मकवानपुर/स्थानीय तह निर्वाचन तयारीका लागि विभिन्न राजनीतिक दलहरुले आफ्नो तयारी सुरु गरेका छन् । यसैचि नेकपा (एकीकृत समाजवादी) मकवानपुरले निर्वाचन परिचालनको लागि १ हजार १ जना सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टीको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको पोखरेलले बताए ।
सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ताहरु पनि तोकेको छ । हेटौँडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष श्रीधर पोखरेल, थाहा नगरपालिकामा पोलिटब्युरो सदस्य ललित बस्नेत, मनहरी गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान र प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र सूर्यचन्द्र न्यौपाने, राक्सिराङ गाउँपालिकामा कल्याण विक्रम घलान, बागमती गाउँपालिकामा प्रदेश कमिटी सदस्य यादव गजुरेललाई सहजकर्ता चयन गरेको छ ।
यसैगरी बकैया गाउँपालिकामा पार्टी सचिव विष्णु दाहाल, इन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने र निर्वाचन आयोग सदस्य रामचन्द्र बल, कैलाश गाउँपालिकामा प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङलाई सहजकर्ता चयन गरेको छ । सबै स्थानीय तहहरुमा चैत १५ भित्र बैठक बसी अभियानलाई सक्रिय बनाइने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए ।
संघीय निर्वाचनको परिणामसम्म गठबन्धन कायम रहने पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज केदार न्यौपानेले बताए । “स्थानीय तह निर्वाचनमा कयौँ स्थानमा हामीले चाहँदाचाहँदै पनि गठबन्धनलाई छाड्नु पर्ने अवस्था आउन सक्छ” न्यौपानेले भने “संघीय निर्वाचनसम्म गठबन्धनको चक्र रहने हाम्रो लक्ष्य हो ।” गठबन्धनले कार्यदल बनाएर नै स्थानीय तहको भागवण्डा हुने उनले बताए ।

