहेको र दुर्घटनाको कारण हालसम्म नखुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
