मकवानपुर/वडा कार्यालयमा गरिएको तोडफोड तथा वडा अध्यक्षको कुर्सी सडकमा फ्याँक्ने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा शुक्रबार गरिएको तोडफोड विरुद्ध कारवाहीको माग गर्दै स्थानीयहरुले ज्ञापन पत्र बुझाएका हुन् । वडावासीले जिल्ला प्रशासन कार्यालयमा नारावाजी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई आज ज्ञापनपत्र बुझाएका हुन् ।
गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुर्व्यहार भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको छ । टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्याँकेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । शुक्रबारहेटौंडा उपमहानगर –८ को वडा कार्यालयमा तोडफोड गर्दै अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी फालिएको थियो । स्थानीय सेवाग्राहीले वडाअध्यक्ष श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै तोडफोड गरेको दाबि गरेका थिए ।
वडा अध्यक्ष श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् । पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्याउन मनसायले पार्टीको काममा बढि ध्यान दिन थालेको स्थानीयले बताए छन् । प्रशासनमा नाराबाजीपछि बुझाएका स्थानीयहरुको साथमा अहिले सहायक प्रमुख जिल्ला अधिकार गैह्रेको अध्यक्षता सर्वदलीय संयन्त्रको बैठक बसिरहेको छ ।

