मकवानपुर । मकवानपुरकाे हेटाैडामा वडा स्तरीय नेतृत्व तथा क्षमता बिकास तालिम सुरु भएकाे छ । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडाकाे १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता बिकास तालिम सुरु भएकाे हाे ।
तालिमको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै पाैडेलले हरेक ब्यक्ति आत्मनिर्भर हुनुपर्ने बताए । ‘आत्मनिर्भर हुन हरेक मान्छे कुनै न कुनै आय आर्जन हुने पेशामा लाग्नुपर्छ ।’ उनले भने–‘तालिम लिएपश्चात यसलाई दैनिक जिवनमा लागू गरिनु आवश्यक छ ।’
सबै युवाले देशमा नै बसेर पसिना बगाउनुपर्ने भन्दै पाैडेलले व्यवहारिक सिप आर्जन गरेर रोजगारीकाे बाटाेमा जानुपर्ने बताए ।नेपालमा बसेर काम गर्न लाज मान्ने परिपाटी रहेको तर बिदेशमा गएर जस्ताेसुकै काम गर्न नहिच्किने बानी रहेकोले यसलाई सुधार गर्न पनि युवाहरु अगाडी बढनुपर्ने पाैडेलले बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले युवाहरुका कारण धेरै परिबर्तन सम्भव भएको बताइन् । उनले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताएकी छिन् । युवा क्लबका पदाधिकारी तथा सदस्यहरु लक्षित तालीम २ चरणको हुने र ३ दिनसम्म सञ्चालन गरिने जिल्ला युवा समितिका अध्यक्ष दाहालले जानकारी दिए । तालिममा प्रशिक्षक रिपेश दाहाल र राज शाहीले सहजीकरण गरेका छन् ।
जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष रामकुमार पुडासैनी, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, ७ नम्बर वडाध्यक्ष राजन थापा, १० नम्बर वडाध्यक्ष किताप सिंह लामा, हेटौंडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखाका अधिकृत रामचन्द्र खड्का लगायतले तालिमकाे सम्बन्धमा विचार व्यक्त गरेका थिए । ।

