मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा ट्राइवेकरमा ललितपुरले धादिङलाई ५–३ गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलमा निर्धारित खेलमा गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो ।
त्यस्तै, दोस्रो खेलमा मकवानपुर फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा दोलखालाई ५–१ गोलअन्तरले हराउदैं मकवानपुर फाइनल प्रवेश गरेको हो । मकवानपुरका लागि १४ मिनेटमा समिरराज थोकरले पहिलो गोल गरेका थिए । खेलको ३४ मिनेटमा मकवानपुरका ललित चौलागाईले थप एक गोल थपेका थिए ।
खेलको दोस्रो हाफमा दोलखाका स्वंयम श्रेष्ठले ५३ मिनेटमा सान्त्वना गाेल गरेका थिए । मकवानपुरको तर्फबाट ५५ मिनेटमा समिरराज थोकरले थप १ गोल गरे । खेलमा मकवानपुरका लागि अमिर श्रेष्ठ र अनिष महर्जनले १/१ गोल गर्दै ५–१ को गोलअन्तरले मकवानपुर फाइनल प्रवेश गरेको खेल संयोजक कल्पना शर्माले बताइन् ।
आइतबार दिउँसो ३ बजे फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । खेल नकआउट चरणमा खेलाइएको थियो ।
क्रिकेटतर्फ
क्रिकेट खेल तर्फ मकवानपुर र काभ्रे सेमीफाइनल प्रवेश गरेका छन् । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा मकवानपुर र काभ्रे सेमीफाइनल प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ । भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । काभ्रेले १२.५ ओभरमै २ विकेट गुमाउदैं १ सय ३३ रन बनाएको थियो ।
त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । शनिबार क्रिकेटका २ खेल हुनेछ । पहिलो खेल धादिङ र काठमाडौं तथा दोस्रो खेल नुवाकोट र चितवनबीच हुने क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
यसैगरी मकवानपुरमा शनिबारबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । हेटौंडा ४ पारिजातपथमा रहेको कभर्डहलमा खेल हुने खेल संयोजक माधव कोइरालाले बताए । प्रतियोगितामा १३ जिल्लाकै सहभागिता रहेको छ ।
काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।

